विषय प्रवेशः
आम मानिसको सङ्घर्षगाथा हो, निसिप । निसिप अर्थात् नसीब, भाग्य, तकदीर । गाउँघरमा भाग्यमानी व्यक्तिलाई निसिप भनेर भनिन्छ । यो कथ्य भाषा हो । ती आम मानिस जसले व्यवसायमा अपार सफलता प्राप्त गरे । जो देशमा मात्रै सीमित भएनन्, विदेशमा पनि आफ्नो व्यापारलाई फैलाउन सफल भए । ती व्यक्ति हुन्, इन्द्रकुमार लामिछाने । जसको गाउँले नाम निसिप अर्थात् निसिपे थियो । पत्रकार, राजनीतिज्ञ पदम विश्वकर्माले निसिपलाई पुस्तकारको रुप दिएका छन् । नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय मुखपत्र ‘दलित मुक्ति’ का सम्पादक पदमले केही वर्षको मेहनत खर्च गरेका छन् पुस्तकमा ।

उनकै अनुसार चार वर्षको अथक प्रयास पछि पुस्तकलाई आकार दिइएको बताइएको छ । पुस्तक २०७६ मै प्रकाशित भए पनि पढ्ने मौका मिलेको थिएन । वराह ग्रुपको धरानस्थित कार्यालयका सञ्चार संयोजक गायक भाइ प्रमोद पोर्तेलमार्फत् पुस्तक अध्ययन गर्ने अवसर जु¥यो । धरानको रिडर्स ग्रुपलाई पुस्तक अध्ययन गरिदिएर सहयोग गर्न भनिएपछि अध्ययनको पहिलो अवसर जुटेको हो । भन्नुपर्दा निसिप इन्द्रकुमार लामिछानेको सङ्घर्षको गाथा वा कथा हो । पुस्तकमा उनको व्यापारको पूर्वरुप, व्यापार गर्दाको सङ्घर्ष र एउटा उचाइ नजिक पुग्दापुग्दै इहलीला समाप्त भएको कथालाई उतारिएको छ । लेखकले पनि सोहीअनुसार पुस्तकलाई पठनीय बनाउन विभिन्न खण्डहरुमा विभाजन गरेका छन् । लेखकले सात वटा अध्यायमा विभक्त गरेका छन् । अध्याय १ मा निसिपको ‘कठोर जीवन(सङ्घर्ष’ जहाँ १४ वटा उपशीर्षक राखेर पठनीय बनाइएका छन् । उनको जन्मदेखि व्यापार गर्नुअघि गरिएको सङ्घर्षलाई सिलसिलाबद्ध शैली अर्थात् फिचरको प्रारूपमा लेखिएको छ । यही अध्यायमा निसिपमा व्यापारको जीजीवीषाको अभ्युदय भएको छ । पुस्तकको पदावली हेरौं(

एकदिन रणध्वज (निसिपका बुबा) ले घरको कान्लामुनी रहेको जुनेलाको बोट गन्ती गर्न अह्राए । जुनेलाको बोटको झुप्पा एक दानाबाट फलेको थियो । त्यही देखाउँदै उनले इन्द्रकुमारलाई व्यवसायमा सानो लगानी गरे पनि ठूलो प्रतिफल हुने पाठ सिकाए । उनले दुःखकष्ट पर्दा पनि आफनो काममा निरन्तर लाग्नुपर्ने सुझाव दिए । यही कुराले इन्द्रकुमारलाई व्यापार, व्यवसाय गर्न प्रेरित गर्यो । (पृ. ३०)

