वनजङ्गलको विनाशसँगै विभिन्न रोगका महामारी आउने गरेका छन् । हरियो वन नेपालको धन भन्ने भनाइ अब एउटा कथामा सीमित भएको छ । जनघनत्व बढेसँगै वातावरण प्रदूषण पनि बढ्ने गरेको छ । त्यो प्रदूषित वातावरण नै अहिलेको कोरोना भाइरस महामारीको रूप हुन सक्छ ।
गत वर्ष २०७७ चैत्र ११ गतेदेखि नेपालमा पनि कोरोना कहरका कारण लकडाउन भयो । त्यो लकडाउन नसकिँदै पुनः अर्को लकडाउन सुरु भएको छ । अघिल्लो वर्ष भएको लकडाउनको भार थेग्न नसकेका नागरिकले फेरि अर्को लकडाउनको सामना गर्नु परेको छ । यो रोग कसरी सर्छ भन्ने कुरासमेत शक्तिशाली देशका ठूलठूला वैज्ञानिकलेसम्म पत्ता लगाउन सकेका छैनन् । कोरोना भाइरसकोे औषधि बनाउन नसकिरहेको अवस्था छ । देशभर लकडाउन जारी छ । लकडाउन केही समयका लागि महामारीको समाधान हुनसक्छ ।
तर प्रत्येक वर्षको लकडाउनले देश विकास र अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ भने गरिबी र भोकमरीले जरा गाडिरहेको छ । लकडाउन बढ्दै गए चोरी, डकैतीको पनि सम्भावना बढिरहेको छ । कोरोना एक मान्छेबाट अर्को मान्छेमा सर्छ भन्न सक्ने अवस्था मात्रै देखिँदैन । घरमै बसिरहेकालाई कोरोना भइरहेको छ ।
तर, जुनसुकै समयमा फिल्डमा हुनेलाई कोरोना भएकोे छैन । कोरोना भाइरस महामारी अघि पनि प्रत्येक वर्ष रुघाखोकी, टाउको दुख्ने, ज्वरो, झाडापखला जस्ता रोगका महामारी आउने गर्थे । ती रोग परिवारका एक सदस्य हुँदै सबैलाई सर्ने नै गथ्र्यो । तर, अघिल्लो वर्षदेखि आएको कोरोना भाइरस महामारीले गर्दा सामान्य टाउको दुख्ने, रुघाखोकी र ज्वरो आउने, झापापखाला लाग्ने बित्तिकै अहिले कोरोना भन्ने प्रचलनले मानिसमा त्रास फैलिएको छ ।
हस्पिटलले पनि कुनै दुर्घटना भएर अस्पताल जाँदा पहिले कोरोना परीक्षण गर्ने प्रवृत्तिले गर्दा मानिसमा त्रास सिर्जना भएको छ । मानिसमा फैलिएको त्रास र लकडाउनले समस्या झन् जटिल बन्दै गएको छ । धेरै मानिसले उपचार पाउन सकेका छैनन् । अस्पतालमा बेड छैन । पर्याप्त स्वास्थ्यकर्मी छैनन् । बिरामीलाई आवश्यक अक्सिजन र भेण्टिलेटरको अभाव दिनानु दिन बढ्दै गइरहेको छ । यो महामारी किन र कसरी भइरहेको छ ? रोकथाम तथा समाधान गर्ने हाम्रो देशमा भएका प्राकृतिक उपायहरूको खोजी गर्न आवश्यक छ । भौतिक संरचना निर्माण गर्ने क्रममा हाम्रा घर वरिपरि भएका बोटबिरुवा मासिएका हुन्छन् ।
ती मासिएका बोटबिरुवा हामी फेरि रोप्ने कोशिस गर्दैनौं । बोटबिरुवा विनाशपछिको परिणाम पनि कोरोना महामारी हुनसक्छ । त्यो मात्र हैन, जहाँ वनजङ्गल हुँदैन, त्यस ठाउँमा बाढीपहिरो, अकाल, महामारी, भोकमरी जस्ता घटना हुने गर्छ । अहिले हामी सबै सहरिया जीवनको खोजीमा छौं । त्यसले गर्दा हामी हाम्रा घर वरपर भएका बोटबिरुवा मासिरहेका छौं ।
