- निकेश दाहाल (बराहक्षेत्र)

‘कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा गाउँ घरका केही मानिसहरुले टाढैबाट एकटक लगाएर हेर्ने । बरा–बिचरा, कठै । अब के हुने हो ? भन्ने भावले हेर्ने । बोल्दा नै रोग सर्छ झैं गरेर नबोली हिंड्ने । रोगले भन्दा पनि सामाजिक मनोविज्ञान र तिरष्कारले सङ्क्रमितको मनोबल गिराउँदो रहेछ,’ बराहक्षेत्र  २ का युवराज भट्टराईले भने, ‘निषेधाज्ञा र संक्रमणले घर बाहिर निस्कन सकिंदैन औषधि–मूलोसहित नगर प्रमुख, स्वास्थ्यकर्मी र मनोविमर्शकर्तासहितको टोली आउँदा मनोबल साँच्चिकै बढ्दो रहेछ ।’ 

भट्टराई परिवारका ६ जना सबैलाई कोरोना संक्रमण भयो । संक्रमणका अवस्थामा समाजले आफ्नो परिवारलाई हेर्ने दृष्टिकोण र अनुभवका बारे सुनाउँदै भट्टराई भन्छन् – ‘बुवाले नियमित रुपमा प्रयोग गर्दै आइरहनु भएको औषधि पनि केही दिनका लागि मात्र थियो । नजिकै औषधि पाइँदैनथ्यो ।

barahakshetra_Isolation_Corona (4)

अरु बेला मित्र तर रोगले थलिएर घरमा सबै जना सोत्तर भएको बेला तित्राजस्तै कटु वचन गर्ने साथीहरु सबै टाढा भए । बुवाको औषधि कसरी उपलब्ध गराउने होला भन्ने चिन्ताले सताइरहेको थियो । नगर प्रमुखसँगै  घरमै आएको स्वास्थ्य टोलीले औषधिको व्यवस्थापन गरिदियो । केही परे हाम्रो लागि भरोसा गर्न सक्ने जनप्रतिनिधि छन् भन्ने विश्वास बढ्यो । छर–छिमेकमा पनि सङ्क्रमितसँग बोल्दा, नजिक हुँदा सङ्क्रमण नसर्ने रहेछ भन्ने भाव तबमात्रै जाग्यो ।’

केही दिन अघि बराहक्षेत्र ७ का ५१ वर्षीय प्रकाश भट्टराईलाई ज्वरो आइरहेको थियो । रुघा खोकी पनि लागिरहेको थियो । सास  फेर्न गाह्रो भइरहेको थियो । एकपल्ट कोरोना परीक्षण गर्नु पर्यो भन्ने सोचले परिवारका सदस्यले अघिपछि उपलब्ध हुने एम्बुलेन्सलाई फोन गरे । तर ‘कोरोना होला’ भनेर कोही पनि आउन मानेनन् । सबै जना निराश भए । छिमेकीले नगरपालिकाको स्वास्थ्य शाखामा फोन सम्पर्क गराइदिए । नगर प्रमुखको गाडी एम्बुलेन्सको रुपमा सर्वसाधारणलाई प्रयोग गर्ने वातावरण मिलाइएको रहेछ । नगरपालिकाको गाडी आएर एन्टिजिन परीक्षण गराएर ल्याइदियो । रिपोर्ट पोजेटिभ आयो ।

Barahakshetra_Mayor_Motorbike_Corona 
बेलुका उनलाई झन् सास फेर्न गाह्रो हुन थाल्यो । नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरबाट अक्सिजन ल्याएर घरमा प्रयोग गरियो । अक्सिजन–लेबल घटिरहेको थियो । तत्काल नगरपालिकाकै गाडीले विराट हस्पिटल पुर्याइदियो । आइसीयूमा राखेर उपचार भयो । भोलिपल्ट कोशी कोभिड अस्पताल पुर्याइयो । १०  दिनको उपचारपछि अहिले भट्टराई पूर्ण रुपमा स्वस्थ छन् । नगरले सचेतनाका साथ सवारी व्यवस्थापन गरिदिनाले आफूले नयाँ जीवन पाएको प्रकाश भट्टराई बताउँछन् । 

बराहक्षेत्र– २ चतराका ७२ वर्षीय परशुराम अधिकारी (जसको एक हात छैन अर्को हातको पनि औंलाहरु छैनन् । उनलाई खाना पनि अरुले खुवाइदिनु पर्छ) उनलाई ज्वरो आउने, रुखा खोकी लाग्ने भयो । परिवारका सदस्यले कोरोना परीक्षण गराए । कोरोना पोजेटिभ  आयो । परिवारका सदस्य पनि उनको नजिक जान डराउन थाले । उनलाई खाना खुवाइदिनु पथ्र्यो । अधिकारी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘परिवारका सदस्यको व्यवहारले मनोबल घट्दै गइरहेको थियो, भित्रभित्रै मर्न मन लाग्थ्यो ।’

परिवारले उनलाई नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा पुर्याइदिए । त्यहाँ उनलाई सँगै बसेका संक्रमितले  खाना खुवाइदिए ।

‘आइसोलेसनमा बस्दा साथीहरु र स्वास्थ्यकर्मीको हौसलाले आत्मबल बढ्यो,’ अधिकारी भन्छन्, ‘आइसोलेसन सेन्टर हुँदैनथ्यो भने मजस्ता आश्रित कोरोना–पोजेटिभ परिवारबाटै अपहेलित हुनु पर्थ्यो । आत्मबल कमजोर हुँदा, घृणा सहन नसक्दा मान्छेको मनस्थिति परिवर्तन हुँदो रहेछ ।’

