- भूमि साम्पाङ
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई अस्वभाविक ढङ्गले किनारा लगाएर मनमोहन अधिकारीको उदयपछि नै नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको बिउ रोपिएसँगै तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर हुँदै केशरजङ रायमाझीसम्म आइपुग्दा आन्दोलनले उल्टो बाटो समातिसकेको थियो ।
उल्टो बाटो यस अर्थमा कि सामन्तवादलाई समूल नष्ट गरेर नयाँ जनवाद हुँदै समाजवादतिर अघि बढ्ने उद्देश्यका साथ स्थापना भएको नेकपालाई सामन्ती राजतन्त्रको पक्षपोषक बनाइयो । यही पट्यारलाग्दो अवस्थालाई चिर्दै २०२८ सालमा झापा विद्रोह हुनपुग्यो । तथापि त्यो केवल भावावेशमा उत्पन्न भएको तर, परिपक्व विचार र कार्यदिशाका आधारमा योजनाबद्ध तयारीका साथ नभएको हुनाले सही क्रान्तिकारी दिशा अवलम्बन गर्न नसकी अत्यन्त छोटो समयमा उही दक्षिणपन्थी दलदलमा नै जाकिन पुग्यो । उता किनारामा परेको पुष्पलालको धार मोहनविक्रम सिंह र निर्मल लामाहरूको पहलमा मूलधारमा खडा हुँदै थियो । यही नेपाली कम्युनिष्ट आन्दोलनमा धु्रवीकरणको त्यो तुफानी क्षणमा पुष्पकमल दाहाल (प्रचण्ड) सँगै रामबहादुर थापा (बादल)को पनि नेपाली राजनीतिमा प्रवेश भयो । प्रचण्डका सहपाठीसमेत रहेका बादल एकीकृत चौथो महाधिवेशन, मसालहुँदै नेकपा मशालको नेतृत्वमा पुगे । प्रचण्डको नेतृत्वमा वाइसिएलका नेता बनेका बादल सैन्यविज्ञानमा औपचारिक अध्ययनका लागि तात्कालीन सोभियत सङ्घ पुगेका थिए । तर, यता मोहन वैद्य (किरण) को सदासयताबाट पार्टी नेतृत्वमा पुगेका प्रचण्डकै सल्लाह र पार्टीको निर्देशनमा अध्ययनलाई अधुरै छाडेर बादल नेपाल फर्किएर आन्दोलनमा प्रत्यक्ष सरिक हुँदै जनयुद्धको तयारीमा लागे । नेपालमा माओवादका प्रणेता नेकपा मशालका प्रथम महासचिव भक्तबहादुर श्रेष्ठका अनुयायीहरू क्रमशः मोहन वैद्य (किरण), प्रचण्ड र बादल यस विचारमा दृढतापूर्वक उभिए भने पछि डा.बाबुराम भट्टराईहरू थपिए । एक समय थियो प्रचण्ड, बाबुराम र बादल क्रमशः माओ, चाओ र चुतेहका रूपमा चित्रित थिए । अझ प्रचण्डलाई स्टालिन र बादललाई चेग्वेभेरासँग दाँजिन्थ्यो ।
मशाल, चौम, मसाल (मोहनविक्रम बाट अलग भएर शितलकुमारको नेतृत्वमा बाबुरामसहित) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर बनेको नेकपा एकता केन्द्रमा घनिभूत अन्तरसङ्घर्षको दौरानमा निर्मल लामा, नारायणकाजी र रूपलाल विश्वकर्माहरू जनयुद्धको कार्यदिशामा असहमत भएपछि उनीहरूमाथि कारबाहीको तयारी भयो । तर, यसमा प्रचण्डले जिब्रो चपाउन थालेपछि बादलले स्पष्ट भाषामा ‘पार्टी र क्रान्तिका हितका लागि तपाईंहरूलाई हटाउन खोजिएकै हो’ भनेपछि एकता केन्द्र विभाजित भएको थियो । त्यही पनि नारायणकाजीहरूले उहाँलाई केही भनेको सुनिएन जबकि बाबुरामलाई ‘राजनीतिमा लागेर एउटा राम्रो जनशक्ति खेर गयो’ भन्ने गर्दथे । भनिन्छ, सधैं पार्टीमा यस्तै कठोर निर्णय लिनुपर्दा बादलको मुख ताकिन्थ्यो । यही स्पष्टता र दृढताका कारण बादल पार्टीभित्र अत्यन्त लोकप्रिय बने ।