अझ व्यापारप्रति लाग्ने प्रेरणा उनले नेवारनी मैयाँ नामकी पात्रबाट पाएको आभास दिलाएका छन् । नेवार्नी मैयाँ जो उनकै गाउँमा सानोतिनो व्यापार गरेर परिवार धानिरहेकी थिइन् । धनकुटाबाट आएकी अपाङ्ग मैयाँले नाङ्लोमा व्यापार गर्थिन् । त्यही व्यापारबाट मैयाँले होम्ताङ (निसिपको पुख्र्यौली थलो) मा जग्गासमेत जोडेकी थिइन् । यस कुराले इन्द्रकुमारमा व्यापारको लोभले भित्रभित्रै गाँजेको पाउन सकिन्छ । बुबाको कुराले भन्दा नेवार्नी मैयाँको व्यापारले उनलाई प्रेरणा दिएको पुस्तकका अन्य खण्डहरुमा गरिएको चर्चाबाट थाहा पाउन सकिन्छ । यस अध्यायमा १४ वर्षकै किशोर उमेरमा धरान झरेको कथा, धान काट्ने कामदेखि लिएर सुनचाँदीको गहना बनाउने तालिम, धरान–धनकुटाको सडकमा मजदुरी, क्याडी ब्वाय (गल्फ खेलमा व्यावसायिक गल्फरको बललगायत सामग्री बोक्ने मानिस), चालक भएर भारतदेखि भुटानसम्म काम गर्न पुगेका उपकथाहरु जोडिएका छन् । यही खण्डमा वैदेशिक रोजगारीअन्तर्गत खाडी मुलुकको बहराइन पुगेको कथा पनि जोडिएको छ । तर, जहाँ पुगे पनि व्यवसायसँग कुनै न कुनै रुपमा उनी जोडिएको प्रसङ्ग कोट्याइएको छ । यही अध्यायमै विष्णुमायासँग विवाहको कुरा पनि जोडिएको छ । यो अध्याय इन्द्रकुमारको महŒवपूर्ण अध्यायभन्दा फरक पर्दैन ।

दोस्रो अध्यायमा ‘व्यापारिक जीवनको नालीबेली’ लाई उतारिएको छ । उक्त अध्यायमा सात वटा उपशीर्षकहरु समेटिएका छन् । व्यापारको सुरूवातदेखि देशबाहिरसम्म फैलिएको वराहको व्यापारलाई यस खण्डमा राखिएको छ । भोजपुर होम्ताङवासी इन्द्रकुमार स्थायी रुपमा तीन ठाउँमा बसेको पाइन्छ । जीवनको पूर्वाद्र्ध होम्ताङमा, मध्य र उत्तराद्र्ध धरान, झापा हुँदै काठमाडौं बसेका छन् । तर, व्यापारको सुरूवात भने सिन्धुलीबाट गरेका छन् ।

केही अनौठो लागे पनि व्यापारको सूत्रपात त्यहीँबाट भएको छ । केही महिनासम्म सुनचाँदी व्यापार गरे पनि त्यसपश्चात् धरान आएर सुरूवात गरेको देखिन्छ । सुनचाँदी व्यापारमा भित्र्याएको आधुनिक शैलीकै कारण उनी यस व्यवसायमा टिकेको देखिन्छ । किनकि उनले व्यापार सुरू गर्दा धरानमा रैथाने सुन व्यापारीको जगजगी थियो । परम्परागत शैलीमा व्यापार गर्ने चलन थियो । सजावट गरेर व्यापार गर्ने शैली भित्रिएकै थिएन । जसलाई इन्द्रकुमारले भिœयाएको धरानका पुराना व्यापारी खचाञ्चीदास अग्रवालको भनाइबाट पनि प्रष्टिन्छ । व्यापारकै सिलसिलामा हङ्कङ पुगेका उनी त्यहीँ रहस्यमय मृत्यु हुन पुग्छ । मृत्युको पूर्ण जानकारी हालसम्म प्राप्त भएको छैन ।

