विश्वका महान् मानिसहरुका जीवनी र आत्मकथाहरु सार्थक जीवनका लागि प्रेरणादायक हुन्छन् । त्यस्ता आत्मकथाहरु मैले भने धेरै पढेको छैन । मेरो लागि आत्मकथाहरु कथात्मक शैलीमा अभिव्यक्त संस्मरण रुचिकर रहँदै आएका छन् ।
महान् कहलिएकाहरु मात्र होइन, सामान्य जीवन व्यतित गरेका आम मानिसको पनि समाज र सभ्यता निर्माणमा कुनै न कुनै रुपमा योगदान हुन्छ । यसअर्थमा मानिसको जीवनी तथा आत्मकथा समकालीन कालखण्डको इतिहास हो ।
मास्टर चक्रबहादुर पालुङ्वाको आत्मकथाका साथै उनको जीवनी समेटिएको पुस्तक ‘चक्रको युगको चक्र’ किताब यस्तै आम मानिसले भोगेको इतिहास हो । आफू नभएको, आफैले नभोगेको, अनुभूति नगरेको समय, ठाउँ र परिस्थितिको भोगाइ अनुभूत गर्नु रोमाञ्चक कुरा हुन्छ । दैनिक दिनचर्याको गतिमा पछि परेका समयहरु, अकस्मात पुराना तस्बिरहरु नजरमा पर्दा हामीलाई ‘नेस्टालजिया’ भएर आउँछ । लिम्बू संस्कृतिमा विहे–बटुलो, मेलापातहरुमा तरुनी–तन्नेरी याराक्मा (धाननाच) नाच्ने प्रचलन अझै पनि चलिरहेको छ ।
याराक्माका क्रममा केटाकेटीबीच मन मिले भगाएर विहे गर्ने चलन पनि थियो । मन परापर भएका केटा–केटी बीचमा लिम्बू गीत (पालाम) बाट जुहारी खेल्ने र जित्नेले चाहेमा विहे गर्ने प्रचलन भने पछिल्लो समय हराउँदै गएको छ । उहिले मन परापर भए जारी व्यहोर्ने गरी विहे गर्ने चलन पनि लिम्बू समाजमा थियो ।
यस्तो चलनको बेला आजभन्दा ६८ वर्षअघि १८ वर्षका उमेरमा देखादेखसम्म नभएको केटीसँग मागीविहे गर्दाको क्षण सम्झँदै पालुङ्वाले लेखेका छन्– ‘विहे हुनुअघि बोलचाल त के, देखादेख पनि थिएन । उनलाई माग्न कलियासँग जाँदा मात्र मैले केही टाढाबाट उनको जिउडालसम्म देख्न पाएँ ।
तर, उनलाई राम्ररी देख्न नपाई कलियाहरुले कुरा मिलाई बिहेको तिथि मिति तोकी हाले ।’ विहे हुने अघिल्लो दिन बेहुली लिन साथीहरुसँग उनको घर जाँदा पनि उनलाई देख्ने अवसर नै जुरेन ।
जीवनको उत्तराद्र्ध ८४ वर्षको उमेरमा आफ्ना विगतहरु सम्झेर लेख्दा पालुङ्वालाई कस्तो नेस्टालजिया भयो होला ? अझ आत्मकथा पुस्तकको रुपमा प्रकाशित भएपछि ती कुराहरु छोरा, छोरी, नाति–नतिनाले पढेर कस्तो अनुभूति गर्लान् भन्ने कुराले कति रोमाञ्चित भएका थिए होलान् ?ं तर, जीवनकालमै उनले आफ्नो जीवन र लेखनका बारेमा कसैको प्रतिक्रिया सुन्न पाएनन् ।
ताप्लेजुङ जिल्ला तत्कालीन फुङ्लिङ गाउँ पञ्चायत २ हाल नगरपालिका–३ मेदीबुङमा चक्रबहादुर पालुङ्वाको जन्म १९९१ फागुन २५ गते भएको थियो । उनको आत्मकथा छापिँदै गर्दा २०७५ माघ २५ गते अकस्मात उनको निधन भयो ।
