हुन त बन्दाबन्दी भएको ६६ औं दिन भइसकेको थियो । सरिताले हेरिन्– बोराको पिँधमा एक पाथी जति मात्रै चामल बाँकी छ ।
‘वसन्त, अब तत्कालै तलब दिन सक्ने अवस्था छैन । बजार ठप्प छ, के गर्ने र खै १ पाइयो भने अन्त केही गर्दै गर्नु । पछि कोरोना सकियो भने बोलाउँला’–हाकिमले निकै भावुक नै भएर भने ।
वसन्तको मन असारे भेलमा हराए झैं जसरी आत्तियो । कोठाभाडा तिर्न नसकेको पीडालाई झल्याँस्स सम्झियो अनि सानी छोरीले ‘डेरी मिल्क खाने...’ भन्दै झगडा गरेको पनि ।
गाउँका ठूलाबाका सहायताले बल्लतल्ल कार्यालय सहायकको जागिर पाएको वसन्तलाई कोरोनाले बेरोजगार मात्रै बनाएन, उसले दुई महिनाको तलब पनि पाएन ।
सरिताले छोरी सानै भए पनि केही काम गर्ने भनेर निकै कोशिस गरिन् । पैसा लगानी गरेर केही गरौँ भन्ने आधार पनि थिएन ।
‘भनेजस्तो काम पनि पाइँदैन । अब त बिचल्ली हुने भइयो’–वसन्तले सरितासँग दुःख पोख्यो ।
झिसमिसेमा झ्यालको सिसाबाट अलि–अलि प्रकाश भित्र पस्न खोज्दै थियो ।
सरितालाई हिजोको घरबेटीको गालीले रातभरि निन्द्रा परेन । वसन्त यसो कोल्टो फेर्दै थियो । आँखा मात्र चिम्म गरिरहेको तर उही पीरले सताइएको ऊ पनि । निदाउन सकेको थिएन ।
सरिताले सुस्केरा हाल्दै भनिन्, ‘न काठमाण्डु छोडेर गाउँघरतिर जान सकिन्छ, न त यहाँ बसिरहन नै सकिन्छ । न गाउँमा केही छ, न यहाँ । ए बूढा, यसो हाकिमलाई फेरि अनुरोध गरे हुँदैन । घरबेटीले अब त मार्ने नै भए । घरबाट निकालिदिए भने के गर्ने ? साह्रै दुःख पाइयो ।’
वसन्तले लामो सुस्केरा हाल्यो । निदाइरहेकी चार वर्षे छोरीको टाउको मुसा¥यो । कति निर्दोष, चिन्तारहित । त्यही एउटा ‘डेरी मिल्क’ को चाहना छ, वस् । वसन्तलाई पनि छोरीकै बालापनको उमेरमा रम्ने आशाले पानीको फोका जसरी मस्तिष्कमा झट्का हान्यो ।
वसन्तले निदाइरहेकी छोरीको मुखतिर आएको कपाललाई पन्साउँदै भन्यो, ‘ए बूढी, हाकिमलाई हामीजस्ता निरीहको जीवनसँग के मतलव क्या । पहिला सामान्य अवस्थामा त दश हजार तलब माग्न दश पटक बिन्ती गर्नुपथ्र्यो । झन्, अहिले बजार ठप्प भएको बेलामा कसरी देलान् र ? रिसेप्सनिष्ट कृशु मिसलाई आपैmले सोधीसोधी तलब दिन्थे । मैलेचाहिँ जति मागे पनि बहाना बनाइरहन्थे । संसार स्वार्थी छ बूढी ।’
यत्तिकैमा बाहिरबाट ठूलो आवाजमा बेस्सरी ढोका ढक्ढक्याएको सुनियो । सरिताले हस्याङ्फस्याङ गर्दै उठेर ढोकाको छेस्किनी खोलिन् । उनको अनुमान सही थियो । घरबेटीका सपरिवार ढोकामा आइपुगेका रहेछन् ।
‘भारा नादिने भे आजै कोथा खाली गर्नू, दुई मैना भेइसक्यो’–आमाचाहिँले भनिन् ।
‘अर्काको घरमा बसेपाछि भारा दिनुपर्छ भन्ने था’छैना ? पाखेहरुलाई कोथा दिएर यो बाबाले पनि’–छिटोछिटो बोल्ने छोरोचाहिँ बाबुतिर हेर्दै कड्कियो ।
सरकारले एक महिनाको भाडा नलिनू भनिसकेको थियो । केही दानवीर मनकारी घरबेटीले दुई महिनाकै भाडा लिएनन् भन्ने समाचार पनि सुनिन्थ्यो तर, यी घरबेटीले यी सबै कुरा मान्ने र सुन्ने त कुरै थिएन ।
‘अझ, दिनमा पनि रातमा पनि बसिरहने । तल, हाम्रो इनारको पानी तानेर सकिसके अनि भारा पनि टाइम्मा नदिने ? यो के पारा हो ?’–बाबुचाहिँले थपे ।
वसन्त भित्री भेस्टमा नै थिए । हत्त न पत्त ढोकाछेउमा आएर सुस्तरी भने, ‘कृपया, सानो बोलिदिनुहोस् न । हामीलाई पनि चिन्ता भइरहेको छ । हामी पैसा खोजिरहेका छौँ ।’
सरिताको आँखा एक्कासि छोरीको माटाको खुत्रुकेतिर गयो । त्यसलाई हातमा लिइन् ।
‘बाबा..., मामु मनाइ यो खुत्रुेको पैचाले कानमा चाचा लाइदिने हो नि है’ सरिताको कानमा स्मरणको रुपमा त्यो आवाज गुञ्जियो ।
छोरी त अभैm निन्द्रामै थिइन् । सरिताको मुटुमा गाँठो प¥यो । वसन्त पनि अक्क न बक्क भए ।
उनले खुत्रुकेलाई भुइँमा हानेर प्वाट्ट फुटाइन् । छोरीको निर्दाेष अनुहार र बुच्चो कानतिर एकपटक हेरिन् । मुटु गाँठो प¥यो । एक–दुई रुपैयाँका सिक्का, पाँच रुपैयाँ, दश रुपैयाँ, सय रुपैयाँसम्मका नोट छरपस्ट भए । वसन्तका आँखा रसाए । टुक्रुक्क बसेर सरितालाई पैसा गन्न सघाए । घरबेटीका परिवारले भने अभैm पनि पालैसँग गाली गर्न छोडेका थिएनन् ।
‘घरबेटी आमा, अहिले यति ४ हजार ३ सय ३२ रुपैयाँ भएछ । यो लिनुहोस् । अरु बाँकी हामी यसो कतै खोजेर दिन्छौँ’–सरिताले वाचा गरिन् ।
सरिताको शिर निहुरेको थियो । वसन्तले पनि हात जोडिरह्यो । छोरी पनि त्यो हो–हल्लाले उठ्न खोज्दै थिइन् तर, अर्कोतिर पल्टिइन् । घरबेटीको परिवार भुत्भुताउँदै हिँडे । सरिताले ढोकाको छेस्किनी लाइन् ।
अब उनी कोठाको सामान पोको पार्नतिर लागिन् । वसन्तले पनि चुपचाप उनलाई सघाउन थाले । निकैबेरको मौनतापछि वसन्तले भने, ‘अब त बरु गाउँमै गएर, साइँला महाजनको खेत कमाएर बस्नुपर्ला जस्तो छ ।’
सरिताले सहमतिमा टाउको हल्लाइन् मात्र । केही बोलिनन् ।
फुङ्लिङ–२, ताप्लेजुङ (समकालीन साहित्य)