तर, उक्त रहस्यमय मृत्युलाई तेस्रो अध्यायमा समेटिएको छ । जहाँ तीन वटा उपशीर्षकमा चर्चा गरिएको छ । मृत्युपछिको व्यापार व्यवसायमा पर्न सक्ने प्रभावका बारेमा पनि चर्चा गरिएको छ । तर, एउटा प्रणालीमा प्रवेश गरिसकेको वराह निरन्तर अगाडि बढेको छ । उक्त कुरालाई प्रमाणित गर्ने उनको भनाइ हेरौं–

अबको समय भनेको सिस्टमले व्यावसाय चल्दछ, विश्वास र भावनाले मात्रै चल्दैन । (पृ. १६७)
गीतसङ्गीतमा जमेर बसेका छोरा शिवकुमारले व्यापारलाई हाँक्ने प्रण पनि यही खण्डमा गरेका छन् । विषम परिस्थितिमा पनि अध्यक्षको जिम्मेवारी लिँदै शिवकुमारले कम्पनीलाई अविराम चलाइरहेका छन् । चौथो अध्यायमा ‘वराह ज्वेलरीका संस्थापकको व्यक्तित्व’ अन्तर्गत चारवटा उपशीर्षक छन् । उक्त खण्डमा इन्द्रकुमारको व्यापारिक सूत्रको चर्चा गरिएको छ । उनी इमान्दार, कर्तव्यनिष्ट र मेहनती भएकै कारणले व्यापारमा स्थापित बन्न पुगेको कुरालाई उल्लेख गरिएको छ । उनको व्यापारिक सूत्र पनि त्यसैसँग सम्बन्धित छ ।

पाँचौं अध्यायमा ‘छोरा शिवकुमारको नजरमा’ भन्ने खण्ड राखिएको छ । बुबा कस्ता थिए देखि लिएर मृत्युपश्चात्को दुःखदायी क्षणका विषयलाई समेटिएको छ । ७ वटा उपशीर्षक छन् । इन्द्रकुमारको हङ्कङमा अकल्पनीय मृत्युदेखि बाल्यकालमा बुबाको स्मृति, पारिवारिक तनावको क्षण, बुबाका अधुरा सपना पूरा गर्दै, व्यापारिक कौशल र योगदानको पाठ भन्ने उपशीर्षक राखेर चर्चा गरिएका छन् । छैठौं अध्यायमा ५ वटा उपशीर्षकहरु जोडेर इन्द्रकुमारको विचारलाई विनिमय गरिएको छ । जसमा व्यवसायको नजरमा सुनचाँदी व्यवसायसँगै विभिन्न पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा गरिएका अन्तरवार्तालाई स्थान दिइएको छ । सातौं अध्यायमार्फत् बिट मारिएको छ । जहाँ इन्द्रकुमारलाई चिनेजानेका तथा व्यापारमा संलग्न साथीभाइ, कर्मचारीको अनुभवलाई समेटिएको छ । लेखकले पुस्तक तयार गर्दाको क्षणमा भेटिएका पात्रहरुलाई स्रोतव्यक्तिको रुपमा चर्चा गर्दै ३०६ पृष्ठमा अन्त्य गरिएको छ । पुस्तकको अन्तिममा तस्बिरहरु समेटिएका छन् ।

पुस्तकभित्रका कथाः
भोजपुरको होम्ताङस्थित लुङ्कुवामा २०१४ असोज १४ गते जन्मिएका इन्द्रकुमार रणध्वज र नरमाया लामिछाने विकका तीन छोरामध्ये जेठा हुन् । उनी जन्मिएको क्षणलाई लेखकले आकर्षक ढङ्गले लिपिबद्ध गरेका छन् । लेखकले इन्द्रकुमारको जन्मसँग जोडिएका अनेक मिथकहरुलाई उप्काएका छन् । तीन चार वटा मिथकमध्ये रणध्वजका बडाबाउ अजवीर लामिछाने (जो तत्कालीन समयमा पढेलेखेका र नाम कमाएका व्यक्ति) को चिना र नाम जुराएको विषयलाई प्राथमिकता दिइएको छः
अजवीरले रणध्वजका छोराको भविष्य हेर्दै भने–राशि, वर्ग, नक्षत्र सबै मेरो नै बोकेर आएछ । अब मेरो केही समयमै मृत्यु हुन्छ । ऊ मेरो कर्म र भाग्य लिएर जन्मेछ । ऊ निकै शक्तिशाली हुनेछ । यो निसिप भएको मान्छे हो । आइमाईको साथसहयोगबाटै यो शक्तिशाली मान्छे बन्छ र अन्तिममा आइमाईकै कारण यसको अन्त्य हुनेछ । (पृ.२१)

