होटल तथा रेस्टुरेन्ट खुल्ला गर्ने सम्बन्धमा अपव्याख्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पुरानो निर्णय सच्याएको छ । प्रशासनले निषेधाज्ञा थप कडाइ गर्दै हाइवेमा पर्ने होटल तथा रेस्टुरेन्टमात्र खुल्ला गर्न पाइने बताएको छ । 

राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेस्टुरेन्ट मात्र बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला गर्न पाइने छ । अन्य होटल तथा रेस्टुरेन्टले डेलिभरी सेवा मात्र दिन पाउने छन् । 

अन्यत्र जिल्लाबाट काम विशेषले सुनसरी जिल्ला आउने र जिल्ला  अन्यत्र जाने यात्रुहरुको सुविधाको लागि मात्र निर्णय गरिएको जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सुनसरी (डीसीसीएमसी) को बैठकले प्रष्ट पारेको छ । 

विगतको निर्णयको अपव्यख्या गरी जथाभावी पसल खुला गरिएपछि डीसीसीएमसीको ध्यानाकर्षण भएको निर्णयमा उल्लेख छ । 

यसैगरी जिल्ला अस्पताल सुनसरी (इनरुवा अस्पताल) मा एउटा भेन्टिलेटर र अक्सिजन सुविधासहित २० बेड क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ । 

sunsari_nirnaya 1