मेजर अमरबहादुर सिंह राई कारगिल युद्धबाट फर्किएर महेन्द्रनगर चक्रघट्टीको सैनिक प्लटमा सानो खाँबा गाडेर टिनको छाना लगाएर एकतले घर बनाएर बसेका थिए । उनको पक्कीघर बनाउने सोच पनि थियो ।
उनकी श्रीमती भरखरकी थिइन् । छोरा–छोरी भएका थिएनन् । विवाह गरेर उनी फेरि पल्टनमा जान्छन् । पल्टनबाट २ वर्षपछि कारगिल युद्ध लडेर नेपाल आउँछन् । उनको थलो दिङ्ला हो । नेपाल फर्केर हालको घरमा बस्न थालेको पनि एक वर्ष हुन लागेको थियो ।
अमरसिंह राईले घरबाट पूर्व कालापानीमा १ बिगाहा खेत लिएका थिए । त्यो आफै खेती गर्दथे । खेतीको समयमा उनी दिनभरि मेलापातसँग हुन्थे । बालिनाली थन्क्याएर केही दिन बाबु–आमासँग भेटघाट गर्न दिङ्ला जान्थे । उनकी श्रीमती त्यहीँ बजारको स्कुलदेखि उत्तर रोडमा दोकान गरेर बसेकी थिइन् ।
उनी जातले गुरुङ थिइन् । शिरमा घुङ्ग्रिएका केश, घुम ओडेका जस्ता गाजलु आँखा, गोरो अनुहार, सानो कदकी राम्री थिइन् ।
अमरबहादुर बेलुका त्यहाँ रक्सी खान जान्थ्यो । त्यहीँ नै चिनजान भएर उनले स्मितालाई ल्याएका थिए । अमरबहादुरको स्थानीय सैनिक हेडक्वार्टर जम्बु–कस्मिरमा नै थियो । त्यहाँ उनले ५ वर्ष बिताएका थिए । जम्बु एक अनौठो ठाउँ छ । खोलाहरु पश्चिमबाट पूर्वतर्फ बगेका छन् ।
पहेंला गोला ढुङ्गा, घर बनाउन भने हुँदैन । घर बनाउन ढुङ्गाको चट्टान नै फोड्नु पर्छ । त्यहाँका मानिस सम्पन्न छन् । श्रमिकहरु विहार र नेपालबाट जान्थे । अमरबहादुरको घर छिमेकमा एउटा मण्डल थर भएको विहारी मास्टर बस्दथ्यो ।
ऊ महेन्द्र मा.वि.मा गणित शिक्षक थियो । कान्छी (राधा) पनि अमरबहादुरकी छिमेकी थिइन् । वैंश जान लाग्यो तर, माग्न कोही पनि आउँदैनन् । काली– अनुहार नपरेकी होची थिइन् । तर, शिल स्वभाव भने राम्रो थियो । यसरी दिन बित्दै गए ।
एकदिन अमरबहादुर सिंह राई मावल जाने भनेर बिहानै लुगा लगाउँछ । आफनो कारगिलको लडाइँमा प्रयोग गरेको सिरूपाते खुकुरी दराजबाट निकाल्छ । खुकुरीको दापमा चाँदीका बुट्टा कुँदेको थियो । खुकुरीको बिँडको टुप्पोमा पनि चाँदी ठोकेको थियो । झट्ट हेर्दा भीमसेन थापाको खुकुरीजस्तो थियो । तर, यो अलि सानो थियो ।
छाउनीको सङ्ग्रहालयमा उनले भीमसेन थापाको खुकुरी देखेका थिए ।
श्रीमतीले ‘आज खुकुरी भिरेर हिँड्न लाग्नुभयो ?’ भन्दा ‘मावल जान्छु ।कानेपोखरीबाट उत्तर लेटाङ बजारसम्म गाडीमा जानुपर्छ । त्यसभन्दा माथि ६ नं. बुधबारे जाने बाटोमा माथि डाँडामा मावल घर छ । थोरै जङ्गलको बाटो पनि हिँड्नु पर्छ । त्यसैले खुकुरी बोकेको भने ।’
नास्ता गरेर,‘बेलुका खाना खाएर ढोका राम्ररी लगाउनू’ भन्दै बाहिर निस्किए । झुम्का पुग्दा १० बजेको थियो । त्यहीको चिनेको होटलमा खाना खान्छन् र त्यसै होटलको एउटा कोठामा आराम गर्दछन् । साँझ पर्न लागेपछि चक्रघट्टी महेन्द्रनगरतिर लाग्दछन् । ढीलो गरी घर पुग्दछन् । घर पुग्दा रातिको १० बजेको थियो । ढोकाको छिँडीबाट हेर्दा मधुरो बत्ती बलेको थियो । त्यसबेला बिजुली थिएन । लालटिन बाल्नु पर्दथ्यो ।
