‘जीवनमा देखेका दुःख–सुख र विभिन्न परिवेशहरुसँग मैले यस्तरी मितेरी लगाएछु कि आफ्नो खुसी, दुःखका अनुभव र उकुसमुकुसहरुलाई गीतमा पोखाउन थालेछु र गीतहरुको चाङ चुलिदै आएछ !’

कलाकार/गीतकार शशी थापा सुब्बा (जसलाई म शशी दिदी भन्छु) को गीतिसङ्ग्रह “साँझकी शशी“ मा लिखित उहाँकै शब्द सापटी लिएर कुरा शुरु गरौं । उहाँले कला, साहित्य र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको बिषयमा लेखिनु पर्छ भन्ने लागेको निकै भयो । हुनत उहाँ मात्रै होईन प्रवासमा रहेर आफ्नो भाषा, कला, संस्कार र सस्कृतिको श्रीवृद्धिको निम्ती कुनै न कुनै रुपमा लागिपरेका व्यक्तित्वहरुका कुराहरु लेखिनु पर्छ भन्ने लाग्छ ।

mukesh rai 2मैले उहाँलाई शुरुमा कलाकारको रुपमै चिनेको थिएँ । सन् १९९१ ताका हङकङमा शशी दिदीका श्रीमान धनबहादुर थापा गुरुजी र म एउटै पल्टनमा थियौ । डिजिटल जमानाको कल्पना पनि नगरिएको त्यो समयमा आफ्नो घर परिवारको फोटो फ्रेममा राख्ने चलन थियो, गुरुजीले पनि दिदीको फोटो राख्नु भएको थियो । गुरुजी र म एउटै कोठामा बस्ने भएकोले सम्बन्ध पनि नजिक भयो । बिशेष रुपले दिदीलाई मैले त्यो बेला सम्मानपूर्वक चिन्नु वा सम्झनुको कारण गुरुजी धन ब थापा मगरले सुनाइरहनु हुने उहाँको कला र सिर्जनाका कुराहरु, दिदी धरानमा अनाम नाट्य समुहको कलाकार हुनु भएको अनि “तरेवा“ चलचित्रमा उहाँ कलाकारको रुपमा आबद्ध हुनु भएको कुरोहरु नै थियो ।  

लाहुरे जीवनमा प्रत्यक्ष भेट नभएको दिदीसङ्ग सन् २००९ सालमा लण्डनमा नेपालबाट आउनु भएको कवि विश्वविमोहन श्रेष्ठको स्वागत कार्यक्रममा एउटा साहित्यिक कार्यक्रममा भेट भएको थियो । यसपछि कैयौ कार्यक्रमहरुमा दिदीसङ्ग भेट हुँदै गयो, दिदीको बहुप्रतिभाहरुसङ्ग झनै निकटता बढ्दै गयो । यही निकटताले कैयौ सिर्जनात्मक र व्यक्तिगत अप्ठ्याराहरुमा दिदी मलाई मार्गदर्शन गरिरहनु हुन्छ, यही आत्मियताले गर्दा कहिलेकाही लाग्छ मैले एउटी आदरणिय दिदी पाएको छु, शशी दिदी । सिर्जनात्मक काम, बेलायतको ब्यस्तता र पारिवारिक समयलाई अत्यन्तै नै सन्तुलित रुपले अगाडी बढाउनु भईरहेकी दिदीको व्यक्तित्व पनि उस्तै शालिन र भद्र लाग्छ ।

शुरुवाती दिनमा नेपाली चलचित्रका लोकप्रिय कोरियोग्राफर एव नृत्य निर्देशक प्रवेश बान्तावा राईसंग कत्थक नृत्य प्रशिक्षण लिए पश्चात चर्चित नृत्य गुरु देवदत्त ठटालसँग भारत नाट्यम र हिमालय कल्चर एसोसिएशन काठमाण्डौमा लोक नृत्यहरू सम्बन्धी २ बर्ष प्रशिक्षण लिनु भएको थियो उहाँले । बि स २०३९ सालको तिहारमा सामुहिक देउसी भैलो कार्यक्रम गरेर संकलन भएको रकमले पहिलो पल्ट नाटककार शारदा सुब्बाद्वारा लिखित “देउरालीमा एक थुङ्गा फूल“ नामक नाटक मन्चन गरेको अवस्मरणिय क्षण अझै सम्झनु हुन्छ उहाँ । उक्त नाटकको एक पात्र चमेलीको भूमिकामा गरेको सशक्त अभिनयले रङ्गकर्ममा दरिलो पाईला टेकायो साथै नाटकले पनि निकै लोकप्रियता हासिल गरेको थियो । त्यो बेलाको देउसी भैलो कार्यक्रममा गायिका पवित्र सुब्बा, गायिका अमृता थापा, गायक संगीतकार देवेन्द्र थापा, नाटककार एवं कानुन व्यवसायी शारदा सुब्बा, संचारकर्मी मोडल कला सुब्बा, अजय राई, बिजय राई अनि दिल गुरुङ जस्ता चिरपरिचित स्रस्टाहरुको महत्वपूर्ण सहभागीता रहेको थियो । उहाँहरुले थालनी गरेको सामुहिक देउसी भैलो कार्यक्रम सम्भवत धरानमा पहिलो पटक थियो जो आजसम्म पनि यथावत चल्दै आएको र उक्त कार्यक्रमबाट उठेको पैसा विभिन्न सामाजिक र सिर्जनात्मक कार्यमा खर्च गरिदै आएको छ ।

