यसवर्ष कोरोना महामारीकै बेला हसनपुर साहित्य महोत्सव–२०७७ सम्भवतः पहिलो हुनुपर्छ । अनि मात्र निरन्तरता पाए, भौतिक उपस्थितिसहितको अन्य महोत्सवहरुले । सो महोत्सवले नै जुरायो प्रिय कवि सुष्मा रानाहँँमाको ‘आमाको तासफोटो’ सँग मलाई ।

कोरोना कहरले थलिएको लेखनमा महामारी अलि साम्य भएपछि छिटफुट रुपमा केही कृतिहरु बजारमा आउन थालेपछि राहत मिलेको हो पाठकहरुमा । पढ्न मन लागेर नि लामो समयपछि प्राप्त गरेको कविता कृति हो आमाको तासफोटो ।

रोजगारीको निम्ति परदेशमा जानेहरुको जीवनशैली हिजो र आज फेरिएको छ । हिजोको दिनमा परदेशिनेहरु घरसम्बन्धी ज्यादा सोच्थे । बौद्धिकताको सवाल अलि पर हुने गथ्र्यो । अहिले दिनभर मेसिनसँग पौंठेजोरी खेल्छन् बेलुकी बचेखुचेको समयमा एक टुकी सिर्जना गर्छन् ।

परिवारको एकमुठ्ठी खुसीबाट केही चिम्टी खुसीहरु खुत्रुकेमा जम्मा गर्छन् र सिर्जनालाई कृतिआकार दिन्छन् । अहिले यो क्रम बढ्दो छ । यो कार्यले यता मूलघरतिर डायस्पोरा कृतिहरुले कवि तथा लेखकहरुलाई चिउँडोमा हात राख्ने बनाइदिन्छन् ।

त्योसँगै चिया गफ गरमागरम बनाइदिन्छन् । आफ्नो स्थानलाई कसरी अमरत्व बनाउने त्यहाँसम्मको गहिराइसम्म पुर्याइदिन्छन् । जस्तैः केही कृति र कृतिकारहरुको नाम लिनै पर्दा देश सुब्बाको भयवाद, काङ्माङ नरेश राईको नोभेम्बर एघार, सुष्मा रुपाबुङ राईको लाहुरेनी फुल, पराजित पोमुको अगुवाइमा चलेको अभियान इत्तर आवाज र प्रकाशित इत्तर कविता , केरुङ हाङसेमको सम्पादकत्वको पहिचान लगायतका कयौँ कृतिहरु एकपछि अर्को गर्दै चाङ लाग्ने क्रम निरन्तर छ । चाङमा थपिएको छ अर्को कृति कवि सुष्मा रानहँमाको आमाको तासफोटो ।

‘माया र सम्झनाको कुनै मूल्य नहुँदो रहेछ 

सपना र सङ्घर्षको कुनै सीमा नहुँदो रहेछ 

बाबा, छिट्टै तिम्रा सपनाहरु टिपेर 

तिमीलाई पठाउने वाचा गर्दै 

अहिलेलाई 

मात्रै पठाएकी छु सम्झनाको पार्सल ।’

(बाबालाई पार्सल/६४)

मैले नि परदेश भोगेको छु । र नै मैले यो कवितांशबाट आमाको तासफोटोभित्र प्रवेश गर्दैछु । मैले जानेर कहिले केही लेखिन जब मन छुन्छ मनमा लागेका कुराहरु बेसुरमा पोख्ने मात्र हुँ ।

याे कृतिको प्रवेशद्वार झैँ लाग्ने सङ्ग्रहको नाम र आवरण सज्जाले नै कृतिप्रतिको खुल्दुली जगाइदिन्छ । र नै पनि एकोहोरिएर हेरेको हुँ आमाको तासफोटो । खोपाखोपी, तासीमा खोजेको हुँ आमाको तासफोटो । साँच्चै मन छोएको हो सुष्माजीको कविता कृति आमाको तासफोटोले ।

सरल शब्दहरु, अनि हारगाभा मिलाइएका शब्द शैली । यो कृतिले छोएको यहीँनिर हो । 

‘अहिले बीसौँ वर्षपछि 

आफ्नै सोह्र वर्षे जोवन देख्न खोज्दी हुन् आमा 

वर्षौं दुःखका पहाडहरु हेरेर थाकिसकेका 

खडेरीमा समेत बर्सिरहने आँखाहरुले 

आफ्नै छायाँ पनि धुमिलधुमिल देख्दिहुन् आमा ।

कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको 

आमाको पुरानो एक थान फोटो

अथवा 

आमाको जवानीको तासफोटो सुरक्षित छ मसित

म अहिले आमाको तासफोटोमा आफूलाई हेरिरहेकी छु ।’ 

