- मणिकुमार श्रेष्ठ सिजन
गाउँका सबै ठिटाहरू एक आपसमा कुरा गरिरहेको हुन्छन् । भदौको पारिलो घाममा मकैको थाप्लो पेटमा सकिन नपाउँदै उनीहरूले कोदाको रोटी खाने अपेक्षा गरेका छन् । यसरी कोदाको रोटीसँगै गाउँमा नै दिदीहरूले पेवाको रूपमा बनाइएको तीनपाने पनि पिउने रहर जागेको छ सानेलाई । साने गाउँको सोझो ठिटो मध्ये एक थियो । उसको उक्सावटमा कोही पनि केटाहरू लाग्दैन थियो । बरु अरूको उक्साहटमा उसले विभिन्न प्रकारका कामहरू गरिरहेको थियो । जुन कामले उसको परिवार र समाजलाई नै नराम्ररी असर परेको थियो । यो समयमा उसको उमेरको हिसाबले कुरा गर्ने हो भने १२–१३ वर्षसम्म रहन गयो । त्यहाँदेखि उसले अरूको उक्साहटमा काम गर्न छाडेको पनि वर्षौ भइसकेको छ । केवल अहिले ऊ सरसल्लाह र छलफलबाट मात्र काम गर्ने गरेको छ ।
यसरी दिनहरू बित्दै गए । रातहरू बित्दै गए महिना हुँदै वर्ष अनि एक कोरीबाट दुई कोरी नजिक पुगेको छ उसको उमेर । उसले उमेरमा विभिन्न प्रकारका नराम्रा कामहरू गरेको थियो । साथी संगतिको कारणले गर्दा उसले यस प्रकारको काम गरेको थियो । उसको दिमाग सामन्यतः अरूको भन्दा अलिक बोदो किसिमको थियो । तर अलिक जिद्धी स्वभावको थियो ऊ । बिहानीको लालीकिरणझैं उसका जवानीको पनि प्वाख पलाएको थियो । ऊ पनि अरू साथीहरूको लहलहैमा गाउँको खेताला गोठालो गर्ने गरेको थियो । यसरी उसले गरेको क्रियाकलापहरू गाउँमा निकै चर्चाको विषय बन्ने गरेको थियो । उसले जिन्दगीमो कहिले पनि प्रथम हुने जमर्को गरेन किनकि उसलाई एक नम्बरमा खासै रुचि थिएन ।
उसले के भन्ने गर्दथ्यो भने कि त शून्य लिनू कि त दुई अंकको नम्बर लिनू भन्ने थियो । सायद पुर्खाको नासो हुन सक्छ । उसले जिन्दगीमा प्रथम नभए पनि सबैभन्दा बढी नम्बर जिन्दगीमा धेरैपल्ट ल्याएको छ । चाहे आमाको नजर होस्, चाहे शिक्षकको नजरमा होस्, चाहे साथीको नजरमा होस्, चाहे प्रेमिकाको नजरमा होस् या त उसकी श्रीमतीको नजरमा होस् धेरै पटक प्रथम हुने मौका पाएको छ । त्यो पनि सयमा सय नम्बर ल्याएर । धेरैपटक जिन्दगीको पाना कोरेको छ उसले । यही नम्बरको कारण ऊ भन्ने गर्दछ म एउटा मैनबत्ती हो ।
यसरी शून्य आकाशमा सुरु जीवनको तारताम्य निकै चुनौती खडा भएको छ । उसले सानो छँदा विभिन्न समयमा गाउँको गोठमा मकैको ढोड बालेर किताबका पानाहरू पढेको थियो । अनि अलिक समयले गति लिएसँगै यसको पढ्ने शैली पनि फरक हुँदै गयो । उसले अब टुकी बत्ती हुँदै मैनबत्तीका साहाराले अक्षरहरू चिन्न थालेको थियो । तिनै मैनबत्तीको साहारामा अध्ययन गर्ने सहकर्मी साथीहरूले उसलाई बीच बाटैमा छाड्यो भने उसले पनि आफ्ना साथीहरूलाई बीचबाटैमा छाड्यो । साथीहरूसँग दिनहरू बित्दाबित्दै उसका निकै सम्झन लायक दिनहरू आए । किनकि उसका अरू साथीहरूले उसले गरेको जति अनुभव गर्न पाएका छैनन् । चाहे देश प्रदेश जहाँ जे भए पनि उसले साहित्यकार तथा नेपाली राजनीतिका जननेता बीपी कोइरालाले आफ्नो कथामा लेखेको केही अनुभव वहन गर्न पाएको छ ।
