आज २३ औं मनमोहन स्मृति दिवस । मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका लागि अनुकरणीय र सान्दर्भिक छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा सरल, शालीन र सादगी जीवन व्यतित गरेका मनमोहन अधिकारी नेकपा एमालेका पहिलो अध्यक्ष हुन् । ०४८ सालमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनी ०५१ सालमा नेकपा एमालेबाट सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बने ।
तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गर्छन् । तत्कालीन सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरान, वराहक्षेत्र, वक्लौरीका जनताका घरघरमा मनमोहन अधिकारी पुगेका छन् । मनमोहनलाई निर्वाचनमा विजयी गराउन भूमिका खेल्ने यस क्षेत्रका केही अग्रजसँग मनमोहनको स्मृतिबारे कुराकानी गरेका छौं ।
*****************
कुन्ता शर्मा, धरान
मनमोहन जी र मेरो पार्टी त एउटै होइन । सुरुदेखि उहाँ माक्र्सवादी हो । तर म झापाली गुटबाट, कोके हुँदै माले र मालेबाट एमाले हुँदामात्र मनमोहनजीसँग सँगै भएँ । तर धेरै पहिलादेखि नै मनमोहनजी एक्लो वृहस्पति जस्तो । उहाँका पार्टीमा पनि मान्छे त्यति सारो खटेनन् । आन्दोलनमा पनि उहाँ एक्लै खट्नु हुन्थ्यो । एक्लो भए पनि उहाँले पञ्चायती व्यवस्थाको विरुद्धमा काम गर्नु भयो । जनताको ‘फेवर’ मा काम गर्नुहुन्थ्यो ।
त्यागी नेताका रुपमा लिन्छु म उहाँलाई । उहाँको जीवन सरल, सादगीपूर्ण, निश्कलंक, निष्कपट थियो । धेरै कम मान्छेहरुमध्ये उहाँ हुनुहुन्थ्यो । उहाँको साशन काल पनि अविष्मरणीय रह्यो । हामी धरानवासीको सौभाग्यको कुरा हो । हामीले त्यस्ता महान् नेता तथा स्वच्छ छवि भएका नेतालाई बोकेर चुनावमा जान पायौं । निष्ठाको सगरमाथा मान्छु म उहाँलाई ।
प्रेरणा लिने भन्ने कुरा सबैको आआफ्नै हुन्छ होला । फलामको धुलो तान्ने क्षमता त चुम्बकमा मात्र हुन्छ । काठपात, झारपातले फलामको धुलो तान्न सक्दैन । एउटा महान् गुण अवलम्वन गर्नु गाह्रो छ । मनमोहनजीको जीवनशैलीको अवलम्वन गर्न धेरै गाह्रो छ । धेरै इच्छा, आकांक्षाहरुलाई लगाम लगाएर, जनताको लागि जसरी उहाँ हिंड्नु भयो त्यो धेरै मान्छेहरुका लागि कठिन कुरा हो । त्यस्तो कठिन पथमा हिंड्न धेरै मान्छे सफल हुँदैनन् । महत्वकांक्षालाई लगाम लगाउने खाल्का मान्छे मात्र मनमोहनको पथमा हिंड्न सक्छन् । हामी मध्ये को कति हिडेका छौं, छैनौं भन्ने कुरा जनताले निक्र्यौल गर्ने कुरा हो ।
तर, हिंड्नुपर्छ भन्छु म । राजनीति भनेको कुनै खेतीपाती, कलकारखाना, बन्दव्यापार होइन । सेवा हो । त्यसकारण सेवा भावले उहाँजस्तै हिंड्नुपर्छ ।
*******************
बद्रीनाथ घिमिरे ‘बद्री बा’
वराहक्षेत्र, चक्रघट्टी, सुनसरी
क. मनमोहन अत्यन्तै इमान्दार साँच्चैको कम्युनिष्टको आचरण भएको इमान्दार कम्युनिष्ट भनेर मान्दछु । उहाँ अन्यन्तै जनप्रिय । जनता भनेपछि उहाँले सबैभन्दा माथि मान्ने ।
