मैले गीत बजारमा ल्याइरहँदा, मेरो राजनीतिक जीवनलाई हेर्दा,  मजदुर संगठनसँग जोडिएको मेरो आन्दोलित जीवनलाई हेर्दा, फेरि मान्छेहरुले त्यसलाई दाँजेर हेर्दा, धेरैले भनेः यो गीतसंगीतमा कसरी लाग्यो ? मोती सुनुवार कसरी गायक भयो ? बडो कौतूहलताको विषय भयो । 

मानिस राजनीति पनि गर्छन् । सांस्कृतिक क्षेत्रमा पनि लाग्छन् । त्यो उमेरको कुरा पनि हुन्छ । मैले वास्तवमा पहिलो गीत ५८ वर्षको उमेरमा रेकर्डिङ गरें । यसो केलाएर सुन्ने हो भने माया–प्रेमका शब्दहरु छन् । 

मान्छेहरुले भनेः बुढा मान्छे कतै प्रेममा पो फस्यो कि ? राजनेताहरु धेरैको नाम प्रेम र रतिरागमा जोडिएको छ । कोसँग जोडिएर को आइरहेको छ । मोती सुनुवारले आफ्ना भावनाका कुरा त्यहाँ झल्काएर प्रस्तुति गरिरहेको छ कि ? भन्ने पनि लाग्न सक्छ ।

स्वभाविक हो । तर, वास्तवमा म गायक होइन । म हिजो गायक पनि थिइनँ । गीत लेख्ने मान्छे पनि होइन । सुर, ताल आदि, इत्यादि भन्ने कुरा पनि हुन्छ । ती पनि होइनन् । तर गीतहरु मेरा जीवनले सिकाएका कुरा हुन् । यथार्थमा म राजनीतिक मान्छे नै हुँ । 

राजनीतिक मान्छे हुँदाहुँदै पनि केही वर्षदेखि मेरो राजनीतिक जीवनमा तलमाथि पर्यो । पार्टीमा किनारा लगाउने प्रयत्न भए । पार्टीमा कम खटोस् । कम जिम्मेवारी दिऊँ भन्ने ढंगका कुरा भए । विशेष गरेर भीम आचार्य, धर्म निरौला कामरेडले भूमिका खेल्नु भयो ।  

मैले मान्छे कुटेर, मान्छेलाई अपराध गरेर, अन्याय गरेर, जाँडरक्सी खाएर कोलाहल मच्चाएर, तासजुवा खेलेर होइन । मैले राजनीतिक मुद्दा उठाउँदा केही वर्ष पार्टीले जिम्मेवारी दिएन । जिम्मेवारी नदिए पनि मैले पार्टीलाई गाली गरिनँ । राजनेताहरुलाई गाली गरिनँ । आफूभन्दा सिनियर नेता कसैलाई पनि अपशब्द गरिनँ । म आफू कसरी भुलिने भन्ने सवालमा केही–केही लेख्दै गएँ । 

यसै क्रममा गायिका अम्बिका दवाडीसँग भेट भयो । उहाँले पाण्डव सुनुवारलगायतसँग रेडियो नेपालमा गाउनु भएको रहेछ । तामाङ भाषा, राई भाषामा पनि गाउनु भएको रहेछ । चिया पसलमा कुराकानी भयो । मेरा जीवनका केही चुनावी गीतहरु थिए । मेरो जीवनसँग जोडिएका गीतहरु पनि थिए ।

Moti_Sunuwar-3

जुहारीबाट सिकें गीत 

दोलखा, रामेछाप, सिन्धुपाल्चोकतिर तामाङ बस्तीमा हुर्किएको म । गोठालो जाँदा पनि सेलो लयमा गीत गाउने । बाख्रा चराउँदा पनि सेलो लयमा गीत गाउने । राति मेलापातमा गाउने । पश्चिममा चाहिं दोहोरी भन्छन् हाम्रोतिर जुहारी भन्छन् । त्यहाँ पनि मैले गाउने होइन तर भाका चाहिं आउने । अम्बिका जीले तामाङ भाषाका गीत गाउनु भएको हुनाले उहाँलाई ती सेलो सुनाएँ । गीत हुन्छ ? भनेर सोधें । मलाई गीत हुन्छ कि हुँदैन भन्ने पनि थाहा थिएन । उहाँले नै धेरै राम्रो रहेछ, तपाईंले गाउनू भन्नु भयो । साथीभाइले पनि गीत ठीकै छ भन्नु भयो । गाएपछि त्यसको हामीले एउटा भिडियो पनि बनायौं । 

