हिउँदे बिदाका कारण कलेजहरू बन्द थिए । बाहिरबाट आई धनकुटा बहुमुखी क्याम्पसमा पढिरहेका साथीहरू बिदा मनाउन आ–आफ्नो घर गएका थिए । धनकुटा नगरका स्थानीय बासिन्दा हामी अखिल कार्यकर्ताहरू कम थियौँ । त्यतिखेरै स्ववियु निर्वाचनको मिति तोकियो । रेडियो नेपालबाट यो सूचना पाउनासाथ साथीहरूसँगको सम्पर्कका लागि मित्र जेपी परदेशी (जयपूर्ण भुजेल)को घरमा पुगेँ । हामी दुवै अखिल जिल्ला कमिटीका पदाधिकारी थियौँ ।
विभिन्न टोलहरूमा साथीहरूको डेरा–डेरामा पुग्दा ती डेराहरूमा ताल्चा मारिएको थियो । त्यतिखेरै हामी दुईको पिछा गर्दै विपक्षी वृत्तका एक साथी हाम्रो जासुसी गर्दै हिँडिरहेका थिए ।
कलेज खुलेपछि अलिअलि गर्दै साथीहरूको आगमन भयो । तर, कतिपय जिम्मेवार साथीहरूको उपस्थिति भइसकेको थिएन । कलेजमा कतिपय साथीहरूकै दोस्रो वर्षको भर्ना भइसकेको थिएन । दोस्रो वर्षको भर्ना नहुने साथीहरूका लागि मताधिकार पनि थिएन ।
२०४६ को परिवर्तनपछि स्ववियु निर्वाचन रोकिएको थियो । धनकुटा बहुमुखी क्याम्पसमा २०४५ सालको निर्वाचन रक्तपातपूर्ण भएको थियो । त्यसैलाई मध्यनजर गरेर सकेसम्म शान्तिपूर्ण, नसके आफै आक्रामक भएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीकहाँ थियो । आर्थिक स्रोतहरू थिएनन् । त्यसैले साथीहरूले आ–आफ्नो हातमा लगाएका घडी फुकालेर साहुकहाँ बुझाई ब्याजमा ऋण लिएर दोस्रो वर्षमा भर्ना छुटेका जिम्मेवार साथीहरूको भर्ना गरी उनीहरूको मतदानको अधिकारलाई सुरक्षित गरिदिएका थियौँ, २०४९ सालको स्ववियु निर्वाचनमा ।
पूर्व स्ववियु सभापति धर्मराज पौड्याल त्यही साल जिल्ला विकास समिति, धनकुटाको सभापति निर्वाचित हुनुभएको थियो । त्यतिखेरका प्रखर युवा नेता । उहाँको सभापति क्वार्टरलाई हामीले निर्वाचन परिचालन कार्यालय बनाएका थियौँ । निर्वाचन शान्तिपूर्ण हुने छाँट देखिएको थिएन । तत्कालीन उप–प्राध्यापक महेश्वर पन्तको नेतृत्वमा गठित निर्वाचन समिति पनि तटस्थ बस्न सकेको थिएन । उनी प्रजातन्त्रवादी थिए र उनको अनुराग नेविसङ्घतिर हुने नै भयो ।
एक दिन हामीले प्राध्यापक क्वार्टरमा फोन गरी आफूमध्ये कोही नेविसङ्घको कार्यकर्ता बनेर फोन ग¥यौँ, उहाँलाई । उहाँले भेटेरै सबैथोक कुरा गर्ने बताउँदासम्म उनी सकेसम्म वर्षौंदेखि कायम भएको धनकुटा क्याम्पसको अखिलको वर्चश्व तोड्ने पक्षमा देखिएको बुझ्न हामीलाई गाह्रो भएन । त्यतिखेरै हामीबीचका एक अगुवाले हाम्रै साथीहरूलाई भड्काइदिएपछि हामीलाई सम्हाल्न गाह्रो भइरहेको पनि बिर्सिनसक्नु छ । ती अगुवा अहिले धनकुटा क्याम्पसमै पढाउँछन् । उनकै भड्काउका कारण लडभीड गर्न सक्ने साथीहरू तटस्थ बसिदिए ।
...