सोही कारण रणध्वजले बोलाउने नाम निसिप राखिएको पुस्तकमा चर्चा गरिएको छ । निसिपको अभ्युदयबाट सङ्घर्षगाथालाई अगाडि बढाइएको छ । पुस्तकमा वर्णनात्मक शैलीलाई अपनाइएको छ । वर्णनात्मक शैलीमा पनि साहित्यकार, कविको शैलीभन्दा पनि पत्रकारिताको भाषाशैली अपनाइएको छ । जसले गर्दा पाठकहरु झुक्किन सक्छन् । कतिपय ठाउँमा लेखक स्वयम् इन्द्रकुमार बनेका छन् । एउटा उदाहरण हेरौंः
पहिले कहीँकतै राँगाभैँसी काट्दा एक धार्नी मागेको ठाउँमा एक डोको मासु पठाइन्थ्यो, पछि केही दिनको उधारोसमेत नपत्याएर मासु काटेको थलोबाट आफू कयौं पटक रूँदै फर्कनुपथ्र्यो । (पृ. २९)

यो वाक्यमा प्रयोग भएको आफू लेखक हो कि इन्द्रकुमार हो छुट्टिँदैन । यस्ता भाषिक त्रुटिहरु अनगिन्ती छन् । त्यसको छुट्टै खण्डमा चर्चा गरौंला । सामान्य नागरिकहरु पनि त्यो उचाइमा पुग्न सक्छन् भन्ने उत्कृष्ट नमुना इन्द्रकुमारले प्रस्तुत गरेका छन् । यसकारण साधारणभन्दा साधारण र व्यवसाय गर्न चाहने पुस्ताका लागि यो पुस्तक जुनसुकै कालखण्डमा पनि पठनीय हुन सक्छ । पुस्तकले सङ्घर्षलाई मिहीन ढङ्गले केलाएको छ । अझ दलनमा परेका वर्ग, समुदायका लागि यो पुस्तक प्रेरणाको अजस्र स्रोत बन्न सक्छ । इन्द्रकुमार जसले कक्षा २ सम्म मात्रै पढे । स्कुल पढ्दा गोबर सोहोर्न बाध्य पारिएको कथादेखि स्कुल छाड्दाको पीडालाई पुस्तकले उत्कृष्ट ढङ्गले समेटेको छ । इन्द्रकुमारको अनुभव नै व्यावहारिक अध्ययनको कडी बनेको छ । सोही अध्ययनबाटै व्यवसायलाई एउटा उचाइ दिन सफल बनेका छन् । व्यापारमा उनलाई साथसहयोग गर्नेहरुका कारण र उनको इमान्दारिताकै कारण वराह ज्वेलरी इण्डष्ट्रिज प्रालि देशविदेशमा स्थापित बनेको छ ।