यसरी विभाजित एउटा पक्ष माओवादी बनेर जनयुद्धको घनिभूत तयारीमा लाग्यो । जनयुद्ध तयारीको क्रममा बादलका सैन्य योजनाका बारेमा प्रकाशित विचार सबैका लागि आधारशिला हुन्थे । त्यसैले उनलाई सैन्य कमाण्डरका रूपमा बाहिर चित्रण गरिन्थ्यो । तर, उनले युद्धमा कहिल्यै सैन्य कमाण्ड गरेनन्, सधैँ राजनीतिक कमाण्डमै रहे । त्यही पनि हामी जातीय चेत भएका क्याडरहरूसमेत ‘हाम्रै मान्छेको हातमा बन्दुकको ट्रिगर छ फेरि ७ सालमा झैँ रामप्रसाद राई हुनुपर्दैन’ भनेर विश्वस्त हुन्थ्यौं ।
जनयुद्धको आधार भनेको सिज (रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडको नामबाट) अभियान थियो । यसअन्तर्गत चार अभियान चलाइएका थिए । पहिलो– जनपरिचालन, त्यसमा जनसेवा र श्रम पर्दथ्यो । दोस्रो– सांस्कृतिक अभियान र प्रशिक्षण, तेस्रो– जनसभा र चौथो या अन्तिम चाहिँ सेभरटेज र जनकारबाही । यी सबै बादलकै सोच र योजनामा चलाइएका थिए । यसैबाट बादलको प्रसिद्धी पनि अझ चुलियो । यो अभियानकै क्रममा कुख्यात मानिएका रुकुमका गणेश शाहमाथि जनकारबाही भएको थियो र सयौं माओवादी क्याडर जनयुद्ध सुरु हुनुअघि नै भूमिगत हुनुपरेको थियो । यसैकारण पनि चाँडो जनयुद्धको थालनी गर्नुपर्ने दबाव नेतृत्वमाथि परिसकेको थियो ।
पार्टीको मुख्यक्षेत्र पश्चिम कमाण्ड अझ रोल्पा–रुकुम नै थियो । त्यसमा बादलको प्रत्यक्ष कमाण्ड रहेको थियो । जस्तोसुकै दमनको घडीमा पनि उनको नेतृत्व अविचलित रह्यो । यसैले क्याडर र आम जनतामा ‘बादलको साथ हुँदा कसैको पनि डर हुँदैन’ भन्ने मिथक नै बनेको थियो । जनयुद्धको सुरुवातमै त्यस पश्चिम कमाण्डले अतुलनीय उचाइ हासिल ग¥यो । यसको आधार नै सिजअभियान थियो, जसको श्रेय त्यसका कमाण्डर बादललाई जाने नै भयो । ‘सिजसलाम र सिज विचारधारा’ स्वतःस्फूर्त स्थापित हुँदै थियो । यसै क्रममा अर्का उदीयमान कमाण्डर विप्लवले भनेका थिए रे ‘पार्टीमा भोटिङ हुने हो भने बादल महामन्त्री हुन्छन् ।’ त्यो बेला अध्यक्षको व्यवस्था थिएन, प्रचण्ड महामन्त्री थिए । विप्लवले भनेका कुरा मैले भोजपुरका कमाण्डर राजनविक्रमबाट सुनेको थिएँ । त्यही कुरा मैले एकपटक टेम्के–मैयूँको यात्राको क्रममा पूर्वी कमाण्डका नेता अग्नि सापकोटालाई सुनाएँ । यो सुन्नासाथ उनको अनुहार सडिएर आयो र भन्न थाले, ‘यो नेत्रले कसरी यस्तो भन्नसक्यो ? यो हुनैसक्तैन, यो गम्भीर विषय भयो’ आदि आदि । नेताको यस्तो आकासै खस्लाजस्तो गरी आएको प्रतिक्रिया देखेर म अर्को आश्चर्यमा परेँ ।