अब फेरि अर्को चुनौती आइलाग्यो । चुनौती थियो, निर्वाचन समितिको पारदर्शिता त के उनको निष्पक्षतामाथि पनि शङ्का लागिसकेपछि त्यसलाई तोड्न जरुरी हुन आएको थियो । त्यसैले त्यसको प्रचारात्मक अभियानका लागि मित्र उमेशचन्द्र अधिकारी र म खटियौँ ।
हामी तल्लोटोल माथिल्लो टोल घर भइबसेका छिमेकी पनि । हामी दुईजना मिलेर रातभर कार्टुन बनायौँ र कलेजका भित्ताभरि टाँस्यौँ । महेश्वर सरको चपरे दाँत भएको मुखाकृति झ्याप्प निकाल्न पाएकोमा कम्ता आनन्द आएन । म घरिघरि भित्तेपत्रिकामा प्रजातन्त्रवादी उप–प्राध्यापक गोपाल सर (कवि गोपाल पौडेल ‘वसन्त’)को मुखाकृति बनाएर उहाँलाई पनि दुःख दिन्थेँ ।
चित्रकलामा म त सिकारु वा रहरे, यसको सम्पूर्ण नेतृत्व भने उमेशजीले नै गर्नुभएको थियो । उहाँ एकजना प्रतिभाशाली कार्टुनिस्टको रूपमा स्थापित भइसक्नुभएको छ ।
कलेजको भित्ताभरि कार्टुन देखिएपछि हाम्रा विपक्षीवृत्त रिसले चूर भए । कार्टुन बनाउनेको हात काट्नेसम्म अनौपचारिक घोषणा गर्न पनि भ्याएछन् ।
पूर्वानुमानजस्तै भयो, स्ववियु निर्वाचन । विपक्षीवृत्तबाट बुथ लुट्नेसम्मको प्रयास हुँदा त्यो हुन नदिन तत्कालीन सहायक प्राध्यापक केशव अधिकारी झण्डै बार्दलीबाट खस्नुभयो । साथीहरूको रगत बग्यो । २०४५ सालमा अखिल कार्यकर्ताहरूलाई पराजित पक्षले डेराडेरामा पुगेर पिटेपछि धनकुटाबाट रातारात पलायन हुनुपरेको पनि भुल्न सकिएको थिएन । अखिलले धनकुटामा भोग्नु परेको नियति के थियो भने स्ववियु निर्वाचन जितेर पनि पिटाइ खानुपर्ने । २०४५ सालमा धर्मराज पौडेल स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो ।
स्ववियु निर्वाचनको एक वर्षअघि कलेजमा भएको झडपमा विनोद गुरुङ, केदार भट्टराई (हालः दिवङ्गत), राम लक्सम र म निक्कै नराम्ररी घाइते भएका थियौँ । त्यसैले सचेत थियौँ ।
...
स्ववियु निर्वाचनपछि उमेशजीले कताबाट त्यो खबर सुन्नुभयो, कुन्नि ? तर खबरअनुसार पराजित विपक्षीवृत्तका केही मानिस घरघरबाट अखिलका कार्यकर्तालाई थुनेर पिट्न बजार क्षेत्रबाट आउँदैछन् रे । उहाँले मेरो घरमा आएर दिनभरि जङ्गलतिर बिताएर साँझतिर मात्र घर फर्कौं भन्ने हामीबीच सल्लाह भयो । हामी जङ्गलतिर गयौँ, सुरक्षित रहन ।
‘तर जङ्गलतिर घुमेर हुन्न, केही दिन धनकुटाबाट नै हराइदिऊँ’ भन्ने सल्लाह भयो, हामीबीच । म क्रमशः विद्यार्थी राजनीतिबाट पत्रकारितातिर जाने सोच बनाउँदै थिएँ । समाचार सामग्री सङ्कलन गर्न र लेख्न सिकिरहेको पनि थिएँ ।
त्यसपछि हामी हिड्यौँ, पूर्वी तराईतिर । त्यसबेला भुटानी शरणार्थी समस्या जल्दोबल्दो थियो । त्यहाँ गएर समाचार सङ्कलन गर्न कलम र कापी बोकेर हिँड्न म तम्सिएँ, उमेशजी रङ, कुची र कागजहरू बोकेर तयार हुनुभयो । हामीले मोरङको शनिश्चरे र झापाको बेलडाँगी पुगेर चक्कर मा¥यौँ । मैले त्यसबेला भुटानबाट धपाइँदा त्यहाँका महिलाहरूले भोग्नुपरेको बलात्कारको पीडाहरू सङ्कलन गरेको थिएँ, उमेशजीले जीवन्त ल्याण्डस्केच तयार पार्नुभएको थियो ।
...