बि सं २०४४ सालमा निर्देशक नविन सुब्बाको अध्यक्षतामा गठित “अनाम नाट्य समुह धरान“मा उहाँको सशक्त भूमिका रहेको थियो । त्यहाँ हुँदा उहाँले लामो समयसम्म नृत्य निर्देशक एवं कोरियोग्राफरको जिम्मेवारी सम्हाल्नुभयो ।  यसै समयमा कवि टंक घिमिरेको बिस बर्ष शिर्षकको कवितालाई शास्त्रीय संगीतबद्ध गरी कत्थक नृत्य गर्नु भएको उहाँ सम्भवत नेपाल मै पहिलोपटक यसरी कवितामा पनि नृत्य गर्ने नृत्याङ्गना हुनुहुन्छ । यही समुहमा रहँदा नै उहाँ कै अवधारणामा राष्ट्रिय गीतहरुमा कलात्मक नृत्य गर्ने परिपाटी बस्यो ।  

यसैले हाल गीत, कविताहरु लेखिरहनु भए पनि उहाँले औपचारिक रुपमा कला यात्रा अभिनयबाट शुरु गर्नु भएको हो भन्दा अत्युक्ति नहोला । चर्चित रङ्गकर्मी सुनिल पोखरेलको लोकप्रिय टेलिसिरियल ‘जेठो छोरो’मा एक प्रौढ महिला नैनादेवीको भूमिका निर्वाह गरे पछि त्यसै पात्रा नैनादेवीको नामले उहाँ जनमानसमा चिनिन पुग्नुभयो । उक्त नामको प्रभाव पछिसम्म पनि रहिरह्यो भन्ने कुरो दिदी कहिलेकाही अझै सम्झना गर्नु हुन्छ । यसपछि उहाँले निरन्तर विवश आकाश, नभेटिएको बाटो, कलियुगको रामायण, रहर, आजभोलि, हर्के अब के गर्ने जस्ता नाटकहरुमा सशक्त भूमिका निभाउनुभयो । जसले एकातर्फ नवप्रवेशी कलाकारहरुलाई प्रेरणाको श्रोत जस्तै बन्नुभयो भने आफै पनि चर्चाको शिखरमा पुग्नुभयो । यही सफलताले गर्दा उहाँको पाईला विस्तारै साना पर्दाका चलचित्रतर्फ मोडियो । यसरी उनले तरेवा, बिषालु धुवाँ, आश, छर्किदेउ सिन्दुर लाशमाथि, जीवनधारा, क्याबिन गर्ल, छिमेकी जस्ता चलचित्रहरुमा पनि आफ्नो भूमिकालाई सशक्त ढङ्गले प्रस्तुत गनुभयो ।    

उहाँको नाम शशी थापा सुब्बा हुनुको रोचक प्रसङ्ग रहेछ ! पहिले माइतीमा हुँदा आफ्नो नाम शशीकला सुब्बा थियो बिहे पछि दर्ता गराउने क्रममा श्रीमानको थर थपियो शशीकला थापा मगर । केही समय यही शशीकला थापा मगर नामबाट परिचित हुनुभयो । तर लिम्बु भाषाको चलचित्र “तरेवा“ मा अनुबन्ध भएको समयमा उक्त चलचित्र निर्देशक नविन सुब्बाले कुनै विवाद नहोस भन्ने कारणले समाचार र चलचित्रमा नै उहाँको नाम शशी थापा सुब्बा राखिदिए । त्यसपछि शशी थापा सुब्बा नामबाटै उहाँको परिचय बनिएको र शुरुवाती दिनहरुमा कसै कसैले तपाईं थापा मगर कि सुब्बा, लिम्बु भनेर सोध्ने गरेको स्मरण गर्नु हुन्छ ।

