कम्युनिस्टप्रति अत्यन्त अनुदार भए पनि भूतपूर्व प्रधानमन्त्री तथा जननायक बीपी कोइरालाले परिआए मृत्युवरण गर्न तयार भएर नेपाललाई सिक्कीमीकरण हुनबाट जोगाउन भारत प्रवासबाट ०३४ सालमा नेपाल आउनु भएको थियो । कोइरालाले आफूलाई राजा वा राजतन्त्रले हत्या सम्मगर्न सक्ने अवस्थालाई पटक्क ख्याल नगरी नेपालको स्वाधीनता, अखण्डता र सार्वभौमसत्ता सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । । भारतीय समाजवादी नेता जयप्रकाश नारायणबाहेक भारतीय उच्च तहका नेताहरुले कोइरालालाई नेपाल गए, दरबारले मार्न पनि सक्ने चेतावनी दिएर तर्साएका थिए ।
कोइरालाले नेपालको आन्तरिक मामिलामा जबाहरलाल नेहरुको प्रत्यक्ष वा परोक्ष दवावप्रति असहमति राख्दा भारतीय सत्ता बीपीदेखि आजीवन रुष्ट भएको देखिन्छ । यस्ता अमूल्य विरासद् पार्टी,नेता र कोइराला परिवारका कतिले ख्याल गरेका होलान् । त्यसो त पार्टीमा लक्ष्मण प्रसाद घिमिरे,मनमोहन भट्टराई,डा.चन्द्र भण्डारी, एन.पी. साउद लगायत नेताहरु बीपीको राष्ट्रवादी विरासद्लाई पक्षपोषण गर्छन् जस्तो लाग्छ । तर कृष्ण सिटौला,शेखर कोइराला र गगन थापाहरु पार्टीको आधारभूत पहिचान परित्याग गरेर गैरसंवैधानिक तथा अराजक गतिविधिमा रमाउन खोजेको देखिन्छ ।
भारतीयहरुले नेपालमा बहुदल ल्याइदिने र प्रधानमन्त्री समेत बनाइदिने लोभलाई बीपीले पनि तिरष्कार गर्नु भयो । अझ ०३६ सालको जनमत संग्रहअघि नै बीपी कोइरालालाई जयबागेश्वरी स्थित उहाँको निवासमा गएर अमुक प्रभावशाली (भयानक जिउडाल भएको रसियन व्यक्ति अनुमान गरिएको छ ) व्यक्तिले नेपालबाट राजतन्त्र हटाइदिन्छौँ, तपाईं पहिलो गणतान्त्रिक राष्ट्रपति बन्न तयार रहनुहोस् भन्दा बीपीले यस गम्भीर विषयमा आफूलाई ४८ घण्टा समय चाहिने कुरा बताउनु भएको थियो तर यस बीचमा बीपी कोइरालाले राजा वीरेन्द्र शाहसित सोझो सम्पर्क गरेपछि जनमत संग्रहको आकस्मिक घोषणा भएको हुँदा राष्ट्रिय अस्तित्वमा आँच आउन नसकेको वरिष्ठ पत्रकार जगत नेपालले उल्लेख गर्नु भएको छ । त्यसैले कन्फर्टेवल सरकार बनाउन आतुरहरुका पछि आँखा चिम्लेर लागे रातारात हामी गुलाम हुन बेर छैन ।
जनमत संग्रह पछि पनि बाहय हस्तक्षेपको खतरा रहेकै अवस्थामा देशको ( राजदरवार समेत ) आन्तरिक राजनीतिक स्थिति कचिङ्लपूर्ण र तरल अवस्थामा थियो त्यसैले यस्तो अवस्थामा कुनै न कुनै रुप र मात्राको बाह्य हस्तक्षेप हुनसक्ने भयले चरम धाँदली गरेर विजयी भएको सुधारिएको पंचायत विरुद्ध बीपीले संघर्ष गर्न अस्वीकार गरेको बताइन्छ ।
त्यसैले ०६२,०६३ पछिको दसवर्ष भित्र नेपाललाई असफल राष्ट्र बनाउन पहिलेदेखि लागिपरेका शक्तिलाई देशमा खेल्न नदिन सत्तापक्ष र प्रतिपक्ष अत्यन्त सजग हुन जरुरी देखिन्छ । यस्तै अवस्थालाई ख्याल गरेर ओलीले एक कार्यक्रममा राष्ट्रिय सहमतिको सरकार बनाउन अपिल गर्नु भएको हो । तर यस्ता कुरालाई केही कानुन्चीहरु दुराग्रहबस उग्र विरोध गर्छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस देशलाई केन्द्र बिन्दुमा राख्छ कि सत्ता,सरकार र शक्तिका खातिर मरिहत्ते गर्ने व्यक्तिका पछि लाल्छ ?
