अन्य बेला ६ बजे भेला हुने हाम्रो टोलीका सबै शनिबार भने साढे ५ बजे नै भेला भयौं । नियमितजसो धरानको सिंहदेवी चोकमा भेला भएर गाडीमा कोशी पुल पुग्यौं । करिब साढे ६ बजेतिर कोशी पुलमा पुगियो । जेटबोट मर्मत गर्नुपर्ने भएकाले चियानास्ता गरेर एक घण्टा जति बसियो । हाम्रो टोलीमा २६ जना थियौं । एक घण्टाको बसाइपछि हामी जेटबोट चढेर हलडे, कोप्चे भन्ने ठाउँमा पुगियो । २० मिनेट जति लाग्ने भने पनि बोटमा झण्डै आधा घण्टा लाग्यो । 

कोप्चे र हलडे भोजपुर जिल्लाको पूर्वी दक्षिणको अन्तिम बोर्डरमा पर्ने रहेछ । त्यहाँसम्म मात्रै जेट बोट जाने रहेछ । जान–आउनका लागि एक हजार रुपैयाँ लिने भए पनि सप्तकोशी वाटर एण्ड टुरिजम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले विशेष छुट गरिदिएका कारणले एकतर्फीको भाडा मात्रै ति¥यौं ।

जसमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सङ्घीय सांसद् जयकुमार राईले भूमिका खेल्नुभएको थियो । उहाँको सहयोगका कारण पनि दुईतर्फी नै भाडा तिर्नु परेन । आधा घण्टामा कोप्चे पुगियो । त्यहाँबाट पारि पुगेपछि हामीलाई हतुवागढी गाउँपालिकाका कर्मचारी सञ्जल राईले स्वागत गर्नुभयो । खादा र अविर जात्रापछि त्यहीँबाट गाडीको व्यवस्था भएको रहेछ । वान टेन ल्याण्डरोभर गाडीमा दुई समूह बनाएर हुइँकियौं । बाटो कच्ची भए पनि चालकहरू निकै सिपालु भएकाले सहजै भयो ।

उकालै उकालो हल्का तेर्सो बाटो । करिब डेढ घण्टामा उखुबारी भन्ने ठाउँमा पुगियो । उदयपुर, धनकुटा र भोजपुर जिल्लाको सङ्गमस्थल रहेछ उखुबारी । निकै रमणीय ठाउँ । वारि दूधकोशी देखिन्थ्यो भने पारि अरुण देखिन्थ्यो । अरुण सुसाएको पनि मज्जाले सुनिन्थ्यो । चिसो हावाले कान छोएर जाँदा विछट्टै आनन्द लाग्यो । 

भविष्यमा उदयपुर भएर भोजपुरको सदरमुकाम पुग्ने सबैभन्दा छोटो बाटो हुनेछ त्यो । बिहानको करिब साढे १० बजेतिर घोडेटार बजार पुगियो । हामीलाई गाउँपालिकाले त्यहाँको धारापानी होटलमा खानाको प्रबन्ध गरेको रहेछ । भोकाएका पनि थियौं । खाना एकदमै स्वादिष्ट थियो । पहाडको अग्र्यानिक खाना खान पाउँदा निकै हर्षित भयौं । केहीक्षण आराम गरेर बजार पनि घुमियो । चतरा हुँदै जाने घोडेटार बजार भोजपुरको निकै पुरानो र प्रख्यात बजार हो ।

शनिबार हटिया पनि लाग्दोरहेछ । त्यहाँका स्थानीय उत्पादनहरू हामी सबैले खरिद गरेर कोसेलीका रूपमा पनि ल्यायौं । बजार घुमिसकेपछि भने गढी चढियो । एक हजार ६ सय ५० मिटर उचाइमा रहेको गढीकै नामबाट हतुवागढी गाउँपालिका राखिएको छ । माथिसम्मै गाडी पुग्ने भए पनि हामीचाहिँ करिब १ सय ५० खुट्किलो पार गर्दै टुप्पामा पुग्यौं । गढीको टुप्पामा पुग्नुअघि आर्मी क्याम्प रहेछ । नेपाली सेनाको फस्ट राइफल गुल्मको अनुमति लिएर मात्रै गढी घुम्न पाइने रहेछ ।

