सङ्खुवासभाको नुनढाकीमा विं.सं. २००१ मा जन्मिएका धनबहादुर तामाङ गाउँमै खेती किसानी गर्दै हुर्किए । गाउँमा युवाहरू खोज्दै ‘गल्लावाल’ आउँथे । वि.सं. २०२० सालमा धनबहादुरले पनि गल्लावाल भेटे । उनलाई तीन दिन हिँडाएर दार्जिलिङको घुमपहाड पुर्याइयो ।
उमेरले ७७ पुगेका पूर्व भारतीय गोर्खा सैनिक धनबहादुर तामाङ अचेल सङ्खुवासभाको नुनढाकीमा अलैंची खेती गर्छन् । उनलाई सहरको भीडभाड मन पर्दैन, गाउँकै शान्त वातावरणमा रमाउँछन् ।
धनबहादुर पूर्व भारतीय गोर्खा सैनिक हुन् भन्ने त धेरैलाई थाहा छ तर, उनले लडाइँमा पाकिस्तानको लडाकु जहाज खसाएको कथा धेरैलाई थाहा छैन । ७÷११ जिआर (गोर्खा राइफल्स) का धनबहादुरले सन् १९७१ को भारत–पाकिस्तान लडाइँमा पाकिस्तानको एमआईजी–१९ लडाकु विमान खसाएका थिए ।
त्यसबापत उनले तत्कालीन भारतीय राष्ट्रपति भी.भी.गिरीबाट ‘भिआरसी’ अर्थात् ‘वीरचक्र पदक’ पाएका थिए । उनले पाएको त्यही पदकको सम्मानमा उनका छोराहरूले धरानमा ‘भिआरसी मिट मार्ट’ सञ्चालन गरेका छन् ।
धनबहादुर आफ्नो पेन्सन थाप्न र छोराहरूलाई भेट्न सङ्खुवासभाबाट धरान झर्छन् । धरानमा भेटिएका उनले आफूले पाकिस्तानको लडाकु विमान खसाएको कथा रमाइलोसँग सुनाए ।
तस्वीर : मोजेस राई
भारत–पाकिस्तानबीच युद्ध चलिरहेको बेला थियो । भारतले पाकिस्तानको भू–भाग कब्जा गर्न पठाएको फौजको अग्रमोर्चामा धनबहादुरको ७÷११ जिआर डेल्टा कम्पनी खटियो ।
धनबहादुरका अनुसार भारतीय सेनाको तीन बटालियन चिकन नेक एरिया कब्जा गर्न खटिएको थियो । सन् १९७१ डिसेम्बर ७ मा उनले पाकिस्तानी जहाज खसाएका थिए ।
उनी भन्छन्, ‘डिसेम्बर ६ मा चिकन नेक एरियामा ८० किलोमिटर कब्जा गरी झण्डा गाड्यौं । त्यसपछि पाकिस्तानतर्फबाट काउण्टर एट्याक आउँछ भनेर बङ्कर खनेर डिफेन्स बस्यौं तर, त्यसदिन आएन । भोलिपल्ट मात्र आयो ।’
धनबहादुर बङ्करभित्र एलएमजी बोकेर ड्युटीमा थिए । डिसेम्बर ७ को बिहान ३ बजेतिरै पाकिस्तानी लडाकु विमान धनबहादुरकै माथिबाट घुम्न थाले । ‘मेरै माथि माथि ५ वटा पाकिस्तानी फाइटर जहाज आए । एउटाले मेरै अगाडि बम खसायो ।
अरूले माथिबाट नियालिरहेका थिए । एकदिन त मेरै पोष्टमाथि आएर फायर गर्न थाल्यो । त्यसपछि मैले पनि ब्रष्ट फायर गरेँ ।’ उनले प्रहार गरेको जहाजमा धुवाँ आएको देखे । एकै छिनमा आगोको मुस्लोसहित जहाज खस्यो ।
पाइलट भने प्यारासुटबाट फाल हान्यो । एक किलोमिटर टाढा खसेको उक्त जहाज भूइँमा भासिएको धनबहादुर बताउँछन् । त्यही जहाजको टुक्रा अहिले पनि उनको पल्टनले सजाएर राखेको छ ।
धनबहादुरले पाकिस्तानी जहाज खसाएपछि पल्टनले खुसीयाली मनायो । त्यो घटनापछि पाकिस्तानी फौज पनि पछि हट्यो । आक्रमण गर्न फेरि फर्किएर आएन । तर, जहाज धनबहादुरले होइन आफूले खसाएको भनेर दाबी गर्नेहरू अरू निस्किए ।
धनबहादुरले जहाजमा गोली प्रहार गरेपछि प्यारासुटबाट फाल हानेर बाँचेका पाइलटले भने सत्य बोले । त्यसपछि मात्र उनले पदक पाए । ‘सुरुमा त भाइबन्दी गर्न खोजियो, मैले झारेको जहाजलाई अरूले नै दाबी गरे’ उनी भन्छन्, ‘पाइलटले यो पोष्टबाट यो डिग्रीमा गोली आएको हो भनेर मेरो पोष्टलाई देखाएछ, त्यसपछि मैले पदक पाएँ ।’
पछि भारत–पाकिस्तान वार्तापछि भारतले उक्त भूमि छाड्यो । धनबहादुर एक महिनापछि छुट्टीमा नेपाल आएका थिए । केही समयमा उनलाई ‘वीरचक्र’ पदक लिन बोलाइयो । उनी आफ्नी जहान र बूढो बाजेलाई लिएर दिल्ली पुगे ।