श्री ३ भीम शम्सेर जङ्गबहादुरको राणा शासनका बेला पालुङ्वाको जन्मकालमै राणा शासनविरुद्ध प्रचण्ड गोर्खा नामक भूमिगत सङ्गठन खुलिसकेको थियो । संयोगले राणा शासन विरुद्धको सङ्घर्षसँगै उनको बाल चेतनाको विकास भएको थियो ।
समयको अन्तरालसँगै राजनीतिक रुपमा सचेत पालुङ्वा २०२१ सालमा नेपाल युवक सङ्गठनको जिल्ला सदस्य बने । २०२६ सालमा तत्कालीन फुङ्लिङ गाउँ पञ्चायतको उपप्रधान पञ्चका उम्मेदवार बने । त्यसबेला थोरै मतले पराजित उनी २०३३ सालमा वडा २ को अध्यक्ष, जिल्ला पञ्चायत निर्वाचित भए ।
ताप्लेजुङको राजनीतिमा लिम्बूहरुको दुई गुटबीच उनी प्रभावशाली सन्तुलनकर्ताको रुपमा स्थापित भएका थिए । पञ्चायतकालमा पालुङ्वाहरुको एकछत्र राजनीतिक प्रभाव थियो । राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लड्ने उनको तयारी भने पूरा हुन पाएन । पालुङ्वाले आत्मकथामा उनको राजनीतिक र शैक्षिक सेवा जीवनको सुरूवात २०१८ सालदेखि भएको उल्लेख गरेका छन् ।
त्यसबेला उनी युवावयका हुँदो हो । राजा महेन्द्रले निर्वाचित सरकार हटाएर सत्ता हातमा लिएपछि पञ्चायती व्यवस्थाको संरचनाको हल्ला ताप्लेजुङमा पनि पुगेको थियो । त्यो हल्लासँगै जेठ महिनामा जनगणना हुने भनी ताप्लेजुङमा तयारी थालिएको थियो । त्यसबेला जनगणनाको फारम भर्न जान्ने मानिसको खोजीको क्रममा उनी योग्य ठहरिए ।
आत्मकथामा उनले लेखेका छन्– ‘जनसङ्ख्या लेख्ने (भर्ने) फाराम निकै ठूलो, चौडाको र विषयहरु निकै कठिन र शब्दहरु गहन रहेछन् । साधारण लेखपढ गर्नेलाई निकै गाह्रो थियो ।’
जेठ महिनाभरि जनगणनाका लागि गाउँ–गाउँ पुगेर फारम भरे बापत एक जनाको २ पैसाको दरले उनले कुल ३६ रुपैयाँ पाए । त्यसबेला ताप्लेजुङको सिम्ले, ढाँडगाउँ, गैरीगाउँ, केनिम, आगेदिम, मेदीबुङ र साँघुवारी कामीगाउँ समेतमा कुल जनसङ्ख्या १७२८ रहेको उल्लेख गरेका छन् ।
यसरी हाल वडा २ मा पर्ने उक्त गाउँहरुमा २०१८ सालमा रहेका जनसङ्ख्याको इतिहास उनले लेखिदिएका छन् । जनगणनामा गणकको रुपमा नियुक्ति पाउनु उनको लागि अवसर त थियो नै त्यसले पालुङ्वालाई शिक्षक बन्ने बाटो पनि खोलिदियो । जनगणनामा योग्यता देखाएका कारण उनको खोजी हुन थाल्यो । यसै क्रममा गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक नभएकोले त्यसका लागि पालुङ्वा योग्य ठहरिए । शिक्षक नियुक्त हुन उनले केवल अङ्ग्रेजीमा आफ्नो नाम मात्र लेख्नु प¥यो ।
