धरानको भानुचोक बसपार्कदेखि दक्षिणपट्टि झण्डै १५० मिटर तल झर्नुहोस् र दक्षिणपट्टि फर्केर हेर्नुहोस्, त्यहाँ भेटिन्छ मधुशाला । मधुशाला एउटा ‘चियालय’ हो । चिया पिउँदै पुस्तक पढ्न प्रोत्साहन गर्ने मधु दाइ छन् त्यहाँ । दुई दशक अघिदेखि मधुशाला अर्थात् चियालय स्थापना गरेर पठनसंस्कृतिको प्रवद्र्धन गर्दै आएका मधुप्याला उर्फ मधुकर शाक्यका कुरा हामीले सुनेका छौं । र तपाईंसामु उनका अनुभूति बाँड्ने प्रयत्न गरेका छौं ।
********
१६–१७ वर्षको उमेरदेखि साहित्य सिर्जना गर्न थालें । त्यतिखेर पत्रपत्रिकामा हुलाकमार्फत् रचना पठाउँथें ।
श्रीमान् सम्पादकज्यू
फलाना पत्रिका ...
महोदय,
मैले एउटा कविता प्रेषित गरिरहेको छु । उचित भए स्थान दिनहुन अनुरोध गर्दछु । यस्तै यस्तै ।
हिजो आज चाहिं लेख्यो, फेसबुकमा हालिदियो । पत्रपत्रिकामा प्रकाशित गरिदेऊ भन्न पनि परेको छैन ।
मनोरञ्जन नै पुस्तकका अक्षरहरु हुन्थें
त्यो समयमा हामीसँग मनोरञ्जनका साधनहरु थिएनन् । सिनेमा हल हुन्थ्यो । एउटा फिल्म चारचोटीसम्म हेर्थें । त्यो बेला साथीहरुलाई सोद्धा– फलाना फिलिम हेरिस् भनेर सोध्दैनथ्यौं । त्यो फिलिम कतिचोटी हेरिस् भनेर सोध्थ्यौं । मनोरञ्जनका साधन सीमित थिए । हरेकका घरमा १०–२० वटा पुस्तक हुन्थे । मनोहर कहानियाँ, फिल्म फायर, कमिकहरु, सत्यकथाका किताबहरु हुन्थे । हामीसँग समय बिताउने साधन पुस्तकहरु र अक्षरबाहेक केही पनि हुँदैनथ्यो । हो त्यही बेलामा पाठक भएँ । पढ्दै गएँ । पुस्तकप्रति प्रेम जाग्दै गयो ।
पढ्दापढ्दै साहित्यप्रति अभिरुची बढ्दै गयो । कविताहरु, हल्काफुल्का कथाहरु पनि लेख्न थालियो । त्यसपछि जोशजाँगर हराएछ । घरिघरि मात्र पत्रिकामा पठाउँथें ।
लकडाउन सिर्जनशील बन्यो
कोरोना भाइरसको संक्रमण बढेपछि पोहोर साल लकडाउन भयो । लकडाउनपछि फेसबुक खोलें । फेसबुक खोलेपछि फेरि साहित्य सिर्जनामा जोश जाँगर बढेर आएको छ । दिनमा एउटा– दुईवटा पोस्ट गर्न पनि लेख्नै पर्यो । हिजोआज सिर्जना अलि बढिरहेका छन् । लकडाउन अलि बढी सिर्जनशील भयो ।
नयाँ प्रविधिसँग साक्षात्कार भएँ । फेसबुकले मान्छेलाई बिगार्छ भन्ने मेरो सोच थियो । इन्टरनेटले मान्छेलाई खत्तम बनाउँछ भन्ने लाग्थ्यो । घरमा इन्टरनेट थ्यो । तर म मोबाइल बोक्दैनथें । कतै जान नपर्ने भएकाले मोबाइ बोकिन्नथ्यो । घरमा सबैसँग मोबाइल हुन्थ्यो । मोबाइलको चासो थिएन । पोहोर लकडाउनको अगाडि १२–१३ वटा किताब लिएर आएको थिएँ । लकडाउनमा किताब पढी सिध्याएपछि के गर्ने त ? अल्छि लाग्न थाल्यो । ७ दिन भनेको लकडाउन महिनौं भयौ ।
घरै अगाडि नाति पर्ने फुच्चे केटोलाई बोलाएर ‘मेरो फेसबुक खोल्दे’ भनें । सजिलो छ ‘अजा’ (बाजे) भनेर टक् टक् टक् खोल्दिहाल्यो । चलाउने कसरी हो त ? उसले सिकायो । लेखक, पाठक सबैको विचार, आलेख हेर्ने पढ्ने अवसर पाइयो । आफूलाई लेख्न आउँदैन, रोमनबाट पहिलो प्रयास गरें ।
