भगवान् विष्णुले कूर्म (कछुवा) का रुपमा दोस्रो अवतार लिनुभएको सम्झनामा आज कूर्मरुपी भगवान् विष्णुको पूजा आराधना गरी कूर्म जयन्ती मनाइँदैछ ।
सत्य युगमा वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले कूर्म (कछुवा) रुप लिई देवताको रक्षा गर्नुभएको थियो । देवी देवताले धर्म रक्षा एवं मानव कल्याणका लागि पृथ्वीमा मनुष्य अथवा पशुका रूपमा अवतरित हुनुलाई नै अवतारका रूपमा वैदिक ग्रन्थमा वर्णन गरिएको छ ।
भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीका रूपमा अवतार लिनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
भगवान् विष्णुको दोस्रो अवतार समुद्र मन्थनको बेला देवता र दैत्य एक भई मन्दराचल पर्वतलाई मदानी बनाएको तर मन्दराचल समुद्रको गहिराइमा डुबेको देखेर दैत्य र देवताको प्रार्थनाअनुसार कूर्म (कछुवा) का रूपमा अवतरित भई समुद्रभित्र प्रवेश गरेर मन्दराचल आफ्नो पीठमा धारण गरेर समुद्र मन्थनमा सहयोग गर्नुभएको कूर्मलगायत पुराणमा उल्लेख गरिएको छ । स्वर्गका राजा इन्द्रको पद राजा बलिले हात पारेपछि देवताहरू पदच्युत हुनुभयो । देवताहरु ब्रह्मालगायत भगवान्कहाँ गई आशीर्वाद मागेपछि समुद्र मन्थन गरी अमृत सेवन गरेपछि दैत्यलाई जित्न सकिने सल्लाह दिइएको थियो ।
समुद्र मन्थनमा देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्ने भयो । यसरी मथिएको सागरबाट अमृतको उत्पत्ति हुनेछ । अमृतको प्राप्तिपछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी जितेर पुनः स्वर्ग प्राप्ति हुने सल्लाह दिइएको थियो ।
यसका देवताहरू दैत्य राज बलि भएको ठाउँमा गएर ‘महाराज हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ, केवल हाम्री आमाहरू फरक भएकाले हामी सौतेला भाइ भयौँ, हामीले अब आपसमा वैरभाव राख्न उचित छैन, भगवान् विष्णुको रायबमोजिम समुद्र मथन गर्नुप¥यो, जसबाट अमृत प्राप्ति हुनेछ, त्यो खाएर हामी कहिल्यै अमर हुनेछौँ, हामीलाई भगवान् विष्णुले सहयोग गर्नु हुनेछ’ यो सुनेर दैत्यराज बलिसहित सबै दानवहरू देवताको योजनासँग सहमत भए ।
मन्थनका क्रममा मन्दराचल पर्वत समुन्द्रको गहिराइमा डुब्न लाग्यो । यो देखेर देवदानव संयुक्तरूपमा विष्णुको शरण लिन पुगे । भगवान् विष्णुले पनि कछुवाको रूपधारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काउनु भयो । समुन्द्र मन्थनबाट सबैभन्दा पहिले हलाहल नामको विषको उत्पत्ति भयो । हलाहल विषको असर देवताहरूले सहन सकेनन् । भगवान् शिवले त्यो हलाहल विष सबै पिउनुभयो । शिवले हलाहल खाएपछि घाँटी नीलो भयो । त्यसैले शिवलाई नीलकण्ठ भनिएको हो । यसैगरी समुद्र मन्थनबाट धनकी देवी लक्ष्मी, कामधेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान् विष्णुको गलामा पहिरिएको कोस्तुभमणि, पारिजात कल्प वृक्ष, आदि १३ रत्नपछि अमृतको उत्पत्ति भएको कथा विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
मोहनीरूपी विष्णुले छल गरेको थाहा पाएर दैत्यहरूले देवतामाथि आक्रमण गरे । देव दानवको भयकंर संगम मच्चियो । त्यसबेला देवराज इन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिएको वैदिक धर्मग्रन्थमा उल्लेख गरिएको गौतमले बताए । युद्ध पूरा १२ वर्षसम्म चल्यो । जयन्तले अमृत कलशलाई १२ वर्षसम्म चार अलगअलग ठाउँमा राखेका थिए । जहाँजहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए । तिनै ठाउँहरूमा प्रत्येक १२ वर्षमा कुम्भ मेला लाग्दछ । कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको विश्वास गरिन्छ । देवता दैत्य युद्धमा धेरैजसो दैत्य मारिए । अमृत खाएकाले देवताहरू मरेनन् ।
अन्तमा देवताको विजय भयो देवताहरूले पुनः स्वर्ग प्राप्त गरे । कूर्म (कछुवा) रुपी विष्णुका कारण देवताहरूले भगवान् कूर्मको प्रार्थना गरे । भगवान् कूर्मले देवताहरूलाई ‘जसले भगवान्को आशा राखेर कर्म गर्छ, त्यसैलाई सत्य सुख प्राप्त हुन्छ, जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सुख प्राप्त गर्न सक्दैन’ भन्ने उपदेश दिएर अन्तध्र्यान हुनुभएको थियो । भगवान् विष्णुले नवौँ अवतारसमेत लिनुभएको वैशाख शुक्ल पूर्णिमाका दिन कूर्म (कछुवा) लाई पूजाआराधना गरिन्छ । यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण घरघरमै कूर्म र बुद्ध अवतारको पूजाआराधना गरिँदैछ ।