खुद ममा फुरेको गीतभन्दा पनि माया–पिरतीका रुपमा बजारमा लगियो । ‘ओरिजिनल’ शब्दहरु भने अरु नै थिए । 

म प्रारम्भदेखि नै कम्युनिष्ट पार्टीमा आबद्ध भएको मान्छे । मेरो जवानी कम्युनष्टि पार्टीमा बितेको हो । मेरो स्कुलिङ अत्यन्तै कडा थियो । ती माया प्रेमका शब्दहरुसँग म खेल्ने त होइन । तर, ती ‘ओरिजिनल’ शब्दहरुलाई माया–पिरतीमा साटियो ।  


‘हाम्रो त देशै नेपालको 

राम्रो कम्युनिष्ट म हो नि

राम्रो राम्रो कम्युनिष्टले दुःख पो पाउँछ किन नि ?

भन्देऊ न केपी भन्देऊ न, भन्देऊ न प्रचण्ड भन्देऊ न

यस्तो पो हुन्छ किन नि होई, यस्तो पो हुन्छ किन नि ?’


हाम्रो तारा सुब्बा (धरानका दिवंगत नगर प्रमुख तारा सुब्बा), मन्जु भण्डारी (धरान उपमहानगरकी उपप्रमुख) को पनि गीत बनाएको थिएँ । चुनावी गीतहरु थिए ती । ती शब्दलाई माया–पिरतीका शब्द राखेर परिवर्तन गर्यौं । गीत गायौं । 


‘सुनमाया खोज्दै हिंड्दा त बाटोमा पो भेटियो 

मेरो त रानी पाउँदा त यो मन बेस्सरी रमायो’


खास शब्द


‘मेरो त पार्टी खोजेर पूर्व– पश्चिम म गयो’ 


भन्ने थियो । नेपाल कम्युनिष्ट पार्टी एमालेसँग जोडेर नै गीत बनाएको थिएँ । तर, त्यसलाई माया–पिरती जोडेर फेरि बनायौं । मेरो जति पनि गीतहरु छन् – अहिले आएको ‘लिम्पियाधुरा लिपुलेक...’ यसलाई मेरो जीवनसँग जोडिएको जस्तै गरेर गीत बनाइयो । बन्यो । 

यसरी सेलो टाइपको मात्र भयो अन्य तरिकाले पनि प्रयास गर न भन्ने साथीहरुको सुझाव आयो । आउँदो रहेछ । मेरै जीवनसँग जोडिएका गीतहरु पनि लेखेर राखेको थिएँ । गाउने आदि, इत्यादि चाहिं भएको थिएन । रेकर्ड भएको छ । मैले प्रस्तुत गरेको छैन । 


अब म त सधैंसधैं रुने भएँ तिम्रै सम्झनालाई जिन्दगी नै मानें

हा..आ.. मालती तिम्रै सम्झनालाई जिन्दगी नै मानें


यसरी गीतलाई बजारमा लाँदा आम मान्छेको गीत बन्नुपर्ने रहेछ । त्यही ढंगले गीत गाउने काम भयो । तर वास्तविक रुपमा गीत अर्कै थियो । सात वर्षसम्म मलाई कम्युनिष्ट पार्टीले चेप्टे ढुंगाले थिचेर राखेको थियो । त्यही पीडालाई जोडेर गीत बनाएको थिएँ । 


तिम्रै सम्झनाले मलाई रुवाइ दियो, मलाई रुवाइ दियो

मन्द मुस्कान भन्दा नि रुवाइ पो मीठो भयो, रुवाइ नै मीठो भयो

हा...आ .. एमाले रुवाइ पो मीठो भयो, रुवाइ नै मीठो भयो 

अब म त सधैं सधैं रुने भएँ, तिम्रै सम्झनालाई जिन्दगी नै मानें

हा...आ .. एमाले तिम्रै सम्झनालाई जिन्दगी नै मानें

तिम्रो मेरो जिन्दगानी सम्झना भयो, आफ्नो भन्ने यो धर्तीमा को पो रह्यो

हा.. हा... एमाले आफ्नो भन्ने यो धर्तीमा को पो रह्यो

Moti_Sunuwar-1

माधव कामरेडहरुले त अरुलाई गाली गरेर उम्किनु भएको छ । हिंड्नु भएको छ । हामी जस्ता मान्छेले अर्कालाई दोष लगाएर उम्किन पाएनौं । गाली पनि गर्न पाएनौं । तर हामीले त आफ्नो पार्टीप्रति त्यस्तो गहिरो प्रेम, त्यस्तो ‘डिप्ली लभ’ गर्यौं । पार्टीलाई आफ्नो जिन्दगी बनायौं । पार्टी सम्झेर रोयौं । यो स्क्रिप्ट लेख्दा आफैं धेरै पटक रोएँ । सम्झेर रोएँ । लेख्दालेख्दै रोएँ । 

माधव, झलनाथ कामरेडलाई भन्छु, उहाँहरुले त निरन्त सरकार, राज्यकै कोषबाट जीवन चलाउनु भएको छ । परिवार चलाउनु भएको छ । बोल्दा, हिंड्दा पनि राज्यकै कोषबाट । नेपाल कम्युनिष्ट पार्टी एमालेले त्यस्तो तहमा पुर्यायो उहाँहरुलाई । तर अहिले पार्टीलाई नेतृत्वलाई गाली गरेर हिंड्नु भएको छ । तलतलका आम पब्लिक, कार्यकर्ताको मनमा ‘तल र बल’ पार्नुभएको छ ।  आपसमा झगडा लगाउनु भएको छ । 

हामीलाई पनि चेप्टे ढुंगामा पर्यौं । सानै थियौं होला, तर केही अपराध नगर्दा पनि चेप्टेमा परियो । थिचिएकै अवस्थामा पनि आफ्नो पार्टीको माया, स्नेहले रोयौं । भित्रै बसेर रोयौं । बरु लेख्यौं । र, गायक भयौं । पार्टीले गायक बनायो । मैले यसलाई प्लसपोइन्ट नै ठानें । 

तर, बजारमा जाँदा एमालेको कुरा मात्रै लाँदा कति सान्दर्भिक पनि नहुँदो रहेछ । कति असान्दर्भिक पनि हुँदो रहेछ । मेरो व्यक्तिगत जीवनका कुराहरु पनि एमालेसँग जोडेर लाँदा धेरै नमिल्दो पनि रहेछ । कहाँ पोख्ने ? यसै कारण प्रेमसँग जोडेर गीत ल्याएँ । 

गीतले ‘तिम्रो मेरो जिन्दगानी सम्झना भयो’ भनेको छ । म एउटा एक्टिभ पोलिटिक्स गरिहेको मान्छे थिएँ । म धरानका पुराना एमालेका मान्छेहरुमा ‘वान–टु’ भित्रकै मान्छे हुँ । मेरो आफ्नो दाबी हो यो । अरुले हेर्दा होइन पनि भन्लान् तर, मेरो आफ्नो दाबी हो । मैले हिजो काम गरेको आधारबाट, हिंडाइबाट । इमान्दारिताका आधारबाट आफूलाई आफूले नै मूल्यांकन गर्दा म पनि ‘वान–टु’ भित्रकै मान्छे हुँ भन्ने लाग्थ्यो । र, पनि सातसात वर्ष कुनै जिम्मेवारी पाइनँ । जिम्मेवारी नदिँदा रुँदै, लेख्दै, बस्दै गरें । 


‘तिम्रो मेरो जिन्दगी सम्झना मात्रै भयो 

आफ्नो भन्ने को रह्यो र ?’ 


