सिन्कौली सेउली सेलै हो
नाच्ने र गाउने बेलै हो
सोइसोइला हो कुर्रा हा हा ...
नौ गेडी ढुङ्ग्री बुलाकी
यसपाली घरबार होला कि ?
सोइसोइला हो कुर्रा हा हा
साग छ साइँली साग छ साइँली
आहै रायो तोरीको साग छ स्यामुना
सत्य होला किर्रे होला
आहै तिम्रो माया लाग्छ स्यामुना ...
धरान १६ की दीपा राई (१७) जानी–नजानी सिलीमा कम्मर मर्काइरहेकी थिइन् । जातीय पहिरन लगाएर साकेला सिली नाच्दा आफू राई जाति भएकोमा गर्व लाग्छ दीपालाई । केही वर्षदेखि उँधौली र उँभौलीमा सिली नाच्ने रहर पलाए पनि यसको छेऊ टुप्पो भने उनलाई थाहा छैन ।
किरात सम्प्रदाय, त्यसमा पनि राई जातिले उँधौली र उँभौलीमा सिली नाच्छन् । राई जाति साकेला थानमा मात्र होइन, शुभ संस्कार, पितृ र प्रकृति पूजामा पनि सिली नाच्छन् । शनिबार ढोलको ‘डुङ्कु, डुङ्कु’मा धरान १० यलम्बर भवनमा नाचिरहेका युवायुवती भेटिए । ढोलको तालमा ‘सोइसोइला’, ‘स्यामुना’, ‘है है ला ला लै लै’ को भाकामा साकेला सिलीको अभ्यास गरिरहेका देखिए ।
दीपा पनि त्यसैमा लय मिलाइरहेको भेटिइन् । दीपा जस्तै धरान १७ की बिबिका राई पनि सिली सिकिरहेकी थिइन् । युवाहरुमा संस्कार, संस्कृति पुस्तान्तरण गर्ने उद्देश्यले यलम्बर भवनमा सिलीको सीप प्रदान गरिँदैछ । धरान १९ का मिलन राई (१९), आयम राई (१६) पनि ढोलको तालमा ताल मिलाइरहेका छन् । ‘नयाँ पुस्तालाई विधिवत् रुपमा संस्कृति हस्तान्तरण गर्न सिली प्रशिक्षण गराइँदैछ,’ किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान १९ बाट प्रतिनिधित्व गरेका सिली मोपा (प्रशिक्षक) भविष्य राई (१८) ले भने ।
शनिबारदेखि धरान १० स्थित यलम्बर भवनमा साकेला सिली र ढोल बजाउने तालिम सुरु भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक सहयोग र किरात राई यायोक्खा धरान नगर समितिको आयोजनामा १५ दिने प्रशिक्षण भइरहेको छ ।
पुख्र्यौली पहिचान, पुर्खाले नाचेको सिली विकृत भइरहेको अवस्थामा पुरानो संस्कारलाई हुबहु बचाउनु पर्छ भन्ने उद्देश्यले सिली प्रशिक्षण गराइरहेको प्रशिक्षक महेश राईले बताए । ‘माझ किरातमा चलिआएको, संस्कार–संस्कृति साकेलामा आउनुपर्छ ।’ प्रशिक्षक राईले भने । पछिल्लो समयमा सिलीको विकृत रुप देखिन थालेपछि र, यसको रुप परिवर्तन हुन थालेपछि पुराना पहिचान धरापमा पर्ने देखिएकाले यसको विधिवत् प्रशिक्षण सुरु गरेको प्रशिक्षक राईले बताए ।
‘साकेला थान (भूमेथान) मा जाँदा बजाउने ताल, सिली सुरु र समापन गर्दा फरकफरक हुन्छ, बाटोमा हिंड्दा ढोलको ताल फरक हुन्छ, वर्तमान समयमा यसको उजागर गर्नुपर्ने आवश्यक्ता देखिएको छ,’ प्रशिक्षक राईले भने, ‘सिली हजारौं हुन्छन् तर मूलभूत रुपमा २ वटा छन्, मानव जाति जन्मेदेखि मृत्यु सम्म झल्काउने सिली र पशुपन्छी जनावरको हाउभाउ प्रदर्शन गर्ने सिली ।’
साकेलामा नयाँ पुस्ताको चाख बढ्दै गइरहेको छ । तर युवा पुस्ताहरु अल्मलिएका छन् । युवा पुस्तामा जानकारीका लागि भए पनि सिली सिकाउनै पर्ने आवश्यक्ता रहेको आयोजक लोकेन्द्र राईले बताए ।
‘चुलामा नाचिने एउटा सिली, साकेला थानमा नाचिने एउटा सिली, बिहेहरुमा नाचिने सिली, चेलीबेटी बिदा गर्दा, बुहारी भित्र्याउँदा नाचिने सिली र ढोल बजाउने तरिकाहरु फरकफरक हुन्छ,’ लोकेन्द्रले भने, ‘अहिले चाहिँ खाली डुङ्कु, डुङ्कु, डुङ्कु गर्ने बित्तिकै साकेला नाचेछ भन्ने हुन्छ, तर, ढोल बज्ने बित्तिकै कुन ताल र कुन सिली भन्ने युवा पुस्तामा ज्ञान छैन, त्यसैले प्रशिक्षण सुरु गरेका हौं ।’
६० जनालाई प्रशिक्षण दिने उद्देश्य राखिए पनि अहिले ६२ जना पुगेको आयोजकको भनाइ छ । प्रशिक्षार्थी आउने क्रम अझै जारी छ । ‘रोकौं भने संस्थाप्रति नकारात्मक हुन्छ, एउटा प्रारम्भिक कार्यसमिति र वडा कमिटीबाट ६ जना प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाएका छौं ।’ लोकेन्द्रले भने ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले प्रत्येक वर्ष प्रतियोगितात्मक सिलीको स्पर्धा राख्ने गरेको छ । तर, युवा पुस्तामा साकेला नाच्ने कुरा थाहा भए पनि यसको अन्तर्य थाहा नभएको पाकाहरु बताउँछन् ।
युवा पुस्तामा आफ्नो संस्कार संस्कृतिप्रति अल्मल नहोस् भन्ने प्रशिक्षणको उद्देश्य रहेको किरात राई यायोक्खा धरान नगर सदस्य जानुका राईले बताइन् । उनले प्रशिक्षणमा महिलाहरुको आकर्षण तुलनात्मक रुपमा पुरुषभन्दा बढी रहेको बताइन् । ‘५० प्रतिशत भन्दा बढी महिला, युवतीहरुको सहभागिता छ, नाचसँग सम्बन्धित भएकाले पनि आकर्षण बढेको देखिन्छ,’ जानुकाले भनिन्, ‘प्राविधिक अर्थात् ढोल बजाउने र कलाकार अर्थात् सिली नाच्ने दुई विधामा प्रशिक्षण भइरहेको छ ।’
प्रशिक्षण लिएकाहरुले आआफ्नो वडा कमिटी र प्रारम्भिक कार्य समितिमा गएर सीप हस्तान्तरण गर्ने आयोजक किरात राई यायोक्खा धरान उप–महानगर कमिटीका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए ।