• कमल पोख्रेल

विष्णु मा.वि. सोनापुरमा दुसन्त देव यादव कृषि शिक्षक थिए । उनले डेढ बिगाहा जग्गामा आँप, लिच्ची, कटहरको बगैंचा र २ बिगाहा जग्गामा धानखेती, स्कुलको करेसाबारीमा तरकारी खेती विद्यार्थीहरुबाटै गराएका थिए । स्कुलको कम्पाउण्डभित्र सानो माछापोखरी पनि थियो । स्कुल जिल्लास्तरीय खेलकुदमा प्रथम, एस.एल.सी. परीक्षाको नतिजामा प्रथम भएर शिक्षा कार्यालयबाट ५ हजार नगद पुरस्कार र प्रमाण–पत्र पाएका थिए ।

शारदा मा.वि. खनारमा भारतीय दूतावासबाट भवन निर्माण भएको थियो । राजदूत आफै भवनको समुद्घाटन गर्न आएका थिए । त्यसैबेला सोनापुरको स्कुल कमिटीले पनि ‘हाम्रो स्कुल पनि निरीक्षण गरिदिनुहोस्’ भनेर राजदूतलाई अनुरोध गर्दछन् ।

राजदूतले ‘म विराटनगर एयरपोर्ट जाँदा तपाईंहरुलाई आधा घण्टा समय दिन्छु’ भने । सबै कमिटीका सदस्य, प्र.अ., शिक्षक, विद्यार्थीहरु, लामबद्ध भएर फूलमालासहित बसेका थिए । राजदूत आएर सबै निरीक्षण गरे । विद्यार्थीको काम देखेर छक्क परे । सबैलाई राम्रो गरेकोमा धन्यवाद दिए । हिँड्ने बेलामा उनले कृषि शिक्षक को हुनुहुन्छ ? भनेर सोधे । प्र.अ.ले दुसन्त देव यादवलाई अगाडि सारे ।

राजदूतले भने, ‘तपाईंले राम्रो काम गर्नुभएको रहेछ, काठमाडौं आएर भारतीय दूतावासमा मलाई भेट्नुहोस्’ भनेर विराटनगरतिर लागे । सबैले दुसन्त देव यादवलाई बधाई दिए । जि.शि.अ.ले ‘भोलि अफिस आउनुहोस् म काजको चिठ्ठी बनाइदिन्छु’ भने ।

दुसन्त देव यादवलाई राजदूत भेट्न निकै समय लाग्यो । भित्र बैठक बसिरहेको थियो । बैठक सकिएपछि राजदूतले भित्र बोलाएर भने ‘तपाईंलाई कृषिमा ँगचतजभच कतगमथ गर्न जयपुर पठाउँदैछु । प्रशासनबाट चिठ्ठी बुझ्नुहोस् । तपाईंलाई बधाई छ । जयपुरमा ४ वर्षे कोर्ष पूरा गरेर नेपाल फर्किए । शिक्षा मन्त्रालयमा हाजिर हुन जाँदा कृषि मन्त्रालयमा पठाइदियो । कृषि मन्त्रालयले तरहरा कृषि फार्ममा बालीविज्ञमा नियुक्त गरेर पठायो । उनी तरहरामा हाजिर भए । उनको क्वार्टर भित्र नै थियो ।

विवाह नगरेकोले उनले एउटा जे.टि.ए.लाई सँगै राखेका थिए । जे.टि.ए.यादव नै थिए । उनी रौतहटकै थिए । दुसन्त देव यादवलाई राम्रो काम गरेकोले हाकिम बाहिर जाँदा उनलाई नै निमित्त दिएर जान्थे ।

यसरी काम गरेको १ वर्ष बित्न लागेको थियो । एकदिन कालिम्पोङ गल्र्स कलेजका छात्राहरु शैक्षिक भ्रमणको क्रममा तरहरा आउँछन् । उनीहरु वसन्तपुर, हिले, धनकुटा हुँदै काँकडभिट्टा हिँडेका थिए । बीच बाटोमा तरहरा कृषि फार्ममा भ्रमण गर्न पसे । कालिम्पोङ पहाडी सहर हो । तर, दार्जिलिङभन्दा कम हाइटमा छ । पाल्पा र कालिम्पोङ उस्तै हुन् ।

