वराहक्षेत्रको पर्यटकीय स्थल सूर्यकुण्ड जति रमाइलो र मनमोहक छ, त्यहाँसम्म पुग्ने बाटोको भने कन्तबिजोग छ । ‘स्वर्ग जाने नर्कको बाटोजस्तो ।’
चतराको मिलन चोक, देवीस्थान हुँदै सूर्यकुण्डसम्म झण्डै १० किलोमिटर कच्ची बाटो मर्मतमा स्थानीय सरकार उदासिन भएपछि बर्खामा सडक हिलाम्मे छ ।
पछिल्लो समय स्ट्रबेरी खेतीका कारण कृषि पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको सूर्यकुण्ड, चियाबारी र धापा क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल हुन थालेको छ ।
निषेधाज्ञाका कारण त्यहाँ पुग्ने पर्यटकहरुको कमि भए पनि केही खुकुलो भएपछि सूर्यकुण्डको रमणीयता, प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
बुधबार धरान, इटहरीलगायतका सञ्चारकर्मीहरुको टोली चतरा, देवीस्थान हुँदै सूर्यकुण्ड पुग्यो । त्यहाँ पुगेका सञ्चारकर्मीले जति सूर्यकुण्डको पर्यावरणीय विविधताका बारे प्रशंशा गरे उत्ति नै त्यहाँ पुग्ने कष्टकर बाटोका आलोचना गरे ।
पत्रकार रणध्वज लोहारले ‘स्वर्गजस्तो गाउँमा पुग्ने नर्कजस्तो बाटो’ रहेको टिप्पणी गरे । धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, सांस्कृतिक विविधता र कृषि पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्न सकिने सम्भाव्यता रहेपनि स्थानीय सरकारले हेर्न नसकेको आलोचना गरे ।
धार्मिक पर्यटकीय क्षेत्र, कृषिमा सम्भावना भएको क्षेत्र भने पनि यहाँको विकास गर्ने क्रममा नीति, कार्यक्रम र बजेट छुट्टिन नसकेको स्थानीय युवा समाजसेवी हेम राईले बताए । विशेषगरी पूर्वाधारको क्षेत्रमा बजेट विनियोजन गरी सहज सडकको पहुँच पुर्याउनु पर्ने राई बताउँछन् ।
‘सबैभन्दा बढी बर्खामा बिजोग छ, कति ठाउँमा दुःख पाउनु भयो, मोटरसाइकलबाट आउँदा थाहा पाइहाल्नु भयो नि हैन ?,’ सञ्चारकर्मीलाई प्रश्न गर्दै राईले भने, ‘सडक पूर्वाधारमा लगानी गर्न सके पर्यटनको विकास भएर जाने न हो ।’
‘एग्रो टुरिजमको अवधारणा’
सूर्यकुण्ड क्षेत्रमा परम्परागत कृषि बालीसँगै आधुनिक खेतीको विकास भएर गइरहेको छ । स्थानीय युवाले ‘एग्रो टुरिजम’ को अवधारणामा काम थालेका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका चार युवाले चियाबारी एग्रोटुरिजम एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेका छन् । व्यावसायिक उद्देश्यका साथ सुरु गरिएको सेन्टरले ‘भेजिटेबल एण्ड फ्रुट्स पार्क’ र ‘बर्ड्स एण्ड एनिमल भिलेज’ क्षेत्र निर्माण गरेका छन् ।
‘यो क्षेत्र धार्मिक, ऐतिहासिक र पुरातात्विक क्षेत्र पनि हो, यहाँ विभिन्न किम्वदन्तीहरु पनि छन्, तर अहिले हाम्रो जोड चाहिं कृषि पर्यटकीय क्षेत्र बनाउने हो,’ सञ्चालक अर्जुन कुलुङले भने, ‘यहाँको प्राकृतिक विविधता, सांस्कृतिक रहनसहनलाई पनि प्रवद्र्धन गर्दै मुख्य रुपमा आधुनिक कृषि, पशुपन्छीपालन र नेपालमा नयाँ भनिएर चिनिएका खेती गर्ने उद्देश्य लिएका छौं ।’
एग्रो टुरिजमसँगै यहाँको कुलुङ गाउँमा सञ्चालित होमस्टे र यहाँ पाइने मौलिक तथा जातीय परिकारले पनि रमाइलो गर्नेहरुलाई आकर्षण गरिरहेको छ । धरानबाट सूर्यकुण्ड घुम्न आएका मजदुर नेता गोविन्द गिरीले पहिलो पटक स्ट्रबेरीको जुस र यहाँको कुलुङ राई जातिको विशेष परिकार ‘वाचिप्पा’ खाएको बताए । सूर्यकुण्डको ब्राण्डका रुपमा यसलाई प्रचारप्रसार गर्न सकिने उनले सुझाव दिए ।
वराहक्षेत्र १ मा पर्ने यो ठाउँको होमस्टे विकासका लागि नगर सरकारले सहयोग गरेको चियाबारी एग्रोटुरिजम एण्ड रिसर्च सेन्टर प्रालिका दीपक कुलुङले बताए । कृषिका लागि प्रदेश सरकारबाट समेत अनुदान लिएको कुलुङको भनाइ छ ।
‘आन्तरिक पर्यटक आउन रहर गर्छन् तर मन मार्छन्, फोन सम्पर्क गरेर बाटो कस्तो छ भन्छन्, सडकको दुर्दशा बताएपछि बाटा राम्रो भएपछि आउँला भन्छन्,’ कुलुङले भने, ‘सम्बन्धित निकायले स्तरोन्नतिसम्म गरिदिएका छैनन्, नयाँ बनाउने त कुरै छाडौं ।’
वराहक्षेत्र नगरपालिकाले आठौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ‘सूर्यकुण्डलाई पर्यटन क्षेत्र बनाउने’ शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
तस्बिरहरूः ब्लाष्ट / प्रदीप चाैधरी