पर्यटन शब्दले महत्त्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक ठाउँहरूको भ्रमण गरी त्यहाँका विविध पक्षहरूको अध्ययन तथा त्यसबाट विभिन्न ज्ञानवद्र्धक, विभिन्न मनोरञ्जन हासिल गर्ने विषय भन्ने बुझाउँछ । संसारमा विभिन्न कुराहरूमा विविधता पाइन्छ । प्रायः एउटा सानो क्षेत्रमा मात्र सबै किसिमको विविधता पाउन कठिन हुन्छ । तर नेपाललाई प्रकृतिले संसारका प्रायः विविधता प्रदान गरेको छ । जुन विविधतालाई शब्दमा ब्याख्या विश्लेषण गर्न सम्भव छैन । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तारविस्तारै बढ्दै गइरहेको छ । नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका शृंखलावद्ध हिमालहरू विभिन्न किसिमका झरनाहरू, पाखा, पखेरा, टाकुरा, हरिया जङ्गल झाडी, यहाँ रहेका नागबेली नदीनालाहरू, यहाँका मानिसहरूमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, भेषभुषा कला संस्कृति आदि कुराहरूले पर्यटन व्यवसायमा विकासका सम्भावनाहरू बढाएका छन् ।          

अनुपम प्रकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विवधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित छ । आज संसारमा रहेका १९५ देशमध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर प्राकृतिक रूपमा विशाल राष्ट्र हो । नेपाल सुन्दर र शान्त देश हो । यसले संसारको कुल भूभागको ० दशमलव ०३ प्रतिशत र एसियाको ० दशमलव ३ प्रतिशत भाग ओगटेको छ । 

संसारको सबैभन्दा होचो स्थान कालिगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा, संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतम बुद्ध र संसारलाई सत्यता र धैर्यताको प्रतीक बनेर चिनाउने सीतामाताले पनि नेपाल र हामी नेपालीको गौरवलाई संसारभरि चिनाएका छन् । यस्तै विविध सम्भावनाहरूमध्ये पर्यटन व्यवसाय पनि अतिनै सम्भावना भएको र अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याउने क्षेत्र हो पर्यटन । 

पर्यटन विकासका लागि स्थापित संस्था

नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवातसँग पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ मा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रहासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि.सं. २०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुईवटा विभागहरू हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.संं २०५८ देखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ साउन २ गतेको निर्णयानुसार मिति २०७१ भदौं महिनामा पर्यटन विभागको स्थापना गरिएको छ । 

विश्व सम्पदा सूचीमा नेपालमा सम्पदा

नेपालमा करिब १२५ जातजाति बसोबास गर्दछन् भने १२३ भाषा बोलिन्छ । संसारमा पाइने २ लाख ४८ हजार ४२८ प्रजातिका वनस्पतिमध्ये ७ हजार प्रजातिका वनस्पतिहरू नेपालमा नै पाइन्छन् । संसारमा पाइने ४ हजार स्तनधारी जीवजन्तुमध्ये नेपालमा १७५ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् । नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरूमध्ये चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एवम् सांस्कृतिक सम्पदाहरूमध्ये राष्ट्रदेव पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्विनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन् । संसारभरमा रहेको चौधओटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये आठओटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन, सांस्कृतिक सम्पदाहरू, फरक भौगोलिक वनावट, रीतिरिवाज, चालचलन, सांस्कृतिक कलाशैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न पुगेको छ ।

रोजगारी सिर्जना

नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता छ । पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक वृद्धि भई सम्पूर्ण नेपालीहरूको जीवनस्तर उकास्न सकिन्छ । अहिले झण्डै ६० लाखको हाराहारीमा नेपाली युवाहरू रोजगारीको सिलसिलामा खाडी तथा अन्य मुलुकहरूमा जानुपरेको छ । पर्यटन क्षेत्रमा द्रुत गतिमा विकास हुन सकेमा यसरी लाखौं नेपाली विदेशिनु पर्दैन । उनीहरूले आफ्नै देशमा रोजगारी प्राप्त गरी आफ्नै देशको विकासमा योगदान पुर्याउन सक्छन् ।

जति बढी पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न सकिन्छ, त्यतिनै बढी रोजगारीका अवसरहरूको सिर्जना हुन्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । पर्यटकको संख्यामा वृद्धि गर्न सकेमा यससँग सम्बन्धित होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, प्याराग्लाइडिङ कम्पनी, पर्वतारोहण संघ, हस्तकला उत्पादक उद्योग, पदयात्रामा जाने पर्यटकहरूको भारी बोकी सघाउने भरिया, यस्तै अन्य पर्यटन व्यवसायका संचालक एवम् सहयोगीहरुले रोजगारी प्राप्त गर्न सक्छन् । जसबाट प्रत्यक्ष यस व्यवसायमा संलग्न हुनेले बढी फाइदा लिए पनि अप्रत्यक्ष रूपमा सम्पूर्ण नेपालीहरू लाभान्वित हुनेछन् । जसले गर्दा नेपाल र नेपालीको चौतर्फी विकासमा सहयोग पुग्दछ ।   

पदयात्राको पहिचान र विकास

नेपालमा पर्यटकहरूका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरू छन् । यस्ता ठाउँहरूको राम्रो प्रचारप्रसार हुन सकेमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्छ । पर्यटन क्षेत्रमा भएको विकासको कारणले नेपालीहरूले विभिन्न फाइदाहरू प्राप्त गरेका छन् । नेपाललाई आत्मनिर्भर बनाउन र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा यसको चौतर्फी विकास गर्न सकिएमा नेपाल पनि संसारमा छिटै विकसित राष्ट्रको रूपमा चिनिन सक्छ । यसका लागि नेपाल सरकारले स्पष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । नेपालमा राजनीति अस्थिरता छ । यहाँका प्रत्येक क्षेत्रमा आवश्यकभन्दा बढी राजनीति हावी भएको पाइन्छ । यहाँका बहुसंख्यक नेताहरूले आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो राष्ट्रका जनताका लागि जति सोच्नु पर्ने हो त्यति सोचेका छैनन् । 

