एमजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिबाना तिर्न भनिएको छ ।
त्यस्तो जरिबाना लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।
उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ ।
एमजनले भने तिर्नुपर्ने उक्त जरिबाना ’तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले ’जोडदार’ रूपमा प्रतिरक्षा गर्ने जनाएको छ ।
उक्त कम्पनीका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै ’डेटाको कुनै दुरुपयोग नभएको’ बताएका छन् ।
चासो
ईयूको साधारण डेटा सुरक्षासम्बन्धी निर्देशिकाले कम्पनीहरूले मानिसका स्वीकृतिमा मात्र उनीहरूको व्यक्तिगत विवरण लिन सक्ने वा चर्को जरिबाना सामना गर्नुपर्ने जनाउँछ ।
सीएनपीडी भनिने लक्जेम्बर्गको डेटा सुरक्षा निकायले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको हो ।
ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला त्यस्तो निर्णय आएको हो ।
साना व्यवसायहरूले ठूला कम्पनीहरूले आफ्ना बजारको शक्तिलाई दुरुपयोग गरेको भन्दै उजुरीहरू समेत दिएका छन् ।
जुन महिनामा द वालस्ट्रीट जर्नल पत्रिकाले ईयूको गोपनीयतासम्बन्धी कानुनका कारण एमजनमाथि ४२.५ करोड डलरसम्म जरिबाना हुन सक्ने लेखेको थियो ।
एमजनले के भन्यो
एमजनकी एक प्रवक्ताले ’सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ’उच्च प्राथमिकता’ भएको बताएकी छन् ।
‘त्यहाँ कुनै डेटाको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रोप क्षलाई दिइएको छैन,’ उनले भनिन् । ‘यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन् ।’
उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वओकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताएकी छन् ।
एमजन र अमेरिकाका अन्य ठूला प्रविधि कम्पनीहरूले ’एकाधिकार’ कायम गर्न खोजेको भन्दै उनीहरूको त्यस्तो शक्तिमा ’अङ्कुश लगाउनुपर्ने’ आवाज उठ्ने गरेको छ ।
यसअघि गुगल, ब्रिटिश एअरवेज, एचएन्डएम र मारिअट होटल्सजस्ता कम्पनीले कानुन मिचेको भन्दै युरोपेली सरकारहरूबाट जरिबाना खेपेका थिए ।
तर तिनले तिरेको जरिबाना अहिलेको जस्तो विशाल परिमाणमा नभएर केही करोडमा थियो ।
बीबीसीका व्यापार संवाददाता थेगो लेगेट भन्छन्, “यति धेरै जरिबाना तिर्नुपर्नेगरी एमजनले ठ्याक्कै के गरेको हो भन्ने हामीलाई थाहा छैन ।’ बीबीसी