मानव जनघनत्व र सवारी साधनको चाप बढेसँगै सडक बढाउने नाममा सडकका छेउमा भएका बोटबिरुवा मासेका छौं । त्यसैगरी वनजङ्गल मासिरहेका छौं । त्यसैको परिणामस्वरूप मानव स्वास्थ्यलाई चाहिने अक्सिजनको अभाव भइरहेको छ । त्यसप्रति सबैको ध्यान जान जरुरी छ । मानव स्वास्थ्यलाई चाहिने अक्सिजनको भाँडो रित्तिँदै गइरहेको छ ।
त्यसमा सबैले सचेत हुन पनि आवश्यक छ । तर, हामी वास्ता गरिरहेका छैनौं । कुनै ठाउँको भू–धरातल, हावापानी, माटोले त्यस स्थानको वनस्पतिलाई प्रभावित गरिरहेको हुन्छ भने हावापानीले वनस्पतिलाई । यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महŒवपूर्ण स्थान हुन्छ । घर वरिपरिका बोटबिरुवा र वनजङ्गलको विनाशसँगै विगत केही वर्षयता जैविक विविधता र वातावरणमा व्यापक ह्रास आएको छ । नेपालमा पाइने अधिकांश बोट बिरुवामा औषधि पाइन्छ । त्यसको प्रयोग गर्न भने हामीले जानेका छैनौं ।
वनजङ्गलमा हुने आगलागी, घरगाउँमा हुने फोहोरमैलाका कारण वातावरण अत्यधिक प्रदूषित भइरहेको छ । त्यसकारण मानव जीवनमा श्वास–प्रश्वासको समस्या, टाउको दुख्ने, ज्वरो आउने, झाडापखाला लाग्ने, आँखाको समस्या, घाँटीको समस्यालगायत समस्याहरू देखापरिरहेका छन् । यो एउटा कोरोना भाइरस महामारीको स्वरूप पनि हुनसक्छ । वातावरण प्रदूषण विशेषगरी मानवद्वारा सिर्जित क्रियाकलापको परिणाम पनि हो । प्राकृतिक तथा कृत्रिम दुवैथरी प्रकोपहरूको समष्टिमा प्रकृतिमाथि नकारात्मक असर परिरहेको हुन्छ । जसको परिणाम मानवसहित सबै प्राणीले भोग्नुपर्ने हुन्छ ।
वनजङ्गल विनाश, अव्यवस्थित सहरीकरण, अवैज्ञानिक विकास प्रणाली तथा कानूनको निर्माण र कार्यान्वयनमा देखिने समस्या नै अहिलेको वातावरण प्रदूषणको मूल कारण हो भन्न सकिन्छ । कोरोना भाइरसका कारण देशभरका अस्पतालहरूमा बिरामीको मात्रा वृद्धि भइरहेको छ भने मृत्युदर दिनानु दिन बढिरहेको छ । देशभर सवारीसाधन बन्द छन्, उद्योग कलकारखाना बन्द छन्, मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन । एकातिर कोरोना भाइरसको महामारी र अर्काेतिर प्रदूषणको भयावह स्थिति छ ।
हाम्रा घर वरिपरि पाइने बोटबिरुवाले हामीलाई कुनै न कुनै रूपमा मानव स्वास्थ्यलाई आवश्यक पर्ने अक्सिजन दिई नै रहेको हुन्छ । मासिएका वनजङ्गल, घरवरिपरि भएका बोटबिरुवा, सडक वा बाटोका वरिपरि वृक्षरोपण गर्न आवश्यक छ । सडकको छेउमा रुख रोप्नाले ध्वनि प्रदूषण नियन्त्रण, वातावरण शुद्ध र प्राणी जीवनलार्ई आवश्यक पर्ने अक्सिजनको समेत पूर्ति हुने गर्छ । तर, ती आवश्यक कार्यहरू एक–दुईजना वा कुनै एक–दुई क्षेत्रमा गरेर मात्रै पुग्दैन । त्यसका लागि देशभर नेपाल सरकारले नै वृक्षरोपणको अभियान ल्याउन आवश्यक छ । हामी कृत्रिम अक्सिजनको खोजीका साथै अन्य मुलुकबाट किन्न तयार छांै ।