नेपालमा पर्यटकहरूका लागि आधारभूत सुविधाहरूको पनि अभाव छ । यहाँको प्रशासनिक प्रक्रिया निकै झन्झटिलो छ । पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरू बीच पनि आपसमा अस्वस्थ प्रतिस्पर्धा छ । कतिपय व्यवसायीहरूले आफ्नो व्यापार व्यवसाय बढाउन अन्य क्षेत्रको बारेमा नकारात्मक प्रचारप्रसार गरेको पनि पाइन्छ । जसका कारण पनि पर्यटन व्यवसायको विकासमा थप चुनौती थपिएका छन् ।    

नेपालले सगरमाथा, शान्तिको अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सत्य र धैर्यताको प्रतीक राजा दशरथ र माता सीताको जन्मस्थान जनकपुर र नेपालमा भएको जल सम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्न सक्छ । यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्नु अति आवश्यक छ । इसाई धर्मावलम्बीहरूको लागि इजरायलको जेरुसेलम, ईस्लाम धर्मावलम्बीहरूको लागि साउदी अरेवियाको मक्का मदिना जस्तै विश्वमा बौद्धमार्गीहरूका प्रोरणाका श्रोत महामानव बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध तीर्थस्थलको रूपमा विकास गरी लाखौं धार्मिक पर्यटकहरू पनि भित्र्याउन सकिन्छ । हुन त सम्पूर्ण नेपाल आफैमा पर्यटकीय स्थल हो । यहाँ रहेका ७७ जिल्लाहरूमा नै पर्यटकीय क्षेत्र रहेका छन् । 

नेपाल सरकारले ती सम्पूर्ण ठाउँहरूको साथसाथै गोर्खा, पाल्पा, मनाङ, मुस्ताङ, भक्तपुर, ललितपुर, धरान, विराटनगर, इटहरी, इलाम, पोखरा, नाम्चेबजार, नगरकोटलगायतका पर्यटकीय क्षेत्रको अझ बढी प्रचारप्रसार गर्नु अति आवश्यक छ । हाल नेपालमा पर्यटन व्यवसाय मौसमी प्रकारको छ । यसमा पनि सरकारले विभिन्न प्याकेजका कार्यक्रम ल्याई सदावहार बनाउनु आवश्यक छ । यसका लागि विश्वप्रसिद्ध सञ्चारका माध्यमहरू बीबीसी, सीएनएन र अलजजीराजस्ता टेलिभिजनहरू र विभिन्न आधिकारिक सामाजिक संजालहरूबाट प्रचारप्रसार गर्न सके विश्वाससामु नेपालका गन्तव्य सहजै पुग्ने थियो । यसका लागि सरकारको मात्र मुख नताकि यस व्यवसायमा लागेका निजी क्षेत्रका लगानीकर्ताहरूले पनि आआफ्नो ठाउँबाट योगदान दिन जरुरी छ । साहसिक पर्यटन विकासका लागि र्याफटिङ तथा प्याराग्लाइडिङ, बन्जीजम्पको अझ बढी प्रचारप्रसार गर्नुपर्दछ । यसका लागि सरकारले नेपाल भ्रमण वर्ष १९९८, पर्यटन वर्ष २०११, भ्रमण वर्ष २०२० जस्तै अन्य पर्यटकहरूलाई आकर्षक गर्ने किसिमका प्याकेज तथा अभियानहरू घोषणा गर्नुपर्छ । तर त्यस्ता प्याकेजहरू घोषणा मात्र गरेर पुग्दैन । त्यसको साथसाथै पर्टयटनमैत्री वातावरण पनि सिर्जना गर्नुपर्छ । 

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नपालले वर्षको सुरुदेखि नै कोरोनाभाइरस महामारीका कारण अर्बौं क्षति बेहोर्नुपरेको थियो । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि ७० प्रतिशतले पर्यटकहरू घटे । नेपाल पर्यटन बोर्डको पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार सन् २०२० सुरु भए यता मात्रै कोरोनाभाइसरका कारण एक खर्बभन्दा धेरै आम्दानी गुमिसकेको छ । नेपालमा ११ लाख मानिस प्रत्यक्ष र अप्रत्यक्ष गरेर पर्यटनमा आश्रित रहेको उनको दाबी छ । जसमध्ये ५० प्रतिशतभन्दा धेरै मानिसहरू कोभिड १९ का कारण बेरोजगार भएका छन् ।

हाल नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्त्व दिएकोमा आन्तरिक पर्यटकहरूप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरूमा आन्तरिक पर्यटकहरूलाई पनि बाह्य पर्यटकहरूलाई जस्तै महत्त्व दिनुपर्छ । पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि निकै ठूलो टेवा पुर्याउन सक्छन् । नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरूले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरी नेपालमा पर्यटन विकासका लागि योगदान पुर्याउनु पर्छ । हामी सबैले एक सक्षम, समुन्नत र विकसित नेपालको निर्माण गर्नुपर्छ । आज जसरी हामीले युरोप तथा अमेरिकाजस्ता देशहरूमा प्रवेशाज्ञा प्राप्त गर्दा त्यतिनै खुसीको अनुभूति गर्ने नेपालको निर्माण गर्नु हामी सबै नेपालीको आजको आवश्यकता हो ।