(आमाको तास फोटो/५९) 

आहा ’ कस्तो मिठो कविताको बिट मरौनी ? साँच्चै हगी फोटो, फोटो मात्र कहाँ हो र ? त्यो त सम्झना पनि त हो । आमाले सब सब गुमाएर बुबाको प्रेममा समर्पित भएको हामी आफ्नै लागि हो र न आमाभित्र  सिङ्गै हामी आफैलाई पाउँछौँ । कति सुन्दर र सालिन कविताका विम्बहरु ? त्यही भएर यो कविता धेरैपल्ट पढेँ मैले र नि थाकेको छैन ।

एउटा भेटमा प्रिय कवि भाइ प्रदीप योङ्हाङले मलाई भनेका थिए, ‘सुष्मा नानाको एउटा समय सापेक्ष कविताले हद छोयो र तपाईलाई नि उस्तै छुनेछ दाइ ।’ तर, कविताको शीर्षक भनेनन् । र त्यही बेलुकी आएर हतार–हतार त्यो कविता खोजेँ र भेटेँ न्याय कविता–

‘भर्खरै बलात्कृत महिलाले

न्यायको निमित्त उजुरी दिनुअघि

देशको अखबार पढेपछि 

फेरि दोस्रो पटक

बलात्कृत भएको महसुस गरी 

र अन्त्यमा उजुरी नगर्नु नै उचित ठानी ।’

(न्याय÷७५) 

यो कविताले बलात्कारपछि हत्याको सिकार बनेका निर्मला पन्त, माया विक अनि हालसालै भएको बलात्कारपछि हत्या गरिएका भागिरथी भट्टका परिवारले भोगेका पीडाहरु झल्झली आँखा वरपर नाच्यो ।

कविताले भनेजस्तै आखिर सत्ता र शक्तिको अगाडि जघन्य अपराध पनि सामान्य बन्छ र ताल प¥यो भने पीडितले नै सजायको भागीदार बन्नुपर्ने यो देशको लाजमर्दो अवस्थालाई उदाङ्गो पारिदिएका छन् ।

जुन कवितालाई यो समाजले आफ्नो कविता सम्झनेछन् । सुष्माजीका कविताहरु सामान्य शब्दहरुले सुन्दर कविताको बगैँचा निर्माण गरिदिएको छ । कविता जटिल बनाइनु पर्छ भन्नेहरुको जमातलाई यी कविताहरुले सरलता र आम सर्वसाधारणको निम्ति कविता लेखिनुपर्छ भन्ने राम्रै उदाहरण दिएको हुनुपर्छ भन्ने लाग्छ । 

यी कवि आफ्ना साहित्य र संस्कृतिप्रति नि उत्तिकै जिम्मेवार देखिन्छ । प्रारम्भमा प्रेमिल र समसामयिक कविताहरु देखिए नि कविताको बिट मरौनीतिर आफ्नो सभ्यता र संस्कृतिलाई उठान गरेकी छिन् ।

यो बेला पहिचानका मुद्दा टड्कारो बन्दै गर्दा यो खाले कविता लेखनले सार्थकता पाउनेछ भने अर्कातिर आफ्नो समुदाय भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा ठूलो टेवा पुग्नुका साथै नेपाली साहित्यका पाठकहरुले फरक  साहित्य, संस्कृति मौलिक सभ्यतालाई बुझ्ने मौका पाउनेछन्  ।

जसलाई आजसम्म खुलेर मूलधारको साहित्य हो भनेर स्वीकार्न हिच्किचाउनेहरुको भीड पनि हामी सामु छँदैछ । 

‘कसले चुँडाउन खोज्दै छ तानको धागो ?

र कसले च्यात्न खोज्दै छ बोजुले बुनेको फेङ्गा ?

कसले मेट्न खोज्दै छ मेरो मुन्दुम ?

र कसले मार्न खोज्दै छ मेरो लयदार भाषा ?