रोमनबाट चित्त बुझेन । कैलाश मिश्र भन्ने भाइलाई, ‘मलाई नेपालीबाट लेख्न सिकाइदे’ भनें । उसले ‘हाम्रो किबोर्ड’ डाउनलोड गरेर चलाउनु भन्यो । लाउनलोड गरिदिएर हिंडिहाल्यो । स्पेस चाहिने, घरि ह्रस्व, घरि दीर्घ चाहिने । संयुक्त अक्षर चाहिने । धेरै अल्मलिएँ । फेरि ऊ बसेकै ठाउँमा बारम्बार गएर सोधीसोधी यत्तिको चलाउने भएँ ।
बिहान पौने ५ बजे दोकान खोल्छु । बेलुका ८ बजेसम्म समय बित्छ । राति खानापछि ११ बजेसम्म फेसबुकमा रहन्छु । धन्यवाद, आभार कहिले काहिं बहस पनि हुन्छ । मलाई नास्तिकता मनपर्छ । नास्तिक विचारबारे बहस रहेछ भने सहभागी पनि हुन्छु ।
सामाजिक सिर्जनामा ध्यान
मैले सामाजिक सिर्जना गर्ने गरेको छु । तर एउटै मात्र होइन । प्रेमिल पनि हुन्छ । हाँस्य रसका सिर्जना पनि हुन्छन् । मूलभूत रुपमा सिर्जनाको आधार र विषय समाज बन्ने गरेको छ । र, नास्तिक विचार पनि पस्कने गरेको छु ।
हामीले कुरीति, अन्धविश्वाससँग लड्न एकदमै आवश्यक छ । मानवता र वैज्ञानिक सोच हाम्रा सिर्जनामा हुन आवश्यक छ । हामी धर्मलाई अन्ध समर्थन गरिरहेका छौं । त्यसलाई तार्किक बनाउन सकिरहेका छैनौं । सिर्जनाका माध्यमद्वारा यसलाई तिखारेर, निखारेर तार्किक बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो । धर्मका अन्धविश्वासलाई निफनेर समाज सुहाउँदो बनाउन सक्नुपर्छ ।
२२ औं शताब्दीमा छुवाछूत, छाउपडी नारी बन्धनका कुरा, उनीहरुको सीमिततालाई चाहिं साहित्यका माध्यमबाट हामीले चिरफार गर्नै पर्छ ।
प्रविधिले पुस्तकलाई प्रतिस्थापन गर्दैन
पुस्तक पढेजस्तो इन्टरनेटमा पढेको मजा आउँदैन । पुस्तक सर्वसुलभ हुन सक्छ । स्थायी हुनसक्छ । इन्टरनेटले पुस्तकमा ध्यान दिन प्रेरित गर्दैन । म आफैं मोबाइलमा पुस्तक पढ्दिनँ । आफैं पढ्न पनि किताब संकलन गर्छु ।
मधुशालामा केही थान कोरियन पुस्तक छन् । हिन्दी, अंग्रेजी, नेपाली त छँदैछ । आज मधुप्याला र मधुशालालाई स्थापित गरेको नै पुस्तक र साहित्यका कारणले हो । चिया दोकान त हजारौं छन् । मान्छे अहिले मधुशालामा आएर एक क्लिक फोटो मात्र पनि खिच्ने चाहाना राख्छन् । यो पुस्तकको कारणले नै हो । पुस्तक सबैको मित्र हो । मार्गदर्शक पनि हो । पुस्तक पढ्ने बानी भएकालाई कुनै साथीको आवश्यक्ता पर्दैन । ऊ आफैं हाँसिरहेको हुन्छ । र, रोइरहेको पनि ।
पुस्तकलाई अभिन्न साथी बनाउनु पर्छ । पाठ्यक्रम र किताबी ज्ञानले मान्छेलाई सुगा र मैना मात्र बनाउँछ । स्कुल भनेको समाजको एउटा हिस्सा हो । समाजले विद्रोह मन पराउँदैन । स्कुलले बुद्धि बेचर खाने बुद्धिजीविसम्म बनाउला । तर, बौद्धिक बनाउन सक्दैन । तपाईंलाई बौद्धिक बन्नु छ भने त स्कुल र क्याम्पसदेखि बाहिरका पुस्तकहरुको अध्ययन, मनन र चिन्तन गर्न जरुरी छ ।
स्कुल र समाजको ध्येय भनेको तपाईंलाई जागिरे बनाउनु हो । व्यक्तिले समाजमा भएका कुरा विरोध गर्न भरसक नसकोस् भन्ने समाजको चाहाना हुन्छ । पिंजडाको सुगा, मैना बनाउने हो समाजले । आफ्नै विवेक प्रयोग गरेर चेतनशील र बौद्धिक बन्ने हो भने बाहिरी पुस्तकको आवश्यक्ता पर्दछ ।
