बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिरामीको उपचार गर्ने अस्पताल, चिकित्सा अध्यापन गराउने शैक्षिक संस्था र अनुसन्धान गर्ने प्राज्ञिक थलो हो । यी तीनै काममा प्रतिष्ठान अब्बल हुन सकेको छैन । अकर्मण्य, भ्रष्टाचारको अखडा र कलहको थलो हुन पुगेको गम्भीर आरोप प्रतिष्ठानमाथि लागेको छ । 

वितग लामो समयदेखि प्रतिष्ठान समग्र आर्थिक, प्रशासनिक, शैक्षिक र अनुसन्धानात्मक क्रियाकलापको प्रगति लगभग शून्य बराबरमा झर्दा पनि प्रतिष्ठान व्यवस्थापन मूकदर्शक भएर आन्तरिक कलह, व्यक्तिगत स्वार्थ र गैर–शैक्षिक क्रियाकलापमा संलग्न भएको कर्मचारीहरुले आरोप लगाएका  छन् । यस्तो परिस्थितिमा प्रतिष्ठान बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको आरोप छ ।

प्रतिष्ठानस्थित समाजले बुधबार विज्ञप्ति जारी गर्दै प्रशासन समक्ष गम्भीर आरोप आरोपसँगै ६ बुँदे माग पूरा गर्न चेतावनी दिएको छ । राखिएका माग एकहप्ताभित्रमा पूरा नभए प्रतिष्ठानका जिम्मेवार पदाधिकारीविरुद्ध हदैसम्मको आन्दोलन गर्ने समाजको चेतावनी छ ।

कोभिड–१९ को दोस्रो लहरको संभावित ठूलो संकट टार्न प्रतिष्ठानले आवश्यक एचडीयु र अक्सिजन प्लान्टको समस्या समाधान गरी वितरणलाई निरन्तरता दिन ग्यारेन्टी गर्नुपर्ने, तत्काल अक्सिजनको प्रबन्ध बढाई सरोकारवाला पक्षसँग गम्भीर छलफल गर्नुपर्ने समाजले माग राखेको छ । 

समाजले प्रतिष्ठानको विद्यमान नियमावली अनुसार नौ वर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई ‘परफमेन्स करार’ सेवामा लानुपर्ने र दैनिक ज्यालादारीमा रहेका कर्मचारीलाई करार सेवामा नियुक्त गर्नुपर्ने माग राखेको छ । 

यस्तै वर्तमान उपकुलपतिले सार्वजनिक रुपमा उद्घोष गरेर वृद्धि गरेको विगत आ.व. देखिकै तलब आगामी महिनाको तलबमा समायोजन गरी उपलब्ध गराउनु पर्ने, वर्षौदेखि अल्झाएर राखिएको कर्मचारीको बढुवासम्बन्धी विज्ञापन तत्काल प्रकाशन गर्नुपर्ने, नेपाल सरकारको मापदण्डबमोजिम कोभिड–१९ को जोखिम भत्ता सेवामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अविलम्ब उपलब्ध गराउनुपर्ने र कम्युटर शाखामा लगाइएको तालाबन्दी तत्काल व्यवस्थापनले खोल्नुपर्ने माग राखेको छ । 

अन्यथा प्रतिष्ठानका अन्य सेवाहरु आपतकालीन बाहेक बन्द गर्न समाज बाध्य हुने का.वा. अध्यक्ष उमेश थापा र का.वा. महासचिव जमुना भुर्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 

BP-Staff-Note1

BP-Staff-Note2