विश्व कोरोनाको महामारीले आक्रान्त छ । यसले कतिखेर कसको ज्यान लिन्छ भन्ने कुरा कसैले सोच्न सकेको छैन । विगत दुई वर्षको अन्तरालमा यस महामारीका कारण साढे त्रिचालीस लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यही क्रममा नेपालमा पनि धेरै जनाले कति नजिकका आफन्तहरू गुमाउनुप¥यो । मृत्युको यो सिलसिला कहिले रोकिने हो थाहा छैन । प्रियजनहरूको मृत्युमा बाँच्नेले भावविह्वल भएर आँसु बगाउनु र श्रद्धाञ्जली दिनुबाहेक यो संसारको निरिह प्राणी मानवले अरू के नै पो गर्नसक्छ र ?

मृत्युले झुक्याई झुक्याई समाजलाई आहत तुल्याइरहेको छ । केही महिनाअघिमात्र निधन हुनुभएका आदरणीय गुरु प्राध्यापक राजेन्द्र सुवेदीको निधनको घाउमा खाटा बस्न नपाउँदै आज आएर एक असल अभिभावक, प्रिय दाइ, सङ्घर्ष र क्रियाशीलताका पर्याय सह–प्राध्यापक डा.घनश्याम दाहाललाई गुमाउनुपर्दा मनमा असह्य वेदना भएको छ । यो नियतिको खेल अनौठो छ । थोरै समयमा प्रगतिका धेरै खुड्किलाहरू चढिसक्नुभएका आदरणीय दाइ प्राध्यापक हुने सामग्रीको लेखन र प्रकाशनमा तीव्र रूपमा लाग्नुभएको थियो ।

गत असार २५ गते म काठमाडौंमा हुँदा ‘सुभाषजी ! अब खुल्ने विज्ञापनमा प्राध्यापक हुने हो, मलाई केही पुस्तकहरू ल्याइदिनु न, सातओटा पुस्तकहरू तयारीमा छन्’ भन्ने सरको बोली नै जीवनमा वहाँसँगको संवादको अन्तिम अंश बन्यो । सरले थाल्नुभएका धेरै कामहरू अधुरै रहे । वहाँको प्राध्यापक बन्ने चाहना कोरोनाले बीचमै चकनाचुर पारिदियो । यो नियतिको खेलसँग हामी हा¥यौँ दाइ ! तपाईंलाई बचाउन सकिएन । हाम्रा प्रयासहरू निरर्थक भए । ‘सबैकुरा जित्न सकिन्छ’ भन्ने तपाईंको भनाइलाई न हामीले पूरा गर्न सक्यौँ, न त तपाईंले पूरा गर्नुभयो । हामी निरिह भएर श्रद्धाञ्जली अर्पण गर्न बाध्य छौँ । प्रिय दाइ ! तपाईं आफ्ना अमर सृजनाका माध्यमबाट सधैँ जीवित हुनुहुनेछ र यहाँका सृजनाले समाजमा सकारात्मक सन्देश सधैँ प्रवाहित गरिरहनेछन् ।

२०५२ सालमा पिण्डेश्वर विद्यापीठ धरानमा उत्तरमध्यमा प्रथम वर्षमा अध्ययन गर्न आउँदा हामीलाई अनेरास्ववियुमा आबद्ध हुनुपर्छ भनेर साङ्गठनिक क्रियाकलापमा सक्रिय बनाउने घनश्याम दाइसँग त्यसपछि निरन्तर सहकार्य गर्ने अवसर प्राप्त भयो । डा. देवी नेपाल, डा. लेखराज निरौला, विष्णु मिश्र र दाइ नेत्र न्यौपाने विजयपुरमा जगदीश सापकोटाको घरमा डेरा गरिबस्नुहुन्थ्यो । दिनभर सङ्गठनका काम गरेर, साथीभाइहरूसँग ख्यालठट्टा गर्दै हो–हल्ला गर्ने तर, रातभरि पढेर बस्ने दाइहरूको समूहमा कोही पनि कमजोर हुनुहँुदैन भन्ने सोचाइ थियो ।