आफ्नो पिता पुर्खादेखि वीर गोर्खाली हुनुको गौरव बोकेकी सैन्य सुपुत्री उहाँको श्रीमान पनि गोर्खाली सैन्य पेसामा नै आबद्ध सिपाही भएको कारण आफु पनि विदेश जानु पर्ने बाध्यताहरुले गर्दा चाहना भएर पनि आफ्नो सशक्त कला यात्रालाई निरन्तर रुपमा अधि बढाउन सक्नु भएन । यद्धपी उहाँले गर्नु भएको समाजसेवाका सुकार्यहरुले अझै पनि धरानमा होस वा बेलायतमा साथै उहाँसङ्ग सहकार्य गरेका धेरैले प्रंससापूर्वक सम्झन्छन ।

बि सं २०५०–५५ को ताका गठन भएको गोर्खा सैनिक महिला संघ सुनसरीको संस्थापक अध्यक्ष समेत रहेकी शशी दिदीले आफु अध्यक्ष रहिन्जेल लाहुरे परिवारहरुबाट लुगाफाटा र अन्य सरसमानहरु संकलन गरी सुकुम्बासी बस्तीमा अति नै न्युन मुल्यमा बिक्री गरी जम्मा भएको रकमले गरीब र असहाय महिलाहरुलाई सहयोग गर्ने गरेको सुनाउँदै, यस बाहेक संस्थाले एक जना स्थानिय साहित्यकारहरुको कृति बार्षिक रुपमा प्रकाशित गरिदिने र सम्मान गर्ने गर्दथ्यो ! जसमा कवि बेनु आचार्यको “एक टुक्रा आकाश“ (कविता सङ्ग्रह), कथाकार राजेश विद्रोहीको “बधशालाको तस्वीर“ (कथा सङ्ग्रह) आदी प्रकाशित गरिदिएका थिए भने साहित्यकार गोविन्द विकललाई सम्मान पनि गरिएको थियो । यस संस्थाले भु पु सैनिक संगठनसँग समान रुपमा भु पु गोर्खाहरुको न्याय र समान हक अधिकारको निम्ती गरेको आन्दोलनको फलस्वरुप बेलायती सैनिक वा सो सरहको हक अधिकार पाएकोमा आफु सन्तुष्ट रहेको विचार ब्यक्त गर्नुहुन्छ उहाँ ।

यस बाहेक पिण्डेश्वर वरपरका गरीब र सुकुम्बासीहरुको निम्ती प्रारम्भिक स्कुल संचालक, व्यवस्थापन समिती गठन गरी स्कुल चलाउने र शिक्षकहरुलाई समितिले नै तलब दिने गरेको थियो । यसैगरी धरानका तत्कालिन प्रहरी निरिक्षक शिवजी श्रेष्ठ एव प्रशासनसँग समन्वय गरेर चेलीबेटी बेचबिखन तथा बाल यौन शोषण नियन्त्रणको निम्ती महत्वपूर्ण कार्यमा संग्लग्न रही सेवा गर्नु हुन्थ्यो । यसै गरी ईन्द्रमाया राईको अध्यक्षतामा संचालित आमा समुहमा सचिवको कार्यभार सम्हालेर माओवादी द्वन्दकालको समयमा महिला हक अधिकारको निम्ती जागरुकता अभियान कार्यक्रमहरु गर्ने, एच आई भि एड्स सङ्क्रमित र  लागु औषध प्रयोगकर्ताका परिवार अनि नानीहरुको निम्ती सहयोग गर्ने साथै तिनीहरु मध्ये कोही असक्त विरामी परेको खण्डमा डाक्टर तपन तरफदारसँग सहकार्य गरी निशुल्क उपचार अनि अवस्था गम्भिर भएमा इण्डियन आर्मी क्याम्प हस्पिटलमा उपरार्थ लगिने गरेको थियो ।

बाबा मेगदल नयोङ सुब्बा र आमा बिना राई सुब्बाको कोखबाट साउन ५ गते शनिवार दार्जिलिङको सुकिया पोखरीमा जन्मिनु भएकी शशी दिदी स्कुले जीवनमा नै गीत र कविताहरु कोर्नु हुन्थ्यो । प्राय ः महिला मुक्ति, आत्मस्वाभिमान र गौरवपूर्वक बाँच्नु पर्छ भन्ने विचार बोकेकी उहाँलाई लिम्बु समाजको छोरीचेलीहरु प्रतिको उदारता र स्वतन्त्रताले झनै सोचलाई बल पुर्याएको देखिन्छ । जसको कारण उहाँमा आफुले चिताएको गर्छु भन्ने दृढ इच्छाशक्ति र स्वतन्त्र विचारले कला र साहित्यका बहु आयामिक बाटोमा अग्रसर हुन पुग्नुभयो । भने समाजका विसङतिहरुको विरुद्ध आवाज उठाउन सक्षम हुनुभयो । 