नेपालको राजनीतिमा नेपाली कांग्रेस र नेकपा एमाले नै भोलिका दिनका प्रमुख पार्टी हुन् । त्यसैले संवैधानिक मूल्य मान्यता अनुसार भइरहेका हालका राजनैतिक गतिविधिका बारेमा सतही कुराका भरमा पर्नु जाती हुँदैन ।
माओवादी नेता प्रचण्डलाई भारतीय शाषक मार्फत् नेपालमा चरम अस्थिरता र अराजकता निम्त्याउन प्रयोग गरेको जगजाहेर भएको छ, । त्यतिबेलै भारत विरुद्ध केही पनि गर्ने छैनौँ भनेर बाचाकबुल गरेका प्रचण्ड र बाबुराम अनि २०४६ सालको पूर्व सन्ध्यामा भारतीय सशस्त्र सैन्य सहयोग नेपालमा प्रवेश गराएर गणतन्त्र ल्याउन उतिबेलै हत्तेहालेर लागेका माधव कुमार नेपालसितको लगनगाँठो कांग्रेसको वर्तमान युवा नेतृत्वलाई निक्कै महँगो पर्न सक्छ । जननेता मदन भण्डारीले बाह्य शक्तिको खुल्ला हस्तक्षेप गर्न र गराउन उद्यत नेपालको पार्टीको बैठकमा खरो विरोध गर्नु भएको कुरा राधाकृष्ण मैनाली लिखित नलेखिएको इतिहासमा उल्लेख छ । यसरी बैठकमा सबैका सामु मदनबाट आफ्नो कटुआलोचना हुँदा कालकुट तथा कपट मनका नेपालले भण्डारीका बारेमा मनमा के कस्ता कपटी सोच राखे होलान् भन्ने अहिलेको अनुमान मात्र गर्न सकिन्छ ।
त्यसैले अहिले पार्टी र सरकारको सबल र कुशल नेतृत्व गरिरहनु भएका ओली राज्यको कार्यकारी भएका नाताले देशको सर्वाङ्गीण विकास मार्फत् समृद्ध राष्ट्रवादका पक्षमा उदाहरणीय कामका साथ सक्रिय हुनुहुन्छ । ओली बीपीको राष्ट्रवादी विरासद्लाई थामेर त्यसलाई बहुआयामिक रुपमा समृद्ध पार्ने महानम अभियानमा अडिग हुनुहुन्छ । देशको स्वाधीनता,सार्वभौम सत्ता र अखण्डताको रक्षा सहित देशको समग्र समृद्धिका लागि अनवरत रुपमा एकाग्र रुपमा लाग्नु भएका ओलीलाई एक वर्ष अघिदेखि पदच्यूत गर्न कम्युनिस्ट नामका केही कलंकहरु लागि परेको देखिएकै हो । नत्र तुलनात्मक रुपमा देश,जनता र जनजीविका क्षेत्रमा छोटो समयमा यतिका उपलब्धि हासिल भएका अवस्थामा कांग्रेस लगायत मानव अधिकारवादी,नागरिक समाज,राजनीतिक विश्लेषक नामका केही अत्यन्त नकारात्मक कोणबाट मात्रै नकारात्मक गतिविधिमा रमाउनु पर्ने कुनै कारण थिएन र छैन । काठमाडौँ खाल्टामा बसेर केही नामधारी मानव अधिकारवादी,नागरिक समाज,लेखक विश्लेषक र वकिलहरु सरकारका कैयौँ सकारात्मक कामहरुका बारेमा अनर्गल प्रचार गरिरहेका छन् ।
कन्फर्टेवल सरकार बनाउन उद्यत,चरम अवसरवादी तत्वहरु सरकार,सत्ता र शक्तिका लागि देशलाई बन्धक बनाउन तत्पर देखिन्छन् ।
यस्ता तत्वहरुलाई केही समय उपयोग गरे पनि यस्ता प्रवृत्तिका भर पर्नु नेपाली कांग्रेस पार्टीका लागि किमार्थ जाती हुँदैन । भारतीय शाषकले नेपालमा आफ्नू अनुकूलको प्रधानमन्त्री र सरकार नभए त्यसलाई पदच्यूत गर्न सदा तत्पर हुने व्यवहारबाट बीपी पनि प्रताडित हुनुभएको अनुभव हुन्छ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि भारतीय शाषकले कृष्ण प्रसाद भट्टराई लगायत नेकाकै प्रधानमन्त्रीलाई समेत आफूले भनेअनुसार सबथोक नमानेको हुँदा परोक्ष रुपबाट पदच्यूत गराएको