सिङ्गो देश कोरोना महामारीको विषम परिस्थितिसँग जुधिरहेको यो समयमा हरेक क्षेत्र, पेशा, व्यवसाय, वर्ग यसको मारमा परेका छन् । पहिलो चरणको महामारीमा झण्डै ६ महिना थलिएको देश केही तङ्ग्रिदै गरेको अवस्थामा पुनः फैलिएको महामारीले अझ आक्रान्त बनाएको छ । यसैबीच चेतना, ज्ञान र रूपान्तरणको मूलद्वार मानिने शिक्षा क्षेत्र झन् नराम्रो गरी यसको चपेटामा परेको छ । फूल जस्ता कोमल मन र मुहार भएका साना नानीहरूदेखि विश्वविद्यालयसम्मका हरेक विद्यार्थीहरूका शैक्षिक गतिविधिहरू ठप्प प्रायः छन् ।
यस महामारीले हाम्रो नियमित शिक्षण पद्धति र प्रणालीलाई समेत एकपटक सोच्न र वैकल्पिक उपायहरू अवलम्बन गरी अघि बढ्न थुप्रै पाटाहरू उजागर गरिदिएको छ, विषेशतः हामीले सञ्चालन गर्दै गरेको अध्यापनको विधि, पाठ्य सामग्री, परीक्षा प्रणाली र योग्यताको भनी दिइने प्रमाण–पत्रहरूका विषयमा । विद्यालयका कक्षाकोठाभित्र रहेर पढिने स्वीकृत पाठ्य पुस्तक नै ज्ञानको सबै स्रोत हो भन्ने मान्यताभन्दा बाहिर निस्किएर सिकाइका विभिन्न बाटा र पाटाहरू उजागर भएका छन् । आजको समयले हाम्रा पुराना शैक्षिक गतिविधिहरूमाथि प्रश्न गर्न बाध्य पारेको छ र नयाँ स्वरूपमा सिकाइलाई अघि बढाउन चेत दिएको छ ।
शिक्षा ज्ञान हो, चेत हो, एक किसिमको ध्यान हो, जसले मानवलाई रूपान्तरणको प्रक्रियामा लैजानु पर्छ र बिना रूपान्तरणका कुनै पनि किसिमका शिक्षाको उपयोगिता र आधार कमजोर बन्न जान्छ । उत्कृष्ट मार्कसहितका डिग्रीहरूसमेत स्वयम् व्यक्ति, समाज र सिङ्गो विश्वलाई नै त्यति आवश्यकता नरहन जान्छ, जति चेतनशील र विवेकी नागरिकको आवश्यकता छ । आज थुप्रै जटिल यस्तै प्रश्नहरू गह्रौं गरी हामी तिर तेर्सिएका छन्, जसको सही र सटिक जवाफ आजका शैक्षिक विज्ञहरूले फेला पार्नु पर्नेछ ।
हामीसँग दुई किसिमका शिक्षालयहरू विद्यमान छन् । प्राइभेट, जो निजी लगानीमा सञ्चालित र संस्थागत, नेपाल सरकारको पूर्ण व्यवस्थापनमा सञ्चालित । साथै मुख्य कुरा चाहिँ विद्यार्थी कहाँ पढ्छ भन्ने भन्दा पनि शिक्षालय सञ्चालक, व्यवस्थापक र अभिभावक सम्पूर्णको चेतनाको हो । एउटा खाली पाना बोकेर आएको अबोध बच्चाको मन, मस्तिष्कमा हामी यो संसार र जीवनजगत्प्रति कस्तो चित्र बनाइदिन्छौं भन्ने हो । हामी आम नेपालीहरूको एउटा मुख्य समस्या भनेको हामी ‘कृटिकल्ली अनालाइसिस’ गर्दैनौं ।
प्राइभेट स्कुल राम्रा हुन्छन् भन्ने एक किसिमको भ्रम र सरकारी स्कुल कामै लाग्दैनन् भन्ने अर्को भ्रम । प्राइभेटले व्यापार मात्र हेर्छ भन्ने भ्रम र सरकारीले पढाउँदै पढाउँदैनन् भन्ने अर्को भ्रम । यिनै भ्रमका बीचमा हामीले अबोध केटाकेटीमाथि गरिरहेका अन्याय खेदजनक छन्, अपराधजन्य छन् ।
