लगातार आठ दिन भयो, धरानस्थित खानेपानी महसुल तिर्ने ठाउँ आन्दोलनकारीले घेरेको । खानेपानी घरको धारामा आउँदैन । बिलमात्र आउँछ । बिल पनि पानी नचलाई चारपाँच हजारै आउँछ । धरानेको खानेपानीको दीर्घकालीन समाधानका लागि आन्दोलनरत एउटा समूह छ, जुन समूह आजमात्रै होइन विगत ९ वर्षदेखि संघर्षरत छ, त्यसको अगुवाई गरिरहेका छन् हर्क साम्पाङले । पानीको समस्या समाधान गर्छु भनेर स्थानीय तहको निर्वाचनमा पनि उनी मेयरमा उठे । तर स्वतन्त्रभन्दा जनता राजनीतिक पार्टीप्रति आस्थावान् छन् । उनले पर्याप्त भोट त पाएनन् तर पानी प्राप्तिको आन्दोलन पनि छाडेनन् । आजै तिनै ‘पानी म्यान’ लाई हामीले सोधेका छौं । धरानको खानेपानीको दीर्घकालीन समाधान कसरी गर्ने हो त ? उनको भनाई दुरुस्तै उतारेका छौं ।    

धरानमा पानीको स्रोत सर्दू, खर्दू मात्र हो । सुख्खायाममा यो पर्याप्त छैन । चारकोशे झाडीमा पहिले खानेपानी संस्थानको अहिले बोर्डमा गाभिएको को आफ्नै पानीको स्रोत छ । आइयूडिपीको भूमिगत स्रोतबाट सफल भएन ।

धरानको  भौगोलिक अवस्था हेर्ने हो भने यहाँ भूमिगत नल राखेर जमिनबाट पानी निकाल्न सम्भव छैन । सप्तकोशीबाट ल्याउन सकियो भने मात्र केही हुने सम्भावना छ । अन्यथा धरानमा पानी प्राप्तिको अवस्था विकराल छ ।

यो क्षेत्र पानीको प्रशस्त स्रोत भएको क्षेत्र होइन । त्यसो भन्ने बित्तिकै धरानलाई काकाकूल नै बनाइराख्नुपर्छ भन्ने पनि होइन । सम्बन्धित निकायले सप्तकोशीबाट पानी ल्याएर धरानको बढ्दो पानीको मागलाई परिपूर्ति गर्नुपर्छ । 

धरानमा खानेपानीको उचित प्रबन्ध हुनुपर्छ । पानी धरानेका धारामा नियमित आउनुपर्छ भनेर माग गर्दै हामीले आन्दोलन गरिरहेका छौं । यो आन्दोलन कुनै पार्टी विशेष वा राजनीतिक दलको होइन । कुनै संघसंस्थाको अगुवाई पनि छैन । 

यहाँ उपस्थित मान्छे सर्वसाधारणा हुन् । हुनसक्छ कुनै दलका मतदाता होलान् । कोही कार्यकर्ता पनि होलान् । तर यो नागरिक आन्दोलन हो । 

यो नागरिक आन्दोलन लगभग ८–९ वर्षदेखि चलिरहेको छ । यो आन्दोलनले शुरुमा एडिबीबाट ऋण ल्याउन हुँदैन । खानेपानी संस्थानलाई हामीले बिल बुझाउँदै आएका छौं । खानेपानी संस्थानबाटै, राज्यबाटै पानीको समाधान हुनुपर्छ । विदेशी बैंकबाट ऋण ल्याउनु हुँदैन भन्ने मनशाय जाहेर गरेको थ्यो । 

नागरिक समाजको आवाजलाई कुल्चिने रफादफा गर्ने काम भए । यदि ऋण नै ल्याउने हो भने पनि पानी सप्तकोशीबाट ल्याउनु पर्छ है भन्ने भनाइ नागरिक समाजको थियो । तलतिर जंगलमा खाल्डा बनाएर, कोट्याएर हुँदैन भनेको थियो । त्यसमा पनि नागरिक समाजको आवाजलाई कुल्चिएर जबरजस्ती नै चारकोशे झाडीमा गएर सात ओटा ‘वेल’ खन्ने कुरामा उहाँहरु लाग्नु भयो । 

नागरिक समाजले भनेकै कुरा– त्यहाँबाट पानी निक्किंदैन, ऋणमात्र लाग्छ भन्ने कुरा जुन छ, त्यो अहिले आएर पुष्टि भयो । 