पुस्तकको सकरात्मक पक्षः
आत्मवृत्तान्त भनौं वा जीवनको गाथा लेखिँदा पाठकलाई कुनै न कुनै भ्रममा राख्ने गरिन्छ । अर्थात् राम्रा पक्षको मात्रै बढाइचढाइ गरी प्रस्तुत गर्ने र नराम्रा पक्षलाई नखोतल्ने प्रवृत्ति आम प्रवृत्ति हो । तर, इन्द्रकुमारको सङ्घर्षगाथा अन्यभन्दा विल्कुल फरक छ । पाठकलाई कहीँ कतै भ्रम छरिएको छैन अर्थात् उनको जीवनका नराम्रा पक्षलाई पनि खुलेर प्रस्तुत गरिएको छ । उनीविरूद्ध सुनिएका भ्रमपूर्ण कुरा होस् वा अफवाह त्यस्ता विषयलाई पनि जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । उनी र उनको परिवारबीच लामो समय राम्रो सम्बन्ध नभएको कुरा धेरै धरानेलाई थाहा थियो । उक्त कुरा पनि पुस्तकमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । त्यस्तै वराह ज्वलेरीमा माओवादीको लगानी छ भन्ने बेलाबेलामा हौवा फैलिँदै आएको थियो र छ । त्यस कुरालाई पनि इन्द्रकुमारले स्पष्टसँग बताएका छन् । अर्थात् माओवादीको लगानी छ भन्ने कुरा सबै भ्रम हो भनेर उनले बताएका छन् । इन्द्रकुमारको जीवनमा महिलाहरुको अप्रत्यासित आगमनको विषयहरुलाई पनि पुस्तकमा उल्लेख गरिएको छ । यतिसम्म कि इन्द्रकुमारको रहस्यमय मृत्युपछि काठमाडौंमा ‘म उनको श्रीमती हुँ’ भन्ने हल्लालाई पनि चिरिएको छ ।

उक्त कुरा पनि पुस्तकले बोलेको छ । यसमानेमा पुस्तकले पाठकलाई कुनै पनि भ्रममा राख्ने काम गरेको छैन । त्यसअर्थमा यो पुस्तक हरेक पाठकका लागि पठनीय हुन सक्छ । उनको जीवनका स–साना आयामहरु जुन कुरा आमसमुदायले चाल पाएका छैनन्, त्यस्ता आयमहरु जान्न र बुझ्नका लागि यो पुस्तक रुचिकर हुन सक्छ । व्यापार व्यवसाय गर्नेका लागि पनि सूत्रहरु दिइएको छ । व्यवसायमा कसरी सफल बन्न सकिन्छ भनेर महँगामहँगा पुस्तकहरु खरिद गरेर पढ्ने गरेका छौं । तर, पनि त्यस्ता पुस्तकले व्यवसाय गर्नका लागि सूत्र बताउँदैन । यस पुस्तकले त्यस्ता कुरालाई पनि सहजै बताएको छ । यसमानेमा पनि यो पुस्तक पठनीय हो र यसको सकारात्मक पक्ष हो भन्दा अनर्थ हुँदैन । जे यथार्थ हो त्यसलाई सरल ढङ्गले राखिएको छ । त्यसमानेमा यो पुस्तक यथार्थवादी सङ्घर्षगाथा हो ।

दलित मुद्दाः
यो पुस्तकको सतही पक्ष व्यापार व्यवसाय भए पनि सूक्ष्म तथा गाम्भीर्य पक्ष भनेको दलित मुद्दा नै हो । तर, दलित मुद्दालाई इन्द्रकुमारले बडो गज्जब ढङ्गले उठाएका छन् । सामान्यतः राजनीति, सामाजिक रुपमा देखिने दलित मुद्दा उनले आर्थिक कोणबाट उठाएका छन् । उनले कहिल्यै पनि दलित मुद्दालाई राजनीतिक कोणबाट हेरेका छैनन् । व्यापारिक सङ्घर्षको दौरानमा व्यापारिक कोणबाटै दलितको मुद्दालाई स्थापित गर्ने प्रयास गरेका छन् । यही नै पुस्तकको सबैभन्दा उत्कृष्ट पक्ष हो । इन्द्रकुमारको एउटै लक्ष्य छ–आफू आर्थिक, नैतिक, भौतिक रुपमा सफल भए जात व्यवस्था आफै हटेर जान्छ । आर्थिक रुपमा सबल भएपछि कसैले पनि हेप्न सक्दैन भन्ने उनले सन्देश दिएका छन् । उनले आर्थिक रुपमा विपन्न भए दलित मात्रै हैन, उच्च ब्राह्मण भनिने वर्ग पनि चेपुवामा पर्छ, दलनमा पर्छ भन्ने कुरालाई मिहीन ढङ्गले राखेका छन् । आर्थिक सुधार गर्न सके सबै वर्गहरु समान हुँदै जान्छन् । वर्ग व्यवस्थालाई पैसाले नै वर्गीकरण गरेको ठान्ने उनले वराह ग्रुपलाई त्यही ‘मोट्टो’ अनुसार अगाडि बढाएका छन् ।