पालुङ्वाले आत्मकथामा गाउँका माइला मुखिया गङ्गाप्रसाद दहाललाई उद्धृत गर्दै लेखेका छन्, ‘उहाँले आफ्नो पकेटबाट कागजको टुक्रा र पेन निकालेर ल, यसमा अङ्ग्रेजीमा तेरो नाम लेखेर देखा, भन्नुभयो ।’ उनले लेखेर दिएको ‘माई नेम इज चक्रबहादुर लिम्बू’ हेरेपछि दहालले एउटा पत्र लेखेर दिए ।
त्यही पत्रले पालुङ्वालाई बाल सुबोधिनी स्कुल मेदीबुङमा अङ्ग्रेजी शिक्षकको नियुक्ति दिलायो । त्यसबेला उनको तलब मासिक ३० रुपैयाँ थियो ।
स्कुलमा लामो समय शैक्षिक सेवा गरेका उनी अन्ततः ताप्लेजुङमा मास्टर चक्रबहादुर पालुङ्वाको रुपमा प्रसिद्ध भए । २०२५ सालमा सुबोधिनी स्कुलमा पढेका लोखनाथ गौतम सम्झन्छन्, ‘त्यतिबेला कक्षा ३ बाट अङ्ग्रेजी पढाइ हुन्थ्यो । एबीसीडी पढाइसँगै अङ्ग्रेजीमा नाम लेखाइन्थ्यो ।
त्यो पढाउने शिक्षक चक्रबहादुर पालुङ्वा नै थिए । उनले ३ कक्षाबाट ४–५ कक्षासम्म पढाउने गर्दथे ।’ त्यसबेला उनलाई अङ्ग्रेजी सिकाउने साउनेपानी मास्टर भनेर सबैले चिन्दथे । शिक्षणबाट अवकाश लिएपछि उनले व्यवस्थापन समितिमा रहेर स्कुलको शैक्षिक विकास सम्बद्र्धनमा योगदान दिए ।
गजबको उदाहरण, ताप्लेजुङमा ‘मास्टर’ को उपनामले प्रसिद्ध चक्रबहादुर पालुङ्वाले आफै भने स्कुलको अनुहार देख्न पाएका थिएनन् । स्कुलमा कक्षा ५ सम्म अङ्ग्रेजी पढाउने शिक्षकको योग्यता उनले कसरी हासिल गरे ? आत्मकथामा उनले उल्लेख गरेका नियतीका चक्रहरुका टिठलाग्दो वर्णनसँगै गाँसिएको छ ।
किताब पढिसकेपछि लाग्छ उनको आत्मकथा इतिहासको कालखण्डमा ताप्लेजुङका लिम्बू कसरी मुङ्लान भासिन्थे भन्ने चलचित्र नै बन्छ ।
लिम्बुवानमा सुभाङ्गी पाएका सुभा (सुब्बा)हरुको जगजगी सकिँदै गएको बेला राणाकालमै उनका बाजे धनपाल लेखापढी जान्ने सुब्बाका कानूनी सल्लाहकार, दण्ड सजायको फैसलामा दाहिने हात मानिने प्रसिद्ध बैदार थिए । उनकै उत्तराधिकारी पालुङ्वाका पिता कालीबहादुरलाई वैदारजेठा भनिन्थ्यो ।
वि.सं. १९९१ देखि सुभाङ्गी पाएका पालुङ्वा खानदानको स्थिति कालीबहादुरको पुस्तासम्म आइपुग्दा समय र परिस्थिति बाबु–बाजेको जस्तो रहेन । आत्मकथामा उनले घरको आर्थिक अवस्था कमजोर भएर दयनीय अवस्थामा पुगेको उल्लेख गर्दै लेखेका छन्– ‘वैशाखमा कोदो र सिस्नोको खोले पनि आधापेट खाएर बैदारको नाम थाम्न नसक्ने अवस्थामा दिन बिताइँदैछ, अझ भदौमा मकैको ढिँडो खानै पर्नेछ ।’
सम्पन्न लिम्बू परिवार यस्तो अवस्थामा आइपुग्नुको कारणमा खर्चिलो परम्परागत लिम्बू रीति–रिवाज संस्कार र परम्परालाई चक्रबहादुरले दोष दिएका छन् । उनले लेखेका छन्, ‘वर्षैपच्छिे मरीमराउ परी बर्खान्त गर्नुपर्ने, राँगा, सुँगुर मेजमान काट्नै पर्ने, कोदो, मकै नभए धान उसिनेर जाँड बनाउनै पर्ने, त्यतिमात्र होइन, प्रत्येक कुटुम्बलाई खसी, बोकाको टाउको मेजमान चढाउनै पर्ने ।’
