कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण तथा आंशिक निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या ४२ पुगेको छ । स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेका छन् ।

आज बिहानदेखि बर्दिया, बझाङ, बैतडीमा निषेधाज्ञा जारी गरिएको छ । जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जनाएको छ । 

अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । कपिलवस्तु र धादिङमा वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । नुवाकोटमा २१ गतेदेखि २७ गतेसम्म र धनुषामा २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको छ । 

दैलेखमा मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ । बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।