निन्द्राबाट भर्खरै ब्युँझँदा केही कल्याङमल्याङ आवाज सुनेँ । राति अबेरसम्म लेखपढमा व्यस्त भएकोले बिहान अबेर मात्र निन्द्रा खुल्यो । कानमा ठोक्किएका आवाज त्यति शुभ थिएनन्, घरमा केही दुर्घटना भएको सङ्केत मिलिरहेको थियो । 

सोचेँ, घरमा कुनै न कुनै दुर्घटना भएको भए मेरा आफन्त शुभचिन्तकहरूबाट पक्कै पनि फोन आउनु पर्ने हो । तर, घरमा कुनै न कुनै प्रकारको दुर्घटना भइसकेको सङ्केत मिलिसकेको आधारमा सामाजिक सञ्जालको सहयोग लिनु जरुरी हुन पुग्यो । त्यसैले फेसबुक खोलेँ । फेसबुकको म्यासेञ्जरमा एउटा डरलाग्दो सन्देश र भिडियो आइसकेको रहेछ, अकल्पनीय तीतोसत्यका रूपमा । मेरा मित्र सञ्चारकर्मी सन्तवीर लामाको सन्देश थियो । उहाँले लेख्नुभएको थियो, ‘राजकुमार सर, यहाँ आज धनकुटामा तपाईंको पुरानो घरमा आगलागी भएको छ, आज १२–१ बजेतिर ।’

यो सन्देशसँगै एउटा भिडियो क्लिप पनि सन्तजीले पठाउनुभएको रहेछ, प्रत्यक्ष प्रसारणजस्तो । सन्तजीको भिडियो सन्देशबाट केही राहत अनुभूति भयो । बारुण यन्त्र आउँदै गरेको, बारुण यन्त्रका कर्मचारीहरू र सुरक्षाकर्मीहरूले आगो नियन्त्रण गरिरहेको देख्दा लाग्यो, म आफ्नै आँगनमा उभिएर आफ्नो घरमा भइरहेको आगलागी टुलुटुलु हेरिरहेको छु ।

हत्त न पत्त सन्तजीसँग संवाद अगाडि बढाइहालेँ । उहाँले बताउनुभएको घटना विवरणअनुसार उहाँ कामविशेषले हिँडिरहेको बेला स्कुलडाँडामा एकछिन अडिनुभएको रहेछ । हाम्रो घरको झ्यालबाट धुवाँको मुस्लो निस्किरहेको उहाँको नजरमा परेछ । तत्कालै मेरै छिमेकी जनप्रतिनिधि वीरबहादुर योञ्जनलगायतलाई खबर गरिसकेपछि सन्तजीले नै प्रहरी र नगरपालिका अनि फोनबाट बारुणयन्त्रलाई खबर गर्नुभएछ ।

त्यसपछि उहाँले आगलागीको दृश्य समाचार प्रयोजनका लागि खिच्न थाल्नुभएछ । उहाँले खिच्नुभएको भिडियो क्लिपमार्फत् मैले पनि आफ्नो घर जलिरहेको दृश्य आँखामा कैद गरेँ । यदि समयमै आगो नियन्त्रण गर्न नसकिएको भए हाम्रो पूरै टोल खरानी हुनेथियो । हाम्रो पूरै टोल खरानी हुनबाट जोगाउन विशेष योगदान गर्ने सन्तजीप्रति हाम्रो परिवार विशेष आभार व्यक्त गर्दछ । 

हाम्रो घरमा आगलागी भएको खबर पाउनासाथ वडाध्यक्ष भाइ जमशेर छारा दौडेर घटनास्थलमा आफू मात्रै पुगेनछन्, उनले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि घटनास्थलमा तत्काल अवलोकनका लागि आइदिन आग्रह गरेछन् । प्रजिअलगायत सरकारी अधिकारी,  सुरक्षाकर्मीका साथै रेडक्रसकर्मीहरू आएर उद्धार तथा राहत कार्यलाई तत्कालै कार्यान्वयन गरेछन् । धन्य, यी तमाम सहयोगी हातहरूका कारण घरमा भएको आगलागीले हाम्रो मन जल्न पाएन । 