पुस्तकका त्रुटिहरुः
व्याकरण, भाषा सम्पादनको तहबाट हेर्दा भने निकै त्रुटिपूर्ण छ । नेपाली भाषालाई मानक बनाउन व्याकरणको महŒवपूर्ण भूमिका खेलेको हुन्छ । व्याकरणगत त्रुटिहरुका केही उदाहरण हेरौंः
गरिबीको मार र विभेदको अपमानले उनीहरुको जीवनलाई कष्टकर बनाइरहे । (पृ. २९)
घरमा रहेको घोडा चढ्दा उनी लिसोजस्तै टाँसिने बानी थियो । एक दिन घोडा चढेर जाँदै गर्दा रानीवास पुगेपछि नराम्ररी चिप्लिएछ । (पृ. ३७)
महँगो घडी भेट्टाएर इमान्दारीपूर्वक दिएपछि उनलाई गोरा मेजरले एक सय रुपैयाँ बक्सिस दियो । (पृ. ४४)
उनीहरु जहाँ बसे पनि घरमा दुई–चार पाहुना र आफन्त कहिल्यै पनि टुटेन । (पृ. ६२)

माथिका वाक्यमा पदसङ्गति मिलेको पाइँदैन । पदसङ्गति लिङ्ग, वचन, पुरूष, काल, आदरका आधारमा क्रियापदमा सङ्गति हुनुपर्छ । सोही कारण नै भाषा समृद्ध बन्छ तर, माथिका वाक्यमा लिङ्ग, वचन, पुरूषका आधारमा क्रियापदको तादात्म्यता मिल्दैन । यस्ता त्रुटिहरु पुस्तकभरि थुप्रै छन् । एकादुई स्थानमा यस्ता त्रुटिहरु हुनुलाई पुस्तक प्रकाशनको समयमा त्रुटि भएछ भनेर मान्नुपर्ने हुन्छ तर, यहाँ त्यो स्थिति देखिँदैन ।

भाषा सम्पादनगत त्रुटिः
भाषा सम्पादनको तहमा पनि प्रसस्त त्रुटिहरु पाउन सकिन्छ । केही उदाहरण हेरौंः
उनी नयाँ गाउँमा पुगेर जुवा खेल्न जाने गर्थे । (पृ. २८)
धरानमा रहँदा उनले दैनिकजसो गल्फ मैदानमा खेले । (पृ. ४६)
खेलको अनुभव पाउने क्रममा उनी गल्फका राम्रो खेलाडी बने । (पृ. ४६)
प्रशस्त घाँसपराल र पानी उपलब्ध भएकाले उनी टाढासम्म गोठालो जानु पर्दैन । (पृ. ५३)
उनले बेरोजगार र सिपालु व्यक्तिलाई हातमा लिन कुनै कसरत बाँकी राखेनन् । (पृ. १६८)