गाउँमा उसँगै बसी खेली गर्ने साथीहरूले जे जस्तो कुरा सुनेको भए तापनि आजको दिनमा उसको निकै महत्त्व बढ्दै गएको छ । किनभने त्यहीँ गाउँमा हलोकोदालो गर्ने साथीहरू गाउँको स्थानीय सरकारका प्रमुख भएका छन् । धेरै पटक प्रथम हुन नसकेको साथीहरूलाई जनताले प्रथम बनाएका छन् । तिनै प्रथम हुनेहरूको सारथी भएका छन् ।
जिन्दगीले मानिसलाई धेरै किसिमको अनुभूति दिलाउने गर्दोरहेछ । अनि तिनै अनुभूतिको माध्यमबाट समाज विकासका क्रमहरू खडा भएर अगाडि आउँदा रहेछन् । सायद बीपीका पिताजीले विराटनगर निर्माणका लागि त्यो समयमा पहल नगरेको हुँदो हो त । अहिले हाम्रा गाउँठाउँमा यातायातमा संशाधनहरू आएको नहुँदो हो । नेपाली जनताले समाजवादको नारा लगाइरहदा बीपी कोइरालालाई अग्रभागमा राखेको छन् । जसरी एउटा गाउँको शैक्षिक विकासमा त्यस ठाउँको अगुवाको नाम आउने गर्दछ ।
यसरी समयको गतिसँगै ऊ २१ वर्षको हुँदा वैदेशिक रोजगारीमा जान्छ । मलेशियाको तीन वर्षको बसाइ पछि नेपाल फर्किएको छ । उसलाई विभिन्न अप्ठ्याराहरूले जकेडेको छ । यसैबीचमा उसको मलेशिया बसाइ (२०६०÷०४÷२२–२०६३÷४÷२८) कहाली लाग्दो नै भयो । बीचमा मलेशिया बसाइकै क्रममा उसले चोरको फन्दामा पर्नुको साथै निकै ठूलो संकटमा समेत परेको थियो । जुन उसको मानसपटलबाट बिलाएर जान सकेन । अनुभूतिको मास्टर मेमोरीमा रहिरह्यो ।
नेपालको द्वण्द्वकालीन अवस्थामा आएको आँधीहूरीले उसलाई पनि छोयो । उसको जीवनको कुरा गर्दा विभिन्न प्रकारका पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेनालगायत पदको अनुभव उसले आर्जन गरेको सम्पत्ति हो । यसरी उसले जनआन्दोलकै क्रममा भएको विभिन्न टिकाटिप्पणी गर्दा गर्दै नेपाली पत्रकार समेत भएको अनुभूति छ उसमा । उसले नेपालको पत्रकारितामा दश वर्षको अनुभूति संगालेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् भई नेपाली पत्रकारितामा दरिलो आयाम थपेको थियो । साथ साथै उसले नेपालको समाजवादी आन्दोलनमा उसले विभिन्न चरणमा कलम चलाएको थियो । जुन कलमको कारणले गर्दा उसलाई एउटा उचाइमा पुर्याएको छ । ऊ नेपाली संचार जगत्को एउटा पत्यारिलो नाम बनेको छ ।
यसरी विभिन्न प्रकारका आरोह–अवरोहको बीचबाट चलिरहेको जीवनमा उसले चाहेको जस्तै सुन्दरी जीवनसंगिनीको रूपमा आएको छ । उसको जीवनसंगिनीको सहयोगमा उसले विभिन्न प्रकारका कामहरू गरिसकेको छ भने उसको दुई छोरी पनि भइसकेको छ । नेपाली पत्रकारिता र साहित्यको माध्यमबाट समाजलाई नियालेको उसले राजनीतिका माध्यमबाट पनि समाजलाई नियाली रहेको छ । समाजवादी आन्दोलनको रूपरेखामा आफूलाई उभ्याउनका लागि सदावार रूपमा लागिहने प्रण गरेको हुनाले सामाजिक न्याय र परम्परावादी मान्यतालाई समेत खलल नपार्ने गरी समाज विकासको परिकल्पना गरेर अगाडि बढेको छ ।