यसै सेरोफेरोमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गरिए । संयोगवश भनौं या नियतवश हामी धेरैलाई त्यसमा सहभागी हुने अवसर प्राप्त भएन । त्यस सम्मेलनमा ‘अब कोठामा बसेर पार्टी र युद्धको नेतृत्व हुन सक्तैन, जो फिल्डमा नेतृत्व गर्छ, उही नेता हुन्छ । (त्यतिखेर प्रचण्ड, बाबुराम, वैद्य तथा सीपी गजुरेलहरू भारतमा बस्थे र विशेष अवसरमा मात्र सवारी हुन्थ्यो) पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद, सिजविचारधारा हुनुपर्छ’ भनेर पश्चिम कमाण्डबाटै आवाज उठाइएछ । यो सम्मेलनपछि हतास मनोस्थितिमा केन्द्रीय कमिटीको बैठक राखी कठोर निर्णय लिइएछ । यी सबै बादलले नै गराएका हुन् भनेर क्याडरहरूबाट अलग गर्न फिल्डबाट निकालेर उहाँलाई अर्घाखाँची पठाइएछ र भनिएछ– ‘माथिल्लो तहको नेतृत्व घनिभूत क्षेत्रमा बस्नु हुँदैन, मारिन सक्छ नेतृत्व बच्नुपर्छ, किनभने कार्यकर्ताको चाँडै पूर्ति गर्न सकिन्छ तर, नेतृत्वको पूर्ति कठिन हुन्छ ।’ यो कस्तो सोच हो ? क्याडर मर्न हुने नेता मर्न नहुने । सबैले बुझ्नुपर्ने विषय थियो ।
यसपछि फेरि अर्को केन्द्रीय बैठकपछि यसैको सर्कुलर लिएर पूर्वी उपक्षेत्रीय कमाण्ड इञ्चार्ज कमरेड कमल (कुमार पौडेल) आइपुगे । उनी गौरवका साथ प्रस्तुत हुँदै भने कि ‘हामी पार्टीभित्र ठूलो विजय हासिल गरेर आएका छौं । पार्टीका उच्च तहका नेतालाई कारबाही गर्न सफल भएका छौं, उहाँ हुनुहुन्छ, बादल ।’ हामीले सोध्यौं– कारबाही गर्नुपर्ने कारण के हो ? नेताले भने– ‘वहाँले यौनअनुशासन भङ्ग गर्नुभो, केन्द्रीय नेतृ कमरेड हिमानीसँग यौनसम्बन्ध रहेछ । कमरेड प्रचण्डको नेतृत्व हत्याउने षड्यन्त्र पनि गर्नुभयो हिमानीसँग मिलेर । यो कुरा हिमानीले लेखेको प्रेमपत्रमा खुल्यो जुन प्रचण्डले बादलकी श्रीमतीमार्फत् प्राप्त गर्नुभयो । यसकारण बादल लिनपियायोवादी (चीनमा माओमाथि षड्यन्त्र गरी नेतृत्व लिन चाहेका भनिएका लिनपियायो जसलाई पछि हवाई दुर्घटनामा मृत्यु भयो भनिएको थियो) ठहरिए । उनलाई सूट गर्ने प्रस्ताव आएको थियो तर, त्यसलाई क. महामन्त्रीले रोक्नुभयो आदि आदि । यही कारण होला मैले भारत कानपुरको एउटा मिटिङमा कमरेड बादललाई अफसेट भएर चुरोट तानेरमात्रै बसेको देखेको थिएँ ।