जीवनमा मैले अनगिन्ती समाचारहरू लेखेँ, तर २०७७ साल फागुन २८ गतेको मध्यान्हमा आफ्नै घरमा बिजुली सर्ट भई आगलागी भएको घटनाका कारण म आफै समाचारको विषय भएँ । केही सञ्चारमाध्यमले हाम्रो घरमा भएको आगलागी र यसबाट भएको क्षतिको बारेमा समाचार सम्प्रेषण गरेर मेरा शुभचिन्तकहरूसमक्ष पु¥याइदिए । शुभचिन्तकहरूबाट साहनुभूतिका सन्देशहरू प्राप्त भएकोले फेरि पनि हाम्रो मनमा लाग्न आँटेको आगो समयमै निभ्न सम्भव भयो ।

...

हाम्रो घर कुनै ऐतिहासिक दरबार होइन । सामान्य काँचो इँटा, काठ र जस्तापाताबाट बनेको कच्चा घर हो । तर, यही घरमा कुनै समय बास बस्नेको ओइरो लाग्थ्यो ।

कोशी पहाडी क्षेत्रको पूरा मूलबाटोमा रहेको छ हाम्रो घर । तर, कोशी पहाडी क्षेत्र जोड्ने राजमार्ग मूलबाटोलाई क्रस गरेर उक्लिएपछि यो मूलबाटो भएर पैदल हिँड्नुपर्ने कष्ट कसैले उठाउनु परेन । त्यसैले हाम्रो टोलका सबै घरको आँगन यतिखेर बेहुली अन्माएर पठाएको आँगनजस्तै शून्य छन् । अरू त अरू यही आँगनमा खेल्दै हुर्किएका हामी पनि पखेटा पलाएपछि गुँड बिर्सिएर उडेको चराजस्तै भएका छौँ । अनेकौं विडम्बनाहरू व्यहोरेर उभिएको मेरो घरमा अग्निनृत्य भयो । धन्य, शुभचिन्तकहरू कमाएको रहेछु, त्यसैले ठूलो दुर्घटना भने हुन पाएन ।

कुनै समय कोशी पहाडी क्षेत्र जोड्ने यही मूलबाटो भएर ओहोर–दोहोर गर्ने यात्रुहरू बास बस्दा हाम्रो घरको तलामुनि, सिकुवा, आँगन केही खाली हुँदैनथ्यो । कतिपय विशिष्ट पाहुनाका लागि कोठाको व्यवस्था गरिन्थ्यो । त्यसैले यो घरको छानाबाट धेरैले ओत लिएका छन् । 

बुबाले हाल्नुभएको हो, यो घरको जग २०१३ सालमा । त्यतिखेर धनकुटा नगरमा असाध्यै कम थियो, लिम्बूहरूको सङ्ख्या । हाम्रो घरदेखि तल्लो टोलमा नन्दप्रसाद खेवा लिम्बूको घर थियो । अलिपछि चौबिसे क्षेत्रबाट आएर पञ्चायतकालीन राजनीतिकर्मी विष्णुप्रसाद लिम्बूको बसोबास सुरु भयो, डाँडागाउँमा । त्यसैले लिम्बूहरूले धनकुटा नगरमा घरको जग हालेको इतिहास खोतल्दा सानोतिनो ऐतिहासिकता हाम्रो घरले बोकेको छ ।

नेपालको राजनीतिक परिवर्तनका लागि हाम्रो घरको पनि योगदान स्मरणीय छ । २०३७ देखि २०३९ सालसम्म हामीले तत्कालीन मालेका भूमिगत नेताहरूलाई आश्रय दियौँ । बुबाले बनाउनुभएको अर्को घरमा ती नेताहरूलाई बासको प्रबन्ध थियो भने हाल आगलागी भएको मूलघरमा घरमा गाँसको । यसरी आश्रय लिनेहरूमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा र रमेश खनालहरू मुख्य थिए । तर, धनकुटाका नेता कार्यकर्ताहरूमध्ये गोपाल गुरागाईं र जीवप्रसाद पोखरेलबाहेक सबैजसोले हिजोको हाम्रो घरको त्यो योगदानको सम्झना राख्दैनन् । फेरि पनि हामी दुःखी छैनौं । हामीले ब्याज पकाउन त्यो इतिहासको रचना गरेका पनि होइनौं । त्यो त समयको मागअनुसार व्यवस्था परिवर्तनका लागि झारेको एक बूँद पसिना थियो । त्यसैले त हामीले कहिल्यै पनि पार्टीसँग केही मागेनौं ।

....