अन्तिमको शब्दः 


‘अब म त निदाउँछु सुखी रहनु 

भेट भएपछि मलाई बिउँझाउनु’


यस्तै नै हो भने हाम्रो जीवन त अन्त्य हुन्छ, हुन्छ । अन्त्य नहुने कुरा छैन । तर नेपाल कम्युनिष्ट पार्टी फस्टाओस्, फुलोस् शुभ रहोस् तर अन्तिममा त भेट हुन्छ । भेट कसरी हुन्छ भने, कम्युनिष्ट पार्टीले अरु केही दिन नसके पनि, नचाहाँदा पनि झण्डा बोकेर त कुद्छन नि साथीहरु । झण्डा ओढाउने सिलसिलामा त आउँछन् । त्यो भावनासम्म डुबेर गीतहरु सिर्जना गर्न पुगें । तर, यसलाई ‘माया–पिरती’का रुपमा, ‘मालती’का रुपमा परिवर्तन गरी रेकर्डिङ गरें ।  

वास्तवमा म माया– पिरतीको मान्छे होइन । धरानमा ०३७ सालदेखि रहें । ६० वर्षको उमेरमा हिंडिरहेको छु । तर धरानबाट अलिकमाथि ‘नमस्ते झरना’ छ भन्छन् । तलतिर गोकुलम पार्क छ भन्छन् । विभिन्न पार्क छन् । रमाइलो ठट्टा गर्ने ठाउँ छन् । तर त्यहाँसम्म अझै पुगेको छैन । रात सात–आठ बजेपछाडिका होटलहरुमा तपाईंहरुले काहीँ भेटेको पनि छैन होला मलाई । बस्ने, रमझम गर्ने आदिइत्यादि । 

तर, गीतहरुमा माया प्रितिका शब्द छन् । हो, मायाप्रितिकै हो । तर नेपाल कम्युनिष्ट पार्टीसँग जोडिएको मायाप्रिति । पार्टीसँगको ‘डिप्ली लभ’ । यी सबै मायाप्रितिसँगै जोडिएका हुन् । कम्युनिष्ट पार्टीले नै बनाएको हो मलाई । 

Moti_Sunuwar-2

लेख्दालेख्दै गीत बन्यो । लयहरु आफ्नै हुन् । 

म साढे तीन बजे पत्रिका बाँड्न निस्कन्थें । सुनसान बजारमा एक्लै भट्याउँथें । ‘ए, ऊ, आ’ गर्दागर्दै लय पनि बन्थ्यो । अर्काको लय होइन आफ्नै । एरेन्जर साथीहरुले पनि भन्नुहुन्थ्यो, हामी यसैमा काम गरिरहेका छौं । यो अप्ठ्यारो विषय हो । लय पनि आफैं कसरी निकाल्नु हुन्छ ...?  लय दिन त बहुत गारो कुरा हो । 

सेलोको फेद टुप्पो त अझै पनि गाउन सक्छु । मेरो आफ्नै गाउँघरमा सुनेका लोक संकलनहरु हुन् । पत्रिका बाँड्दाबाँड्दै, कल्पनामा डुब्दाडुब्दै बनेका हुन् गीत । पत्रिका बाँड्दाबाँड्दै लय निस्किए, राजनीतिक ठक्करले शब्दहरु र बिसाऊँ भन्दा गीतहरु बने ।

जनताको गीत गाउनुपर्छ । जनस्तरको खाना खानुपर्छ । जनस्तरकै रमाइलो गर्नुपर्छ । हाम्रा जनताको स्तर के छ ? नेताले नबुझे कसले बुझ्छ ? रमाइलो चाहिन्छ । तर जनस्तरभन्दा मास्तिरको रमाइलो हुनुहुँदैन । बास, ओत पनि नेतृत्वले जनताको स्तरभन्दा ‘हाइफाइ’ गर्यो भने जनताले कसरी पत्याउँछन् त ? हाम्रो स्कुलिङ पनि त्यही थियो । त्यही स्कुलिङबाट चलिरहेको छु । 

‘लिम्पियाधुरा, लिपुलेक...’ कसरी बन्यो ?