कारबाही भएको अर्को सुइँको मैले अलिक अघि नै पाएको थिएँ, उपक्षेत्रीय तहका एकजना कमरेडबाट, त्यसैले म तयारीमै थिएँ । मैले भने यौन अपराधको बारेमा पुष्टि हुन्छ भने सूट गर्दा पनि हुन्छ तर, यो कसरी आयो एकैचोटी यौनअनुशासन र नेतृत्व हत्याउने कुरा ? यो मेरो प्रश्नमा कमरेडले भने, ‘कमरेड हिमानीको पत्रमा तपाईंको अगाडि प्रचण्ड केही होइन, तपाईं महान् हुनुहुन्छ अब तपाईं महामन्त्री हुनुपर्छ बाबुरामलाई म मनाउँछु आदि’ भनिएको रहेछ । पहिले सम्मेलनमा पनि उनैले क्याडरहरूलाई उचालेको हो । यसै तर्कलाई मान्ने हो भने पनि यौनअनुशानको कुरा कहाँबाट आयो ? त्यो हिमानीको पत्रमा यौन र प्रेमका कुरा त देखिँदैन । अनि नेतृत्व हत्याउने कुरा हो भने त्यो त कमरेड हिमानीको कुरा हो । बादल किन दोषी ? उनले भने, ‘मिलेमतोमा भएको हो ।’ तर, तथ्यले त त्यो पुष्टि गर्दैन । मैले अडान लिएँ । सम्मेलनको विषयमा पनि त्यो क्याडरको कुरा हो । त्यो योजना उहाँकै हो भने पनि (यद्यपि यो पुष्टि हुँदैन) विचार र योगदानका आधारमा नेतृत्व लिन किन नपाउने ? के नतृत्व कसैको ठेक्का हो ? आफ्नै भूमि र आन्दोलनभित्रैबाट नयाँ विचारको जन्म हुन्छ र त्यही विचारको आधारमा नेतृत्वको विकास हुन्छ भने त्यसमा आपत्ति हैन, गौरव पो गर्नुपर्छ । लिनपियायोवादी कोही हैन । बादलको लोकप्रियता र कार्यकर्ताको साथ देखेर प्रचण्डको कुर्सी आफै डग्मगाएको हो । त्यसैले एउटा हतियारले मात्र काम गर्दैन भनेर यौनअनुशासन र कुर्सी ताकेको आरोप दुवै अस्त्र प्रयोग गरिएको हो । फसाउनकै लागि उहाँलाई अर्घाखाँची पु¥याइएको हुनुपर्छ जुन क. हिमानीको कार्यक्षेत्र थियो । यसो भनेर मैले कडा प्रतिवाद गरेँ । मैले भनेँ, ‘तथ्य र तर्कसङ्गत नभएका कुनै कुरा मान्न सकिँदैन । यसपछि क. बादल कहाँ हुनुुहुन्छ भन्ने प्रश्नमा ‘अज्ञात ठाउँमा श्रमशिविरमा हुनुहुन्छ’ भन्ने जवाफ दिइयो । वहाँलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरी कारबाही गरिएको थियो र कारबाही भोगिसकेपछि पनि साधारण सदस्य भएर आउनुपर्ने प्रावधान खडा गरिएको थियो । यी दुवै युक्तिसङ्गत थिएनन्, यो कुनै पार्टी पद्दतिभित्र पर्दैनथ्यो । केवल वहाँलाई कहिल्यै उठ्न नदिने गरी चालिएको चाल थियो ।
यसपछि मैले काठमाडौंमा सुरेश आलेसँग सम्पर्क गर्दा उहाँ र मेरो पछाडि ‘सिआइडी’ खटाइएको खुल्न आयो । बादलमाथि ‘किल’ गर्ने प्रस्ताव र उहाँको अवस्था अज्ञात रहेको र त्यतिखेर चर्चित ‘आलोक प्रवृत्ति’ को जगजगी, भर्खरै रमेश ढुङ्गेललाई झुण्ड्याइएको पृष्ठभूमिमा हामी बादलको पक्षमा उभिनेहरूले सोच्नैपर्ने अवस्था थियो । भोजपुरका राजनविक्रममाथि कारबाही थालिसकिएको थियो । त्यसैले मैले पार्टीको सम्पर्क टुटाएँ । तुरुन्त दिल्लीमा मिटिङ बोलाइएको थियो तर, सहभागी भइनँ । मुलुकको सबै क्षेत्रका क्याडरहरूबाट बादलको अवस्थाबारे आवाज उठ्न थाल्यो । ‘बादल कहाँ हुनुहुन्छ ? विद्रोह गर्नोस्, तपाईंको पछाडि हामी छौं’ भनेर आह्वान हुनथाले । यही हामीले सुरु गरेको प्रतिवाद