एक–दुई कित्ता अर्काको किपट जग्गा बन्धकी लिएकोमा सालैपिच्छे थप बढ दिनुपर्ने, घरमा रुपैयाँ नभए पनि सयकडा २ मुरी अन्न ब्याज तिर्नुपर्ने शर्तमा ऋण लिएर बढ तिर्नुपर्ने अवस्थाले टाट पल्टाएको यथार्थ बयान गरेका छन् ।
अन्ततः २०१२ सालतिर मुङ्लान लाग्ने टुङ्गोमा पुगेका पालुङ्वाले नेष्टालजिया प्रकट गरेका छन्– ‘आसाम हिँड्ने दिन ४–५ दिन बाँकी रहँदा बाबा र बैनीहरुले पनि बुहारीलाई पनि आसाम लिएर जानू ।’
श्रीमती लिएर जाँदा कान्छीबैनीले पनि सँगै जाने अड्डी लिएपछि बाबाले बैनीलाई फकाउँदै भनेका थिए, ‘तँ छोरीलाई म कानमा चेप्टे सुन कमाइदिन्छु, तेरो दाजु–भाउजूले आसामबाट आठानी रेजी (चाँदीको सिक्काको हार) पठाइदिन्छ ।’ ‘बर्मा गयो कर्म सँगै, नेपाल गयो कपाल सँगै’ त्यस बेलाको नेपाली उखान त्यसै बनेको थिएन ।
मुङ्लानबाट नेपालीहरु किन फर्कंदैनन्, भासिन्छन् ? भन्ने कुरा पालुङ्वाले आफै आसाम पुगेपछि अनुभव गरे । दोस्रोपटक पत्नी विष्णुमायासमेत आसाममा करिब ६––७ वर्ष बिताउँदा उनले जोखिमपूर्ण अवैधरुपमा मादक पदार्थ अफिम (कानी) र रक्सीको कारोबारभन्दा नेपालीले अरु काम गरेको पाएनन् ।
पुलिसले घेराउ गरेको जोखिमको सामना गरेको घटना उनले उल्लेख गरेका छन् । अफिम र रक्सीका कारोबोरीहरु खोज्दै नेपाली गाउँमा बन्दुकसहित अन्तःशुल्कका प्रहरी अधिकारीहरुले एक रात नेपाली गाउँमा छापा मारे ।
‘उठो उठो नेपाली’ भन्दै ओछ्यानबाटै उठाएर आँगनमा भेला गरी घरको खानतलासी सँगै कटबाँसले कुट्न थाले । कुटाइ र पक्राउबाट बच्न केही पुरूषहरु नजिकैको बार नाघेर जङ्गलतिर भागे ।
जीवनमा कहिल्यै नबिर्सने घटना वर्णनमा भनेका छन्, ‘जङ्गलै जङ्गल जाँदा एउटा निकै गहिरो होली तर्नुपर्ने ठाउँमा पुगियो । घाँटीसम्म पानी भएको होली अलिअलि गर्दै मुख, नाक डुबेपछि एकचोटी ईश्वरलाई सम्झिएँ ।
तल भूइँमा टेक्दा सास बन्द गर्दै ३–४ पटक जम्प हान्दा निकै कठिन परेको भए पनि फ्वाँफ्वाँ गर्दै बल्ल पारि निस्कें ।’ त्यस घटनापछि पुलिसबाट बच्न उनले कपाल मुण्डन गरी नचिन्ने भई भागेर अर्को गाउँ तीन सुकियास्थित पालुङ्वा काइँला बाबुकोमा पुग्नुप¥यो ।
आसाममा अफिम र रक्सीको कामले उनी अफिमको लतमा परे । त्यहाँ कमाउनुको सट्टा उतै भास्सिने आशका उनमा बढ्यो । पहाडबाट आएर दशौं वर्षदेखि घर नफर्किए र कमाउन नसकेका गाउँलेहरु पालुङ्वाले भट्दै आएका थिए ।