डुल्दै घुम्दै हामी झापाको चकचकी पनि पुग्यौँ । त्यहाँ बास बस्नका लागि हाम्रा नातेदार छँदैथिए । त्यहीँ हो, पहिलोपटक मैले विदेशी भूमि टेकेको । भारतको डिगल बैङ्क बजार पनि पुगिएको थियो ।
हामीसँग समय प्रशस्तै थियो, तर खर्च भने सीमित थियो । मैले अब धनकुटा फर्कौं भने उमेशजीलाई । तर, उमेशजीलाई भने झापाको हडिया बुधबारे पुग्नै पर्ने ।
म यस्तो समयको कुरा गर्दैछु, जुन समय साथी बनाउने चलन थियो, पत्र लेखेर । पत्र लेखेरै प्रेम प्रस्ताव राख्ने चलन पनि थियो । एउटा रेडियो कार्यक्रममा मैले पत्रमित्र स्तम्भमा आफ्नो नाम र ठेगाना के प्रसारण गरेको थिएँ, चिठीपत्रको ओइरो पनि कति हो कति ! ती पत्रमित्रहरूमध्ये कतिपयसँग मेरो भेटघाट पनि भयो ।
उमेशजीले पनि त्यहीबीच कसैलाई पत्रमित्र बनाउनुभएको रहेछ । त्यतिखेर उमेशजी नेपाली कागज (काँचो कागज) मा पानी रङमा राम्रा चित्रहरू कोरेर आफ्नो पत्रमित्रलाई पठाउनु हुँदोरहेछ । उहाँ आफ्नो पत्रमित्रबारे मसँग घण्टौँ कुरा गर्दा पनि नथाक्ने !
...
हामी हडिया बुधबारे पुग्यौँ । त्यहाँको एक विद्यालयतिर लम्कनुभयो, उमेशजी । त्यसबेला हामीजस्ता सिकारुलाई राजधानीबाट छापिने प्रकाशनहरूमा आफ्ना लेख रचना छाप्नु निक्कै कठिन थियो । छापिएर आएपछिका केही समय भूईंमा खुट्टा हुँदैनथ्यो ।
२०४९ को चैत महिनामा मेरो एउटा लेख छापियो, ‘मधुपर्क’ मासिकमा । लिम्बूहरूको विवाह संस्कृतिसँग सम्बन्धित थियो, त्यो मेरो लेख । यताउता विभिन्न पुस्तकहरूबाट सारेर तयार पारिएको थियो, त्यो लेख । मैले त्यो मेरो लेख छापिएको मधुपर्क हडिया बुधबारेको स्टेशनरी पसलबाट किनेँ ।
यता आफ्नो लेख रचना छापिएर मेरो भूईंमा खट्टा थिएन, तर उमेशजी जता जानुभएको थियो, फर्कंदा अँध्यारो मुख लगाएर फर्कनुभयो । ‘तपाईं त ...जीलाई भेट्न जानुभएको भेट भयो त ?’, मेरो जिज्ञासा ।
‘भेट भएन यार’, उमेशजीको दुखेसो !