माधव कामरेडहरुले भने, केपी ओली भारतसँग मिलिरहेको छ । राजासँग मिलिरहेको छ । उनीहरु भट्याइरहेका छन्– धरहरा केपी ओलीले बनाएको हो ? यो त डकर्मी, सिकर्मीले बनाएको हो । विकास निर्माण केही भएको छैन भनेर उनै हाम्रा आदरणीय नेताहरुले नै भट्याउन थालेका छन् । 

तर, लेख्दै, टिप्दै जाँदा त काम धेरै भएका छन् । नेतृत्व गर्ने मान्छे पनि कामरेड केपी ओली नै हुनुहुन्छ । तपाईं हाम्रै आँखाले पनि देखेका छौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी भन्ने नेपालको जग्गा रहेछ । हामी मेचीदेखि कालीसम्मका जनता एकमत भयौं । नेता पनि एकमत भए । 

हिजो माधव कामरेड, झलनाथ, प्रचण्डलगायतका अरु नेता पनि प्रधानमन्त्री हुनु भयो तर लिम्पियाधुरा– लिपुलेकका विषयमा किन बोल्नु भएन ? यो जग्गा हाम्रो हो, यो ढंगको नक्सा बनिनुपर्छ । भारतले यो ढंगले अन्याय गरेको छ भनेर काहीँ भन्न सक्नु भएन । जनतालाई आह्वान गरियो त ? उहाँहरुले गर्नु भयो त ? गरिएन । 

तर केपी कामरेडको नेतृत्वमा नक्सा बनाएर आम नेपालीलाई आह्वान भयो । भारतलाई पनि भनियो । अमेरिका, जापान, जर्मन, भारत सबैले सुन्दा एउटै कुरा रह्यो । तिम्रो ढोकाढोकामा ‘सत्यमेव जयते’ छ तर लिम्पियाधुरा, लिपुलेक, कालापानीमा बाटो किन बनायौ ? यो त सिंहको तरिका भयो । जसलाई भेट्यो त्यसलाई निमोठ्ने ? सानो देश भनेर तिमीले निमोठ्न मिल्छ ? तुरुन्त ‘ब्याक’ होऊ । तिमीलाई म प्रश्न गर्छु ‘सत्यमेव जयते हो, कि सिंह मेव जयते ?’ 

झलनाथ कामरेड, माधव कामरेड, प्रचण्ड कामरेडले सुन्दासुन्दै नै कामरेड केपीले प्रश्न गर्नु भएको छ । यो यथार्थलाई देखीदेखी जनताका बीचमा उहाँहरुले किन उल्टो र सुल्टो कुरा गर्नुहुन्छ ?

अब मेरोतर्फबाट मैले बुझाउनुपर्छ भनेर गीत लेखेको हुँ । हामी इटहरी, काँकडभिट्टा नजिक छौं । रेलमार्ग निर्माणका लागि मुआब्जा दिइरहेको हाम्रै आँखाले देखेका छौं । 

रेलमार्ग विकास होइन ? ०४० सालदेखि म धरानको बसपार्कमा बसेको छु । ०४० सालमा न टेम्पु थियो, न लेण्डरोभर थियो, न मारुती थियो, माइक्रो, वानटेन केही थिएन । मात्र बस र रिक्सा थिए ।

केपी कामरेड भर्खर प्रधानमन्त्री हुनुभएको छ । तीन वर्ष पनि पुगअपुग छ । रेलमार्गको कुरा अहिले फ्याट्ट भइहाल्छ र ? जनकपुरमा त नयाँ रेल आइसकेको छ । यो कुरालाई पार्टीका ‘लिडर’हरुले जनताका बीचमा गएर बुझाउनुपथ्र्यो । उहाँहरु जनताका बीचमा जानु भएन । त्यसकारण गीतमा रेलमार्गका कुरा पनि राखेको छु । ०७२ सालमा भूकम्पले थिलथिलो बनायो मुलुक । धरहरा बन्छ र ? भन्ने थियो । रानीपोखरी धस्सियो । सरकारलाई कोभिडले थिलथिलो बनाएको छ । राजनीतिक जटिलता छ । आफ्नै दलकाले बिहानै, बेलुकै किचकिच गरेको छ । तर पनि रानीपोखरी, धरहरा पुनर्निर्माण भयो । यी कुरालाई ‘पिपुल’ का बीचमा किन नलाने त ? भनेर पनि मैले गीतसंगीत रोजेको हुँ । 

बाँकी अझै धेरै छन् । मलाई लाग्छ यो गीत मेची– महाकालीका ३– ४ लाख मान्छेले हेरे । ८–९ सय मान्छेले प्रतिक्रिया दिएका छन् । २– ४ सय मान्छेले सेयर गरेका छन् । 