सेनाको स्वीकृति लिएर गढीको भग्नावशेष दरबार पुगियो । दरबारको कुनै अंश नभए पनि ढुङ्गाले बारेको रहेछ । राजा महाराजाले प्रयोग गरेको जाँतो र शिलालेख पनि देखियो । तर, संरक्षणको कमी भएको हो कि भन्ने पनि लाग्यो । किरातकालीन अन्तिम राजा जितेदास्तीसम्मले त्यहाँ राज गरेको रे भन्ने कुरा पनि आयो । मध्यान्ह भए पनि चिसो चिसो ठाउँ भएकाले निकै रमाइलो भयो । सबै साथीभाइहरूले फोटोसेसन गरे । 

त्यहाँबाट पारि हिमालहरू पनि मज्जाले देखिँदो रहेछ । तर, मौसम सफा नभएका कारणले राम्ररी देख्न पाइएन । त्यहाँबाट मकालु हिमाल राम्ररी देखिन्छ भनेर हामीलाई गाउँपालिकाबाट पथ प्रदर्शकको भूमिकामा रहेका ५ नम्बर वडाका वडाध्यक्ष जोरकुमार राई, कर्मचारी सञ्जल राई र निशन राईले भन्नुभयो । हिमाल देख्न नपाउँदा मन खिन्न बनाउँदै करिब एक घण्टाको बसाइपछि गढीको टुप्पाबाटै गाडी चढेर पश्चिमतिर लाग्यौं । जहाँ चमेरे गुफाका नामले प्रसिद्ध ठाउँ रहेछ ।

खासमा चमेराहरू बस्ने भएकाले चमेरे गुफा भनिएको रहेछ । झण्डै १० मिटर लामो सुरुङमा छिर्न पनि डरलाग्दो रहेछ । १५ जनाजति साथीहरू छिर्नु पनि भयो । चमेराहरूको बासस्थान भएकाले केही चमेरा पनि देखियो । निकै अँध्यारो भएकाले पनि डरलाग्ने खालको रहेछ । छिर्नेहरूले मज्जाको ठाउँ रहेछ भन्दै निस्किएको पाइयो । गढीबाट करिब १०–१५ मिनेटको दूरीमा पर्ने चमेरे गुफाको यात्रा अन्त्य गर्दै दिमालुङ पार्कमा पुगियो । राई समुदायअन्तर्गतको बान्तवा भाषामा ‘दिमा’ को अर्थ ‘बोजू’ र ‘लुङ’ को अर्थ ‘ढुङ्गा’ भन्ने लाग्दछ । दिमालुङको फरक–फरक किंवदन्ती रहेको पनि पाइयो ।

धेरै पहिले जुनबेला मातृसत्ता थियो । त्यो बेलामा ढुङ्गामा बसेर बोजूले झै–झगडा मिलाउने गरेका कारण दिमालुङ भनिदै आएको किंवदन्ती रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए । दिमालुङ पार्कमा खेल मैदान बन्दै रहेछ । ढुङ्गा खासै ठूलो नभए पनि त्यसको महत्व चाहिँ निकै ठूलो रहेछ । 

