सरल, सुसंस्कृत, व्यक्तिगत स्वार्थमा नलागी देश र कर्तव्यप्रति बफादार, धरानको शिक्षा, स्वास्थ्य बिजुली र खानेपानीमा अतुलनीय योगदान पु¥याउनुभएका धरान नगर पञ्चायतको पहिलो प्रधानपञ्च, राष्ट्रिय पञ्चायतका सदस्य, पूर्व अञ्चलाधीश, गाउँफर्क राष्ट्रिय अभियानका अञ्चल सभापति विभिन्न क्षेत्रमा प्रशंसनीय कार्यहरु गर्दै आउनुभएका भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने विकासप्रेमी आदर्श व्यक्तित्वको नाम हो स्व. सूर्यप्रसाद उपाध्याय । उनी धरानका सौरभ हुन् ।
जोसँग असल विद्या छ, त्यो व्यक्ति विनयशील हुन्छ, विनयशील व्यक्ति सत्पात्र मानिन्छ, जो सत्पात्र छ, त्यसलाई इमान, मान, प्रशंसा प्राप्त हुन्छ । इमान, मान र प्रशंसाले युक्त व्यक्ति सुखी एवम् समृद्धशाली हुन्छ भने जस्तै स्व. उपाध्यायमा इमान, मान, यश, कीर्ति आदि पर्याप्त थिए । निष्ठुरी कालले पङ्क्तिभेद नगरी २०७८ साउन १० गते उहाँलाई टपक्क टिपेर लग्यो । तेह्रौं दिनको पुण्य तिथिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै यो पङ्क्तिकार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको पाञ्चभौतिक शरीर नाश भएर गए पनि उनका सुकीर्तिहरु पूर्ववत् प्रज्वलित भएर धरानका आकाशमा तारा भई चम्किरहनेछन् ।
जीवनगङ्गाः
वि. सं. १९९३ चैत २६ गते शिशिर ऋतुको अन्त्य भई वसन्त ऋतुको आगमनमा पिता अभिनारायण उपाध्याय ढुङ्गेल र आमा सावित्री उपाध्यायको कोखरुपी गङ्गोत्रीबाट दोस्रो सुपुत्रका रुपमा देवीदेवताहरुले बसोबास गरेको पवित्र रुद्राक्षारण्य क्षेत्र विजयपुर (हाल वडा नं. १४) मा जन्म भएको थियो । त्यही पृष्ठभूमिमा बालकृडा गर्दै विद्वान् पिताको सान्निध्यमा रही वि.सं. १९९६ मा दन्तकाली मन्दिर परिसरस्थित दन्तकाली प्राथमिक पाठशालामा प्राथमिकस्तरको अध्ययन गर्नुभएको थियो । प्राथमिक शिक्षापछि २००४ सालमा पब्लिक हाई स्कुलमा अध्ययन गर्नुभई २०१० सालमा प्रवेशिका परीक्षा (एस.एल.सी.), त्रिचन्द्र कलेज काठमाडौंबाट २०१४ सालमा प्रविणता प्रमाण–पत्र तह (आई.ए.) र २०१७ सालमा बी.ए.उत्तीर्ण गर्नुभयो ।
राजनीतिक जीवनः
वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि २००८ मङ्सिर २७ गते राजा त्रिभुवनको सवारी धरानमा भयो । धरान प्रवेशको समयमा उग्रविचार धाराका नेताको इशारामा केही असन्तुष्ट र उग्रछात्रहरुले राजालाई कालो झण्डा देखाउने घृणित कार्य गरे । कालो झण्डा देखाउने छात्रहरुलाई पुलिसले समातेर हिरासतमा समेत राखेका थिए । पक्राउ परेका छात्रहरुलाई राजाको सवारी क्याम्प धरानको पिण्डेश्वरमा दुई दिनपछि राजाका अगाडि उपस्थित गराइयो । कालो झण्डा देखाउनेहरुमध्ये एक उनै १५ वर्षीय सूर्यप्रसाद उपाध्याय थिए । त्यो कालो झण्डा देखाउनुको प्रमुख उद्देश्य थियो–‘धरानमा कलेज चाहियो, स्कुलहरु चाहियो, पठन–पाठन हुनुप¥यो, खानेपानीको समुचित व्यवस्था हुनुप¥यो र अस्पताल चाहियो भन्ने माग थियो ।’ त्यस घटनालाई राजा त्रिभुवनले बडो संवेदनशील रुपमा लिनुभयो । त्यसपछि धरानमा धमाधम स्कुल, कलेज र खानेपानीको व्यवस्था हुँदै गयो ।
प्रधानपञ्चमा निर्वाचितः
वि.सं. २००७ को परिवर्तनपछि भएको लामो प्रयासपछि अन्ततः २०१७ साल कात्तिक ७ गते धरान नगरपालिकाको पहिलो आम निर्वाचन सम्पन्न भयो । त्यसबेला धरानलाई ९ वडामा विभाजन गरिएको थियो । पार्टी खुल्ला भएको हुँदा, पार्टीगत ढङ्गले वहाँ नेकपा समर्थित स्वतन्त्र सदस्यमा वडा नं. ९ विजयपुरबाट निर्वाचित हुनुभएको थियो । प्रारम्भिक अवस्थामा बामपन्थी झुकाव भए पनि उत्तराद्र्धमा आएर उहाँ पञ्चायतवादी हुनुभयो । एउटा इमान्दार र राष्ट्रवादी बन्नुभयो । २०१७ पुस १ गते राजा महेन्द्रबाट बहुदलीय व्यवस्थाको अन्त्य गरी नेपालको संविधान २०१९ अनुरुप पञ्चायती व्यवस्था स्थापना भएपछि वडाहरु परिवर्तन भई ११ वडा भई उहाँ पुनः ११ नं. वडाबाट नगर पञ्चायत ऐन अनुरुप विजयी बन्नु भई २०२० सालमा पहिलो पटक प्रधानपञ्च बनेका थिए । त्यसपछि २०२६ देखि २०२८ सम्म दोस्रोपटक प्रधानपञ्च भएका थिए ।
उहाँ धरान नगरपञ्चायतको प्रधानपञ्चमा रहँदा खानेपानी शाखा, शिक्षा शाखा र स्वास्थ्य शाखा गरी तीनवटा महŒवपूर्ण शाखाहरु खोली आजीवन रुपमा विकासको क्षेत्रमा जोड दिनुभएको थियो । नेपाल अधिराज्यमा धरान पहिलो नगर पञ्चायत हो, ११ वटा वडाहरुमा प्राथमिक स्कुल खोली प्राथमिक स्कुललाई निःशुल्क गरिएको थियो । जसको उद्घाटन २०२० माघ १२ गते राजा महेन्द्रबाट भएको थियो । तत्कालीन अवस्थामा धरानमा कुनै पूर्वाधार साधन र स्रोत नहुँदा नगर पञ्चायत जनताकै संस्था हो, जनताकै निमित्त काम गर्छ भन्ने जानकारी दिन लोकप्रियताको निम्ति वहाँले जनतासँग प्रत्यक्ष सुमधुर सम्बन्ध कायम गर्दै तिनै जनताबाट कर सङ्कलन गर्दै विकास कार्य अघि बढ्दै गयो । यस्तैमा शिव सिनेमादेखि पूर्व छाताचौकसम्म सिंहदेवी चोकदेखि उत्तर शिव मन्दिरसम्म र सिंहदेवी मन्दिर चोकदेखि पूर्व उत्तर विजयपुर बजारसम्म जाने बाटोतर्फ ढुङ्गा सोलिङ भई सडक सञ्जाल प्रारम्भको कार्य गरे ।