स्कुल, कलेज नपढ्ने लाखौं करोडौं मान्छे छन् तर बौद्धिक समुदाय कति होला र ? ती जति पनि छन्, बाहिरी ज्ञानबाट भएका हुन् । जन्मँदै बौद्धिक कोही हुँदैन । उसलाई बाहिरी ज्ञान पुस्तकहरुले तिखो बनाउँछ ।
आज म नास्तिक छु । मलाई समाजले सानैदेखि आस्तिक त बनाएकै थियो । तर, नास्तिकता मेरो निजी कमाइ हो । आस्तिकता भनेको बाउबाजेले थोपरेको नचल्ने सम्पत्ति हो ।
आस्तिक त समाजले बनाएकै हुन्छ । अनपढ पनि आस्तिक हुन्छ । तर नास्तिक बन्न त अध्ययन, चिन्तन, मनन र समाजसँग लढ्ने तागत, आत्मविश्वास र चेतना हुन आवश्यक छ । विद्रोह चेतना हुन आवश्यक छ ।
माथि कोही छ..., म उसको कठपुतली हुँ भन्ने मानसिकता गुलामी होइन र ? मेरो मालिक म हो । जे परिणाम आउँछ, मेरो कर्मअनुसार आउँछ । मिहिनेत गरें भने म सफल हुन्छ । गरिनँ भने असफल हुन्छु । माथिको कठपुतली होइन भन्ने जुन स्वतन्त्रता म महसुस गर्छु त्यो आस्तिकहरुले गर्न सक्दैनन् । ऊ त म कसैको दास हो, कठपुतली हो, मेरो प्रभु माथि छ । उसको इसारामा म हिंड्छु । भन्ने विचारले बाँधिएको छ ।
जन्म, मृत्यु उसको हातमा छ भने आज माक्स लगाएर, सेनिटाइजर दलेर किन हिंड्दै छौ ? त्यसो हो भने बिरामी हुँदा मन्दिरतिर जानुपर्छ । अस्पताल नास्तिकहरुले लाने हो । किनभने उसलाई ईश्वरमा विश्वास छैन । डाक्टर र विज्ञानमा विश्वास छ ।
पुस्तक संकलनमा सबैको सहयोग छ
स्थानीय सरकारले, वडा समितिले गत वर्ष १५ हजारको पुस्तक सहयोग गर्यो । समयसमयमा गर्छु भनेको छ । मैले माग गरेको होइन । तथापि मधुशालाको अभियान देखेर उहाँहरुले सहयोग गर्नु भएको हो । मेरा शुभचिन्तकहरुले सहयोग गर्नुहुन्छ । उहाँहरुको जन्मदिन, खुसीको अवसरमा पुस्तक ल्याइदिनु हुन्छ । आफू पनि अलिअलि किन्छु । समयअनुसार विकास र विस्तार हुँदैछ ।
मधुशाला र मधुप्यालाको केमेस्ट्री
मेरो नाम स्कुलमा मधुकर शाक्य हो । मधुकर भन्दा प्रायः यहाँ चिन्दैन । मधु भनेर नै चिन्छन् सबैले । कसैले मधु दाइ, कसैले मधु भाइ, मधु अंकल । म चियावाला भएको नाताले मेरो प्रिय चाहिं ‘प्याला’ हो । ग्लास । त्यसैले ‘मधुप्याला’
अनि मधुको कुटी ‘मधुशाला’ यही नै हो केमेस्ट्री ।
अन्त्यमा
भरसक पुस्तक पढ्ने अभ्यास गरौं । भोलि हाम्रा छोराछोरी पनि पढ्ने हुन् भन्ने चाहाना राख्ने हो भने हामीले पनि पढ्नु पर्यो । हामी चाहिं नपढ्ने अनि छोरोछोरीलाई पढ् पढ् भन्दा मिल्दैन । छोरोछोरीको भविष्यका लागि उनीहरुको चेतनाका लागि पनि हामीले पढ्नै पर्छ । स्कुल, कलेजका पुस्तकलाई मात्र सम्पूर्ण ज्ञान नसम्झौं । ज्ञान गहिरो छ ।
हामी सर्वप्रथम मानवतावादी हुनुपर्छ । धर्मले हामीलाई टुक्राटुक्रा बनाउँछ । कसैलाई हिन्दू, कसैलाई मुस्लिम, क्रिस्चियन बनाउँछ । एकआपसमा लडाउँछ । मानवताले सबैलाई जोड्ने काम गर्छ । संसारलाई बचाउनका लागि हाम्रो प्रयत्न हुनुपर्छ । मानवता र प्रेमले नै संसारलाई बचाउँछ । आज पुस्तक दिवसको अवसरमा कुराकानी गर्न पाइयो । आफ्नो लागि नभए पनि भावि पिढींका लागि पुस्तकलाई संरक्षण गर्ने बाटोमा लागौं । नयाँ समाज निर्माणमा लागौं । समतामूलक समाज । मानव समाज, चेतनशील मान्छेहरुको समाज ।
प्रस्तुतिः नवराज विष्ट