धनकुटा / पुस्तामा हराउँदै गएको तामाङ जातिको मौलिक साँस्कृतिक सुरवाजा टुङ्गना र ताल वाजा डम्फूको संरक्षण, सम्वद्र्धन एवं प्रवद्ध्र्रन गर्न नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले अभियान संचालन गरेको छ । 

यसै विच नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले हिले वजारमा आयोजना गरेको सात (७) दिने तामाङ मौलिक बाजा टुङना, डम्फू र सम्भोटा लिपि सम्वन्धि प्रशिक्षण सोमवार सम्पन्न भएको छ । तालिमको प्रमुख प्रशिक्षक एवं तामाङ मौलिक संस्कृति सम्वन्धि ज्ञाता एवं तम्वा संघ संघिय समिति काठमाण्डौका अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङले सहजीकरण गरेका थिए । 

सात दिनसम्म संचालन भएको तालिममा तम्बाको शास्त्रिय मान्यता, तम्बाको सामाग्रीहरु, ब्रेल्वा विवाहमा गरिने संस्कारहरु, ह्रुईप्रथा, नारु (स्वाँगे भाई), तामाङ जातिको जीवन दर्शन र पद्धतीको विषयमा प्रमुख प्रशिक्षक धावावाङ्गेलले सहजीकरण गरेका थिए । साथै, सो अवसरमा उनले सम्भोटा लिपिको श्वर र व्यान्जन वर्णका वारेमा समेत प्रशिक्षित गराउँदै वुद्ध धर्म र दर्शनका वारेमा पनि सहजीकरण गरेका थिए । जिल्लाको छथरजोरपाटी, महालक्ष्मी, पाख्रीवास र धनकुटा नगरपालिकाका तामाङ घेदुङमा आवद्ध ३२ जना दाजुभाई तथा दिदिवहिनीहरुको सहभागीता रहेको ७ दिने तालिममा विशेष गरेर तामाङ जातिको मौलिक बाजा टुङना र डम्फु कसरी वजाउने भन्ने विषयमा पनि सहभागी प्रशिक्षार्थिहरुलाई तालिम प्रदान गरिएको थियो । 

तालिममा तम्बाको शाव्दिक परिचय, तम्बाको मुख्य भूमिका, तम्बाको समग्र कार्यक्षेत्र, तम्बासंग सम्वन्धित् अशल गुणहरु, तम्बाले गर्ने सङसेरर्गेम, सङको अर्थ, सङ गर्नुको कारण, मानव शरिरसंग सम्वन्धित् चार तत्वहरुको वारेमा जानकारी दिइएको थियो । त्यसैगरी पृथ्वी उत्पति हुँदा बनेको पाँच दिशा र तत्वहरुको वारेमा पनि सहभागीहरुलाई सहजीकरण गरिएको कार्यक्रमको संयोजक एवं जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले ब्लाष्टलाई जानकारी दिए । हरेक विषय वस्तुलाई टुङ्गना र डम्फूको माध्यामबाट वजाउँदै÷गाउँदै व्याख्या गरिएको थियो । तालिममा १७ महिला सहित ३२ जनाको सहभागीता रहेको थियो ।   

नेपाल तामाङ घेदुङ संघीय सदस्य एवं धनकुटा नगरपालिका वडा नं १ का कार्यबाहक वडा अध्यक्ष लालचन्द्र गोङबा तामाङको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि गोङ्गवाले भने– हरेक समुदायको भाषा धर्म,संस्कार,संस्कृतिको बिकास गर्नका स्थानिय सरकारले नितिगत रुपमा अघि वढेको वताए । उनले आगामी दिनमा पनि हरेक समुदायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी प्रमुख प्रशिक्षक धावा वाङ्गेल मोक्तानले सिक्ने र सिकाउने प्रक्रिया भनेको जीवनभर चलिरहने प्रक्रिया भएको वताए । उनले एकै पटक लिएको र दिएको तालिमले कोही पनि पोख्त नहुने वताउँदै आगामी दिनमा पनि तालिमको निरन्तरताको लागी आयोजक संस्थालाई आग्रह समेत गरे । उनले आफु काठमाण्डौंबाट आएर दिएको ज्ञानसिपलाई सहभागीहरुलाई व्यावहारमा उतार्न आगूह गरे । 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न ७ दिने तालिमको समापन समारोहमा तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङ, तम्बा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का प्रदेश सदस्य मानवी मोक्तान तामाङ, म्हानिपा घेदुङ धनकुटाका अध्यक्ष पेमा कुमारी लामा, जिल्ला सदस्य सुनिता लावती तामाङ लगायतले तालिममा सिकेको ज्ञानसिपलाई व्यवहारमा उतार्न जोड दिएका थिए ।  

सात दिने तालिमको सहआयोजक म्हानिपा घेदुङ धनकुटा र व्यवस्थान तम्बा संघ धनकुटाले गरेको थियो भने समापन समारोहको संचालन जिल्ला घेदुङका सह–सचिव धन बहादुर मोक्तान तामाङले गरेका थिए । 

Tunggana

तामाङ मौलिक संस्कृतिक बाजा तम्बा संघ धनकुटालाई हस्तान्तरण :

तामाङ जातिको मौलिक संस्कृतिमा आधारित डम्फु सेलोलाई तामाङ जीवनमा वचाई राख्न र जिवन्त राख्न सुरवाजाको रुपमा टुङ्गनालाई लिन सकिन्छ । त्यसैगरी ताल वाजाको रुपमा डम्फूलाई लिन सकिन्छ । 

समापन समारोहको अवसरमा पारेर तम्बा संघ काठमाण्डौंका संघिय अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङ सुरबाजा टुङ्गना तम्बा संघ धनकुटालाई हस्तान्तरण गरेका छन् । वाङ्गेलले तम्बा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान र दिलवहादुर घिसिङलाई हस्तान्तरण गरे । सो अवसरमा उनले टुङना सुरवाजा भएकोले डम्फु सेलो गाउँदा टुङ्गनाले सुर दिने र डम्फूले ताल दिने वताए । सुर र तालको समिश्रणवाट तामाङ समुदायको डम्फू सेलोलाई तामाङ जीवनमा संगीतको माध्यामबाट जीवन्त राख्न मद्धत गर्ने विचार व्यक्त गरे । 

सो अवसरमा जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान, तम्बा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान लगायतले वाङ्गेललाई धन्यवाद् ज्ञापन गरेका थिए ।