विराटनगर । दोस्रो लहरको कोरोना संक्रमणको हटस्पटक बनेको प्रदेश १ को राजधानी विराटनगरसहितका छिमेकी गाउँपालिकाहरू भित्र जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा घोषणा गरेको छ ।
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले निषेधाज्ञा घोषणा गरेका हुन् ।
कोभिड १९ को दोश्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको आदेश पत्रमा उल्लेख छ । विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासंग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा हुने आदेशमा भनिएको छ ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
दैनिकरुपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामुहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।
छिमेकी मुलुक भारतसग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहनेछन् ।