जंगली च्याउ खाँदा बिरामी भएकामध्ये एक जनाको ज्यान गएको छ । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुमा जंगली च्याउ खाँदा बिरामी भएकामध्ये एक जनाको ज्यान गएको हो ।
बिरामी भएका ९ जना मध्ये सबैभन्दा सानो उमेरकी रोजिना राईको ज्यान गएको आफन्त दिवस मेवाहाङले जानकारी दिए । आठ वर्षीया उनको खाँदबारी अस्पतालबाट रेफर भई धरान लैजाने क्रममा ज्यान गएको हो ।
गत शुक्रबार राति च्याउ खाएर एकै घरका ९ जना बिरामी परेका थिए । सिलिचोङ गाउँपालिका वडा नं. ५ याफुका बुवा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेका छन् ।
बुवाको याफु आधारभूत स्वास्थ्य इकाईमा उपचार भइरहेको छ भने बाँकी ८ जना बिरामी जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । मृतक सिलिचोङ गाउँपालिका वडा नं. ४ माङ्तेवाबाट उनी मामाघरमा आमासहित याफू गएकी थिइन् ।