आकाश ओडेर सुत्नेहरु 
उठ फेरी क्रान्ति बोकेर 
अझै स्वतन्त्र भएको छैन !
तिमीले ओढेको आकाश 

 उहाँको यि कविताको अंश हेर्दा कला, साहित्य, रङ्गकर्म, समाजसेवा मात्रै नभएर राजनैतिक चिन्तनमा पनि राम्रो दक्खल भएको भेटिन्छ । सामाजिक विसङ्गतिहरुको विरुद्धमा खरो रुपमा प्रस्तुत हुने उहाँका कविता, गीत, गजल, मुक्तक जस्ता छोटा विधाका सिर्जनाहरुमा मौलिक निजत्व, जातिय संवेदना र सह अस्तित्वका बिषयहरुलाई सुन्दर र शालिनताका साथ अभिव्यक्त गर्नु हुन्छ । अहिले गीत, संगीतमा कमसल सिर्जनालाई पनि पैसाको भरमा बजारमा ल्याउने कसरतमा लागेका मान्छेहरु र चर्चाको निम्ती लाखौं खर्च गर्ने सर्जकहरुलाई उपयुक्त बातावरण र साधना गरेर आफ्नो सिर्जना ल्याउन सल्लाह दिनु हुन्छ भने जस्तो सुकै रचनाहरु पनि पैसा कै भरमा संगीत भरिदिने र गाइदिनेहरु प्रति आफ्नो त्यसो नगर्न रोषपूर्ण विपुल आग्रह गर्नुहुन्छ ।

बेलायत आए पश्चात उहाँले रङ्गकर्मलाई पनि निरन्तरता दिने प्रयास गर्दै दुईवटा एकांकी लेखन र निर्देशन गर्नु भएको छ । नारी दिवसको उपलक्ष्यमा नारी प्रधान एकांकी “कान्छी, झापामा अवस्थित रत्न वृद्धा आश्रमको सहयोगार्थ “आत्मसन्तुष्टि“ अनि गोर्खा वेल्फेयर सोसाईटिका युवा समुहसङ्ग सामुहिक लेखनमा पुर्णांकी चाँही गोर्खालीहरुको जीवनका कथाव्यथा समेटिएको “बन्धकी जिन्दगी“ निर्देशन गर्नु भएको छ । यसबाहेक बेलायतमा हुर्कदै गरेका युवा पुस्ताका नानीहरु र महिला कमिटीका दिदिबहिनीहरुलाई उद्घोषण तालिम दिने कार्यक्रमहरु संचालन गर्नु भएको छ ।

सन् २०१९ मा उहाँको गीतिसङ्ग्रह “साँझकी शशी“ प्रकाशित भएको थियो । गीत लेखन उहाँको सिर्जनात्मक पक्षका एउटा अंश मात्रै हो । यद्यपी यसैमार्फत पनि विशुद्ध नेपाली कला र संस्कृतिलाई निजत्व दिनु भएको छ ।  सुन्दर शैलीबद्ध, लोक भाकाका शब्द, बिम्ब र प्रतिकहरुलाई कुशलतापूर्वक आफ्नो गीतहरुमा समाविष्ट गरेर मौलिकता प्रस्तुत गर्नु भएको छ । 

सपना ठुलो पाइ पाइ जोडी किन्नु छ आना सुन

टायरको फ्याङटा टालेको दौरा ढाकरमा ढिके नुन !


टाउकोमा थाप्लो काँधैमा खकन तोक्मा चाह हातैमा 

बिसाउँदा भारी मनैको पिर बजाउँछ पातैमा ... 


जस्ता ग्रामीण जनजिब्रोमा झुण्डिएका शब्दहरु संयोजन होस वा 

जिन्दगी कैले दियो झै जल्छ

कहिले आफै आधी भै चल्छ

बुझ्न् खोज्दा खोज्दै यसले 

हर मोडमा रुप बदल्छ ... 

