देशभर कोरोना भाइरस कोभिड १९ को महामारी छ । महामारीको समयमा विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा विकास निर्माणको काम प्रभावित हुँदै आएको छ । निर्माण व्यावसायीले काम गर्न नसक्ने भन्दै योजनाको काम ठप्प पार्दै आएका छन् ।
तर पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको कालोपत्रेको कामले भने गति लिएको छ । निषेधाज्ञाकै बीच निर्माण कम्पनीले योजनाको १२ सय २७ मिटरमा कालोपत्रेको लागि प्राइम कोड लगाउँन थालेको छ ।
यासोक सडक तथा ढल निर्माणको खण्ड १ को १२ सय २७ मिटरमा सबबेस र बेस सम्पन्न भएपछि निर्माण व्यवसायीले प्राइम कोड लगाउँदै आएको सहरी विकास भवन कार्यालय इलामका इन्जिनियर सुरज वस्तीले बताए ।
‘अहिले निर्माण पक्षबाट ‘प्राइम कोड’ लगाउने काम भइरहेको छ, हामीले योजनाको गुणस्तर मापन गर्दै आएका छौं । वस्तीले भने, अब ट्र्याक कोड गरेपछि कालोपत्रे हुन्छ । यो अवधिसम्म कार्यालयको प्रत्यक्ष निगरानी हुन्छ ।’
योजनाको पहिलो खण्डको १२ सय २७ मिटर पूरा भएपछि ६० प्रतिशत भौतिक प्रगति हुन्छ । त्यस्तै आर्थिक प्रगति २० प्रतिशत भएको छ । योजना संचालन गरेको ८ महिनामा निर्माण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ । योजनाको ३.४ किलोमिटर मध्ये २.२ किलोमिटरमा आरसिसी ढलान हुनेछ । हाल निर्माण स्थलमा नाली र सोलिङको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको ढलानको कामले पनि गति लिने कार्यालयको दाबी छ ।
बजारको १२ सय २७ मिटर बाहेक भित्री सडक २ सय ४७ मिटर, पृथ्वी माविसम्मको ८ सय ४७ र बजारदेखि खानेपानी कार्यालयसम्मको ८ सय ५० मिटर सडक खण्डमा आवश्यक सबै स्ट्रक्चर अन्तिम चरणमा पुगेको भन्दै बाँकी योजनाको काम अघि बढ्ने बताइएको छ । हाल निषेधाज्ञाको समयमा निर्माण कम्पनीलाई आवश्यक समन्वय गरी कामदार सुरक्षित राख्नेदेखि ढुवानीका सामग्रीहरुको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।
प्रदेश १ सरकारको सहयोगमा सहरी विकास तथा भवन कार्यालय इलाममार्फत् सियम कृष्ण लक्ष्मी जेभी काठमाडौंले योजनाको ३.४ किलोमिटरको काम गर्दै आएको छ । योजनाको काम तीव्र गतिमा बढेको भन्दै बजारवासी हर्षित समेत भएका छन् ।