हामी औपचारिक शिक्षाको पहुँचको केही दशक मात्र पार गरिरहेका छौं । हाम्रो हजुरबुबा, हजुरआमा पुस्तै पनि औपचारिक शिक्षाको लागि शिक्षालय जान नपाएको सत्यता हामी सामु छ । विशेषगरी अन्तर्राष्ट्रिय मूल्य, मान्यता र अभ्यासलाई हेरेर हामीले हाम्रा शैक्षिक नीति, पाठ्यक्रम र शैलीको नक्कल ग¥यौं । जसको सही नक्कल हुन नसक्नु, सही ढङ्गले त्यसको मर्म बुझ्ने शिक्षक र अभिभावक नहुनुले त्यसको परिणाम हाँसको हिँडाइको नक्कल गर्ने कागको गति भएको छ । जसको उदाहरणको रूपमा हामी मन्टेश्वरी बेस्ड स्कुललाई लिन सक्छौं ।
हामीले हाम्रो आवश्यकता र शैलीको शिक्षा पद्धति विकास गर्नमा कहिल्यै जोड दिएनौं, हामी यहीँनेर चुकेका छौं । एउटा विद्यार्थीलाई साँच्चीकै ऊ बन्न दिएर हामीले कहिले शिक्षा दिएका छौं ? उसका लक्षणहरू हेरेर, त्यही किसिमका उपचारका पद्धति कति प्रयोग गरेका छौं ? हामी जान्ने हुनुको अहम्ले उनीहरूको कोमल हृदयलाई कसरी भत्काइरहेका छौं ? अङ्कको प्रतिस्पर्धामा उनीहरूका जीवनका अङ्कहरूलाई कसरी शून्य बनाउँदैछौं ? हामीले हामीलाई आजका दिनमा सोध्नुपर्ने सबैभन्दा जटिल र पेचिला प्रश्नहरू हुन् यी ।
विद्यार्थीलाई राम्रो नम्बर ल्याउनको लागि गरिने जुनसुकै तहका कारबाही पनि हाम्रो लागि क्षम्य छन् । यो पद्धति, यो सोच र अभ्यास नबदलिकन यो युगको शिक्षाको परिकल्पना सम्भव छैन । एउटा विद्यार्थीलाई राम्रो अङ्क ल्याउनुभन्दा महत्वपूर्ण हुन्छ उसले कति राम्रो गरी आफ्ना कुरा अरूलाई बुझाउन, भन्न सक्छ भन्ने । उसको जीवनमा शैक्षिक प्रमाण–पत्रको ए प्लसभन्दा ज्यादा महŒव उसको आत्मबल कति बलियो छ भन्नेले अर्थ राख्छ, उसको ‘कमन सेन्स’ कति तेजिलो छ भन्ने कुराले राख्छ । हामी शैक्षिक अङ्कको लागि उनीहरूलाई उनीहरू बन्न पो दिइरहेका छैनौं कि ? जुन अङ्कको अर्थ भने उसको सिङ्गो जीवनको लागि अत्यन्त न्यून छ ।
भनिन्छ, चिल भन्ने चरा झरी पर्दा आफू ओत लाग्न झरी पर्दै गरेको बादलभन्दा माथि जान्छ । किनकी उसलाई थाहा छ, उसको स्वभाव जो बादलसँगै सङ्घर्ष गरी अघि बढ्न सक्छ । यसरी नै हामीले हाम्रा नानीहरूको स्वभाव अध्ययन गरी उनीहरूको उडान कहिले भरिदिने ? हामीले उनीहरूलाई कहिले पढ्ने ? कहिले अध्ययन गर्ने ? उनीहरूसँग भएको क्षमता कहिले तिखारिदिने ? हामीले उनीहरूलाई बुझ्न कहिले समय निकाल्ने ?
हाम्रो शिक्षाको परिकल्पनामा अब कति जना डाक्टर मात्र निकाल्यौं भन्ने होइन, कति जना सन्दुक रुइत जस्ता बनायौं भन्नेमा हुनुपर्छ । कति जना वैज्ञानिक मात्र निकाल्यौं होइन, कति जना महावीर पुन जस्ता बनायौं भन्नेमा हुनुपर्छ । अब हाम्रा नानीहरू हाम्रो केन्द्रमा हुनुपर्छ । बच्चा के बन्ने उसको रोजाइले हुनुपर्छ, वस् हामीले उनीहरूलाई वातावरण दिनुपर्छ । उनीहरू उनीहरूका रोजाइका मालिक हुन् । किनकी जीवन उनीहरूको हो, हामी मात्र सहयोगी बनौं ।
(लेखकः स्किल क्याम्पस इटहरीका प्रबन्ध निर्देशक हुन् ।)