एउटा घटना सुनाउँछु । यो सामान्य हुन सक्ला । तर कम्युनिष्टको आदर्शको यो महत्वपूर्ण उदाहरण हो । हामी आठदश जना चिया खाने कुरा गर्दैथ्यौं । ठाउँ यहीं राजाबास हो । मैले मनमोहनलाई भनें, ‘कमरेडले दूध खाने कि ?’ उहाँले मलाई झण्डै मार्नु भयो । रिसाउनु भयो उहाँ । ‘यतिका साथीभाइ सबैले चिया खाइरहने कुरा भइरहेको छ । म कसरी दूध खान्छु ? मेरा साथीले जे खान्छन्, म त्यही खान्छु । मेरा साथीभन्दा म उपल्लो होइन’ भन्नुभयो ।
अहिले कम्युनिष्टमा यो आदर्श छ ? जनताको स्तरमा रहने, उनीहरुको दुःख, सुखको अनुभूति गर्ने र राजनीति जनताको लागि हुनुपर्छ भन्ने विचार छ ? अहँ छैन ।
वास्तवमा उहाँ साँच्चैको कम्युनिष्ट हो । व्यवहारतः कम्युनिष्ट हो । सरल स्वभावका व्यक्ति ।
सुरुमा चाहिं उहाँ र हामी अलग पार्टीका थियौं । उहाँ माक्र्सवादी । हामी माले । पछि एकीकरणपछि एमाले बन्यो । सुरुमा उहाँसँग चिनजान नहुँदा कस्ता होलान् भन्ने लागेको थियो । पछि उहाँ घनिष्ट हुनुभयो । जनतासँग मिलेर हिंड्न सक्ने । जनताको भावना बुझ्न सक्ने । जनताको विचार बुझ्न सक्ने । सरल व्यक्तित्व ।
उहाँ धेरै चोटी हाम्रो घरमा बस्नु भयो । कम्युनिष्टको स्वभाव, व्यवहार भएका हुनुहुन्थ्यो ।
म जिल्ला कमिटीमा थिएँ । ४८ को चुनावताका सारै नजिक भयौं । भरतमोहनसँग चाहिं निकै अगाडिकै चिनजान थियो । काठमाडौं जाँदा मनमोहनसँगै बस्ने, नजिकबाट संगत भयो । असल मान्छे हुनुहुन्थ्यो उहाँ ।
मलाई एउटा कुरा चाहिं के दुःख लाग्छ भने, मनमोहन जस्तो कम्युनिष्ट नेता भए अलिक अर्कै हुन्थ्यो देश । अहिले सबै आत्मकेन्द्रित भए । आफू केन्द्रित भए । उहाँ जनता केन्द्रित हुनुहुन्थ्यो । भन्नु भएकै छ त, मेरो सम्पूर्ण जीवन राष्ट्रलाई । मनमोहनको आदर्शलाई कम्तिमा मनन गर्नसक्नुपर्छ ।
*******************
मोतीराज सुनुवार, धरान
मनमोहन अधिकारीले ०४८ सालमा धरान (सुनसरी क्षेत्र नं. १) बाट निर्वाचन लड्दा म पार्टीको आधिकारिक व्यक्ति थिइनँ । फ्रण्टलाइनमा राजेश वान्तवा (तत्कालीन सचिव), पारस सुब्बालगायतका नेता हुनुहुन्थ्यो । पार्टी भर्खर एकीकृत भएको थियो । हामी दोस्रो पङ्क्तिमा थियौं । म पार्टीको जन संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्य थिएँ ।
पहिलो चुनाव थियो । पार्टीका अध्यक्ष धरानबाट लड्दै हुनुहुन्छ, उहाँ कहीँबाट हार्नु हुँदैन भन्ने साझा धारणा थियो । धरान उहिलेदेखि कम्युनिष्ट पार्टीको गढ । मजदुर, विद्यार्थी वा अन्य आन्दोलनमा कम्युनिष्ट पार्टीप्रति जनताले देखाएको सद्भावका कारण अध्यक्षलाई धरानबाट निर्वाचनमा उठाइयो । चक्रघट्टी, बक्लौरी, भरौल, वराहक्षेत्र, विष्णुपादुका सुनसरी १ पथ्र्यो ।
यद्यपि त्यतिबेलादेखि नै क्षेत्रीयता र जातीय कुरा चाहिं उठेको थियो । राईहरुको बाहुल्य क्षेत्र यहाँबाट राईलाई नै उठाउनु पर्छ भन्ने कुरा पनि चलेको थियो । तर, पार्टी कार्यालयमा महासचिव मदन भण्डारीले फोन गर्नुभयो । अध्यक्षको सम्मानमा आघात पुग्ने हिसाबले कुरा नगर्नुस् भन्ने निर्देशन भयो । पार्टी दृढतापूर्वक लाग्यो ।
कमरेड मनमोहनको लवाइ, खवाइ, सरलता हाम्रो सामु सधैं स्मरणीय नै रहिरहन्छ । पछाडिका नेतामा अलिक हाइफाइ आयो । ०४६ अगाडिको आन्दोलनजस्तै पछि पनि उसैगरी मनमोहन हिंड्नुहुन्थ्यो । निर्वाचन क्षेत्रका धेरै ठाउँमा हिंडेरै गइन्थ्यो ।