र सम्भावित विद्रोहबाट डराएर नेतृत्व पछि हट्न बाध्य भयो । लगभग ६ महिनापछि ‘नेतृत्वले हजारपल्ट मारेपनि फेरि जन्मिरहने’ भन्ने भर्सनका साथ बादललाई सार्वजनिक गरिए । (यो भर्सन बादलको आफ्नै थियो कि प्रायोजित रहस्यकै गर्भमा छ ।) पार्टीमा पुनस्र्थापित भएपछि कमरेड बादल पूर्वी कमाण्डको जिम्मेवारीमा आए । तर, लामो समय रहँदा पनि उनले हामी कसैको वास्ता गरेनन् । हामीलाई पनि लाग्यो अब बादल ‘बादल’ रहेनछन् उनी त हुस्सु भइसकेछन् ।
बादलले पानी पार्छ हुस्सुले त पानी पार्दैन सर्दीमात्रै गराउँछ । जे भए पनि बादललाई पार्टी र आन्दोलनमा फर्काइए तर, घटुवा गरेर । पहिले दोस्रो मर्यादामा रहेका उनी त्यसपछि बाबुरामभन्दा पछाडि चौथोमा पु¥याइयो । पछि त एकताको नाउँमा नारायणकाजीभन्दा तल राखेर हुर्मतै लिने काम भयो । उनीमाथि लागेको आरोप भने थाती राखिए पनि त्यो सधैँ उनको टाउकोमा झुण्ड्याइएको तरबार बनिरह्यो वा धोती अड्याउने कन्दनीमा बाँधिएको डोरी जुन प्रचण्डको हातमा थियो, जहिले पनि तान्न सकियोस् । शान्तिवार्तापछि पनि प्रचण्ड भनिरहन्थे ‘क्रान्तिका बेला बादलजी रोमान्समा लाग्नुभो’ भनेर । उनी उही कन्दनीमा बाँधिएको डोरी समाएर बादललाई ‘डिमर्लाइज’ गरिरहन चाहन्थे । तर, कुर्सी ताकेको कुरा भने कहिल्यै उठाइएन बरु बादल स्वयमले ‘म लिनपियायोवादी नै हो त ? यसको जवाफ आउनुपर्छ’ भनिरहे ’ चर्चित मानिएको चुनावाङ बैठकको सार्वजनिक भएको भिडियो क्लिप हेरे पनि थाहा लाग्छ । तर, आजसम्म यसको जवाफ कतैबाट आएको छैन । चर्चित ‘बादलप्रकरण’ मा नेतृत्व तहका किरण, बाबुरामहरू मुकदर्शकमात्र भएनन् प्रचण्डलाई नै साथ दिए । ‘मलाई खाने बाघले तँलाई पनि खान्छ’ भने झैं क्रमशः उनीहरूको हविगत पनि त्यही भयो ।
संविधानसभाको निर्वाचनपछि लगत्तै कमरेड बादलले मलाई भेट्न बोलाउनुभयो । सो निर्वाचनमा मलाई खम्बुवान राष्ट्रिय मोर्चाको सिफारिसमा संविधानसभा सदस्यका लागि माओवादीको समानुपातिक सूचीमा समावेश गरिएको थियो । तर, सम्झौताअनुरूप मलाई अगाडि नबढाइएपछि फकाउन बोलाइएको रहेछ । भेटमा क. बादलले भन्नुभयो, ‘चिन्ता नगर्नुहोला तपाईं हाम्रै पुरानो मान्छे, यस्ता ‘अपच्र्युनिटी’ धेरै आउँछन् फेरि पार्टीमा जोडिनुपर्छ ।’ यतिबेला प्रत्यक्षरूपमा पहिलोचोटि मैले वहाँमा वैचारिक विचलन देखेँ । मैले सोचेको थिएँ ‘अझै सङ्घर्ष बाँकी छ फेरि लड्न एकजुट हुनुपर्छ’ भन्नु होला तर, उहाँ पहिलेको बादल हुनुहुँदोरहेनछ । प्रचण्डहरूसँगै स्खलित भइसक्नुभएको रहेछ । मेरो उहाँप्रतिको मोहभङ्ग भयो र भनिदिएँ, ‘अपच्र्युनिटीको कुरा हैन, तपाईंको कारणले पहिले पनि पार्टी छाडियो, जुन स्वयम् तपाईंलाई नै थाहा भएन, अब फेरि किन जोडिने ?’
