धरान/आफ्नो जातिको संस्कार संस्कृति संरक्षण र उत्थानमा समुदाय एकढिक्का भएर लाग्नुपर्ने धरानमा सोमबार गरिएको एक अन्तरक्रियामा सहभागी वक्ताहरूले बताएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबू जिल्ला कार्य समिति सुनसरीको पदस्थापन तथा खलःपुचःबीचको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले समुदायको हितका लागि एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले आफ्नो जाति, समुदायको उत्थानका लागि सबै एकढिक्का भएर लाग्नुपर्ने बताए । उनले राजनीतिभन्दा माथि उठेर जातिको उत्थानमा लाग्न सुझाव दिए । त्यस्तै नेवाः मिसा दवू सुनसरीकी उपाध्यक्ष लक्ष्मी प्रधानले आफ्नो जातिलाई माथि उकास्नका लागि जुनसुकै स्थान, तह र तप्काबाट लाग्न जोड दिइन् । उनले भनिन्, ‘जुनसुकै राजनीतिक दलसँग आवद्ध रहे पनि आफ्नो संस्कार संस्कृति जोगाउन सबै एकजुट हुनुपर्छ ।’
नेवाः देय दबू सुनसरीका अध्यक्ष तीर्थ मास्केले राजनीतिक परिवर्तनसँगै आफ्नो जाति र पहिचानका लागि एकजुट हुन थालेको स्मरण गराए । उनले नेवा पत्रकार राष्ट्रिय दबू पनि त्यसरी नै एकजुट भएर लागेको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले पत्रकारहरूले आफ्नो धर्म निर्वाह गर्दा जहिल्यै पनि सत्यतथ्य बुझेर मात्रै अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो संस्कार, संस्कृतिको संरक्षणसँगै हरेक क्षेत्रमा कलम चलाउन सजग भएर चलाउन आग्रह गरे । अन्तरक्रियाका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले संस्कार, संस्कृति नै नेवारको पहिचान भएकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए । नेवाः पत्रकार दवूका संस्थापक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार महेश श्रेष्ठले पत्रकार दवू गठनको उद्देश्य र हालसम्म पारेको प्रभावबारे बताएका थिए ।
कार्यक्रममा पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गरिएको थियो । पाँचौं अधिवेशनबाट मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । अन्तरक्रियाको क्रममा सेवक अभियानका अभियन्ता राजीव हलुवाई र नेवाः देय दवू प्रदेश १ का कोषाध्यक्ष चन्द्रा हलुवाईले ५–५ हजार रुपैयाँको प्रोत्साहन पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् ।
त्यस्तै संस्थालाई महिला सञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्यले २१ हजार १ सय ११ रुपैयाँ, सिद्धि नेवा परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले व्यक्तिगतर्फबाट ११ हजार ५ रुपैयाँ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले ११ हजार एकसय १ रुपैयाँ सहयोग गरेका छन् । दवूका जिल्ला अध्यक्ष मोहन श्रेष्ठले संस्थामा कोष खडा गर्ने भन्दै ११ हजार रुपैयाँ दिने घोषणा समेत गरेका थिए । सोही क्रममा अन्य व्यक्तित्वले पनि सहयोगको घोषणा गरेका हुन् ।
पत्रकार दबू सुनसरीकी उपाध्यक्ष मञ्जु शाक्यले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष विनय प्रधानले स्वागत गरेका थिए ।