सुनसरीको इनरुवा २ स्थित मेहता टोल सिल गरिएको छ । 

टोलका घरै पिच्छेका व्यक्ति संक्रमित र कोरोनासँग लक्षण मिल्दो पाइएपछि प्रशासनले सिल गर्ने निर्णय गरेको हो । स्थानीय तहको आग्रहमा तत्कालका लागि सो टोल सिल गरिएको सुनसरी प्रशासनले जनाएको छ । 

मेहता टोलका एक ३५ वर्षका पुरुषको गए राती मृत्यु भएको थियो । कोरोनासँग लक्षण मिल्दो भए पनि घरायसी उपचारमै बसेका पुरुषको मृत्युपछि नगरपालिकाले सो क्षेत्र सिल गर्न प्रशासन समक्ष आग्रह गरेको थियो । 

नगर प्रमुख राजन मेहताले लक्षण मिल्दो व्यक्तिको निधन भएको र घरैपिच्छे संक्रमित पाइनुका साथै लक्षण रहेका व्यक्तिको संख्या निकै रहेकाले टोल सिल गर्ने निर्णयमा पुगिएको बताए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले इनरुवा नगरपालिकाको आग्रहमा संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै चार किल्ला तोकी टोल सिल गरिएको बताए ।  

प्रजिअ ढकालले कुनै पनि स्थानीय तहमा फैलदो संक्रमण रोक्न जोखिमलाई हेरी सिल गर्नुपर्ने भए सम्बन्धित स्थानीय तहले स्थान वा क्षेत्र तोकी नेपाल प्रहरीसँगको समन्वयमा गर्न र गराउन सक्ने समेत जानकारी दिए ।