अक्सिजन खरिदका लागि करोडौं रुपैयाँ अन्य मुलुकलाई तिर्न पनि तयार छौं । तर, देशमा भएका प्राकृतिक बाटोको खोजी गर्न पछि परिरहेका त छैनौं ? कोरोना महामारीको पहिलो चरणमा विपन्न परिवारलाई मास्क, सेनिटाइजर, खाद्यान्न वितरण गर्दै आएका विभिन्न स्थानका अभियानले दोस्रो लहरको कोरोना महामारीको सुरुमै अक्सिजन बैङ्क स्थापनाका लागि अन्य मुलुकबाट कृत्रिम अक्सिजन सिलिण्डर खरिदका लागि पहल गरिरहेका छन् । तर, आफ्नै देशमा पाइने प्राकृतिक अक्सिजनका लागि भने कुनै चासो देखाएको देखिँदैन ।
अन्य देशले नेपाललाई वनजङ्गलको देश भन्छन् । हाम्रो देश प्राकृतिक रूपमा भण्डार हो । प्राकृतिक रूपमा धेरै सम्भावना भएको राष्ट्र पनि हो । आफ्नै देशमा सम्भावना भएका प्राकृतिक अक्सिजनको बाटो किन खोजिरहेका छैनौं ? यदि समयमै हामीले प्राकृतिक अक्सिजनको बाटो नखोज्ने हो भने मानव जीवनमा नकारात्मक असर पर्ने अवस्था देखिन्छ । हामीले वातावरणको अझै पनि ख्याल नगर्ने हो भने कोरोना महामारी मात्र होइन, अझ ठूल्ठूला प्रकारका महामारीको जटिल परिस्थितिको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।
केहीवर्ष अघिसम्म सडकको वरिपरि विभिन्न जातका रुख थिए । ती रुखबिरुवाले सवारी साधनको ध्वनिलाई नियन्त्रण, वातावरण स्वच्छ र मानव स्वास्थ्यलाई चाहिने अक्सिजन उत्पादन गर्ने गथ्र्यो । सडक ठूलो बनाउने बहानामा ती सडक पेटीका रुख बिरुवा सबै मासिए । पुनः फेरि रुख बिरुवा रोप्न कसैको ध्यान गएको छैन ।
कृत्रिम अक्सिजन नरोेजांै, प्राकृतिक अक्सिजनको बाटो खोजौं ! जसले गर्दा प्रत्येक बर्ष हुने महामारीबाट जोगिन हामीलाई सहज हुन्छ । महामारीलाई नियन्त्रण गर्न सकिन्छ । कोरोना महामारी मात्र होइन, यस्ता प्रकारका धेरै किसिमका महामारी नियन्त्रणका लागि पनि वनजङ्गलको संरक्षण र वातावरण सन्तुलन राख्न आवश्यक छ ।
वातावरण सन्तुलन राख्न सरकार र नागरिकको संयुक्त हातेमालो हुन आवश्यक छ । सरकारले वातावरण संरक्षणका लागि प्रभावकारी कानूनको निर्माण गरी कार्यान्वयन गर्दै नागरिकहरूमा सचेतना जगाउने भावनाको विकास गराउन आवश्यक देखिएको छ । सबैले वनजङ्गल र वातावरण संरक्षण, सरसफाइ र स्वास्थ्यप्रति जनचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।