जस्ता जीवन दर्शनका गहिराईमा डुबिएका शब्द संयोजन, गीतिकारीतामा पनि उहाँ खरो उत्रनु भएको छ । परदेशिनु बाध्यता कि रहर ? जीवनलाई परिस्थिती र परिबन्द्ले अनेक भोगाइ र अनुभूतिहरुसङ्ग बाँच्न सिकाउँछ तर मलाई सधैं यो प्रश्नले सोच्न वाध्य गराउँछ, आखिर हाम्रो नियती नै किन यस्तो कि लाखौं युवा पुस्ता विदेशमा भौतारिन वाध्य छौ ? यही रहर र बाध्यताको पौठे जोरी खेल्दै २०० बर्ष भन्दा बढीको गौरवपूर्ण ईतिहास बोकेको गोर्खाली सिपाही र उनीहरुका परिवारहरुले आवासिय भिसा पाएसङ्गै बेलायतमा पनि नेपालीहरुको सघन बस्ती बसिसकेको छ । यसैसङ्ग हामीले ल्याएका छौ आफ्नै थातथलो र माटोको सुगन्ध, आफ्नै कला, भाषा, संस्कार, संस्कृतिहरुको चिनारी जसले हामीलाई अनेकतामा एकता र बेलायतको बहुल सांस्कृतिक समाजको एउटा अंश बनेर बाँच्न सिकाएको छ । यसै समाजमा भित्रिएका छन र जन्मिरहेका छन शशी थापा सुब्बा जस्तै बहु आयामिक व्यक्तित्वहरु अनि गरिरहेकै छन सामाजिक र सिर्जनात्मक कर्म । आफ्नै आमाको पदचाप टेकेर उक्लिरहेकी नेपाली चलचित्रमा स्थापित हुँदै गरेकी मिरुना मगर, जसले आफ्नी आमाले जस्तै गोर्खाली हुनुको आत्मा गौरव र आत्माभिमानले अघि बढिरहेकि छिन, यो श्रेय अवश्य पनि शशी दिदी अनि हरेक पाईलामा दिदी र परिवारलाई सामाजिक र सिर्जनशिल यात्रामा दरिलो साथ सहयोग दिदै आउनु भएका सबैको भेनाज्यु अर्थात धन ब थापा मा जानेछ ।

बेलायतको हाम्रो निम्ती कर्मथलो हो, जीवन आफ्नै दैनिक कार्यब्यस्तताले भरिएको छ तर पनि यो ब्यस्ततालाई पन्छाएर कुनै न कुन कर्म सामाजिक र सिर्जनात्मक कर्म गरिरहेकै छन । यसरी नै कुनै साहित्यिक वा सामाजिक कार्यक्रममा उदघोषकको रुपमा होस वा सहयोगीको उहाँको सहभागिता रहेकै हुन्छ ।

उहाँले सन् २०१४÷१५ ताका बेलायतमा हुर्कदै गरेका नयाँ पिढीका युवाहरुलाई उत्साहित गर्न र जोश भर्न “पुस्तान्तर“ नामक अन्तरङ कार्यक्रम पनि युकेको अनलाईन टिभी मार्फत चलाऊनु भएको थियो, कार्यक्रम लोकप्रिय हुँदै गए पनि समयाभाव, आर्थिक र प्रविधिक जटिलताको कारण छोडनु परेकोमा दुःख ब्यक्त गर्नु हुन्छ !

आफ्नो कार्यब्यस्तता, समाजसेवा र सिर्जनात्मक यात्रासङ्गै पारिवारिक जिम्मेवारीहरु पनि उत्तिकै सकृयता र सफलताका साथ अघि बढाईरहनु भएकी दिदी हाल आफ्नो श्रीमान धन बहादुर मगर अनि दुई छोरीहरु एलिजा र मिरुनाको साथ नर्थहोल्ट लण्डनमा रहदै आउनु भएको छ । पुर्खौली धरान भए पनि समयले दिएको अवसर भनेर बेलायत आईपुग्नु भएको उहाँ भविष्यमा फेरी नेपाल नै गएर आफ्नो जीवनको उतरार्ध ब्यतित गर्ने इच्छा रहेको बताउनुहुन्छ । 

जीवनको हरेक आयाममा कुनै न कुनै रुपमा आफ्नो क्षमता र अवसर मिलेसम्म कला, सिर्जना र सामाजिक अभियन्ताको रुपमा सहभागिता जनाएर एउटा सफल र गतिशिल जीवन बाँचिरहनु भएकी उहाँको बाँकी समय अझै उर्जाशिल र गरिवान बनोस भन्ने शुभेच्छाका साथ उहाँकै गीतका आंशिक  हरफहरु ः 

अन्जुली भरिका सपनाहरु थोपा थोपा झरिरहेछन 

उदाउने घामको लालीसङ्गै मेरा दिनहरु मरिरहेछन 

भित्र र बाहिरको साँधमा नाघ्नै पर्ने संघार मेरो 

शायद यही नै हुनुपर्छ जीवनको मध्यान्तर  मेरो !