राष्ट्रपति भी.भी. गिरीको हातबाट सन् १९७२ मा उनले भारतको गौरवका रूपमा रहेको वीरचक्र पदक पाए । उनलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पनि बधाई दिइन् । पदकसँगै उनको एक तह पनि बढ्यो । उनी लेसनायक भए । सन् १८७६ मा नायक भए ।
जागिर १६ वर्ष पुगेपछि उनी पेन्सनमा निस्कन चाहन्थे । किनकि त्यसभन्दा माथि बढुवा हुन उनको शैक्षिक योग्यताले दिँदैनथ्यो । उनले निवेदन दिए तर, स्वीकृत भएन । पदक विजेतालाई समय नपुगी जान दिइँदैनथ्यो ।
सन् १९८० मा उनको पल्टन वीरपुर पुगेको थियो । त्यहीबेला हेडक्वार्टरबाट ‘शैक्षिक योग्यता नपुग्नेहरू स्वेच्छिक अवकासमा जान सक्ने’ सूचना आयो । त्यहीबेला उनी पनि रिटायर्ड भए ।
‘जात’ नमिल्दा छोरा भर्ती हुन सकेनन्
सङ्खुवासभाको नुनढाकीमा वि.सं.२००१ मा जन्मिएका धनबहादुर तामाङ गाउँमै खेती किसानी गर्दै हुर्किए । गाउँमा युवाहरू खोज्दै ‘गल्लावाल’ आउँथे । वि.सं.२०२० सालमा धनबहादुरले पनि गल्लावाल भेटे । उनलाई तीन दिन हिँडाएर दार्जिलिङको घुमपहाड पु¥याइयो । त्यसपछि नापजाँचमा पास भएपछि तालिमका लागि लगियो । ११ महिने कठोर तालिमपछि उनको सैन्य परिचय बन्यो, ‘७÷११ जिआर–९४०८८३३’ ।
धनबहादुर खासमा तामाङ हुन् । तर, भर्ती लाग्दा गल्लाले ‘राई’ लेखिदिए । किनकि त्यसबेला सेनामा राई प्राथमिकतामा पर्थे । उतिबेला धनबहादुरको नागरिकता पनि बनेको थिएन । भर्तीमा आवश्यक पनि पर्दैनथ्यो । धनबहादुरले आफू रिटायर्ड भएपछि छोराहरूलाई पनि भर्तीमा लगाउन चाहेका थिए । तर, भारतीय सेनामा उनको थर ‘राई’ उल्लेख भएको र छोराहरूको तामाङ भएकाले भर्ती लगाउन सकेनन् ।
उनले जागिर खाएपछि मात्र नागरिकता बनाए । जसमा ‘धनबहादुर तामाङ’ नै उल्लेख छ । उनका सात छोरा र एक छोरी छन् । उनीहरूको नागरिकतामा पनि तामाङ हुने नै भयो । वि.सं.२०३८ मा उनले छोराहरूको थर पनि ‘राई’ नै बनाएर पनि लगाउने कोशिस नगरेका होइनन् तर, सम्भव भएन । उनको गुनासो छ ‘तीन–चार लाख खर्च भयो तर, छोराहरूलाई भर्ती लगाउन सकिनँ ।’
तस्वीर : मोजेस राई
‘वीरचक्र’ को भत्ता
धनबहादुरले आफ्नो पेन्सनसँगै मासिक रूपमा ‘वीरचक्र’ पदकको भत्ता पनि पाउँछन् । सुरुमा ५० रुपैयाँ भारुदेखि बढ्दै हाल ७ हजार भारु बुझ्छन् । पदकको भत्ता र आफ्नो पेन्सन समेत गरी मासिक ४८ हजार हात पर्छ उनको । पेन्सन थापेपछि धनबहादुर छोराहरू र आफन्तसँग पार्टी गर्छन्, रमाइलो गर्छन् र फेरि उक्लन्छन् सङ्खुवासभा ।
पदक भने अहिले उनीसँग छैन । पल्टनले सुरक्षित राख्ने भनेर मागेपछि उनले दिएका छन् । उतै गएका बेला हेर्छन् र चित्त बुझाउँछन् । ६ वर्षअघि श्रीमती बितेपछि एक्लिएका उनले यही वर्ष परिवार र आफन्तको सल्लाहमा कान्छी श्रीमती ल्याएका छन् । दुई मिलेर गाउँमै अलैंची फलाउँछन्, खेतीपातीमा रमाउँछन् । चर्च जान्छन्, सेवा गर्छन् र महिना महिनामा पेन्सन थाप्न धरान झर्छन् ।
भारतीय सेनामा वीरचक्र पाउने नेपालीमध्ये कतिपय बिते, कति भारतमै बसोबास गरिरहेका छन् । नेपालमा हाल आफू मात्र रहेको उनी बताउँछन् । उनलाई पल्टनले विशेष अवसरहरूमा सम्मान स्वरूप भारतमा बोलाउँछ । त्यसबेला पल्टन गएर आफूले खसालेको जहाजको टुक्रा र आफूले पाएको पदक अनि त्यसबेलाका फोटाहरू हेरेर आफ्नै गाउँ फर्किन्छन् । धनबहादुर सुनाउँछन्, ‘वर्षमा १४ मनसम्म अलैंची फलाउँछु । गाउँ नै रमाइलो लाग्छ, छोराहरूलाई पनि सकुञ्जेल गाउँमै बस्छु भनेको छु ।’
वीरचक्र विजेता धनबहादुर तामाङले पल्टनबाट पाएको मायाको चिनो ।