अरुणसँगै ६ कोशी र तमोर नदीको संगमस्थल त्रिवेणी अहिले ‘खुवालुङ’ का नामले चर्चामा छ । कोशी नदीमा जलयात्राका लागि अवरोधहरु हटाउने प्रारम्भिक अध्ययनका क्रममा नदीको बीचमा भीमकाय ढुङ्गो के गर्ने भन्ने प्रश्न उठेपछि किरात सम्प्रदाय सशङ्कित बने । किरात राई जातिले मान्दै आएको मुन्धुमी शक्ति केन्द्र ‘खुवालुङ’ को विनाश हुने पो हो कि भन्ने शङ्काले विभिन्न भ्रमहरु सतहमा आए । 

किरात राई जातिको अधिकारवादी संस्था किरात राई यायोक्खाले ‘खुवालुङ’ मास्न नहुने भन्दै मुख्यमन्त्री शेरधन राईसमक्ष ज्ञापनपत्र समेत बुझायो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीका अवरोध पन्छाउने विषयमा ढुङ्गाहरु फुटाउने भनेपछि ‘खुवालुङ’ थप चर्चा र विवादको विषय बन्यो । 

खुवालुङलाई हटाउन नहुने भन्दै संघर्ष र संरक्षण समिति निर्माण भयो । कोशी नदीको अवरोध पन्छाउन स्थानीय उपभोक्ता समिति निर्माण भयो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘खुवालुङ’ को संरक्षण र यसलाई अवरोधका रुपमा बुझ्नेहरुको वैचारिक द्वन्द्व चल्यो । स्थानीयले नै यसलाई ‘ज्यानमारा ढुङ्गो’ भने । 

विषय विवादमा आएपछि तीनै तहका सरकारलाई मुछेर भ्रमहरु चल्न थाल्यो । 

मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ क्षेत्रमा पुगेर त्यहाँको स्थलगत अनुगमन गरे । अनुगमनका क्रममा मुख्यमन्त्री राईले ‘खुवालुङ’ लाई जोडेर संघीय सरकार र प्रदेश सरकारको भूमिकालाई  अतिरञ्जित हुने गरी अनावश्यक टिक्काटिप्पणी भइरहेको बताए । 

उनले सरकारले ‘खुवालुङ’ फुटाउने विषयमा सरकारले कहीँकतै निर्णय नगरेको स्पष्ट पारे । उनले खुवालुङको प्रबद्र्धनका लागि आवश्यक कार्ययोजना बनाउने बताए । 

मुख्यमन्त्री राईले सप्तकोशी नदीको तटीय क्षेत्रमा रहेका किरात संस्कृतिका विभिन्न स्थलको खोजी गर्ने र संरक्षण गर्ने विषयमा सरकारले चासो राखेको बताए । 

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किराँत सभ्यताको प्रारम्भमा सप्तकोशी तटीय क्षेत्र आइपुगेका पुर्खाले खुवालुङ क्षेत्र हुँदै तीन वटा नदी पछ्याउँदै आफ्नो भुगोल स्थापित गरेको बताए । खुवालुङलाई संरक्षण र सौन्दर्यकरण गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष राईले बताए । कार्यक्रममा भोजपुर, उदयपुर, सुनसरी र धनकुटा जिल्लाका किरात राई यायोक्खाका अगुवाहरुको उपस्थिति थियो । 

मुख्यमन्त्रीसँगै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, सुनसरी, मोरङ, उदयपुर र भोजपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका डिआईजीलगायतको टोलीले खुवालुङको अवलोकन निरीक्षण गर्यो । 

कोशी कटान क्षेत्र नियन्त्रणका लागि लगानी प्राधिकरणमार्फत् आएको प्राविधिक कन्सल्टेन्सी डोर–वे इन्टरनेशनका  विपुलराज पाण्डेले ‘खुवालुङ’ फुटाउने विषयमा प्रतिवेदन तयार नगरेको जनाए । उनले अध्ययनका क्रममा गरिएको सोधीखोजीलाई गतल रुपमा प्रचारवाजी भएको हुनसक्ने बताए । पाण्डेले प्राविधिक रुपमा पनि यसको संरक्षण गर्न सकिने ठाउँ रहेको स्पष्ट पारे । 

सरकारले चतरादेखि दोलालघाटसम्म जलयातायात सम्भाव्यताको प्रारम्भिक अध्ययन गर्ने तयारी गरिरहेको छ । कटान क्षेत्रको जोखिमबारे प्रारम्भिक अध्ययन गरिरहेको डोर–वे इन्टरनेशनले जलयातायातका लागि आवश्यक पर्ने जलसतहको समेत परीक्षण गरिरहेको छ । इन्जिनियर पाण्डेका अनुसार हालसम्म सप्तकोशी नदीको ३० किलोमिटर क्षेत्रमा कटान क्षेत्र र जलयातायातका लागि आवश्यक जलसतहको प्रारम्भिक अध्ययन सुरु गरेको छ ।

सप्तकोशी नदीमा वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा, नेपाल रिभर ट्रान्सपोर्ट, वराहक्षेत्र मरिन एण्ड रिसार्ट्स र सप्तकोशी प्रालिका ६ वटा जेटबोट सञ्चालनमा छन् ।