त्यसपछि लामो समय उमेशजीको अनुहारमा कान्ति छाएन । उमेशजीलाई मैले खास कुरा उप्काउन पनि सकिनँ । त्यतिबेलै मैले काठमाडौंबाट छापिने एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाता (स्ट्रिङ्गर)मा नियुक्त भई पत्रकारितामा आफ्नो करिअर सुरु गरिसकेको थिएँ ।
२०५० को हिउँदमा सल्लेरी वनको बाटो हुँदै हामी दुई जना घर फर्किरहेका थियौँ । उमेशजी फेरि मौन । हामी हडिया बुधबारेको फन्को मारेर धनकुटा फर्किएको पनि एक वर्ष हुन आँटिसकेको थियो, तर उमेशजीको अनुहारमा कान्ति फर्केको थिएन । सल्लेरी वनकै बाटो हिँडिरहेका बेला उमेशजीसँग पुरानो कुरा कोट्याएँ, ‘उमेशजी धेरै पिर नगर्नुस् है, म तपाईंको पिर ममीलाई सुनाइदिउँला नि !’
पछि उमेशजीकै शब्दअनुसार हाम्रो हडिया बुधबारेको यात्रामा उहाँ जुन विद्यालयमा जसलाई भेट्न जानु भयो, उहाँ चाहिँ उहाँको नाम उच्चारण गर्नासाथ भाग्नुभएछ । संयोग पनि अचम्मको ! उमेशजी जुन समूहमा पुगेर जसको नाम लिँदै भन्नुभएछ, ‘...जीलाई भेट्न सकिन्छ ?’
उहाँले जसको नाम लिनुभयो, त्यही पात्र त्यो समूहमा हुनुहुँदो रहेछ । डरले हो कि लाजले हो, उहाँ त त्यहाँबाट कुलेलम ! त्यसपछि उमेशजीको अनुहारबाट कान्ति गायब भयो ।
मैले त ठट्टा मात्रै गरेको थिएँ, भावुक स्वभावका एउटा कलाकार उहाँ आवेशमा आइहाल्नुभयो । मैले निक्कै सम्झाउने कोशिस गरेँ, तर हाम्रो बाटो नछुट्टिउञ्जेल उहाँ रिसाइरहनुभयो । त्यसपछि हामी दुवैको बोलचाल बन्द !
त्यसबीचमा म धरान बसेर पत्रकारिता गर्न लागेँ । हामीबीच संवादहीनता कायमै थियो । धनकुटा घर आएको बेला म आफै उहाँको घरमा गएँ र संवादहीनता तोडेँ ।
...
पछि उहाँको विहे भयो, उनै पत्रमित्र कञ्चन भट्टराईसँग । यसमा उमेशजीले धेरै पापड बेल्नुभएको छ । जब उहाँको विवाहसम्बन्धी सपना पूरा भयो, त्यसपछि उहाँको अनुहारमा यसरी कान्ति फर्कियो कि, अब त्यो हत्तपत्त गायब हुनेवाला छैन ।
एक दिन उमेशजीले मुसुक्क हाँस्दै काठमाडौंको एक खाजा पसलमा भन्नुभयो, ‘दिक्पालजी, अरू त त्यस्तै हो, तर मैले म्यारिज चाहिँ चाहेकै जस्तो, सोचेकै जस्तो गरेँ यार ।’
त्यसबेला म धरानमा रहेर पत्रकारिता गरिरहेको थिएँ । त्यहाँ रहँदा मेरो सम्पर्क फोन नम्बर थिएन । उहाँलाई जन्तसाथ दुलाहा बनाएर झापा हडिया बुधबारेतिर गुडेको बस भानुचोकमा केही बेर रोकिएछ, कतै हिँडिरहेको अवस्थामा मलाई भेटिए, टपक्क टिपेर जन्त बनाउने उद्देश्य रहेछ उहाँको । तर, म त्यो कार्यक्रममा छुटेँ । यद्यपि म त उमेशजीको जीवनमा सधैँको जन्त, सधैँको लोकन्दा ।