दोस्रो पटक पत्नी विष्णुमायालाई लिएर आसाम जान लागेका उनलाई ससुराली पुग्दा सासूले सम्झाएकी थिइन्, ‘अब उप्रान्त आसाम नजानू, उखानै छ, खोलाको खेती बग्नलाई, आसामको खेती मर्नलाई ।’ २०१७ सालमा उनी कहिल्यै नफर्किने गरी आसामबाट ताप्लेजुङ आए ।
पालुङ्वाले लेखेका छन्, ‘आसामबाट रुपैयाँ पैसा बेगर ६–७ वर्षमा २ वटा छोरा र छोरी लिएर टाट पल्टिएर आएको छु ।’ रुपैयाँ पैसा कमाउन नसके पनि आसामबाट लिएर आएको शिक्षा अन्ततः ताप्लेजुङमा उनका बाबु–बाजेको प्रतिष्ठा राख्ने पुँजी बन्यो ।
२०१८ सालको जनगणनामा उत्कृष्ट गणक ठहरिनुका साथै हाल सुबोधिनी माध्यमिक विद्यालयको अङ्ग्रेजी शिक्षकमा नियुक्ति पाउनु आसाममा लिएको अनौपचारिक शिक्षाको निर्णायक भूमिका रह्यो । आसामको टिपनियामा बस्दै जाँदा उनी त्यहाँका रैथाने सरह बने ।
जीवन धान्न अफिम (कानी) र रक्सीको काम गरे पनि आसामी भाषाको स्कुलमा पढ्ने उनमा रुचि पलायो । पालुङ्वा बसेको घरनजिकै स्कुल थियो ।
विद्यार्थीहरु घर अगाडिकै बाटो भएर विद्यालय जान्थे । युवा अवस्थाका पालुङ्वा आफ्नै उमेरकाहरु स्कुल गएको देख्दा पढाइमा आकर्षित भए । उनले लेखेका छन्, ‘मैले एक्कासि दश क्लासको भूगोल र अरु पुस्तकहरु किनेर बेलाबखत स्कुल जान थालेँ, धेरैजसो घरमा पढ्थेँ ।’
यसअघि स्कुलका हेडमास्टर कनक फुकेनसँग पालुङ्वाले मीत लगाइसकेका थिए । उनले स्कुलमा आसामे विद्यार्थीहरुसँगै कक्षामा राखेर आसामी, बङ्गाली भाषा सिकाए । आत्मकथामा भनेका छन्, ‘मैले सहजैसँग १०–१५ दिनमा नै बङ्गाली भाषा लेखपढ गर्न जानँे ।’
अङ्ग्रेजीमा उनी स्वाध्ययनबाटै सिपालु भइसकेका थिए । स्कुलमा पढ्ने मात्र नभएर उनले गाउँमा नेपाली भाषा, अक्षर नजान्ने बालबालिकाहरुलाई पढाउने काम पनि थाले । पढ्ने पढाउने कामले चक्रबहादुरले आसामकै ‘बङ्गा मास्टर’ को परिचय बनाए । उनले लेखेका छन्, ‘त्यसैले मलाई पनि उनीहरुले ‘बङ्गा मास्टर’ (गोरो मास्टर) भनेर सम्बोधन गर्थे ।’
यसअघि ताप्लेजुङमै उनले ठूलो वर्णमाला सकेर स्वाध्ययन गर्दै हिन्दु धार्मिक पुस्तकहरु कण्ठै गर्न थालेका थिए । किशोरवयमा लेखपढमा रुचि भए पनि बाहुनबाहेकका जातिलाई गाउँका पण्डितले पढाउँदैनथे । त्यस्तो व्यवहारले पनि चक्रबहादुरमा पढ्ने ईख बढेको थियो ।
उनले लेखेका छन्, ‘खतिवडा बाहुनको घरमा केही केटाहरु पुस्तक पढ्दै गरेको ठाउँमा म पनि छेउमा गएर हेर्न र सुन्न लागेँ । उनीहरुलाई पढ्न सिकाउँदै गर्ने बाहुनले मलाई ‘पर जा चितुवा भन्यो’ ।’ आत्मकथाका सम्पादन गरेका साहित्यकार राजेश्वर थापाले पालुङ्वाको शिक्षाका बारेमा लेखेका छन्– ‘उहाँसँग कुनै प्रमाण–पत्र नभए तापनि किरात दर्शन, हिन्दु दर्शन, भूगोल, विज्ञान, गणित, समाजशास्त्र तथा इतिहासको भरपूर ज्ञान थियो ।
