सुनसरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार १९ गते साँझसम्म प्राप्त विवरण अनुसार जिल्लाको कुल सङ्क्रमित ५ सय नाघेको हो । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सङ्क्रमणका कारण जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् ।
सुनसरीमा पछिल्ला केही दिनयता सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा स्वास्थ्य कार्यालयले चिन्ता व्यक्त गरेको छ । जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेकको हकमा घर बाहिर ननिस्कन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले निधेषाज्ञामा कडाइ गर्ने सङ्केत दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक्ता अनुरुप निषेधाज्ञा उपर पुनर्विचार गरिने बताए ।
सुनसरी प्रशासनले सक्रिय सङ्क्रमित २ सय ५० पुग्दा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।
स्वयम् प्रशासनले हाल जारी निषेधाज्ञामा आंशिक कडाइ गरिएको बताउँदै आएकोमा सङ्क्रमित सङ्ख्या ५ सय पुगेकाले छिट्टै पूर्ण कडाइको निर्णय लिन सक्ने जनाएको छ ।
प्रजिअ ढकालले अन्य जिल्ला समेतको अभ्यास हेरेर सुनसरीको हकमा निर्णयमा पुग्ने बताए ।