सामाजिक संरचनानै पुरातनवादी सोच र पश्चगामी सोचको किचलोमा परेको छ । जसको कारण यहाँको वर्ग समुदाय र समाज नै विभाजित भएका छन् । हामीले सोचेकोभन्दा फरक किसिमबाट समाजको रूपरेखा अगाडि बढेको छ । हामी सदैव समान ढंगबाट समाजका कामहरू अगाडि बढोस् भन्ने अपेक्षा गरेका हुन्छौ । तर हाम्रो आम समुदाय नै आजको युगीन घडिमा विभिन्न सामाजिक मोडालिटीको प्रयोग गर्ने जमर्कोमा रहेको छ ।
त्यहीँ समुदायमा हुर्केको बढेको मान्छेको सोच सबैको एकनास हुँदैन यहाँ । त्यसैले गर्दा वर्गीय धरातल र जातीय मान्यताको कारण र सामाजिक संरचनाको सोचाइ र काम गराइ फरक–फरक हुने गर्दछ । यसरी मानवीय सोचलाई फरक ढंगबाट अगाडि बढाउनका लागि आफूसँग भएको स्वाभीमानी छविलाई उजागर गर्दा उसको जीवनमा विभिन्न प्रकारका हतकण्डाहरू मच्चाएर उसलाई सिध्याउने सम्मका खेल भए । उसले नेपाली समाजलाई नियालेर हेर्न थालेको आज डेढदशक हुन लागेको छ । यसरी सामाजिक आन्दोलनको अभियानमा रहेको हुनाले उसले सदैव अरूलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जमर्को गरिरहेको छ ।
सामाजिक मूल्यमान्यताको आधारमा आफूलाई अगाडि बढाएको उसले आफूलाई अझै चिन्न बाँकी रहेको आभास गर्न थालेको छ । हुन त जो मान्छेलाई आफूलाई चिन्छ ऊ समाजको एक सफल व्यक्ति हो भन्ने उसलाई लागेको छ । ऊ एउटा विकासवादी सोच र समाजवादी विचार बोक्ने युवा भएको हुनाले उसको जीवनको उसलाई नै खासै मूल्यवान ठान्दैन किनकि उसको जीवन नै उसले उपहारमा पाएको हो । वाबुआमाको समागमबाट उसको उत्पत्ति भएको हुनाले उसलाई कुनै प्रकारका बाधाव्यवधानप्रति खासै गुनासो छैन किनकि मानव समाजको उत्पत्ति नै अवसरको खोजी र चुनौतीको बीचबाट भएको छ ।
विक्रम सम्बत् २०४० साउन ४ गते बुधबारको दिन आमा गंगादेवी श्रेष्ठ र पिता कृष्णबहादुर श्रेष्ठको कोषबाट जन्मिएको निर्मलराज, निलमणि हुँदै मणिकुमार श्रेष्ठ सिजनको नामले अहिले उसलाई चिन्ने गरेका छन् चिने जानेकाहरूले । २१ वर्षसम्म भोजपुर जिल्लाको साविक कुलु गाविस वडा नं. ८ पियोकमा बसोबास गर्ने उसले वैदेशिक रोजगारीबाट आएर नेपालको त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेर नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तीमा रहँदै, पत्रकारिता र साहित्यको माध्यमबाट नेपाली समाजलाई नियाली रहेको छ । त्यही ऊ आज भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिकाको पहिलो योजना शाखा प्रमुखको रूपमा चिनिएको छ । जसलाई कहिल्यै प्रथम हुन मन छैन तर समाजवादी सोच र विचारको कारण ऊ अर्थात् म निरन्तर विकासको लागि लागिरहने छु र लागिरहेको छु । त्यसैले मैनबत्तीहरूको खोजीमा छु । जसले आफू जलेर पनि अरूलाई उज्यालो दिने काम गर्दछन् ।