सुनसरीमा कोशी र भोक्राहा गाउँपालिकाबाहेक सबै पालिकामा आइसोलेसन तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताएका छन् । 

उनले सबै पालिका गरी सुनसरीमा ७२५ अक्सिजनसहितका शैय्याको आइसोलेशन रहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सुनसरीले १ सय शैय्याको क्वारेन्टिन बनाएको र अहिलेसम्म सुनसरीमा अक्सिजनको कमी नरहेको उनको भनाइ थियो । 

यहाँबाट दाङ, महोत्तरी, जनकपुर, सप्तरी र भैरहवासम्म अक्सिजन पठाएको सहायक प्रजिअको भनाइ थियो । 

सुनसरीमा दुहबीस्थित अक्सिजन उत्पादक वीणायक र खनारस्थित दुर्गा र पाथीभरा उद्योगबाट आपूर्ति भइरहेको पोखरेलले बताए । जिल्ला समन्वय समिति सुनसरीका संयोजक गोपाल राजभण्डारीले कोरोना संक्रमितको उपचारमा कुनै गुनासो आउन नदिन गम्भीर रुपमा व्यवस्थापन र काम भइरहेको बताए । 

मोरङमा पनि पर्याप्त अक्सिजन

कोरोना उपचारमा आवश्यक पर्ने अक्सिजनको मोरङमा कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनले मोरङका प्रत्येक पालिकाले आइसोलेशन बनाएर बिरामीको उपचारमा निकै मद्दत पुगेको बताए । 

मोरङको सुन्दरहरैंचाले सबैभन्दा आगाडि १५० अक्सिजन सिलिण्डरको व्यवस्था गरेको छ । ‘मोरङमा अरुण–३ बाट १७० र आफ्नै प्रयासले १४० अक्सिजन सिलिण्डर व्यवस्थापन गरेर कोरोना प्रभावित बिरामीहरुको उपचारमा मद्दत गर्दै आएका छौँ’, उनले भने । 

यस्तै, कोशी अस्पताल विराटनगरले ३२ शैय्याको आइसोलेसन भोलिदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । अस्पतालका सुपरीवेक्षक डा चुमनलालदासले कोरोना संक्रमित गम्भीर प्रकारका बिरामीको उपचारका लागि २५ वटा एचडियु र पाँच वटा आइसियु तयार गरेको जानकारी दिँदै अस्पतालमा अक्सिजनको कमी नरहेको र दैनिक फिभर क्लिनिकमा आउने ५० प्रतिशत भन्दा बढी बिरामी कोरोना संक्रमित रहेको जानकारी दिए । 

अहिले अस्पतालमा ८० वटा अक्सिजन सिलिण्डर रहेको र थप व्यवस्थापन भइरहेको जानकारी दिँदै सुपरीवेक्षक डा दासले गएको वर्षमा सञ्चालनमा ल्याएको ९६ शैय्या कोभिड अस्पतालमा अहिले बिरामी भरिएको जानकारी दिए ।  

सो अस्पतालमा अहिले सबै शैय्यामा अक्सिजन सहितको सिलिण्डर रहेको जानकारी दिँदै सुपरीवेक्षक डा दासले कोरोना महामारीबाट बच्न र बचाउन सबैले भौतिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य आचार संहिता पालना गर्नुपर्ने, अनावश्यक घरबाहिर हिंडडुल गर्न नहुनेमा जोड दिए ।