सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डका सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजन बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ ।  सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपालीबहस डटकम’ का प्रधानसम्पादक छन् । 

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक  छन् । मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए । 

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति थियो ।