शैक्षिक भ्रमण गर्ने क्रममा उनीहरु माछापोखरीमा माछा हेर्न गए । सकुन्तला डिलमा चिप्लिएर पोखरीमा झरिन् । पौडन नजान्ने भएकाले पानी निकै खाइन् । दुसन्त देव यादवले देखेर कुदेर आएर कोट र जुत्ता फुकालेर लुगैसहित पोखरीमा हाम्फाले पौडिएर सकुन्तलालाई बाहिर निकाले । उनी बेहोस् जस्तै भएकी थिइन् ।

तुरून्त इटहरीको हस्पिटलमा लगे । टोलीहरु सबै हस्पिटलमा पुगे । उनीहरु आजै काँकडभिट्टा पुग्नुपर्ने हुन्छ । टोली प्रमुखले समस्या देखाए । डाक्टरले टोली प्रमुखलाई भने ‘बिरामी बेहोस् जस्तै छिन् । पेटमा भरिएको पानी निकाल्नु पर्छ । कम्तिमा ७ दिन एन्टीबायोटिक खानैपर्छ । पोखरीको पानीमा किटाणुहरु हुन्छन् । ती किटाणुहरु पेटमा पुगेका छन् ।’

डाक्टरले यसो भन्दा दुसन्तले भने २ दिनपछि म आफै सकुन्तलालाई घर पु¥याइदिन्छु । तपाईंहरु ढुक्क भएर जानुहोस् ।’ यसो भन्दा सबै हँसिला भए । बिरामीको कोठाबाट बाहिर निस्किए ।

टोली कालिम्पोङ पुग्ने बित्तिकै बाबु–आमाले सबै कुरा थाहा पाए । उनीहरु भोलिपल्टै इटहरी आए । दुसन्तले सकुन्तलासहित बाबुआमालाई तरहरा कृषि फार्मस्थित आफ्नो क्वार्टरमा ल्याए । उनले इमेलबाट भारतीय दूतावाससँग गाडीको पास मागे । दूतावासले स्वीकृति दियो । पर्सिपल्ट उनीहरु सबै कालिम्पोङ बङ्गबस्तीतिर लागे । बेलुकीपख घर पुगे ।

दुसन्तलाई फर्कने समय थिएन । उनी त्यहीँ बास बसे । भोलिपल्ट बिहान नास्ता गरेर काँकडभिट्टातिर लागे । हिँड्ने बेलामा सकुन्तलाले दुसन्तको हात समातेर ‘अब कहिले आउनुहुन्छ ?’ भनेर सोधिन् । दुसन्तले भने ‘तिमी जहिले बलाउँछौ, म त्यति बेलै हाजिर हुन्छु’ भनेर मुसुमुसु हाँस्दै  हिँडे ।

सकुन्तलाले बारीमा फलेको सुन्तला भएको झोला गाडीमा हालिदिइन् । एकमहिना पछि दुसन्त एक हप्ताको छुट्टी लिएर कालिम्पोङ गए । सकुन्तलाको थर गुरूङ थियो । उनीहरु सबै परिवार नै प्रणामी धर्मावलम्बी हुन्छन् ।

कालिम्पोङ, दार्जिलिङ, सिक्किमतिर मगुराली जातिहरु प्रणामी धर्म लिएका प्रशस्त पाइन्छन् । उनीहरुको घरमा माछा, मासु, अण्डा केही पनि चल्दैन । उनीहरु सबै शाकाहारी हुन्छन् । सकुन्तलाले दुसन्तको मन जितिसकेकी हुन्छिन् । उनका मामा दार्जिलिङ रेल्वे स्टेशनमा काम गर्दछन् । उनका छोराछोरी हुँदैनन् ।

उनको क्वार्टर स्टेशनभन्दा माथि डाँडामा हुन्छ । उनलाई भाञ्जीको विवाह गरिदिने ठूलो इच्छा हुन्छ । दुसन्तले रौतहटबाट आफ्ना बाबुआमा, भाइ, बैनी झिकाए । उनीहरु सबै मिनीबस रिजर्व गरेर दार्जिलिङ आए ।

