कोरोना लकडाउनमा रोजगारी गुमाएका, दैनिक मजुदरी गरेर गुजारा गर्ने विपन्न परिवारले भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ चतराका युवाहरुले विपन्नलाई घरदैलोमै राहत पुर्याउन थालेका छन् । युवाहरुले ‘निभेको चुल्हो बाल्ने अभियान’ थालेका छन् ।

महामारीको दोस्रो लहरमा लागेको निषेधाज्ञामा ज्यालादारी मजदुरलाई सहयोग गर्न वडा नं १ चतरामा रहेको औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चका युवाहरुले वडा नं १ र २ मा उक्त अभियान शुरु गरेका हुन् ।

अभियानले एक नं वडाको १५ र २ नं का २२ घरपरिवारलाई घरमै पुगेर प्रति परिवार चामल १० केजी, तेल आधा लिटर, दाल र चिउरा १–१ केजी प्रदान गरेका छन् । यसैगरी नून १ केजी र सोयाबिन आधा केजी प्रदान गरेका छन् । अभियानका क्रममा मास्कलगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको औलियाबाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चका अध्यक्ष उदय ठटालले बताए ।

खाद्यान्न दुई वटै वडाको खहरे, सिंहदेवी टोल, सखुवागाछी, बालचन खोरिया, भण्डारीटार र उदय टोलमा बाँडिएको थियो ।

चरणगत रुपमा शुरु गरिएको अभियानको पहिलो दिनलाई स्थानीय सुनिल अग्रवाल, भविन राउत, शम्भु बानियाँ, राजन बस्नेत, रमेश लोहनी यसैगरी काठमाडौं बस्ने भावना तामाङ र दिपक ठटाल, बेलका नपाका देव किरण राई, पोखराका महेन्द्र राई र भरौलकी अञ्जु धामीले खाद्य सामग्री सहयोग गरेका थिए ।

दोस्रो चरणका लागि काठमाडौं बस्ने मनिष तामाङले जन्मदिनको अवसर पारेर १० घरपरिवारलाई पुग्ने खाद्य सामग्रीको रकम पठाइदिएका थिए । स्थानीय श्याम हार्डवेयरले २, धरानका मधुकुमार राईले ४, भारतको मुम्बई बस्ने वराहक्षेत्र १ की शान्ति परियारले ३ र दार्जिलिङकी इन्दु राईले ३ घरपरिवारका लागि राहत सामग्री बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष ठटालले जानकारी दिए । अभियानको तेस्रो चरणमा एक सय केजी चामल वितरण गरिने बताए । 

कोभिड महामारीमा लगाइएको निषेधाज्ञाले परिवारलाई परेको विपत्तिमा खाद्य सामग्री उपलब्ध गराइदिने सम्पूर्णलाई मञ्चका अध्यक्ष ठटालले धन्यवाद दिए । अभियानलाई सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले फोन नं ९८४२०७८६९६ मा सम्पर्क गर्न सकिने उनले बताए ।