यी माथिका वाक्यमा भएका त्रुटिहरु भाषा सम्पादनगत त्रुटिहरु हुन् । विशेषगरी भाषा सम्पादकले यस्ता भाषालाई सुललित र सुसज्जित बनाइदिनका लागि भूमिका खेल्न सक्छन् । पहिलो वाक्यमा ‘उनी नयाँ गाउँमा पुगेर जुवा खेल्न जाने गर्थे’ भन्दा पनि ‘उनी नयाँ गाउँमा पुगेर जुवा खेल्थे’ भनेर भन्यो भने पूर्ण वाक्य बन्छ । दोस्रो वाक्यमा गल्फ खेले भने पुग्छ । अर्को कुरा, गल्फ खेल्ने ठाउँलाई मैदान भनिँदैन । कोर्ष भनिन्छ । यो वाक्यलाई ‘धरानमा रहँदा उनी दैनिकजसो गल्फ खेल्न पुग्थे’ भनेमा सुनमा सुगन्ध हुन्थ्यो होला । करिब चार वर्ष लगाएर लेखिएको पुस्तकमा यस्ता त्रुटिहरु देखिनु चाहिँ गम्भीर त्रुटि हो ।

भाषिक एकरुपतामा कमीः
पुस्तकको अर्को त्रुटि भनेको भाषिक एकरुपतामा कमी हो । पुस्तकको एउटै पेजको अनुच्छेद नै पिच्छे फरकफरक शब्द लेखिएको पाइन्छ । जस्तो; श्रद्धाञ्जलि, कहीँ श्रद्धाञ्जली । एवं कहीँ एवम् । पारादिप कहीँ पारादीप ।
यस्ता त्रुटिका साथै कतिपय स्थानमा भाषा पुनःरूक्ति भएका पनि छन् । कतिपय स्थानमा लेख्य परम्पराभन्दा पनि कथ्य परम्परालाई आत्मसाथ गरिएको छ । कतिपय ठाउँमा अप्रासङ्गिक शब्द पनि आएका छन् । एउटा उदाहरणः
उनले बेरोजगार र सिपालु व्यक्तिलाई हातमा लिन कुनै कसरत बाँकी राखेनन् । (पृ. १६८)
यहाँ कसर भन्न खोजिएको होला तर, कसरत भएको छ । यस्ता त्रुटिले वर्णविन्यासलाई खल्बल्याउँछ । यहाँ दिइएका उदाहरणहरु बाहेक पनि कयौं उदाहरणहरु छन् । दोस्रो संस्करण प्रकाशन गर्दा यस्ता विषयमा ध्यान दिन सकियो भने पक्कै पनि पुस्तक सबै पाठकका लागि पठनीय बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

निष्कर्षः
एक वाक्यमा भन्ने हो भने पुस्तकमा ‘दृढ सङ्कल्प, इमान्दारी र कर्तव्यनिष्ठ भएर लागे सफलता हात पर्छ’ भन्ने नै छ । एउटा आम मानिस देशविदेशमा कसरी कम्पनी खोल्न सफल भए । यो नै पुस्तकले दिने सन्देश हो । दलित आन्दोलनलाई आर्थिक कोणबाट हेरिनु पुस्तकको अर्को सफलता हो । पुस्तकमा इन्द्रकुमार र उनको परिवारमा घटेका घटनाहरुलाई सिसा झैं जसरी पारदर्शी ढङ्गले प्रस्तुत गरिएको छ, उक्त कुरा चाहिँ पुस्तकको ओज हो । वराह स्थापना गर्ने इन्द्रकुमार जति इमान्दार थिए, यो पुस्तक पनि त्यति नै इमान्दार भएर उभिएको छ । कहीँ पनि छलकपट गरिएको छैन । कसैलाई भ्रममा राख्न खोजिएको छैन । वराहका कर्मचारी हुन् वा वराहसँग जोडिएका व्यक्तिहरु । पुस्तकलाई अझै सुन्दर ढङ्गले प्रस्तुत गर्ने ठाउँहरु भने प्रशस्तै छन् । त्यसतर्फ लेखक थप घोत्लिनु आवश्यक छ ।
सन्दर्भ सामग्री सूचीः
विश्वकर्मा, पदम (२०७६), निसिप–सङ्घर्षगाथा, काठमाडौंं