माधव नेपालको प्रधानमन्त्रीत्वकालमा ‘सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने’ भनी फेरि बादललाई दुरुपयोग गर्ने कोशिस गरियो । यो उनलाई पतन गराउने अन्तिम हर्कत थियो । पार्टीभित्र त बादललाई भिजेको मुसा बनाइएकै थियो तर, बाहिर उनको क्रेज शान्तिवार्तापछि झन् बढेर गयो । यसैकारण विद्रोहको नाटक रचेर उनलाई खलपात्र खडागरी तेजोबध गरियो । यो बुझेपछि नै होला वहाँ अस्वभाविक ढङ्गले प्रचण्ड र बाबुरामको विरुद्धमा उत्रन थाल्नुभो । यो पनि विसङ्गतिपूर्ण थियो, वहाँको स्वभावजन्य प्रतिक्रिया थिएन । यस्तै उतारचढावका बीचमा माओवादी पार्टी विभाजित भएर वहाँ क. किरणको कित्तामा जानुभयो । यसलाई पनि जानिफकारहरू स्वभाविक मान्दैनन् । यतिसम्म त ठीकै थियो तर, जब वहाँ कमरेड किरणलाई लात हानेर फेरि प्रचण्डको पोल्टामा पुग्नुभयो, यो नै देखिने गरी क. बादलको सैद्धान्तिक, वैचारिक पतनको पटाक्षेप थियो । अहिले आएर केपी ओलीको शरणमा पुगेर विलोप हुनु त लगातारको विचलनको परिणाम र अधोगतिको पराकाष्ठामात्र हो ।
कमरेड बादल नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पीडित जाति–समूहबाट आएका अद्वितीय नेता थिए, यो समसामयिक राजनीतिका । तर, उनले कहिल्यै पनि जातीय मुद्दामा चासो दिएनन् । यो पनि उनको राजनीतिक अवसानपछि विश्लेषण गरिनुपर्ने विषय हो । पछिल्लो कालखण्डमा चाँडै उत्साहित हुने र फेरि हतोत्साहित भइहाल्ने उही जनजातीय स्वभाव उनमा पनि देखियो । क. बादल सधैँ भन्ने गर्थे, ‘म शिखर हैन र हुन पनि चाहन्न, म त आधार हुँ ।’ यही कमजोरीकै कारण उनी कहिले किरण, कहिले प्रचण्ड त अन्तिममा ओलीको फेरो समाउन पुगेका हुन् । यो परिणाममा आइपुग्ने मुख्य कारण उनी आफै भए पनि प्रचण्डमण्डलीको लगातारको प्रताडना कम जिम्मेवार छैन । एक समय राष्ट्रिय राजनीतिमा पार्टीभित्र र बाहिर पनि लोककथाका राजकुमारजस्तै लाग्ने क. बादल आज ‘पोलिटिकल डाइनोसर’ बन्न पुगेका छन् ।