झापा । साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । 

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । संस्थाका पूर्व महासचिव राजेन्द्र संग्रौलाले राष्ट्रकवि घिमिरेको जीवनीबारे चर्चा गरेको कार्यक्रममा इलामे जेठो, चित्रा पौड्याल कोइरालाले राष्ट्रकवि घिमिरेद्वारा रचित कविता बाचन गरेका थिए ।  

बिर्तामोडमा रहेको होटल हिकोला हेरिटेजको सातौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले होटल हिकोला हेरिटेजको स्थापनादेखि हालसम्मको अवस्था र साहित्य चौतारीको स्थापना कालदेखि नै राष्ट्रकवि घिमिरेले पुर्याएको योगदानबारे चर्चा गरेका थिए । 

सोही कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रवद्र्धनमा साहित्य, कला, संस्कृतिले पारेको प्रभाव र कोरोना कहरले होटल व्यवसायको क्षेत्रमा पारेको असरबारे चर्चा गरेको थिए । कार्यक्रमको सञ्चालन महासचिव खगेन्द्रा खुसी गरेकी थिइन् ।