पवित्र महिना रमजानको एकमहिने व्रत पश्चात् शुक्रबार ईस्लाम धर्म मान्ने मुस्लिम समुदाय ईदउल फित्र पर्व मनाउँदै छन् । रमजान महिनापछिको अर्को महिना सव्वाल हो । सव्वालको पहिलो दिन ईदउल फित्र (ईद) पर्व मनाइन्छ ।
अरबी पात्रोको १० औं महिना सव्वालको खुर्पे चन्द्रमा देखिसकेपछि यो खुर्पे चन्द्रमाले रमजान समाप्तिसँगै ईदउल फित्र खुशीयालीको संकेत दिन्छ । यो दिन बिहानै चाडैं उठेर नुहाइधुवाइ नयाँ नयाँ लुगा लगाई मुस्लिम समुदाय एक विशेष नमाज पढ्ने गर्दछन् ।
विगतमा उक्त विशेष नमाज मुस्लिम समुदायले इदगाह वा मस्जिदमा तोकिएको निर्धारित समयमा भेला भई सामूहिक रूपमा पढ्ने गरेकोमा अघिल्लो वर्षजस्तै कोरोना महामारीका कारण यो वर्षसमेत घरमै वा गाउँबस्ती नजिकै रहेको मस्जिदमा भौतिक दूरी कायम गर्दै पढ्ने तयारीमा छन् मुस्लिम समुदाय । नमाज पूरा हुनसाथ एकअर्कालाई ईद मुबारक भनी खुशी साटासाट गर्ने गर्छन् ।
यस दिन मिठामिठा परिकार बनाएर आफन्त,इष्टमित्र,छरछिमेकी, गरिब, अनाथ,एकल महिलालगायत सबैलाई बोलाएर खान दिने गर्छन् । यसरी पुरानो कुनै रिसिइबी भए यस दिनबाट सबै रिसिईबी बिर्सेर प्रेम र उत्साहका साथ इदउल फित्र पर्व मनाउने गरिन्छ ।
ईदको नमाजका लागि जानुभन्दा अगाडि मुस्लिम समुदायले एउटा निर्धारित सद्का ए फित्र अर्थात धर्मदानलाई निकालेर गरिब, असहाय वा मदरसाहरुलाई दिन्छन् । जोसँग प्रचलित साढे ७ टोलि सुन वा साढे ५२ तोला चाँदी मूल्य बराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिहरुले आफू र आफ्नो परिवारका सदस्यहरुको फित्र दिनुपर्छ ।
यसरी दिइने फित्रको मात्रा पनि कुरआनमा निर्धारण गरिएको छ । पौने दुई सेर गहुँ वा साढे तीन सेर जौ वा सो मूल्य बराबरको अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिने गरिन्छ ।
त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन् जसमाथि सद्का अनिवार्य छैन । ईद पर्वमा गरिब गुरुवाहरु,दीनदुखीहरु समेत अरु जस्तै नयाँ नयाँ लुगा लगाई,नयाँ नयाँ परिकार बनाउन सकुन् भनेर मुस्लिम समुदायले उनीहरूलाई फित्रा (दान) गर्नुपर्ने धार्मिक नियम छ ।
नेपाल बहुजातीय,बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक विशेषताले भरिएको देश हो । यहाँ प्रत्येक समुदायका आ आफ्ना चाडपर्व,रितीरिवाज, संस्कृति र परम्परा रहेका छन् । विविधताले भरिएको नेपालमा जातीय सहिष्णुता,समाजिक सद्भाव र आपसी भाइचारा प्रगाढ बनाउने पर्वका रूपमा ईद पर्वलाई लिने गरिन्छ ।
वास्तवमा भन्ने हो भने ईद पर्वले धनी–गरिबबीच रहेको असमानता,मनमुटाव र भेदभावलाई मेटाउदै बन्धुत्वको भावना विकास गर्दछ । बिभिन्न जातजाति,समूदायको बीचमा अल्पसंख्यक मुस्लिम समूदाय बस्दै आए पनि कुनै मतभेद भएको पाईदैन् । मुस्लिमको पर्व होस चाहे अन्य धर्मको पर्व सबै समूदाय उत्तीकै उत्साहपूर्ण तरिकाले एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाइन्छ ।
नेपाली मुसलमान विश्वभरिकै मुसलमानहरूको तुलनामा शान्तिप्रेमी छ । उनीहरूले मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएका देखिन्छ । विविधताले भरिपूर्ण समाजमा सहअस्तित्वको आधारमा मिलिजुली बसे । पहाडमा न्यून संख्यामा मुस्लिमहरू छन् ।
तर, उनीहरू ससम्मान पहाडी समाजसँग घुलमील भएर बसेका छन् । तराई मधेशमा पनि छिटुपट घटनाबाहेक मुस्लिमहरू अन्य समुदायसँग सौहार्द्रपूर्ण वातावरणमा बस्दै आएका छन् । उसको शान्त स्वभाव र सहिष्णु प्रवृत्तिले गर्दा देशभर नै ठूलो संख्यामा सहज रुपमा मस्जिद, मद्रसा, कब्रिस्तान लगायत सञ्चालनमा रहेका छन् ।
कोरोना महामारीको बखत सबै एकजुट भएर लाग्नुपर्नेमा अवस्था भएकाले विगतका वर्ष जस्तै यस २०७८ सालको ईदको नमाज ईदगाहमा नभई आ आफ्नै घरमा भौतिक दूरी र अनिवार्य मास्कको प्रयोग गर्दै पढ्न सबैमा आग्रह गर्दछु ।
साथै ईदको अवसरमा भीडभाड नगरी सामाजिक दुरी अपनाएर अनिवार्य मास्कको प्रयोग गरेर ईदको नमाज अदा गर्दै सेनिटाइजर र साबुन पानीले हातमुख धोऔं, गाउँघर वा टोलबस्तीमा अनावश्यक तवरले चहलपहल नगरौं ।
अन्त्यमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा ईद पर्वको अवसरमा मुबारकवाद व्यक्त गर्दै नेपालसहित सारा विश्व समुदाय सामु रहेको कोरोना संकट अन्त्य होस् , नेपाली समाजमा मानवता,आपसी सदभाव,भाइचारा कायम रहोस् भन्ने दुवा (प्रार्थना) गर्नुहुन हार्दिक अपिल गर्न चाहन्छु । तपाईंको ईद सुखमय रहोस् । पुनः ईद मुबारक !