‘पिपुल’ राजनेता भन्दा ज्ञान, गुन, बुद्धि, विवेक भएका छन् भनेर मैले बेलाबेलामा भन्ने गरेको पनि छु । पब्लिक राजनीति गर्दैन, तर राजनीति बुझेको छ । विकास के हो ? भन्ने कुरा बुझेको छ । कसले विकास गर्यो र भ्रष्टाचार कोबाट भयो भन्ने जनताले हिसाबकिताब राखेको छ । कमरेड केपी ओलीलाई एउटा सफेद नेताको रुपमा मैले देखेको छु र ‘पार्ट– टु’ निकाल्ने प्रयत्नमा छु । 

Moti_Sunuwar-4

गीतसंगीतको दिशा जनवादी संगीततिर जाने हो ?

साँच्चै नै भन्ने हो भने आगामी दिनहरुमा धेरै गायनको क्षेत्रमा संगीतको क्षेत्रमा मैले समय गुजार्न र समय दिन मुस्किलै छ । गीत त्यसै लेखिंदैन । साधना हुनुपर्छ । ‘लिम्पियाधुरा– लिपुलेक’ बोलको गीत पनि हरेक दिन चर्चा भइरहेको विषयमा सवालहरुको जवाफ हो । मजदुर, गोठाला सबैले बुझ्ने गरी गीतमार्फत् भनिदिएको हुँ । 

सरकारले गरेका काम ‘पिपुल’ का बीचमा आउन नसकेको अवस्थामा गीतसंगीत सरल माध्यम हो भन्ने ठानेर मैले गरेको नितान्त प्रयत्न हो यो । धनीपूर्जा वितरणको काम सम्पन्न हुँदा कति राम्रो कुरा हुन्छ हेर्नुस् त । ०३७ सालदेखि धरानमा छु । ०३७ सालदेखि नै ‘जिन्दावाद र मुर्दावाद’ को मान्छे हुँ । सुकुम्बासी समाधानका कुरा त्यही समयदेखि उठाइएको छ । राज्यको तहबाट जनतालाई तिम्रो जमिन यो हो भनेर किनारा लाउन सकेको थिएन । आफैंले ओगटेर बसेको त अलग कुरा भयो । अत्यन्तै ठूलो पीडा छ । यी पीडालाई जनताका बीचमा गीतबाट भन्न सक्नु पर्यो । 

कतिले आफ्नै कार्यकर्ता अल्मलाएका छन् । सूर्य चिह्न कसको हो ? भनेर मान्छेका बीचमा झगडा लाइदिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले केपी ओलीको नेतृत्वमा चलेको छ । महासचिव ईश्वर पोख्रेल हुनुहुन्छ । अनि सूर्य चिह्न चाहिं प्रचण्डको कसरी हुन्छ ? सूर्य चिह्न हाम्रो हो भन्ने कुरा ‘पिपुल’ लाई बुझाउनुपर्छ । केरुङ मार्गको कुरा पनि जनतालाई बुझाउन जरुरी छ । त्यसो हुँदा  भाग २ केही समय पछाडि निकाल्ने प्रयत्न गर्दैछु । तर धेरै अरु गीतहरुमा समय गुज्रन गाह्रो छ । किनभने अहिले पनि हामी पार्टीको काममा निरन्तर लागेका छौं । 

तर के हो भने, मान्छेलाई मनोरञ्जन चाहिन्छ । जनवादी गीत मात्रै ठीक भन्ने पक्षमा पनि म छैन । अरु गीत बेठीक हो भन्नु हुँदैन हामीले । गीतसंगीत, नाचगानमा अराजकता हुन भएन । असान्दर्भिकता हुन भएन । घोचपेच हुन भएन । चोखो मायाप्रिति गर्ने मान्छे त अनगिन्ती हुन्छन्, गीतले तिनीहरुको प्रतिनिधित्व गरोस् तर अश्लिलता नझल्कियोस् । 

तर, हाम्रो स्कुलिङले ती कुरालाई त्यति प्रश्रय दिएर अगाडि बढ्नुपर्छ भन्ने हुँदैन । गीतसंगीतले जनतालाई सचेत गराउने, जागरण पैदा गर्ने काम गर्छ । गर्नुपर्छ । 