खानेपानी योजनाको कार्य सञ्चालन हुँदै गयो । बिजुली र टेलिफोनको निम्ति प्रयास हुँदै गयो । ब्रिटिस क्याम्पसँग सम्पर्क गर्दै भानुचोकदेखि धरान पुरानो अस्पतालसम्म ढलसहित पक्की सडकको निर्माण भयो । तत्कालीन समयमा भाडामा सञ्चालन भइरहेको धरान नगर पञ्चायत कार्यालयका लागि हाल उपमहानगरपालिका कार्यालय परिसरको अक्षय राइस मिल (मोती स्मृति भवन) को जग्गा खरिद गरी नगर पञ्चायत कार्यालयका लागि भवन निर्माणको कार्य प्रारम्भ गरेका थिए । ब्रिटिस सरकारबाट धरानको बिजुलीको माग पूरा गर्न सहयोग प्राप्त भई सोही रकमबाट धरान इलेक्ट्रिक कम्पनी स्थापना भई २०२२ सालदेखि धरानमा पहिलोपटक बिजुली बल्न थाल्यो । उहाँकै कार्यकालमा धरानमा गाउँ फर्क राष्ट्रिय अभियानको अञ्चल कार्यालय र नेपाल रेडक्रस सोसाइटी सुनसरीको स्थापनामा विशेष योगदान रहेको थियो । उहाँ प्रधानपञ्च रहनुभएको बेला धरानमा धेरै महŒवपूर्ण कार्यहरु सम्पन्न भए । वहाँको योगदान धरानवासीले कहिल्यै बिर्सन सक्दैन ।
उनी वि.सं. २०२८ मा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भएका थिए भने राजा वीरेन्द्रले २०४४ सालमा जनकपुर अञ्चलको अञ्चलाधीश बनाए । पञ्चायत व्यवस्था नढलेसम्म उनी अञ्चलाधीश पदमा बहाल रही कार्य गरिरहेका थिए ।
पदक विभूषण–विदेश भ्रमणः
प्रबल गोरखा दक्षिण बाहु, शुभ राज्याभिषेक पदक–२०३१, सेवापदक, विख्यात त्रिशक्तिपट्ट, दैवीप्रकोप पीडितोद्धार पदक र गद्धी आरोहण रजत पदक प्राप्त गर्नुभयो । उहाँले सोभियत सङ्घ, बेलायत, फ्रान्स, जर्मनी, इटली, स्वीजरलैण्ड, अमेरिका, जापान, हङ्कङ, थाइल्याण्ड र भारतको भ्रमण गर्नुभएको थियो ।
जीवनको उत्तराद्र्धः
हाल विजयपुर धरान–१४ को आप्mनै निवासमा परिवारका साथ बस्दै स्वतन्त्र चिन्तनका रुपमा देशको राजनैतिक वस्तुस्थितिको चिन्तन र मनन् गर्दै रहँदा मुटुरोगबाट ग्रसित बनेका उपाध्यायको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० गते आइतबार ८५ वर्षको उमेरमा निधन भयो । निधन भएको भोलिपल्ट सोमबार उहाँको शवलाई हिन्दु धर्मसंस्कारअनुसार पिताम्बर ओढाएर वराहक्षेत्रको चतरा दुर्वाशाघाटको अन्तिम यात्रा गर्दै इष्टमित्र, नातागोता, कुलकुटुम्ब, मलामीहरुबाट एकचिम्टी माटो र एक अञ्जुली पानीको तर्पण दिई चिसो परेला र रित्तो मन लिएर धरान फर्के । उहाँको सम्मानमा ११ गते सोमबार धरान उपमहानगरपालिकाले नगर कार्यपालिका र मातहतका सबै कार्यालयहरुमा बिदा दिइएको थियो । आज यस्ता मूर्धन्य व्यक्तिको अनुपस्थितिबाट धरानले ठूलो क्षति व्यहोरिरहेको तथ्य सर्वसाधारण सबैले महसुस गरेका छन् ।
(कर्माचार्य धरानका ऐतिहासिक सामग्रीका खोजमूलक लेखक हुन् ।)