पछि महेन्द्र संस्कृत विश्वविद्यालयका विभिन्न विद्यापीठ हुँदै धरान आएपछि वहाँसँगको सम्पर्क र मित्रता अझ गाढा हुँदै गयो । मेरो दाइको साथी भएर पनि वहाँ मलाई आफ्नै सहकर्मी मान्नुहुन्थ्यो र विभिन्न प्राज्ञिक काममा सरसल्लाह गर्न घरैमा आइरहनुहुन्थ्यो । म पनि नेपाली विषय नै अध्यापन गराउने भएकाले कुनै पनि विषयमा केही समस्या भएमा वा शङ्का लागेमा ‘सुभाषजी यस्तोमा के गरौँ’ भनी सल्लाह गर्नुहुन्थ्यो ।

अघिल्लै समयदेखिका पुस्तकहरू लेखन र प्रकाशनमा हाम्रो निरन्तरको सहकार्य थियो । प्रायः भेटहुँदा पढाइलेखाइकै विषयमा चासो राख्ने र सधैँ कुनै न कुनै काम गरिरहनुपर्छ भन्ने त्यो जोस, जाँगर र सक्रियतालाई आज कोरोनाले निश्तेज पा¥यो । निर्जीव एउटा मुढो बनाइदियो । ‘प्राध्यापक हुन आठओटा पुस्तकहरू भए कसो नपुग्ला’ भनेर निरन्तर त्यसैमा अहोरात्र खटिरहेको अवस्थामा अचानक कोरोनाले च्यापेर अस्पताल भर्ना गरिएको खबर रमेश घिमिरेमार्फत् जानकारी भयो ।

गोपी सरले फोन गर्नुभयो तर, सरको आवाज स्पष्ट बुझिएन । त्यसपछि अनेक प्रयत्न गरी धरानको बीपी हस्पिटलको आईसीयूमा पु¥याएर उपचार थालियो । यस क्रममा सागर सुवेदी, काशीनाथ पौडेल, रघु भण्डारी, राजेन्द्र शर्मालगायतका विभिन्न महानुभावहरूको निरन्तरको खबरदारी, उपचार, हौसला, प्रेरणा आदिले पनि कोरोनासँग हामीले हार खानुप¥यो । आज आएर गहभरि आँसु र मनभरि पीर अनि भावुक हृदयका साथ प्रिय दाइको शरीरलाई सधैँका लागि बिदाइ गर्नु परिरहेको छ ।

२०७८ साउन ३१ गते बिहान साढे चार बजे सह–प्राध्यापक सागर सुवेदीले फोनमार्फत् घनश्याम सर अब यस संसारमा भौतिक रूपमा नरहनुभएको समाचार सुनाउँदा मन एक किसिमले स्तव्ध भयो । अन्योलग्रस्त मानसिकतामा नै अनायास अश्रुधारा बग्न थाले । धेरै मृत्युका खबरलाई सामान्य रूपमा लिने र नपग्लने हृदय पग्लिएर आँखाबाट बग्न थाले । सम्झाउने धेरै प्रयत्न गर्दा पनि आँसु थामिएनन्, झरिरहे, कोही नउठेको समयमा एक्लै धेरैबेर एकान्तमा रुन सकेँ ।

दाइका अनुकरणीय कार्य सम्झेर, त्यो जोस, जाँगर, लगनशीलता, निर्भीकता सम्झेर झस्किएँ । प्रकृति पनि प्रिय दाइको मृत्युको खबरले शोकमा बिहानैदेखि धुम्म भए झैँ लाग्यो । विजयपुका साथीहरूसँग ६ बजे नै सरको घर पुग्यौँ । के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा नै निकै समय बित्यो । अन्त्यमा सेनालाई शव व्यवस्थापन गर्न दिने टुङ्गो लागेपछि घरमा फर्किएँ तर, मन स्थिर हुन सकेन । मन रोइरहेको बेला प्रकृति पनि धुरुधुरु रुन थाल्यो । घनघोर पानी प¥यो । यो अप्रत्याशित घटनाले कोही नरोई बस्नसकेन । दिनभरि नै मानिसका आँखामात्र होइन, प्रकृतिले पनि अश्रुधारा बगाउन छाडेको छैन । सरले गर्दै गरेका सारा कामहरू वहाँका कोठामा यत्रतत्र छरपस्ट छन् ।