पहिला नागरिक समाजको यो आन्दोलनलाई विकास विरोधीहरुको आन्दोलन भनेर पनि आरोप लगाइएको थियो । तर अहिले धराने जनताले विस्तारै बुझ्दैछन् । त्यसो भएका कारणले व्यापक जनसहभागिता पनि छ । 

खानेपानीकै लागि धरानेको आन्दोलन हो । खानेपानी आपूर्ति हुनुपर्छ, त्यो पनि सरकारी ‘रेट’मा सहुलियत दरमा । 

यिनै कुरासहित बिल समायोजनका कुरा, दीर्घकालीन पानीको स्रोतको कुरा ‘ओभरअल’ मा भन्दा धरानका जनताको घरमा पानी आउनु पर्यो । नुहाउन पाउनु पर्यो । भातभान्छा पाक्नु पर्यो । हाम्रो गुजारा चल्नुपर्यो । 

पानीको अभावमा दैनिकी राम्ररी चलिरहेको छैन । घरबाहिरै खाए पनि चर्पी त जानुपर्यो । त्यसैका लागि पनि जारबाट पानी किनिरहेका छन् । ट्यांकरबाट पानी किनिरहेका छन् । 

चैत्र २४ मा हामीले गरेको आन्दोलनपश्चात् पानीको अभाव केही हदसम्म राहत मिलेको हो कि भन्ने प्रतिक्रिया पाएका छौं । 

नगरपालिकाको मिलेमत्तोमै ट्यांकरले पानी बेचिरहेको थ्यो कि भन्ने आशंका गरिरहेका छौं । तर, त्यो पुष्टि भएको छैन । पुष्टि भएको भए त्यही अनुसार डिलिङ हुन्थ्यो । हाम्रो आशंका हो । 

अहिले पानीपियास्थित खानेपानी संस्थानै कै बोरिङ बिग्रेको छ भनेर हिजोमात्र मेयरसाब (धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राई) ले भन्नु भयो । त्यहीँबाट केही ट्रकलाई प्रयोग गरी पानी ल्याउने, पानी ल्याइदिएवापत् सहुलियत दरमा १ हजार लिटरको ६ सय रुपैयाँ लिने गरी वितरण गरिरहेको रहेछ । त्यो पनि नगरपालिकाको मिलेमतोमा हो कि भन्ने हाम्रो आशंका छ । 

अहिले धराने जनताले खानेपानीको चरम अभाव भोगिरहेका छौं । १० प्रतिशत मान्छेले मात्र खानेपानी धाराबाट पाइरहेको छ । बाँकी जनताको गुजारा पानीको अभावमा भइरहेको छ । 

मान्छेको स्वस्थ जीवनका लागि प्रतिव्यक्ति दैनिक १ सय लिटर पानी चाहिन्छ रे न्युनत्तम । अहिले मान्छेले प्रतिव्यक्ति त्यही १० लिटर पन्ध्र लिटर मात्रले गुजारा गर्नु परेको अवस्था छ । 

खानेपानी संस्थानले हामीलाई ०३६ सालदेखि पानी खुवाएको हो । अब खुवाउन सक्दैन भनेर त्यसलाई बद्नाम गर्ने काम भयो । नालायक सावित गर्नुभयो । त्यसपछि उहाँहरु (धरान उपमहानगरपालिकाले) ले खानेपानी संस्थानलाई बोर्डमा लिइसकेको भन्नु भएको छ । 

खानेपानी संस्थानलाई नै पानी वितरण गर्न दिनुपर्छ भन्ने हाम्रो तर्क थियो । खानेपानी संस्थानले सरकारी रेटमा पानी वितरण गरिरहेको थियो । 

अहिले भर्खर मात्रै एकजना दिदी यो आन्दोलन भइरहँदा आउनु भएको थ्यो । उहाँको घरमा पानी आउँदै– आउँदैन रे । तर उहाँको रिडिङ चाहिं ११६ युनिट छ । ११६ युनिट भनेको १ लाख १६ हजार लिटर पानी हो । पानी नै आएको छैन कसरी १ लाख १६ हजार लिटर पानी चलाएँ भनेर यहाँ महसुल काउन्टरमा बाझ्न आउनु भएको थियो । 

हामीसँगै धर्नामा सहभागी हुनु भयो । 

बिलको हिसाबले हेर्दा, दीर्घकालीन रुपमा हेर्दा सात पटकसम्म नगरपालिका जाँदा उहाँहरु (जनप्रतिनिधि र सम्बन्धित कर्मचारी) भाग्नु भएको थियो । हिजो पनि घरमै जाने भन्दा बल्ल भेट भएको थियो । 