त्यहाँबाट करिब १०–१५ मिनेटको दूरीमा सय वृक्ष भन्ने ठाउँ रहेछ । जहाँ एउटा ठूलो रुख जहाँ विभिन्न थरीका पातहरू पाइँदो रहेछ । त्यो रूखमा नै सयवटा वृक्षहरू छन् भन्ने भनाइ पनि रहेछ । ४०–५० वर्षअघिसम्म त्यहाँ स–सना रुखहरू मात्रै थिए । त्यो एउटा रुख मात्रै बडेमानको थियो । निकै परैबाट पनि त्यो रुखलाई देखिन्थ्यो । अहिले भने बिरुवाहरू हुर्किएका कारण जङ्गलको रूप लिएको रहेछ । बाटोबाट केही मुन्तिर पर्ने भएकाले केही समय हिँड्नु पनि पर्ने रहेछ ।

त्यो ठाउँमा पुग्न चाहिँ निकै हम्मे–हम्मे नै प¥यो । बाटोको असुविधा रहेछ । त्यहाँसम्म पुग्नका लागि बाटो सुधार गर्नुपर्ने देखियो । बाटोबाट झण्डै २५–३० मिटर मुनि पर्ने रहेछ । त्यहाँबाट फलामे ढुङ्गा भन्ने ठाउँमा पुगियो । त्यहाँ पुग्न पनि गाडीमा त्यस्तै १०–१५ मिनेट लाग्दो रहेछ । ढुङ्गा फलामजस्तो भएकाले फलामे ढुङ्गा भनेर भनिएको रहेछ । त्यहाँबाट फर्कंदा बाटोमा शिला सुत्केरी ढुङ्गा रहेछ । 

धार्मिक ठाउँ । पूजाआजा गर्ने गरिँदो रहेछ । त्यहाँबाट हामी पथपदर्शक टोलीमा आएका साथीहरूसँग बिदावारी भयौं । उहाँहरूलाई पनि बिदा गरियो । एक–आपसमा बिदाइ गरेर फेरि पुनः कोप्चेमा आएर खाजा खाएर चतरा झर्ने तरखर ग¥यौं । फर्कंदा चाहिँ एउट बोट बिग्रिएकाले एक लट पु¥याएपछि मात्रै अर्को लटमा जानुपर्ने भयो । पहिलो लटका साथीहरू साढे ५ बजेतिर चढे । हामी दोस्रो लटका साथीहरू साढे ६ बजेतिर बोटमा चढेर कोशीको पुलमा आइपुग्यौं ।

अँध्यारो भएकाले बोटमा लाइट नहुँदा डरसरी भएर आइपुगियो । राति चाहिँ बोटमा केही जोखिम हुने रहेछ भन्ने महसुस पनि गरियो । कोशी पुलमा आइपुगेपछि रिजर्भ लिएर गएको गाडीमा सबै चढेर पुनः धरान आइपुग्दा झण्डै साढे ७ बजिसकेको थियो । हिँडडुल गरेका कारणले होला निकै थकित पनि भयौं । तर, एक प्रकारको आनन्द पनि भयो । अतिथि सत्कारदेखि लिएर हतुवागढीको महत्वपूर्ण स्थानहरू घुम्ने मौका पाइयो । हतुवागढी एकपटक जानै पर्ने ठाउँ रहेछ । यसको आफ्नै ऐतिहासिक महत्व पनि छ । किरातकालीन राजाको भग्नावशेष दरबारको संरक्षण गर्नसके त्यस ठाउँको पर्यटन प्रवद्र्धन हुने थियो । हतुवागढीका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूलाई गाउँपालिकाले पनि प्रवद्र्धन गरिरहेको पाउँदा खुसी लाग्यो । अझ पर्यटकहरूलाई स्वागत र सम्मान गर्ने पहाडको शैली अझै पनि मृत भएको रहेनछ । हाम्रा धेरै ठाउँहरूमा अतिथि सत्कार गर्ने तौरतरिका हराइसकेको अवस्थामा त्यहाँ गरिएको अतिथि सत्कार भुल्नै नसकिने पाइयो । गाउँपालिकाले जुन भूमिका खेल्यो, त्यसप्रति हाम्रो सेवक अभियानको टोली नतमस्तक छ ।

hatuwa-gadi