आज अचानक कलिला ती छोरीहरूका असल पिता, कुशल अभिभावक, जीवनको आधार र घरको मूल खाँबो ढल्यो । सारा जग हल्लियो । थाहा छैन, हल्लिएको यो जग अब कसरी पुनः बलियो हुन्छ होला ? बाबु विनाका ती कलिला अबोधनानीहरू र लामो जीवन बाँकी रहेकी ती बालककी आमाले कसरी आफ्नो जीवनलाई व्यवस्थित गर्नुहोला ? आप्mनो जीवनको उत्तराद्र्धमा छोराको निधनले ती बूढी आमाको मुटुमा कति आघात परेको होला ? हामी सबैको कामना छ, त्यो घनश्याम सरको धैर्य, साहस, त्याग र लगनशीलता परिवारका सदस्यहरूमा आओस् र यो अकल्पनीय दुःखबाट पार पाउने साहस पलाउन सकोस् । यही कामना गर्नुबाहेक समाज, व्यक्ति र सम्पूर्ण शुभेच्छुकहरूसँग अर्को कुनै विकल्प छैन ।

घनश्याम सरका धेरै कर्महरू बाँच्नेहरूका लागि प्रेरणा बन्न सक्छन् । सधैँ कुनै न कुनै काम गरिरहनुपर्छ र निरन्तर आफ्नो उन्नति र प्रगतिका लागि प्रयत्न गरिरहनुपर्छ भन्ने सरको बोली र व्यवहार हाम्रा लागि मार्गदर्शक बन्नसक्छ । कुनै पनि काम पछिका लागि थाती नराख्ने वहाँको सोचाइअनुसार नै घनश्याम सरले छोटो अवधिमा निक्कै महत्वपूर्ण र सहकर्मीहरूले गर्न नसकेका कामहरू पूर्ण गरिसक्नु भएको छ । सौखिन जीवन बाँच्न चाहने, मीठो खाना र राम्रो लाउन मन पराउने, ऐशआरामको जिन्दगी बाँच्नुपर्छ भन्ने सोचका धनी घनश्याम सरले सबैथोक पूरा गरेर जानुभयो । छिट्टै यो संसारको भोग गरिसक्नुपर्ने रहेछ क्यारे ! त्यसैले वहाँले सबै काम पूर्ण गरिसक्ने हतारो देखाउनुभएको हो कि भन्ने लाग्छ ।

धेरै काम पूरा गरे पनि वहाँको प्राध्यापक हुने धोको भने पूर्ण हुन सकेन । यहाँले गर्नुभएका सङ्घर्ष र कर्मबाट हामीले तपाईंले प्राध्यापक पद पाएसरह मानेका छौँ । शोकको यो अश्रुसागरमा डुबेर धेरै के लेख्न सकिन्छ र दाइ ! यस जीवनको कुनै भरोसा भएन । जबसम्म बाँचिन्छ क्रियाशील भएर बाँच्नुपर्छ भन्ने यहाँको जीवनबाट मैले यही शिक्षा ग्रहण गरेँ । साउनको भेलमा यहाँको दिव्य शरीर आगोको ज्वालासँगै समाप्त भयो तर, यो मनभरि, हृदयका हरेक कुनामा, पुस्तकका प्रत्येक पानाहरूमा, शब्दब्रह्मका रूपमा तपाईंको दिव्य मुहार नित्य मेरै सामु रहनेछ । तपाईं जहाँ भए पनि यही धर्तीको क्रियाशीलता, जोस, जाँगर र साहस त्यहाँ पनि नित्य रहोस् भन्ने कामनासहित छोडी जानेहरूलाई अलबिदा भन्नुबाहेक म के भन्न सक्छु र दाइ ? हार्दिक श्रद्धाञ्जली प्रिय घनश्याम दाइ ! शोकसन्तप्त परिवारमा गहिरो समवेदना !