श्वासप्रश्वासको समस्याका कारण बुवाको मृत्यु भएको र आमा पनि सोही समस्याबाट पीडित भएपछि वराहक्षेत्र नगरपालिकाका मनकारी व्यवसायीले नगरलाई अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । 

नगरमा कोही पनि अक्सिजनको अभावमा पीडित हुन नपरोस्, अक्सिजनको अभावमा कसैकहाँ अप्रिय घटना नहोस् भन्ने मनशायले ६ लाख रुपैयाँ बढी मूल्य पर्ने अक्सिजनसहित ३० सिलिण्डर नगरपालिकालाई प्रदान गरेका हुन् ।

वराहक्षेत्र ६ बुधबारेका युवा व्यवसायी टेकेन्द्र कार्कीले वराहक्षेत्र आइसोलेसन सेन्टरलाई ३० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । बुधबार व्यवसायी कार्कीले नगर प्रमुख निलम खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनुकुमार सुब्बा लिम्बूलगायतको उपस्थितिमा सिलिण्डर हस्तान्तरण गरेका हुन् । 

सिलिण्डरको मूल्य ६ लाख रुपैयाँ बढी परेको व्यवसायी कार्कीले बताए । 

जिल्ला प्रशासन कार्यालय सुनसरीको सिफारिसमा वराहक्षेत्र नगरपालिकाको ५० बेडको आइसोलेसन सेन्टरमा प्रयोग गर्ने प्रयोजनका लागि नगरले सिलिण्डर भित्र्याएको नगर प्रमुख निलम खनालले जानकारी दिए ।