उहाँहरुले खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्नु भा’छ तर हामीले मानेका छैनौं । 

किनभने उहाँहरुको सक्रियता र अगुवाइमै आइयुडिपी आयोजना नै फेल गराउनु भयो । खानेपानी संस्थान बोर्डमा लगेपछि झनै हाहाकार भयो । संस्थान हुँदा कम्तिमा दिन बिराएर पानी आइरहेको थियो । अहिले म बुद्धचोकै मान्छे सात दिन भयो पानी आएको छैन । 

संस्थान मर्ज भएपछि १६ घण्टा पानी खुवाउँछु भनेर गफ गर्ने मान्छेहरु भागेर हिंडिरहेका छन् । उहाँहरुले ‘मर्ज’ कागजमा गर्नुभयो, हामीले त्यसलाई मान्यता दिन्नौं ।

जनताले मान्यता नदिउन्जेल कुनै पनि शासन, निकाय वैध हुँदैन । खानेपानी व्यवस्थापन बोर्डले हामीलाई पानी खुवाउ सक्दैन भन्ने निष्कर्षमा पुगेका छौं । 

पानीको लागि धरानले ३ अर्ब २९ लाख रुपैयाँ लिएको हो भन्ने कुरा हाम्रो जानकारीमा छ । तर, हिजो मेयरसाबको कुरा सुन्दा १ अर्ब चान्चुनमात्र हो भन्नु भा’छ । पत्रकार सम्मेलनमा पनि त्यही भन्नुभा’छ ।

लिइएको पैसालाई ककसले कसरी अपचलन गरे । अनियमितता कहाँ भयो भन्ने छानबिन हुनुपर्छ । अनि पानीको समाधानका लागि कोशीतिरै जानुपर्छ । 

खानेपानी संस्थानलाई पुनस्थापना गरेर जाँदा हुन्छ भने त्यताबाट जानुपर्यो । होइन भने केन्द्र सरकारले पनि धरानलाई ‘हेरी छाड्नु’ भएन । धरान पनि नेपालकै भूभाग हो । धरानेलाई राहत दिनुपर्छ । धरानेलाई पानी खुवाउन फेरि पनि विदेशबाट थप २–४ अर्ब ऋण ल्याउनुपर्छ भन्ने पक्षमा हामी बिल्कुलै छैनौं । 

वर्षैपिच्छे एकले अर्कालाई दोसेर, एकले अर्काको विरुद्ध नारालगाएर समाधान हुने छैन ।

म आम धरानवासीलाई खानेपानीको यो आन्दोलनमा आइदिन अनुरोध गर्छु । किनभने यो आन्दोलन हाम्रो जीवनको आधार खानेपानीको लागि भइरहेको छ । हामी चुप लागेर बस्यौं भने फेरि आगामी दिनमा आउने प्रोजेक्टहरुमा पनि चरम भ्रष्टाचार हुनेछ, जसरी अहिले हामीले भ्रष्टाचार भयो भनिरहेका छौं । 

नागरिकले आवाज नउठाई केन्द्र सरकार र प्रदेश सरकारले पनि हामीलाई हेर्दैन । हामीले जुन संख्यामा आन्दोलन गरिरहेका छौं । यसले केही प्रभाव त पारेको छ, त्यत्रो ठूलो प्रभाव पार्न सकेको छैन । दूरगामी प्रभाव पार्नका लागि पनि सबै जना पार्टी भन्दा माथि उठेर संघसंस्था, विभिन्न कुराले हामी विभाजित छौं, त्यो भन्दा माथि उठेर खानेपानीका लागि एक हुनुपर्छ । 

जनताले धेरै समर्थन गरिरहनु भएको छ । सबै स्वतःस्फूर्त आइरहनु भएको छ । यसप्रति म आभारी छु । मेरो लागि त उहाँहरु आउनु भएको होइन, आफ्नै लागि आउनु भएको हो तर पनि मैले अगुवाईमा भइरहेको आन्दोलन र संघर्षमा आइदिनु भएको छ यस प्रति म आशावादी छु । धेरै मान्छेले घरमै बसेर समर्थन गर्नु भएको छ । देशविदेशबाट पनि समर्थन गर्नु भएको छ ।

मिडियाले पनि महत्वका साथ सम्प्रेषण गरेको छ । आन्दोलनले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ भन्ने मलाई लागेको छ ।