उनले ढोका खोल्न श्रीमतीलाई भने तर निकैबेर ढोका नखुल्दा सिनेमाको पाराले ढोकामा लात्तले हानेर फोर्दछन् । भित्र त्यही मण्डल मास्टर र श्रीमती थिए । उनले दापबाट खुकुरी निकाले । मण्डल भाग्यो । श्रीमतीको चुल्ठामा समातेर छ्याप कि छ्याप पारेर श्रीमतीलाई काटे । सबै मझेरी रक्ताम्य भयो । टुक्रुक्क कुर्सीमा बसे ।
लामो सास फेर मनमनै भने, ‘जिन्दगीमा यस्तो पनि हुँदो रै’छ ।’ त्यसपछि घरबाट निस्कएर उत्तरतर्फ लागे । बाटोमा एउटा सानो पैनी थियो । त्यसै पैनीमा खुकुरी धुन्छन् र त्यहीँ बिँड देखिने गरी गाड्छन् । अनि सरासर इलाका प्रहरी कार्यालयमा गएर इन्स्पेक्टरलाई भेटेर उनले भने, ‘मैले श्रीमती काटेँ हेर्न हिँड्नुहोस् ।’ प्रहरी इन्स्पेक्टर छक्क पर्छन् ।
हवल्दारसहित अमरबहादुर सिंहसँग दक्षिणतर्फ लाग्दछन् । अलि तल पुगेर खुकुरी देखाउँछन् । इन्स्पेक्टरले हवल्दारलाई इसारा गर्छन् । हवल्दारले जेबी रुमाल निकालेर खुकुरी गाडेको ठाउँबाट निकाल्छन् । उनीहरु तीनैजना अमरबहादुरको घरमा पुग्छन् । हेर्दा मझेरीमा काटिएर लडेकी महिला देख्छन् । राति नै इन्स्पेक्टरले घर सिल गर्छन् र अमरबहादुरलाई हिरासतमा लिन्छन् । यो खबर सबैतिर फैलिन्छ । मानिसको भीड लाग्यो । तर, प्रहरीले घर घेरेकोले सबैले बाहिरबाट मात्र देखे ।
अमरबहादुरलाई सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा ज्यानमारा फौजदारी मुद्दाको अभियोगमा पेश गरिन्छ । न्यायाधीश केदार कोइरालाको १ नं. टेबुलमा मुद्दा दर्ता हुन्छ । भोलिपल्टलाई पेशीको मिति तोकिन्छ । भोलिपल्ट मुद्दाको बहस सुरू हुन्छ । सरकारी वकिलले आजीवन कारागार दिनुपर्ने बहस गर्नुहुन्छ । न्यायाधीशले अमरबहादुरलाई आफ्नो तर्फको वकिलको नाम पेश गर्न भन्नुहुन्छ ।
तर, अमरबहादुरले ‘श्रीमान् म आफै आफ्ना कुरा राख्दछु’ भने अनि न्यायाधीशले इजाजत दिनुभयो । अमरबहादुर ‘ग्रानजुरी’ मा उभिएर आफ्ना कुरा राख्दछन् । मानिसहरुको भीड थियो । प्रहरीलाई पन्छाउन गाह्रो थियो । अमरबहादुरले आफ्नो कुरा राख्ने क्रममा भने, ‘श्रीमान् मैले पहिलेदेखि नै मेरी श्रीमतीको चरित्रमाथि शङ्का गरेको थिएँ ।
म नहुँदा त्यो मण्डल मास्टर मेरो घरमा आउने गरेको कुरा छिमेकीहरुले पनि भन्नुभएको थियो । मैले कारगिलबाट धेरै पैसा पठाएँ । तर, धेरै हिनामिना भयो । एकलाख ऋण भनेर त्यसै मण्डल मास्टरले लगेको रहेछ । पछि मैले मागेँ । म बिरामी परेको बेलामा पनि राम्रो हेरचाह नगर्ने ।
पल्लो घरकी कान्छीले आएर हेरचाह गर्ने । हटियाहरुमा सबैतिर जाने । मन लागेको कुरा किन्ने र खाने म चुप लागेरै बसेको थिएँ ।’ बीचमा न्यायाधीशले सोध्नुभयो, ‘तपाईंले मन पराएरै बिवाह गरेको हैन ?’ ‘हो, श्रीमान् हामी हतारमा विवाह गर्दछौं, अनि फुर्सदमा पश्चताउँछौं ।’
