गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ ।
सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।
‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ ।
सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले भने ।
चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ ।
‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् ।
उनीहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो ।
उनीहरु पनि बाहिरी कार्यक्रममा व्यस्त भए’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ ।
निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’
यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।
‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता बनिसकेका छन् ।