कोरोना संक्रमण र महामारीका बेला देवभूमि चतराधाम र आद्य जगद्गुरु बालसन्त पीठमा दर्शनार्थीको चहलपहल शून्य प्रायः छ ।
लिच्छिवीकालीन हिटी निर्माणले यो पावनभूमि प्राचीन हरिद्वारमा थप आकर्षण बढेको भएपनि निषेधाज्ञाका कारण भौतिक उपस्थिति हुन सकेको छैन ।
यद्यपि बुधबार राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान जगद्गुरु बालसन्त पीठमा विशेष व्यक्तित्वको आगमन भएको विश्व हिन्दू परिषद नेपालका अध्यक्ष देवराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिवालयका प्रमुख भेषराज अधिकारी र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (मुटु अस्पताल) का निर्देशक डा. चन्द्रमणि अधिकारी सपरिवार जगद्गुरु पीठमा दर्शनार्थ आएका हुन् ।
विश्व हिन्दू परिषद नेपालका अध्यक्ष अधिकारीका अनुसार आगन्तुकहरुलाई जगद्गुरु बालसन्तले दोसल्ला ओढाएर सम्मान गरे । प्रातः भोगमा सहभागी उनीहरुलाई जगद्गुरु स्वयम्ले भण्डारा लगाएका थिए । बालसन्तले प्राचीन हरिद्वार चतराधामको विशेषता यसको उत्पत्ति र प्रामाणिक आधारका बारेमा छोटो प्रवचन दिएका थिए ।
पाहुनाहरुलाई पीठ परिषरमा रहेका मन्दिरहरुको दर्शन गराइएको थियो । उनीहरुले पीठ परिषरमा रहेको लिच्छिवीकालीन हिटी (ढुंगेधारा) को प्रशंसा गरेका थिए । पीठ परिषरमा रहेका राधाकृष्ण मन्दिर, शिव मन्दिर, कुम्भ स्तम्भ, वराह मन्दिरलगायतको दर्शन गराइएको थियो ।
‘पाहुनाहरुले चतराधाम र वराह भगवान्को दर्शन गर्ने र आजै काठमाडौं फर्किने कार्यक्रम छ,’ विश्व हिन्दू परिषद नेपालका अध्यक्ष देवराज अधिकारीले भने, ‘यो कुनै औपचारिक कार्यक्रम होइन, शिष्टाचार भेटघाट र वराह भगवान्, चतराधाम र जगदुगुरुको दर्शनका लागि मात्र हो ।’
भेटमा राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठानका महासचिव प्रह्लाद भट्टराई, वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
विशिष्ट व्यक्तित्वलाई वराहक्षेत्रको विकासका लागि चिन्तित रहिदिन वराहक्षेत्रवासीका तर्फबाट आग्रह गरिएको आद्य जगद्गुरु बालसन्तले जानकारी दिए ।