प्रतिक्रियाका आधारमा मैले गाएका गीतहरुमा सकारात्मकता देखेको छु । ०४६ सालमा प्रजातन्त्र ल्याउनका निम्ति, निर्वाचनमा जिताउनका निम्ति गीतसंगीतले काम गरेको छ । यसलाई पनि बिर्सन हुन्न । ६० वर्षको उमेरमा २० वर्षको जस्तो गीत गाएर हिँडेको छु ।

Moti

तर एउटा कुरा सिकें । 

गीतसंगीत क्षेत्रका मान्छेहरु वास्तवमा पीडितै हुन्छन् । गीतसंगीतबाट पनि पार्टीकै काम गर्न  खोजें । तर यहाँ पनि आर्थिकसँग जोडिएका कुरा हुन्छन् । ‘तक्लिफ’ छ यहाँ पनि । पैसा नहुने मान्छेहरुको ‘तक्लिफ’, मेरो आफ्नो स्वाभिमानमा अडिग रहन्छु भन्ने मान्छेहरुको ‘तक्लिफ’ झन् धेरै छ । 

मैले गीत लेखें । रेकर्डिङ गरें । भिडियो बनाउनु पर्यो । त्यसमा पनि पैसा चाहिन्छ । यो ‘लिम्पियाधुरा–  लिपुलेक– कालापानी हाम्रै हो’ भन्ने गीत बनाउँदा सबै साथीभाइ हुनुहुन्थ्यो । रेकर्ड गर्ने, भिजुअल बनाइदिने साथीभाइ नै हुनुहुन्थ्यो । विमोचन गरौं न भन्दा पनि साथीभाइले नै सहयोग गर्नुभयो । यसमा ७० हजार सेरोफेरोमा खर्च भयो ।

तर यहाँ पनि मान्छेहरुले केपी ओलीसँग पैसा लिएर बनायो भने । बजारमा पुग्दा शेरधनसँग पैसा लिएछ भने । तर मेरो आफ्नो दुःख मलाई थाहा छ । गीत लेख्दालेख्दै म सार्वजनिक गर्न सक्दिनँ थिएँ होला । दुईचार जना साथीहरुलाई सुनाएपछि उहाँहरु तम्सिनु भयो । उहाँहरु उत्साहित भएर हामी बनाइदिन्छौं भन्नुभयो । खर्च कम गरौं भन्दा पनि विमोचनसम्म पुग्दा ७० हजार खर्च भयो । 

नवीन राई, हिमाल दाहाल, लहरु जिमी, मैयाँ तामाङ, बालकृष्ण श्रेष्ठलगायतका साथीहरुले कसैले दुई हजार, कसैले पाँच हजार कसैले १० हजार दिनुभयो । ‘बाटोमा भेट हुँदा’ बोलको गीत ल्याउँदा पनि ‘औजार’को टिम लाग्यो । पवन अधिकारी, दामोदर गुरागाईंलगायतका साथीहरु लागेर बनाउनु भयो । प्रदीप सर (प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी) ले २० हजार दिनुभयो । जयजी (सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद् जयकुमार राई) ले पनि दिनु भयो २० हजार । त्यो प्रारम्भिक चरण थियो । हामी उत्साहित भयौं । 

तर, राज्यबाट आउने पैसा देखिएको पनि छैन । माग्ने प्रयत्न पनि गरिंदैन । जरुरी पनि ठानिंदैन । हामीलाई आफ्नै परिश्रमले खान, लगाउन पुग्यो भने भयो । तर, यो मान्छेले खाना खाएको छ कि छैन, यसले कसरी खाँदैछ भन्ने कुरा नेताहरुले सोधिंदिंदा पनि हुन्थ्यो भन्ने लाग्छ । मजस्तो मान्छेलाई त यस्तो लाग्दो रहेछ, मभन्दा निकै राम्राराम्रा कलाकार हुनुहुन्छ । गीत लेख्नुहुन्छ । गाउनुहुन्छ । तर बजारमा आउन सकिरहेको हुँदैन । मौका पाउनु हुन्न । उहाँहरुको मनमा झन के भएको होला ? 

यो पाटो झनै मार्मिक छ । गीतसंगीतमा लाग्ने साथीहरुको यो मार्मिक पाटो हुँदो रहेछ भन्ने मैले बुझ्न पुगें ।

- प्रस्तुतिः नवराज विष्ट