यिनी बाबुआमालाई पनि नटेर्ने । म जानी जानी घरबाट निस्किएर मावल जान्छु भनेर हिँडेको हँु । त्यसैले मैले खुकुरी पनि बोकेँ । मैले खुकुरी बोक्दा उनलाई शङ्का लाग्यो । तर, मैले मिलाएर भनेँ । मैले आफ्नी श्रीमती परपुरूषसँग सहवास गरेको देख्न सकिनँ, हजुर, त्यसैले आवेसमा आएर काटेँ ।
अब मलाई जे सजाय हुन्छ म भोग्न तयार छु’ यसो भन्दा न्यायाधीश टोलाएर हेरिरहनुभएको थियो । बाहिर बसेका मानिस मेरो बयान माइकबाट सुनिरहेका थिए ।’ न्यायाधीशले आइतबार फैसला सुनाउने भन्नुभयो । त्यो बिहीबारको दिन थियो ।
आइतबार सबै फैसला सुन्न प्रतिक्षामा थिएँ । दिनको ५ बज्न लागेको थियो । माइकको साउण्ड खुल्यो । न्यायाधीश केदार कोइरालाले भन्न सुरू गर्नुभयो–‘मुद्दा नं. ३०६, वादी नेपाल सरकार सरकारी वकिलको कार्यालय । प्रतिवादी अमरबहादुर सिंह राई वर्ष ५८ घर महेन्द्रनगर चक्रघट्टी गा.वि.स. वडा नं. ९ फैसला यस प्रकार छ ।
‘कुनै पनि हिन्दु धर्मावलम्बी नारी वा पुरुषले आफ्नो श्रीमान् वा श्रीमती पर पुरूष वा परस्त्रीसँग सहवास गर्दागर्दै कसैले पनि देख्न नसक्ने भएकोले आवेशमा आएर अमरबहादुर सिंह राईले आफ्नी श्रीमतीलाई काटेको वा हत्या गरेको एक अनौठो घटना हो ।
धर्मलाई ख्याल गर्दा अमरबहादुर राईले गरेको कार्यलाई अन्यथा लिन सकिँदैन । त्यसैले उनीलाई थुनाबाट रिहा गरिएको छ । तर, आवेशमा आएर आफ्नो मनलाई धैर्य गर्न नसकेकोमा १ महिना जेल सजाय तोकिएको छ । निजले पुनरावेदन गर्न सक्दछन् । यो मुद्दाको पूर्ण पाठ १५ दिनपछि मात्र आउँछ ।’
फैसला सुनाएपछि सबै हर्षित हुन्छन् । न्यायाधीश केदार कोइराला इजलासबाट उठेर भित्र आफ्नो कोठामा चिया नास्ता गर्न पस्नुहुन्छ । मानिसहरु न्यायाधीश केदार कोइराला जिन्दावाद भन्दै बाहिर रोडमा निस्किए । अमरबहादुर सिंह राईलाई प्रहरीले भ्यानमा राखेर झुम्का जेलतिर लगे ।
एक महिनाछि अमरबहादुर सिंह राई झुम्का जेलबाट रिहा भए । उनी सदा झैं खेती गर्न लागे । त्यो पुरानो घर भत्काएर नयाँ चारकोठाको पक्का घर बनाए । खेती गर्न जाँदा छिमेककी कान्छी (राधा) बड्तौलाले भान्सा चलाउन थालिन् । एकदिन अमरबहादुर अबेर राति ११ बजे घर आउँछन् । राधाले खाना तताउँछिन् ।
अमरबहादुर डाइनिङ टेबुलमा खाना खान बस्दछन् र खाना खान्छन् । अमरबहादुरले खाना खाएपछि कान्छी (राधा) ले थालमा खाना पस्किएर खान थाल्छिन् । अमरबहादुरले भने, ‘अहिलेसम्म तिमीले खाएकी थिइनौ ? कान्छीले भनिन्, ‘तपाईंले नखाई म कसरी खानु ?’
अमरबहादुर छक्क परेर कान्छीलाई हेरिरहेका हुन्छन् । उनी मनमनै भन्छन्, ‘महिलाको यो पनि एक रुप हो ।’ उनी (कान्छी) राधाको सुन्दरता होइन । व्यवहारबाट प्रभावित भएर भविष्यको साथीको कल्पना गर्न थाल्दछन् । प्रहरीले रामस्वरुप मण्डललाई खोज्दै थिए । ऊ राति नै वीरपुरबाट भारततर्फ लाग्यो ।
(अदालती घटनामा सत्यता छ । पात्रहरू सबै काल्पनिक हुन् ।)