उहाँ माध्यमिक तहसम्मको अध्यापन गर्न सक्षम भएकाले नै २०१८ देखि २०२५ सालसम्म बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शिक्षण गरेर योगदान पु¥याउनुभएको थियो ।’ आत्मकथामा लिम्बू संस्कार, संस्कृति, पालाम, धाननाचदेखि हिन्दु धार्मिक पर्वहरु नेपालीहरुले मनाउने विधिहरुका बारेमा गरेका व्याख्याले उनको स्वाध्ययन गहन भएको बुझाउँछ ।
आसाम बसाइको कालखण्डमा आसामी संस्कार, रीति–रिवाज, नागा जातिका भाषा संस्कृतिका बारेमा गरेको गहन अध्ययन पालुङ्वाले किताबमा सविस्तार लेखेका छन् । यसले औपचारिक शिक्षा नपाउँदामा मानिसले चाहेमा विद्वता हासिल गर्न सक्छ भन्ने उदाहरण बनेका छन्, मास्टर चक्रबहादुर पालुङ्वा ।
त्यसबेलाको शिक्षामा उदाहरण बनेका मास्टर चक्रबहादुर पालुङ्वा राजनीतिमा खासै अघि बढ्न नसकेपनि छोरा खड्गप्रसाद पालुङ्वा भने धरान उपमहानगरपालिकाको मेयर बन्न सफल भए । राजा ज्ञानेन्द्रको शासनमा भएको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट उनी मेयरमा विजयी भएका हुन् ।
अहिले उनी पार्टीका केन्द्रीय अध्यक्षसमेत बनेका छन् । साइँलो छोरा डा. योगन्द्र पालुङ्वा पिताकै बाटो पछ्याएर धरानमा माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । हङ्कङमा रहेका माइला छोरा डी.बी.पालुङ्वा नेपाली साहित्य र सङ्गीत क्षेत्रका डाइस्पोरा हुन् ।
साहित्यक, सांस्कृतिक संस्था र गतिविधिमा सक्रिय डी.बी. पिताको बौद्धिक उत्तराधिकारी बनेका छन् । कान्छा वीरेन्द्र पालुङ्वा काठमाडौंमा व्यवसायी छन् । चार छोराका ५ नाति, २ नातिनी, ३ छोरीका पनाति समेतका धनी चक्रबहादुरकी ८२ वर्षीया श्रीमती विष्णुमाया पतङ्वा भन्छिन्, ‘छोराछोरीलाई बाबुले कुटपिट नगरे पनि नानीहरु बाबुसँग साह्रै डराउँथे ।
उनीहरुले पनि गलत काम गरेनन् । त्यसैले होला तँ तँ म म गर्नु परेन सबै सही बाटोमा हिँडे ।’ प्राध्यापक डा. टङ्कप्रसाद न्यौपानेले पुस्तकमा मास्टर चक्रबहादुर पालुङ्वाको आत्मकथाले नराम्रा कुराको विरोध गरिएको उल्लेख गरेका छन् ।
लिम्बू शब्दहरुको प्रयोगले पुस्तकलाई आकर्षक बनाएको, लिम्बुवानको प्रकृतिको सुन्दर चित्रण गरिएको बताएका छन् । साथै पालुङ्वाको जीवनचर्यालाई नजिकबाट प्रत्यक्ष अनुभव गरेका पात्रहरु डिल्ली घिमिरे, डिल्लीरमण बराल, हरि गौतम, लेखनाथ गौतम, टङ्क श्रेष्ठ, दिलबहादुर पालुङ्वाका संस्मरणहरु पनि पुस्तकमा समेटिएका छन् ।