बताएका छन् । चुच्च्ो नक्सा जारी गरेको केही दिनपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दाहाल र नेपालले गरेका तमाम गतिविधि भारतीय शाषकको इसारामा भएको भण्डारीले उल्लेख गरेका थिए । नेपालको संविधान निर्माण कालदेखि हालसम्म पनि ओलीसित भारतीय शाषक रुष्ट हुनु पर्ने धेरै कारणहरु विद्यमान छन् तर एक विद्वान्ले सक्छौ भने विरोधीको हात काट र सक्तैनौ भने उसको हात चुम भनेझैँ भारतीय शाषक ओली अडान,अठोट र शाषकीय क्षमताका अगाडि मौन र मुक दर्शक भएको देखिन्छ । ओली सरकार २०७६ फागुन २१ सम्ममा देशको बहुआयामिक विकास निर्माणमा निरन्तर लागि परेको निम्न उदाहरणबाट स्पष्ट हुन्छ ।
त्यसैले रवर्ट डी कप्लानले नेपालले आफ्नो शासकीय क्षमता बढाउन सकेन भने सत्तरीको दशकसम्म नेपाल क्रमशः विघटन हुनपुग्छ भनेझैँ बी.पी कोइरालाले पनि यस विषयमा क्रमशः अडान लिँदै गर्दा वहाँ अपाच्य हुनु भयो तर प्रधानमन्त्री ओलीले आँट र अठोटका साथ बाह्य दवाव र प्रभावमा नपरी शाषकीय क्षमताका साथ समृद्ध राष्टवादको अभियान सुरु गर्नुभएको स्पष्ट हुन्छ । यसलाई कुनै पनि खाले दुराग्रह नराखी एकताबद्ध हुनुपर्ने खाँचो रहेको देखिन्छ । तमाम खाले असहमतिका बीच सहमति गरेर देश र जनतालाई केन्द्र बिन्दुमा राखेर अगाडि बढ्नु आजको आवश्यकता हो । ओलीले भन्नु भएझैँ सबै खालका बाह्य हस्तक्षेपका विरुद्ध नेपालीले लड्नु पर्दैन ,सबै नेपाली राष्ट्रिय स्वार्थमा एक ढिक्का हुँदा राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्न सकिन्छ । तसर्थ बीपीका अनुसार कुन पार्टी,शक्ति,नेता र व्यक्ति रहने कि नरहने भन्दा राष्ट्रको स्थिरता र अस्तित्व रक्षाको सबाल अहिलेको सर्वाधिक र सर्वोपरि विषय हो भन्ने कुरा राम्ररी महसुस नगर्दा नेपाली कांग्रेस पार्टीका केही नेता पार्टीको विगत विरासद् विरुद्ध देखिन्छन् । भोलि नै सरकार बनाउने अत्यन्त सम्भावना भएको कांग्रेस तीन ठाउँ भाँच्चिएका,हरेक क्षेत्रमा असफल भई भुइँमा थच्चिएका जनताबाट तिरष्कृत भएका दाहाल नेपाल र यादवको सहारामा सडकमा उफ्रिनु जाती होइन । पटक पटक धोखा पाएर पनि तिनै सित लगन गाँठो कस्दा कांग्रेस कहाँ पुग्ने होला स्वयं कांग्रेसले बुझ्न ढिला गर्नु हुँदैन ।
पार्टीगत, जातिगत तथा व्यक्तिगत संकीर्ण स्वार्थमा अन्धो भएर कुनै पनि आदर्श नेता देशलाई घात गर्दैन । यस्तो नेतृत्व बरु आफू वलिदान हुन तयार हुन्छ तर कुनै पनि खाले अहं,आवेश,उत्तेजना, कुण्ठा र निकृष्ट स्वार्थवस देशलाई दुर्गतितिर धकेल्ने काम किमार्थ गर्र्दैन । यस्तै नेता र नेतृत्वबाट देश,जनता र जनजीविकाको हित हुन्छ । आकास जत्तिकै फराकिलो छातीमा मात्र सिङ्गो देश मात्र होइन विश्व नै अटाउँछ । दाहाल, नेपाल र बाबुराम जस्ताका कुखुरे छातीमा तिनका नसनाता, घर परिवार र स्वार्थको सानो झुण्ड मात्र रमाउँछ । यस्तै गति र मतिका नेताका कारण अहिले देशलाई अस्थिरता र अराजकतातिर उन्मुख गराउन खोजिँदैछ भन्ने कुरा कांग्रेसले बेलैमा सोचोस् ।