हाम्रो घरमा भएको त्यो अग्नि दुर्घटनाबाट जलेको घर बाहिरबाट हेर्दा सामान्य देखिन्छ । तर, माथिल्लो तला कामै नलाग्ने गरी क्षतिग्रस्त हुन पुगेको छ । छाना काम लाग्दैन । त्यसैले क्षतिग्रस्त माथिल्लो भाग भत्काउन सुरु गरिएको छ । अब त्यसैलाई मैदान बनाई नयाँ घर निर्माण गर्नुपरेको छ । घर जल्दा आगो निभाउन उठेका सहयोगी हातहरूका कारण मनमा आगो नलागेकैले नयाँ घर निर्माणका लागि प्रशस्तै आत्मबल जुटेको छ । 

...

म २२ वर्षसम्म पत्रकारिता पेशामार्फत् श्रमजीवनमा रमाएँ । पेशागत रूपमा पत्रकारिता प्रारम्भ गरेको एक वर्षपछि मात्र आधारभूत पत्रकारिता प्रशिक्षण लिएको थिएँ । रामकृष्ण रेग्मी (पछि आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहका मेरा आदरणीय गुरु) पनि प्रशिक्षकमध्ये एक हुनुहुन्थ्यो । उहाँले प्रशिक्षणको क्रममा २६ वर्षअघि भन्नुभएको वाक्य अहिले पनि मेरो कानमा गुञ्जिरहेछ । उहाँले भन्नुभएको थियो, ‘मानौं, कतै आगो लाग्यो । पत्रकारले आगो निभाउन जाने कि खबर सम्प्रेषण गर्ने ? पत्रकार आफूले आगो निभाउन जाने होइन, खबर सम्प्रेषण गर्न जाने हो । खबर सम्प्रेषण भएपछि आगो निभाउने सक्ने जनशक्ति सम्बन्धित ठाउँमा आइपुग्छन् र उनीहरू आगो नियन्त्रणका लागि जुट्छन् ।’

मेरा सञ्चारकर्मी मित्र सन्तवीर लामाले पनि हाम्रो घरमा आगो लागेको देखेर आफू आगो निभाउन जानुभएन । खबर सम्प्रेषण गर्न थाल्नुभयो, फलतः तुरुन्तै अग्नि नियन्त्रणका लागि बारुण यन्त्र र सुरक्षाकर्मीहरू आइपुगे । उहाँ र अन्य सञ्चारकर्मी मित्रले समाचार सम्प्रेषण गरेर अनलाइनहरूमा राखेपछि देशविदेशमा रहेका शुभचिन्तकहरूले हामीप्रति साहनुभूति प्रकट गरे । जसका कारण हाम्रो मनमा लाग्न खोजेको आगो पनि बेलैमा नियन्त्रणमा आउन सम्भव भयो ।

...

गौतम बुद्ध भन्छन्, ‘आँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुन्छ, त्यसैले प्रत्येक क्षण तिमी प्राणीजगत्को उपकारमा लाग ।’

धर्मदर्शनका आधारमा सञ्चारकर्मी मित्र सन्तवीर लामा बौद्धमार्गी हुनुहुन्छ । बौद्धमार्गको एउटा महŒवपूर्ण व्यावहारिक प्रयोग हाम्रो घरमा आगलागी हुँदा उहाँले अपनाउनुभयो । सन्तजी, धन्य हो तपाईंको यो बौद्धमार्ग ! तपाईं बुद्धको शरणमा हुनुहुन्छ, तपाईं धर्मको शरणमा हुनुहुन्छ अनि तपाईं सङ्घको शरणमा हुनुहुन्छ ।