आइसोलेसनको व्यवस्थापन र त्यहाँको व्यवहारले घर फर्कन मन नलागेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘संक्रमणको अवस्थामा परिवारको साथ सहयोग र माया आवश्यक पर्दो रहेछ ।’ 

‘जिल्लामै पहिलो आइसोलेसन’

barahakshetra_Isolation_Corona (2)

कोरोना संक्रमण तीव्र गतिमा फैलनुभन्दा अघि नै नगरवासीहरुको जीवन रक्षाका लागि २०७८ वैशाख २५ गते ५० बेडको ३० वटा अक्सिजनसहितको आइसोलेसन सेन्टर  सुनसरीमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले सञ्चालन गर्न सफल भएको थियो ।

‘आइसोलेसन निर्माणसँगै बराहक्षेत्र नगरपालिकाले कोभिड बन्दाबन्दीको समयमा गरिब, असहाय तथा विपन्न परिवार, दैनिक कमाइ गरी जीविकोपार्जन गर्ने व्यक्ति, गर्भवती तथा सुत्केरीलाई राहत उपलब्ध गराइएको छ,’ बराहक्षेत्र नगरपालिकाका प्रेस संयोजक नवराज विष्टले भने, ‘संक्रमितको दरलाई बढ्न नदिन नगरवासीलाई पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । संक्रमितलाई आत्मबल र हौसला बढाउन र स्वास्थ्य अवस्था बुझ्न नगर प्रमुख, स्वास्थ्यकर्मी, मनोविमर्शकर्ता र सञ्चारकर्मीसहितको टोली सङ्क्रमितको घरघरमा पुग्ने गरेको छ ।’ 

‘नगर प्रमुख चढ्ने सवारी, एम्बुलेन्स’

barahakshetra_Isolation_Corona (1)

बराहक्षेत्र नगरपालिकाले वडा नं ३ मा ५ बेडको अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल तयारी अवस्थामा रहेको नगर प्रमुख निलम खनालले बताए । 

सबै नागरिकमा  स्वास्थ्य सुविधाको पहुँच पुर्याउने, होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको नगर प्रमुख खनाल बताउँछन् । 

‘एम्बुलेन्सको अभावमा बिरामीले ठूलो सास्ती खेप्नु परेको, कतिपय ठाँउमा त सवारीसाधनका अभावका कारण अस्पताल पुग्न नपाएर बिरामीको मृत्यु वरण समेत गर्नु परेको अवस्था छ,’ यस्तो विषम परिस्थितिमा रोगले छट्पटाएर जनता औषधि उपचार नपाउने अवस्थामा रहेकाले आफैंले गाडी चढेर हिंड्न नैतिक रुपमा मिल्दैन ।’ नगर प्रमुख खनालले भने । 

नगर प्रमुखले चढ्दै आएको बा. १ झ ८८९१  नं को गाडी र  प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेलले चढ्दै आएको बा १ झ ५८१४ नं को गाडी जनताको लागि प्रयोग गर्न दिएको नगर प्रमुखको भनाइ छ । उनी अहिले व्यक्तिगत मोटरसाइकल चढिरहेका छन् ।

‘म जनताको प्रतिनिधित्व गरेर आएको व्यक्ति हुँ जनताको हितका लागि सदैव लागी परिरहनेछु ।’ नगर प्रमुख खनालले भने । 

‘पाँच हजार बढीलाई खोप’

khop_barahakshetra

जेठ महिनासम्ममा कोभिड बिरुद्धको खोप बराहक्षेत्र नगरपालिकामा ५ हजार २७ डोज विभिन्न उमेर समूहका मानिसले लगाएको नगर स्वास्थ्य शाखाको तथ्यांक छ ।

चाँडै अन्य खोपको पनि व्यवस्थापन गर्ने बराहक्षेत्र नगर स्वास्थ्य शाखाकी प्रमुख सुलोचना चौधरीले बताइन् । 

‘सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन गरेका छौं । औषधि अभाव नहोस् भनेर पालिकाभित्रका २ प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकी, ६ आधारभूत स्वास्थ्य चौकीमा औषधि प्रशस्त र सहज रुपमा उपलब्ध गराइरहेका छौ ।’ स्वास्थ्य शाखा प्रमुख चौधरीले भनिन् ।

‘प्रभावकारी आइसोलेसन’

barahakshetra_Isolation_Corona (3)

बराहक्षेत्र आइसोलेसन इञ्चार्ज प्रमोद यादवका अनुसार आइसोलेसन सेन्टरमा जेठ महिनाभित्र ६५ जनाले सेवा प्राप्त गरेको तथ्यांक छ । २३ जना पुरुष ३१ जना महिला छन् । 

आइसोलेसन सेन्टरभित्र २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका संक्रमित व्यक्तिलाई समेत अक्सिजनको व्यवस्था गरिएको छ । २० जनाले होम आइसुलेसनमा छन् । ४ वटा अक्सिजन संक्रमितको घरमा नै प्रयोग भइरहेको छ  । 

जम्मा १२८ जनाले नगरपालिकाको गाडी उपचारका लागि एम्बुलेन्सका रुपमा प्रयोग गरेका छन् ।

(नेपाल पत्रकार महासंघ प्रदेश १ को आयोजनामा सङ्क्रमित सञ्चारकर्मीलाई प्रदान गरिएको लेखनवृत्ति अनुदानका लागि तयार आलेख)