दालभात, गुन्द्रुक मीठो मानेर खानुहुन्थ्यो । सावित्री श्रेष्ठ दिदी, राधा दिदीका घरमा पनि निकै बस्नु भयो ।
०४८ मा उहाँ विपक्षी दलको नेता बन्नु भयो । धरानबाट जितेकाले स्वकीय सचिवमा पनि धराने नै राख्नुपर्छ भन्ने कुरा आयो । दलबहादुर छायाँ सरलाई पठाउने निर्णय भयो । तर उहाँ त्यतिबेला नै हेडसर हुनुहुन्थ्यो । इन्द्र राई त्यतिबेला शिक्षक हुनुहुन्थ्यो । इन्द्रजीको नाममा चिठी पनि आएको थियो । तर उहाँले जान्नँ भन्नु भयो ।
कमरेड मनमोहनको सरलता, सहजता अलिक बढी चाहिं ०५१ सालमा हामीले देख्न पायौं, अल्पमतको सरकार हुँदा । ९ महिनामा अनगिन्ती काम भए । तिनै कामलाई अहिलेसम्म हामीले जोडेर लगिरहेका छौं । आफ्नो गाउँ आफैं बनाऔं । सामाजिक सुरक्षा भत्ता । त्यतिबेला १ सय रुपैयाँ वृद्धभत्ता थियो । अहिले ३ हजार भएको छ । केपी कमरेडको नेतृत्वमा ५ हजार पुग्दै छ । मनमोहन दुरदर्शी हुनुहुन्थ्यो, हुनुहुँदो रहेछ । क. केपी ओली त्यतिबेला गृहमन्त्री हुनुहुन्थ्यो ।
नेपालमा कम्युनिष्ट पार्टीका दुई जनामात्रै प्रधानमन्त्री नेपाली जनताले पाए जो सरल र सादगी रहे । पञ्चहरु प्रधानमन्त्री भएपछि सिंहदरबारबाट बाहिर निस्कँदा जुको अघाएर ढाडिएको जसरी निस्कन्थे ।
मलाई एउटा सम्झना छ, भारत जाने बेलामा उहाँलाई पत्रकारले सोधे, तपाईं किन इण्डिया जाँदैहुनुहुन्छ ?, मनमोहनले सहज तरिकाले उत्तर दिनुभयो, ‘ओन्ली फ्रेण्डसिप ।’
त्यतिबेला पनि हरेक प्रधानमन्त्री काण्डैकाण्डमा जोडिए । गिरिजाप्रसाद, सूर्यबहादुर, मरिचमानहरु । पछिका प्रधानमन्त्री पनि भट्टराई, प्रचण्ड, माधव, झलनाथले सम्झन लायक केही गरेनन् । मनमोहन स्वच्छ रहनुभयो । त्यही बाटोमा केपी लाग्नु भएको छ । ०५१ सालको प्रधानमन्त्री र आजको प्रधानमन्त्रीको अवस्था उस्तै अप्ठ्यारोमा छ । त्यतिबेला अल्पतको सरकार । अहिले बहुमतको सरकार । जसरी मनमोहनलाई ९ महिनामा गिराए । अहिले केपीलाई पनि दुई वर्ष नपुग्दै अचाक्ली असहयोग गरेको देखिइरहेकै छौं ।
त्यतिबेला कांग्रेस प्रतिपक्ष थियो । उसले खेल खेल्यो । अहिलेको खेल अरुले होइन आफ्नै पार्टीभित्रकाले खेलिरहेका छन् ।
हिजो मनमोहन अधिकारीले सुरु गरेका अवधारणा र विकास निर्माणमा नयाँ सोच, नयाँ ढाँचा र अवधारणा अनुसार जनताका लागि काम हुँदैछ ।
अहिले खुसी हुने कुरा सरकारले दिइनै रहेको छ । रेलमार्ग, सुरुङ मार्ग, धरहरा, रानी पोखरी, दरबार हाइस्कुल पुनर्निर्माण भए तर पनि सरकार जुधी रहनु नै परेको छ । के–केसँग मात्रै जुध्ने ? तपाईं हामी छर्लङ्गै छौं । हिजो मनमोहनलाई विपक्षी दलले घेराबन्दी गरे । अहिले आफ्नै पार्टीको घेराबन्दीमा सरकार परेको छ । हिजोको भन्दा कठिन र असहज समय छ ।
मनमोहनलाई सम्झने सिलसिलामा– नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको जीवनस्तरसँगसँगै बाँच्नुपर्छ भन्ने महान् र आदर्श विचार थियो मनमोहनको । जनतालाई माया गर्ने मनमोहनका यी सबै गुण सम्झियौं भने जनताले पनि हामीलाई माया गर्ने छन् । व्यवहारतः यी कुराको अनुसरण गर्दै जानुपर्छ । तब मात्र जनताले सदैव कम्युनिष्ट पार्टी नै चाहाने छन् ।