धरानको विजयपुरमा अवस्थित दन्तकाली, पिण्डेश्वर, बूढासुब्बा, पञ्चकन्या निकै प्रख्यात छन् । पिण्डेश्वर धाम हिमालय पर्वतको एक सुन्दर, शान्त स्वर्गरूपी खण्ड हो । जुन ठाउँ चिसो हावापानीले असाध्यै रमणीय छ ।
धरानलाई पर्यटकीयस्थल बनाउने यी मन्दिरहरूको निकै ठूलो विशेषता छ । जसमध्ये पिण्डेश्वरको महिमा अलग्गै छ । हाम्रा आराध्यदेव महादेव पिण्डेश्वरमा अन्तरध्यान हुनुभएको स्कन्धपुराणमा वर्णन गरिएको पाइन्छ भने दन्तकालीमा सतीदेवीको दाँत पतन भएको किंवदन्ति छ । फेरि उता बूढासुब्बाको बेग्लै महिमा छ भने माथि भताभुङ्गे दरबार जाने बाटोमा अवस्थित पञ्चकन्या मन्दिरले आफ्नै विशेषता बोकेको छ ।
पहिला पहिला साउन लाग्नै पाउँदैनथ्यो मान्छेहरूको भीड पिण्डेश्वर बाबाकहाँ जान । नेपालबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङ , ग्यान्टोक, सिलिगुडी र अन्य भारतका ठाउँहरूबाट गाडीका गाडी दिनानु दिन मान्छेहरू आराध्यदेवलाई दर्शन गर्न आउँथे । तर, अहिले कोरोना कहरले गर्दा ठप्प छ । के गर्नु कोरोनाले मान्छेलाई जोगिन गाह्रो भैरहेको अवस्था छ ।
घरबाट बाहिर निस्कनै डर छ । मान्छेको मृत्युु दिनका दिन बढी नै रहेको छ । आफ्नो ज्यानभन्दा अरू ठूलो केही हुन्न रै’छ । अहिले त सबैजना घरमै बसेर त्यो पल सम्झिनेबाहेक कुनै विकल्प छैन । जान मन हुँदाहँुदै पनि जान पाइरहेको छैन । कुनै दिन त समाधान हुन्छ होला अनि जानुपर्छ ।
साउनको प्रत्येक सोमबार पहेँलो वस्त्र धारण गरेर बोलबम, बोलबम।।। भन्दै शिवलाई पुकार्दै जलधारण गर्न जान्थे । सक्नेहरू त चतराको नदीबाट जल ल्याएर पिण्डेश्वर बाबालाई चढाउँथे । त्योबेला धरान बजार यत्ति राम्रो देखिन्छ कि मान्छेको भीडभाडले यति रमाइलो हुन्थ्यो कि भनेर साध्य छैन । झन् धरानको विजयपुर त यति आनन्दमय हुन्थ्यो कि सबै मान्छेहरू भगवान्को पूरा भक्त देखिन्थे । धर्म गर्नुपर्छ भन्ने आस्था हुन्थ्यो । त्यो बेला पूजा गर्दा सबै पाप नाश भएजस्तो पनि हुन्थ्यो ।
यसो हेर्दा मान्छे कति धर्मात्मा रै’छ जस्तो लाग्थ्यो जोकोहीलाई । त्यसबेला ठूलो मान्छे मात्र होइन नि साना–साना केटाकेटीहरू पनि पो जल लिएर जान्छन्, बोलबम।।। बोलबम।।। भन्दै अनि पहेँलो वस्त्र धारण गरेर । कसै कसैले रुद्राक्षको माला पनि लगाउँछन् । हातमा काँवर, कमण्डलुमा जल बोकेर पिण्डेश्वर धाममा जल चढाउने चलन २०३४ सालको पहिलो सोमबारदेखि चलेको हो । त्यसपछि प्रत्येक सालको साउनको सोमबार मानिसको सङ्ख्या बढ्न थाल्यो ।