अहो, मेरो साकेला ।

आमाले तान बुन्दाबुन्दै जन्मिएको हुँ म ।’

(आदिवासी/१०७) 

एउटा संयोग या त कविको दूरदृष्टि भनौँ किराती सभ्यता खुवालुङ भत्काइने उद्घोषले देश तातिएको बेला यो खालको कविता आउनु पक्कै गुन्जायस छ । अन्ततिरका कविताहरुले किराती मिथक सौन्दर्यले भरिपूर्ण छन् ।

बागदातामा अल्झेको रुङ्री, तयामा, उँधौली र उँभौली कचुर यी कविताहरुले सिङ्गो किराती सभ्यता, संस्कृति, चालचलन अझ किराती सौन्दर्य र दर्शनलाई अपनत्व गरिएर लेखिएका कविताहरु हुन् । जुन कवितामा कवि र सो समुदायले आफूलाई पाउँछन् । 

‘खेतका गराहरुमा झुल्छन् धानका बाला 

दाल र मासहरु फुल्छन् आलीहरुमा 

त्यहीबेला स्वागत गर्छ मौसमले

उँधौली प्रकृतिमा रमाउने सन्ततिहरु

छौवा गर्छन्

नयाँ बाली फुकाएर संस्कृति फुलाउँछन् 

हो,

निरन्तर नाच्छन् र नाचिरहनेछन् साकेला

जो भूमिपुत्र हुन् उनीहरु ।’

(उँधौली र उँभौली /११७)

‘यो सँगै उल्लेख गर्नैपर्ने अर्को कविता, जुन कविताले किरातकालीन समाज त्यो बेलाका पात्रहरुको स्मरण गराइदिएका छन् । 

‘लिम्चिबुङको बिरुवा रोपेर खियामासँग छुट्टिएपछि 

आफैलाई फुलाउन बहकिएको मनलाई भुलाउन

मैले त कपास फुलाएको हुँ

र कपासमा फूलहरु आकाशतिर हावाले उडाउँदा 

धेरैपल्ट उडेको हो त्यसरी नै मेरो मन ।’ 

(तयामा/११४)

माथिका यी दुई कविताहरुमा किराती सौन्दर्यले लेपन गरिएको कवितात्मक भावहरु भेटिन्छ यो मानेमा मलाई नि आमाको तासफोटो खोजौँ खोजौँ लागेको । किराती मुन्दुम र दर्शन अथाह छ । उँधौली र उँभौली पर्व सिङ्गो सृष्टि मानव जीवनसँग नजिक छ ।

र पनि किराती लोकसंस्कृतिको लोकप्रियता बढ्दो छ । यी कविता र नेपालका केही अभियानहरुले उतारचढाव लिइरहँदा यो कविता सङ्ग्रहले शुभसाइत पारेर उडान भरेको छ । कोरियाबाट नेपालको उडान भरिसकेको यो कृति देशको कुनाकाप्चाको यात्रा गर्ने क्रममा छ ।

यो कृति कुना काप्चा पुग्नु भनेको एक फरक परिवेश बुझ्नु हो भने लक्षित समुदायले त यी कविताहरुलाई आफ्नो ढुक्ढुकी सम्झनेछन् । वर्तमान नेपाली साहित्यमा फरकपन खोजिँदैछ, पहिचान साहित्य लेखन उच्च लयमा छ ।

यस्तो बेलामा यो कृति खोज र चासोको विषय हुनेमा दुविधै छैन । 

सुष्माजीको आमाको तासफोटो कविताकृति भित्रका कुनै कुनै कविताहरुमा बाँकी अरु के होला नि ? भन्दाभन्दै सिद्धिदा चाहीँ बेस्वादिलो बनेको महसुस हुन्छ । तर पछिल्ला कविताहरुको लेखनशैलीको मेसो पनि हुन सक्छ ।

अन्त्यमा, सुष्माजीको कविताहरु जम्मेवारी लाग्ने खालका छन् भने मसलेदार पनि उत्तिकै छन् । यो कृतिको भेट जुराइदिने ‘हसनपुर साहित्य महोत्सव–२०७७’ लाई पुनः एकपटक धन्यवाद टक्र्याउँदै यो कविता कृति आम नेपाली पाठकको मन, मस्तिष्कमा बस्न सकोस् प्रिय कवि सुष्माजीको अरु यस्तै शक्तिशाली कविताहरु पढ्न पाउँ,  शुभेच्छा ।