वराहक्षेत्र–१ का वडाध्यक्ष सुरेश श्रेष्ठले मुख मिठ्याउँदै भने, ‘ओहो १ कुलुङ वाचिपा त भयङ्कर मीठो हुँदो रहेछ ।’ पर्वते भाषामा ‘तीते’ भनिने ‘वाचिपा’ कुखुराको ‘भुत्ला’ डढाएर त्यसमा चामल, मासुलगायत मिसाएर बनाइने राईको जातीय परिकार हो ।
वडाध्यक्ष श्रेष्ठले ‘कुलुङ वाचिपा’ साथमा ‘स्ट्रबेरीको तीनपाने’ चिरिप्प पार्दै भने, ‘ल हेर्नुहोस् त कतै जानुपर्छ ?, भेडेटार यहीँ छ, कस्तो खाने ? परिकार यहीँ छ, सबै लोकल सबै अग्र्यानिक ।’ वडाध्यक्षले ‘अग्र्यानिक उद्घाटन’ गरेपछि वराहक्षेत्र–१ धापा सूर्यकुण्ड पुगेको पाहुनाको टोलीले पनि तात्तातो ‘कुलुङ वाचिपा’ र स्ट्रबेरीको तीनपाने लिए । तीनपाने नचल्नेले स्ट्रबेरीको जुस मगाए |
मगमग बास्ना आउँदै गरेको अकबरे खोर्सानी टिपेर ‘क¥याप्प’ पार्दै वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको प्राकृतिक, सांस्कृतिक विविधताका बारेमा उपस्थितलाई जानकारी गराउन थाले । वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, युवा व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी सरोकारवालाका टोली केही समयअघि त्यहाँ पुगेको थियो ।
मौसम परिवर्तन भइरहने शान्त, हरियाली र सुन्दर प्रकृतिको आनन्द लिँदै शुद्ध जैविक परिकारको स्वाद लिन चाहनेहरू एक पटक त्यहाँ पुगेकै हुन्छन् । प्रकृति र परिकारको स्वादिलो सम्मीश्रण बनेको छ सूर्यकुण्ड । स्थानीय अर्जुनबहादुर राईले ६ जना साथीहरूसँग मिलेर सूर्यकुण्ड सामुदायिक घरबास ( होम–स्टे) सञ्चालनमा ल्याएका छन् ।
त्यहाँको चियाबारी र धापा टोलमा ६ वटा होम–स्टे सञ्चालनमा छन् । वराहक्षेत्र नगरपालिकामा दर्ता भएर गत चैतबाट घरबास सुरु गरिएको सञ्चालक राईले बताए । ‘कुलुङ गाउँ’ को नामले चिनिने सो ठाउँ राई जातिभित्रको कुलुङ थरको बाहुल्यता रहेको क्षेत्र हो ।
यो क्षेत्र र यहाँ बसोबास गर्ने जाति आफैमा बहुआयामिक सांस्कृतिक विविधतायुक्त छ । ‘धापा सूर्यकुण्डमा पाइने वाचिपा सायदै कमै मात्रले चाखेको हुनुपर्छ’ होम–स्टेका सञ्चालक राई भन्छन्, ‘एक पटक यसको स्वाद चाखेपछि, अर्को पटक नआई र नखाई चित्तै बुझ्दैन ।’
होम–स्टेको आनन्द लिन धरान, इटहरी, झुम्का, विराटनगर, इनरुवालगायतका ठाउँबाट मानिसहरू सूर्यकुण्ड पुग्ने गरेका छन् । ‘यहाँ आउने पाहुनालाई सुरुमै वाचिपाले स्वागत गर्छौं, ‘कुलुङ वाचिपा’ अन्य राई जातिकै वाचिपाभन्दा फरक किसिमको हुन्छ’ होम–स्टे सञ्चालक राई भन्छन्, ‘वाचिपा कुखुराको पखेटा, जाँते, कलेजो, टाउको र आन्द्रा मिसाएर चामलसँग बनाइने परिकार हो ।’
कुलुङ जातिको सांस्कृति विविधता झल्काउनेदेखि यहाँको परम्परालाई होम–स्टेमार्फत् देखाउन सकिने ठाउँ रहेको होम–स्टे सञ्चालक राई बताउँछन् । उनी भन्छन्, ‘हामीसँग पर्याप्त लगानी छैन, पूर्वाधार निर्माणका लागि पनि लगानीको आवश्यकता पर्छ ।’
कुलुङ गाउँमा सञ्चालित होम–स्टे र त्यहाँका परिकार र उत्पादनलाई आन्तरिक तथा वाह्य पर्यटक माझ विस्तार गर्न होम–स्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा वडाध्यक्ष सुरेश श्रेष्ठले जोड दिए । उनको टोलीले चियाबारी धापास्थित स्ट्रबेरी खेती र अन्य कृषिउपज, बृहत् टनेल खेतीलगायत चियाबारी एग्रो टुरिजम एण्ड रिसर्च सेण्टरको फ्रुट्स एण्ड भेजिटेबल पार्कको स्थलगत अवलोकन गरेका थियो ।
पार्कमा लगाइएको खेती देखेर श्रेष्ठ दङ्ग परे । होम–स्टेसँगै कृषि पर्यटनको समेत अपार सम्भावना भएको भन्दै कुलुङ गाउँको होम–स्टे प्रवद्र्धनका लागि वडाध्यक्ष आफै लागिपरेको बताए । वडाध्यक्षले कृषकसँग उनीहरूको समस्या, भू–बनोट, लिफ्टिङ र अन्य चुनौती तथा सम्भावनाका विषयमा जानकारी लिए ।
वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षमा होम–स्टेको प्रचार–प्रसार र प्रवद्र्धनका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरका प्रेस संयोजक नवराज विष्टले जानकारी दिए ।
यहाँको लोकल कुखुरा, कुलुङ वाचिपा, स्ट्रबेरीको जुस, कोदोको तोङ्बाको स्वाद एक पटक चाखेका मान्छे जो कोही पारखी पनि मौका पाउने बित्तिकै सहर बजारको कोलाहल छाडेर उकालो चढिहाल्छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय पत्रकार, चलचित्र निर्देशक भीषण राईले पाहुनामाझ चियाबारी धापालाई परिचय गराइहाल्ने बताए ।
उनको सम्पर्कमा आएका पत्रकार, चलचित्रकर्मीहरूलाई एकपटक चियाबारी धापाको कुलुङ वाचिपा र स्ट्रबेरीको तीनपाने नचखाई बिदाइ गर्दैनन् । त्यसो त उनले विभिन्न फोटो, भिडियो र पत्रकारितामार्फत् यहाँका विषयलाई बारम्बार उजागर गर्दै आइरहेका पनि छन् ।
उनले ‘होम–स्टे सञ्चालन र प्रवद्र्धन’ का लागि स्थानीय सरकारले सञ्चालकलाई विशिष्ट तालिम दिने व्यवस्था मिलाउनुपर्ने कुरा राख्दै आएका छन् । चालु आर्थिक वर्षमा तालिम शीर्षकमा बजेट नछुट्टिए पनि आगामी वर्ष नगरले यसमा ध्यान दिनुपर्ने पत्रकार राईको भनाइ छ ।
‘धापा जातीय, सांस्कृतिक, पर्यावरणीय दृष्टिले पनि मनमोहक छ, यो सम्भावनाको विशाल क्षेत्र हो’ पत्रकार राई भन्छन्, ‘स्थानीय सरकार र सरोकारवालासँग बृहत् भिजनको आवश्यक्ता छ, व्यवसायीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्छ, पूर्वाधार निर्माणका लागि लगानी गरिदिनु पर्छ ।’ ‘वराहक्षेत्रको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महŒवपूर्ण रहेको छ । घरबास सञ्चालन गरिनुमा आन्तरिक पर्यटनलाई बढावा दिनु हो ।
तर, हाम्रो प्रमुख उद्देश्य भनेको पर्यटनलाई त्यस क्षेत्रको जनताको स्थानीय संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनसँग जोड्नु, त्यसको प्रचार–प्रसार गर्नु हो’ वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनाल भन्छन्, ‘स्थानीय हर्दी, अदुवालगायतका कृषिउपजलाई बजारमा पहुँच बढाएर स्थानीय जनताको आर्थिक उन्नतिको लागि सूर्यकुण्डमा होम–स्टेको अवधारणा ल्याइएको हो ।’
पर्यटनको प्रचुर सम्भावना भएको सूर्यकुण्डलगायत स्थानमा विकास गर्ने नीति नगरले अगाडि बढाएको वराहक्षेत्र नपाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल बताउँछन् । होम–स्टेलाई पहिलो सुरुवातका रूपमा विकास गरिएको उनको भनाइ छ ।
कोशीटप्पुमा पनि घरबास सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेल बताउँछन् । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने साथै भारतीय पर्यटकको लागि प्याकेजमा कार्यक्रमहरू ल्याइने नगरको योजना रहेको पोखरेलको भनाइ छ ।
मोरङ जिल्लाको विराटनगरस्थित जोगबनी नाका र झापाको काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गालको सिलिगुडी सीमाबाट नेपाल प्रवेश गर्ने विदेशी र देशका अन्य स्थानबाट वराहक्षेत्र भित्रिने आन्तरिक र वाह्य दुवै पर्यटकलाई बसाइ अवधि बढाउन कोशी नदीमा बिच सफारी र जलक्रिडालगायत साहसिक खेलको सुरुवात गर्ने नगरको नीति छ ।
कोभिडको कारणले पर्यटक लक्षित योजना तथा कार्यक्रमलाई मूर्तरूप दिन केही ढिलाइ भएको छ । लकडाउन खुलेपछि यसलाई अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत पोखरेल बताउँछन् । साप्ताहिक छुट्टीको दिन शनिबार धरान चतराका हुलका हुल विद्यार्थी र पारखी घुम्नका लागि सूर्यकुण्ड पुग्ने गरेका छन् । मौसम र प्राकृतिक विविधताले गर्दा पनि धरान र चतरादेखि छोटो दूरीमा रहेको यो क्षेत्र आकर्षणको केन्द्र बन्दै आएको छ ।