यही क्रमले प्रचार–प्रसार हुन थाल्यो, जसले गर्दा आज साउनको प्रत्येक सोमबार थाम्नै नसक्ने गरी लाखौं मानिसको भीड हुन्छ । त्यो भीडको लाइनमा बस्दा पनि भोक प्यासको कुनै वास्ता हुँदैन मानिसलाई । यति रमाइलो हुन्छ कि भनेर साध्य नै हुन्न । त्यो बेला पिण्डेश्वर धाम यति राम्रोसँग सजिएको हुन्छ कि मानिसहरू त्यसै रमाउँछन् । नेपालका मात्र भक्तालुहरू आउने होइनन्, भारतको सिक्किम, पश्चिम बङ्गालबाट समेत पनि आउँछन् यहाँ ।
आजभन्दा तीस वर्षअघि भारतको वैधनाथ धाम जाने चलन थियो । तर, हिजोआज यतैतिर लोभिएका छन् । मान्छेहरूको धेरै दिनको समय खर्चिएन । एकैदिनमा दर्शन गर्न सकिने भयो । यसले पनि पिण्डेश्वर बाबा धाममा भीडभाड बढेको हो । पिण्डेश्वर धाम असाध्यै राम्रो छ । धरान बजारबाट माथि डाँडा चढ्दै भगवानको दर्शन गर्न पाउनुको मजै बेग्लै हुन्छ । पिण्डेश्वर जाने बाटो धरानको पुरानो बजारबाट पनि छ । पुरानो बजारको सिंहदेवीचौकबाट माथि जिरो प्वाइण्टबाट पनि जाने गरिन्छ । बाटो पनि सजिलो र सम्म परेको छ । गाडी, मोटरसाइकल सजिलोसँग जान आउन कुनै कठिनाइ छैन ।
यसबेलाको भीड सम्हाल्न धरानका विभिन्न सङ्घ–संस्थाहरु निकै अग्रसर भएरलागेका हुन्छन् । यसको महिमा दिनानु दिन बढेको कारण धरानवासीहरू पनि निकै उत्साहित देखिन्छन् । धरानको बसपार्कमा यति खैलाबैला हुन्छ कि जसले जसलाई भेटे पनि बोलबम भन्छन् । चिनिरहनु पर्दैन । बालक, युवा सबै सबै १९ किलोमिटरको यात्रा गरेर सप्तकोसीको जल ल्याई चढाउँछन् बाबालाई । नसक्नेहरूले घरैबाट जल लिएर गएर चढाउँछन् । मानौँ, त्यो बेला धरान बजार पहेँलपुरले सजिसजाउले बेहुलीजस्तै सिँगारिएको हुन्छ । हुन त साउनको सोमबार जतै बसेर पनि पूजा गर्न सकिन्छ । तर, शिवालयमा पूजा गर्न जाँदा अर्कै आनन्द आउँछ । पापबाट मोक्ष नै भएको अनुभूति हुन्छ । खाली धर्म गरिरहन मन लाग्छ ।
यो हाम्रो पुण्यभूमिलाई सरकारले अझ राम्रो बनाइदिएमा दिनानु दिन दर्शन गर्न आउनेको कमी हुँदैनथ्यो होला । भन्नुको तात्पर्य झन् बढ्थ्यो होला । साउन गर्मी महिना दिनरात पानी पर्ने याम मन्दिरको पछाडिपट्टि पूरै छाना लगाइदिए साउनको सोमबार न पानीले भिज्नुपथ्र्यो, न त त्यो टण्टलापुर घाममा तात्तिनु पथ्र्यो होला । यो स्थल त हामीले भाग्यले पो पाएका हौं त । यसको संरक्षणमा सरकार लाग्नैपर्छ । यो धरानवासीको मात्र होइन । नेपालकै गहना हो भनेर लाग्नुपर्ने हो । सबैभन्दा पहिलो काम सरसफाइमा पनि ध्यान जाओस् । आउने पर्यटकहरूलाई खाने बस्नेको व्यवस्था राम्रो होस् आदि, इत्यादि । राम्रो काम गर्न पछि पर्न हुन्न गरिहाल्नुपर्छ । पछि फेरि सोच बदलिन्छ । अब त झन् स्थानीय सरकार छ, आफ्नो ठाउँलाई कसरी के गरेर राम्रो र व्यवस्थित बनाउने होडबाजी चल्नुपर्ने हो । के गर्नु रु विडम्बना छ ।
–विराटनगर