मामा ओमप्रकाश गुरूङले धीरधाम मन्दिरमा बस्ने व्यवस्था मिलाएका थिए । दुवै तर्फको रीतिरिवाजबाट विवाह हुन्छ । दुसन्त श्रीमती र सबै परिवारसहित रौटहट जान्छन् । उनको बिदा सकिन लागेको हुन्छ । गाउँलेलाई भोजभतेर गरेर तरहरा फर्किन्छन् । भोजभतेर शाकाहारी हुन्छ ।

दुसन्त देव र सकुन्तलाको विवाह भएको २ वर्ष पुग्न लाग्यो । उनीहरु दुवै पढेलेखेका भएकाले डाक्टरी सल्लाहअनुसार हिँडेका थिए । बेला–बेलामा उनीहरु सिँधुवा, वसन्तपुर, हिले, पाख्रीबास घुम्न जान्थे ।

जीवन आनन्दमय बितेको थियो । परिवार नियोजनका औषधिहरु बढी प्रयोग गरेकोले सकुन्तलाको गर्भ बस्न नसकेको डाक्टरी जाँचबाट पत्ता लागेकोले उनले औषधि खान छोडिन् । तर, पनि गर्भ बसेन । उनी निराश थिइन् । श्रीमान्ले सन्तानका लागि अर्को विवाह गरोस् भन्ने उनको इच्छा थियो । तर, दुसन्त उनको सल्लाहमा थिएनन् ।

सकुन्तलाले हदै प्रेसर दिन थालिन् । दुसन्त दिक्दार थिए । उनी श्रीमतीलाई सम्झाउँछन् । तर, मान्दिनन् । दुसन्तले सन्तान नभएका धेरै मानिसको उदाहरण दिए । तर, सकुन्तलाले भने रौतहटमै एक यादव थर भएकी केटी आफै गएर हेर्दछिन् । त्यसमा सासू, ससुराको पनि सल्लाह हुन्छ । यस्तो घटना घरमा घट्न थाले पछि दुसन्तदेव यादवका दिमाग चक्कराउन थाल्यो ।

उनी साह्रै चिन्तित हुन्छन् । उनी कुनै हालतमा सकुन्तलालाई सौता हाल्ने पक्षमा हुँदैनन् । ‘दुई जोईको पोइ कुना पसी रोई’ भन्ने उखान सुनेका हुन्छन् । उनी सकुन्तलालाई हदै माया गर्थे । उनले भाइको छोरो धर्मपुत्र बनाउने पनि प्रस्ताव राख्दछन् । भाइका दुई छोराहरु थिए ।

दुसन्त देव यादव रौटहटको जिल्ला अस्पतालको क्याविन बेडमा हुन्छन् । श्रीमतीलाई घरमा फोन जान्छ । उनी अताल्लिएर पुग्दछिन् । दुसन्त बेडमा सुतिरहेका हुन्छन् । के भो हजुरलाई ? भनेर धेरै पटक सोध्छिन् । उनी बोल्दैनन् । त्यति नै बेला डाक्टर आइपुग्दछन् । घर परिवार सबै जम्मा हुन्छन् । सकुन्तलाले आफ्नो श्रीमान्लाई धेरै पटक एउटै कुरा सोधेको बुझेर डाक्टरले भन्दछन्, ‘वहाँले भ्यासेक्टोमी अपरेसन गर्नुभयो ।’ । डाक्टरको कुरा सुनेपछि सकुन्तला दुसन्तलाई अँगालो मारेर रुन थालिन् ।

डाक्टर र दुसन्तदेव यादवको बीचमा गहिरो समझदारी हुन्छ । डाक्टर रामकृष्ण यादव उनका बाल्यावस्थाका साथी थिए ।  त्यसैबेला सकुन्तलाको स्वास्थ्य परीक्षण रिपोर्ट पनि आउँछ । रिपोर्टमा पाठेघरको सफाइ र एक महिना औषधि खाएपछि गर्भ बस्न पनि सक्छ भन्ने लेखिएको थियो ।