नेपाल टेलिकम धनकुटा शाखाले धनकुटा बजारमा इन्टरनेटको अत्याधुनिक फाइबर सेवा पूर्णरुपमा संचालनमा ल्याएको जनाएको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर कार्यालयले यस्तो जानकारी दिएको हो । 

घरघरमा फाइबर सेवा लागू भएसँगै धनकुटा बजारमा वषौंदेखि टाँगिएको तामाको कालो तार सदाका लागि अन्त्य हुने भएको छ । बजार क्षेत्रमा लगाइएको तामाको कालो तार हटाएसंगै बजारभित्रका विभिन्न चोक र गल्लीहरु सफा अनि फराकिलो पनि देखिने भएको छ । 

फाइबर टु द होम भन्ने अभियानको साथ नेपाल टेलिकमले प्रदेश नं.१ मै पहिलो पटक धनकुटामा १ हजार, ६ सय, ८८ वटा लाइन वितरण गरेको हो । फाईबर सेवा जडानको समुद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ०७६ असार ६ गते एक भव्य समारोहको बीच धनकुटामा गरेका थिए । 

धनकुटा बजार र आसपासको क्षेत्रमा अत्यधिक तीव्र गतीमा चल्ने इन्टरनेट सेवाको जडानसंगै वषौं देखिको तामाको तारबाट संचालनमा रहेको इन्टरनेट सेवालाई सदाका लागि विस्थापित गरिएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तामेतारबाट संचालनमा रहेको इन्टरनेट सेवाको स्विच अफ गरेर विस्थापित गरे भने फाइबर इन्टरनेट सेवाको स्विच अन गरेर एक समारोहका बीच समुद्घाटन गरे ।  

सो अवसरमा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले २० वर्षअघि पिसिओ संचालन गरेर दुरसंचार प्रविधिको उपयोग गरिरहेका धनकुटेलीहरु आज फाइबर सेवामा प्रवेश गर्नु पाउनु सूचना र संचारको क्षेत्रमा विकासले छलाङ्ग मारेको दावी गरे । प्रमुख तामाङले राष्ट्रिय पुँजी वृद्धि गर्न आम नेपाली उपभोक्ताले नेपाल टेलिकमलाई साथ दिनु पर्नेमा जोड दिए । उनले नेपालमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने नेपाल सरकारको कार्यक्रमलाई साथ दिन सम्पूर्ण नेपालीलाई सो अवसरमा आग्रह समेत गरे । 

सो अवसरमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशक सूर्यनारायण मालाकारले प्रदेश नं.१ मै पहिलो पटक फाइबर सेवा संचालन भै उपयोग गर्न पाउनु धनकुटेली जनताको अहोभाग्य भएको बताए । उनले घरघरमा फाइबर सेवामार्फत् नयाँ प्रविधि प्रदान गरिएको इन्टरनेट सेवा अत्याधिक प्रभावकारी हुने दावी गरे ।

धनकुटा बजारमा २५ सय वटा लाइनको माग भइरहेको भए तापनि हालसम्म १६ सय ८८ वटा लाइन फाइबर प्रणालीबाट वितरण भइसकेको निर्देशक मालाकार स्पष्ट पारे । उनले यस अघि नेपाल टेलिकमले बागलुङ, कुस्मा, बेनी र बर्दघाटमा फाइबर प्रणालीमार्फत् इन्टरनेट सेवा प्रदान गरेको जानकारी दिए ।

उनले उपभोक्ताको चाहाना बमोजिम हाललाई डाटा र भ्वाइस तत्काल संचालनमा रहेको र केही समय पछि टेलिभिजन पनि संचालनमा आउने बताएका छन् । 

नेपाल टेलिकम धनकुटा शाखाका प्रमुख ज्ञाननाथ सापकोटाको अध्यक्षतमा सम्पन्न फाइबर सेवा समुद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नेपाल टेलिकम प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक राजेन्द्र महर्जन, निमित्त उप–प्रबन्धक कृष्णकुमार लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन टेलिकम धनकुटा शाखाका सिए उमेश दंगालले गरेका थिए ।

dhankuta-internet1

dhankuta-internet3

dhankuta-internet4

dhankuta-internet5